एनपीएलको उद्घाटन खेल आज

जनकपुर र काठमाडौंका लागि स्वदेशी र विदेशी खेलाडी को-को महत्वपूर्ण हुन सक्छन् ?

जनकपुर र काठमाडौंका लागि स्वदेशी र विदेशी खेलाडी को-को महत्वपूर्ण हुन सक्छन् ?

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आजबाट सुरु हुँदैछ। साँझ ४ बजे कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबिच प्रतिस्पर्धा हुनेछ।

साविक विजेता उपाधि जोगाउने लक्ष्यमा खेल्नेछ भने काठमाडौं गोर्खाजले पहिलो संस्करणको प्लेअफ पुग्न नसकेको चोटलाई मलम लगाउने लक्ष्यमा हुनेछ।

दुवै टोलीले नेपाली खेलाडीसहित आफ्नो टोलीमा फिट हुने विदेशी खेलाडी अनुबन्ध गरि टिम बलियो बनाएका छन्।

काठमाडौं पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो। दोस्रो संस्करणमा नयाँ रणनीति र नयाँ प्रशिक्षकका साथमा नवीन सुरुवात गर्न चाहन्छ।

दुवै टिमले दोस्रो संस्करणमा नयाँ प्रशिक्षक भित्र्याएका छन्। दुई विदेशी प्रशिक्षकको रणनीतिक टक्कर एनपीएलको उद्घाटन खेलमा देखिनेछ।

काठमाडौं गोर्खाजको टिमको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर करण केसीले सम्हाल्नेछन्। त्यस्तै, जनपुरको कप्तानी अनिल शाहले सम्हाल्नेछन्।

पहिलो संस्करणभन्दा केही फरक रहेको दोस्रो संस्करणमा नेपाली खेलाडीले आफ्नो घरेलु मैदानमा फ्लड लाइटको अनुभवमा खेल्नेछन्। नेपाल क्रिकेट संघ(क्यान)ले दोस्रो संस्करण अगाडि प्रिम्याच प्रेस कन्फ्रेन्स पनि गराएन । जसले कप्तानले के रणनीति सहित मैदानमा उत्रने छन् त्यो खेलपछि नै थाहा हुनेछ।

उपाधि जोगाउने यात्रामा साविक विजेता जनकपुर

अनिल शाहको कप्तानीमा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो खेलबाट नै आफ्नो छाप बलियो पार्न चाहन्छ। साविक विजेताको रूपमा पहिलो खेल खेल्न लागेको जनकपुरले ७ जना विदेशी खेलाडी सहित टिम बलियो बनाएको छ।

आसिफ शेख, अनिल शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसकार र तुलबहादुर थापा मगर नेपाली खेलाडीलाई जनकपुर बोल्ट्सले पहिलो संस्करणबाट रिटेन गरेको थियो। मिनी अक्सनबाट मयन यादव, आदित्य महता, विकास आग्री र सचिन भट्टलाई बोल्ट्सले अनुबन्ध गरेको हो।

विदेशी खेलाडीमा इम्रान ताहिर, लाहिरु मिलान्था, वेने पर्निल, सञ्जय कृष्णमुर्थी, निकोल लोफ्टी इटोन, भेन पर्निल, लहिरु समाराकुन रहेका छन्।

वेष्ट इण्डिजका पूर्व खेलाडी शिवनारायण चन्द्रपललाई प्रमुख प्रशिक्षकको रूपमा भित्र्याएको जनकपुरले सबैभन्दा धेरै विदेशी खेलाडी अनुबन्ध गरेको छ। पहिलो संस्करणमा पुबुदु दासनायकेको प्रशिक्षणमा उपाधि जितेको जनकपुरलाई शिवनारायणले उक्त उपाधि रक्षाको रणनीति अनुसार पहिलो खेल खेलाउनेछन् । जनकपुरले नयाँ प्रशिक्षकको आगमनसँगै प्रतियोगिता अगाडि केही अभ्यास गरेको छ। जसले टिममा सन्तुलन र समझदारी बढाउन मद्दत गरेको छ।

पहिलो संस्करणमा जनकपुर बोल्ट्स अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल खेलेको थियो। फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो।

पहिलो संस्करणमा जनकपुरको लागि महत्त्वपूर्ण बनेका जिमि निसम यसपटक पोखरा एभेन्जर्सको टिममा रहेका छन्। तर पहिलो संस्करणमा आफ्नो छाप छोडेका विदेशी खेलाडी लाहिरु मिलन्था यसपटक पनि जनकपुरकै टिममा रहेका छन्। हर्ष थाकरको उत्कृष्ट पारी सायद पहिलो संस्करणबाट यी २ खेलाडी भने जनकपुरले सम्झनेछ।

नेपाली खेलाडीमा प्लेअर टु वाचः

आसिफ शेख

नेपाली राष्ट्रिय टिमका विकेटकिपर ब्याटर आसिफ शेख जनकपुर बोल्ट्सका लागि नेपाली तर्फबाट प्लेयर टु वाच हुन सक्छन्। राष्ट्रिय टोलीमा चाहिएको अवस्था अनुसार इनिङ्स खेल्न सक्ने क्षमता राख्ने खेलाडी हुन्। 

जनकपुर बोल्ड्सका मार्की प्लेयरको रुपमा रहेका आशिफ पहिलो संस्करणमा पनि बोल्ट्सका लागि महत्वपूर्ण इनिङ्स खेलेका थिए। विशेषतः पहिलो संस्करणमा पनि नियमित कप्तान अनिल शाहको इन्जुरी पश्चात् उनले टिमलाई सम्हाल्दै उपाधि तर्फ डोर्‍याएका थिए। नेपाली खेलाडीमा काम र कम्पोज रहेर इनिङ्स खेल्ने खेलाडी आसिफले राष्ट्रिय टिमको लागि ६८ खेलमा ६७ इनिङ्स खेल्दै १६३९ रन बनाएका छन्।

किशोर महतो 

अस्ट्रेलियामा रहँदै क्रिकेट खेलिरहेका किशोर महतो नेपालमा प्रतियोगिता भएको बेला मात्रै आउँछन्। तर पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा पनि राम्रो छाप छोडेका किशोर दोस्रो संस्करणमा पनि महत्वपूर्ण खेलाडी हुन्। 

पहिलो संस्करणमा किशोरले बोल्ड्सका लागि १० खेलमा १४ विकेट लिएका थिए। घरेलु प्रतियोगितामा एपीएफ टिमबाट खेल्दै आएका किशोर नेपाली खेलाडीहरूमा पेसबलमा राम्रो भविष्य बोकेका खेलाडी हुन्।
 
विदेशी खेलाडीमा प्लेअर टु वाचः
लाहिरु मिलन्था

जनकपुरले दोस्रो संस्करणमा पनि विश्वास गरेर टिममा अनुबन्ध गरेको खेलाडी हुन्, लाहिरु मिलन्था। अमेरिकी क्रिकेटर मिलन्थाले पहिलो संस्करणमा राम्रो छाप छाडेका कारण उनलाई पहिलो खेलमा प्लेअर टु वाचमा राख्न सकिन्छ।

निकोल लोफ्टी इटोन

इटोन नेपाली क्रिकेटको बारेमा जानकार खेलाडी हुन्। नामिबियन मुलका इटोनले नेपाली राष्ट्रिय टिमका खेलाडीको क्षमता जान्दछन्। आक्रमक ब्याटिङ शैलीले ब्याटिङ गर्न मन पराउने इटोनले नेपाली समर्थकलाई आफ्नो ब्याटिङ कौशलले भरपूर मनोरञ्जन दिन सक्ने खेलाडी हुन्।


फेरिएका प्रशिक्षकसँगै‌ सकारात्मक नतिजाको खोजीमा काठमाडौं

नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देशाईले दोस्रो संस्करणमा काठमाडौं गोर्खाजको प्रशिक्षकको भूमिका सम्हालेका छन्। नेपाली राष्ट्रिय टिममा रहेर सकारात्मक नतिजा र छवि छोड्न सफल भएका देशाइले दोस्रो संस्करणको एनपीएलमा प्रशिक्षण छाप छोड्नको लागि पनि काठमाडौंलाई सकारात्मक नतिजातर्फ डोराउनुपर्ने हुन्छ।

राष्ट्रिय खेलाडी करण केसीको नेतृत्वमा रहेको काठमाडौं पहिलो संस्करणमा लिग चरणबाट बाहिरिएको थियो।

यसपटक काठमाडौंले निकै अगाडिबाट योजना बनाई तयारी सुरु गरेको थियो। विदेशी खेलाडीको कोटा सबैभन्दा पहिले पूरा गर्ने टिम हो काठमाडौं।

काठमाडौंको टिममा करणसहित साहब आलम, भीम सार्की, रासिद खान, दिपेश कँडेल, प्रतीक श्रेष्ठ पहिलो संस्करणबाट रिटेन गरिएका खेलाडीहरु हुन् । दोस्रो संस्करणको मिनि अक्सनबाट काठमाडौं गोर्खाजले मोहम्मद आदिल आलम, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम मगर र तुलबहादुर थापालाई अनुबन्ध गरेको थियो।


नेपाली खेलाडीहरूमा प्लेयर टु वाचः

रासिद खान

भर्खरै मात्रै सकिएको हङकङ सिक्सेसमा रासिद खानले सर्वाधिक विकेट लिने खेलाडीको उपाधि जिते। रासिदले अफगानिस्तानसँगको खेलमा ह्याट्रिकसहित ५ खेलमा ९ विकेट लिए। नेपालको घरेलु प्रतियोगिताहरूमा पनि रसिदले राम्रो छाप छोडेका छन्। 

पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा उनले ७ खेल खेल्दै ६ विकेट लिएका थिए। तर हाल उनी राम्रो फर्ममा छन् जसको फाइदा काठमाडौं गोर्खाजले उठाउन सक्नेछ।

मोहम्मद आदिल आलम : 

दोस्रो संस्करणको मिनि अक्सनका बेला आठैवटा टिमले बिड लगाएका खेलाडी हुन् मोहम्मद आदिल आलम। उनी लकी ड्रमार्फत काठमाडौं गोर्खाजमा अनुबन्ध भए । दोस्रो संस्करणमा आदिलको ‘हाइप’ र ‘डिमान्ड’ निकै राम्रो छ। तर पछिल्ला केही प्रतियोगिताहरूमा उनले सोचे अनुसारको प्रदर्शन गर्न सकेका छैनन्। 

अक्सनमा उनको नामले मच्चाएको सनसनीलाई कायम गर्न सक्नेछन्। पहिलो संस्करण खेल्न नपाएका आदिलले दोस्रो संस्करणमा काठमाडौंको लागि प्लेयर टु वाच भने पक्कै हुन्।


विदेशी खेलाडीमा प्लेअर टु वाचः  
मिलिन्द कुमार

अमेरिकन ब्याटर मिलिन्द कुमार हाल निकै राम्रो फर्ममा रहेका छन्। नेपालसँग लिग २ खेलमा उत्कृष्ट प्रदर्शनका कारण मिलिन्दले पहिलो पटक नेपाल प्रिमियर लिगमा आफ्नो नाम दर्ता गराएका छन्। उनलाई गोर्खाज र मोन्टीले राम्रो प्रयोग गर्न सक्छन्। ३४ वर्षीय मिलिन्दले नेपाली खेलाडी र नेपाली मैदानमा आफ्नो छाप जमाउन सक्छन्।

जेहरार्ड इरास्मस

जेहरार्ड नेपाली क्रिकेट समर्थकका लागि सुनिएको नाम हो। उनी आक्रमक स्वभावको ब्याटिङका कारण नेपाली समर्थकमा चर्चित खेलाडी हुन्। नामिबीयन राष्ट्रिय टिमका जेहरार्ड पहिलो संस्करणमा गोर्खाजको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए। उनले सात खेलमा १३७ माथिको स्ट्राइक रेटमा ११० रन बनाउनुका साथै ११.९० को औषतमा ११ विकेट लिएका थिए । 

उनले सन् २०२३ र २०२४ मा आइसीसीबाट एशोसियट ‘क्रिकेटर अफ दी इयर’को उपाधी जितेका थिए। ब्याटिङसँगै उनी बलिङमा पनि उत्तिकै छाप छोड्न सक्ने खेलाडी हुन्।

काठमाडौं गोर्खाजको टिमः

करण केसी (कप्तान), साहब आलम, भिम सार्की, रासिद खान, दिपेश कँडेल, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम मगर, तुल बहादुर थापा, सोनु देवकोटा, रिकार्डो भास्कोनसेलोस, जेहरार्ड इरसमस, मिलिन्द कुमार, बेन चाल्र्सवर्थ, जोहन सिम्पसन, सन्नी पटेल

प्रमुख प्रशिक्षकः मोन्टी देशाई

जनकपुर बोल्ट्सको टिमः

अनिल कुमार शाह(कप्तान),  आसिफ शेख, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकर, तुल बहादुर थापा मगर, मयन यादव, आदित्य महतो, विकाश आग्री,सचिन भट्ट, पप्पु यादव, इम्रान ताहिर, लाहिरु मिलान्था, वेने पर्निल, सञ्जय कृष्णमुर्थी, निकोल लोफ्टी इटोन, भेन पर्निल, लहिरु समाराकुन

प्रमुख प्रशिक्षकः शिवनारयण चन्द्रपल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.