एनपीएल : काठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै

एनपीएल : काठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै

काठमाडौं : नेपाल प्रिमियर लिगको आजको खेलमा पहिलो संस्करणको उपविजेता टिम सुदूरपश्चिम रोयल्स् र दोस्रो संस्करणमा विजयी सुरुवात गरेको काठमाडौं गोर्खाजबिच हुँदैछ। त्रिवि क्रिकेट स्टेडियममा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाडौं पहिलो खेलको जित निकाल्न चाहन् भने सुदूरपश्चिम सुखद् सुरुवात चाहन्छ। 

दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा टेबलको शिर्षमा रहेर फाइनल खेलेको थियो। काठमाडौंमा विदेशी प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय टिमको पूर्वप्रशिक्षक मोन्टी देशाइ रहेका छन्। सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा नेपाली प्रशिक्षक छन्। नेपाली राष्ट्रिय टिम तथा उमेर समूहमा सफल प्रशिक्षकको छवि बनाएका जगत टमटाले सुदूरको प्रशिक्षण सम्हालेका छन्। 

पहिलो संस्करणमा आएका विदेशी प्रशिक्षकहरूलाई चुनौती दिँदै फाइनलसम्मको यात्रा तय गरेका प्रशिक्षक हुन् जगत टमटा। यसपटक पनि घरेलु प्रशिक्षकले नै सुदूरलाई निर्देशन दिनेछन्।

उपाधि जित्नबाट पछि परेको सुदूरपश्चिम रोयल्स यसपटक त्यो लाइन क्रस गर्न चाहन्छ। पहिलो संस्करणबाट मार्की खेलाडी तथा कप्तान ऐरीसँगै विनोद भण्डारी आरिफ शेख अविनाश बोहरा इशान पाण्डे र नरेन साउदलाई सुदूरपश्चिम रोयल्सले रिटेन गरेको थियो। दोस्रो संस्करणको मिनी अक्सनबाट सुदूरपश्चिम रोयल्सले हेमन्त धामी, दिपक बोहरा,मिलन बोहरा, दिपेन्द्र थापा र टेकबहादुर रावतलाई अनुबन्ध गरेको थियो। 

सुदूरपश्चिम रोयल्सका लागि विदेशी खेलाडीमा केही पुराना नामहरू फर्किएका छन् भने केही नयाँ नामहरू जोडिएका छन्। सुदूरपश्चिम रोयल्सका लागि हरमित सिंह र स्कर्ट केग्गुलिन दोहोरिएका नाम हुन् भने केही नयाँ नामहरू पनि भित्रिएका छन्। 

स्वदेशी खेलाडी र विदेशी खेलाडीलाई मिलाएर जगत टमटाले पहिरो खेलमा जित सहित दोस्रो संस्करणको सुरुवात गर्न चाहन्छन्। पहिलो संस्करणमा लगि चरणको ७ मध्ये ६ खेल जित्दै सुदूरपश्चिम रोयल्सले अंकतालिकामा राज गर्दै फाइनल खेलेको थियो। तर फाइनल खेलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपाधि जित्नबाट चुकेको थियो।

काठमाडौं गोर्खाजले आफ्नो पहिलो जितपछि त्यो मोमेन्टम निरन्तर कायम राख्न चाहन्छ। करण केसीको नेतृत्वमा रहेको गोर्खाजले पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ड्सलाई पाँच विकेटले पराजित गर्दै दोस्रो संस्करणको सुरुवात गरिसकेको छ।

पहिलो संस्करणमा फाइनलमा चुकेको सुदूरको विजय लक्ष्य 

सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा सबैभन्दा बलियो देखिएको टिम हो। तर फाइनलमा आएर जनकपुर बोल्ट्ससँग पराजित हुँदा उपाधिबाट एक कदम परबाट नै सन्तुष्टि लिनुपरेको थियो। 

पहिलो संस्करणमा लागेको उपाधिको चोटमा मलम लगाउन सुदूरपश्चिमले दोस्रो संस्करणमा केही परिस्कृत रणनीति सहित आउनेछ। नेपाली घरेलु तथा राष्ट्रिय टिम र विशेषत् उमेर समूहको खेलमा सर्वाधिक सफल प्रशिक्षकको छवि बनाएका जगत टमटाले यसपटक कस्तो रणनीति अपनाउँलान् ? सुदूरपश्चिमसँग विदेशी खेलाडीको साथसँगै स्वदेशी खेलाडीको पनि राम्रो ब्याकअप रहेको छ।

ऐरी राम्रो फर्ममा छन्। उनी विशेषत फिल्डिङमा जुन किसिमको प्रदर्शन देखाउँछन् त्यसले विपक्षी टिमलाई सोच्न बाध्य बनाउँछ। सुदूरको पहिलो संस्करणमा पनि फिल्डिङमा निकै राम्रो प्रदर्शन गरेको थियो। विनोद भण्डारी त्रिवि क्रिकेट मैदानका किङ भनेर चिनिन्छन्। यसपटक विनोदको साथमा इशान पाण्डे आरिफ शेख जस्ता खेलाडी पनि रहेका छन्। 

नेपाली राष्ट्रिय टिमका ‘डेथ ओभर स्पेसलिस्ट’ भनेर चिनिने अविनाश बोहराको बलिङ जादु सुदूरपश्चिममा रहेको छ । नरेन साउथ उत्तिकै सम्भावना बोकेर आएका युवा खेलाडी हुन्। जसलाई सुदूरपश्चिमले पहिलो संस्करणबाट रिटेन गरेको थियो। 

दोस्रो संस्करणको अक्सनमा भने सुदूरपश्चिमले प्राय घरेलु खेलाडी भित्र्यायो। सुदूरपश्चिम का खेलाडीहरू धेरै भित्र्याएको भन्दै अक्सनको बेला सुदूरपश्चिमले केही आलोचना पनि पायो। पहिलो संस्करणमा उपाधि विजेता टिम जनकपुरको टिममा रहेर स्वर्ण पदक लगाएका हेमन्त धामी यसपटक आफ्नो घरेलु टोली सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। यो १९ टिमका खेलाडीहरू दीपक बोहोरा मिलन बोहरा ले पनि घरेलु टिमबाट खेल्ने छन्।

पहिलो संस्करणमा विदेशी खेलाडीमा स्कट केगुइलिन नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी रहेका थिए। उनले ९ खेलमा १७ विकेट लिएका थिए। उनीपछि जनकपुर बोल्ट्समा रहेका ललित नारायण राजवंशीले १७ विकेट लिएका थिए। इकोनोमीको हिसाबले शीर्षस्थानमा स्कट नै रहेका थिए। यसपटक सुदूरपश्चिम रोयल्सले दुईजना अस्ट्रेलियन ब्याटर भित्र्याएको छ। जसले गर्दा टिम अझ बलियो बनेको छ। क्रिस लिन र जोश ब्राउनको आगमनले सुदूरपश्चिम रोयल्सको ब्याटिङ युनिट अझ बलियो बनेको छ।

प्लेअर टु वाच नेपाली 
विनोद भण्डारी 

नेपाली राष्ट्रिय टोलीका लामो समयसम्म भरपर्दो ब्याटरको रुपमा रहेका विनोद भण्डारी सुदूरपश्चिम रोगल्सका लागि भरपर्दा ब्याटर हुन्। ओपनिङमा ब्याटिङ गर्न मन पराउने विनोद आक्रमक स्वभावको पारी खेल्न मन पराउँछन्। टिमलाई चाहिएको अवस्थामा क्रिज सम्हाल्दै इनिङ्स अगाडि बढाउने क्षमता पनि विनोदसँग छ। उनलाई नेपाली समर्थकले त्रिवि क्रिकेट मैदानको ‘किङ’ भन्ने उपनाम दिएका छन्। 

दिपेन्द्र सिंह ऐरी
सुदूरपश्चिम रोयल्सका मार्के खेलाडी तथा कप्तान ऐरी पहिलो खेलका लागि प्लेयर टु वाच हुन्। नेपालले खेलेको विश्वकप छनोटको खेलमा उनको विशेषत फिल्डिङ क्षमताले सबैको ध्यान खिच्न सफल भएको थियो। त्यस्तै उनले आइसिसी विश्वकप लिग २ अन्तर्गत टिमलाई सम्हाल्दै खेलेको ब्याटिङ इनिङ पनि तारिफ योग्य थियो। उनीसँग विश्वमा कहिल्यै नतोडिने ९ बलमा अर्धशतक हानेको रेकर्ड छ। उनी आक्रामक स्वभावमा ब्याटिङ गर्न सक्ने खेलाडी हुन्।

प्लेअर टु वाच विदेशी 
क्रिस लिन 

अस्ट्रेलियनबाट क्रिस लिन सुदूरपश्चिम रोयल्सका लागि मात्रै नभएर नेपाल प्रिमियर लिग सिजन २ को नै आकर्षण केन्द्र हुन्। पहिलोपटक नेपाल आएर खेल्न लागेका क्रिस आक्रमक स्वभावको ब्याटर हुन्। अस्ट्रेलियाको लागि १८ वटा टिट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका ३५ वर्षीय ब्याटर आजको खेलमा प्लेअर टु वाच हुन्। उनले नेपाली त्रिवि क्रिकेट मैदानमा कस्तो प्रदर्शन गर्लान् भन्ने सबैको चासो रहेको छ।

स्कट केगुइलिन

पहिलो संस्करणमै बलियो छाप छोडेका न्युजिल्यान्डका बलर स्कट दोस्रो संस्करणमा पनि सुदूरपश्चिम रोयलमा अनुबन्ध भएका छन्। पहिलो संस्करणमा ९ खेलमा १७ विकेट लिँदै सर्वाधिक विकेट टेकरको शीर्ष स्थानमा रहेका स्कटले दोस्रो संस्करणमा पनि आफ्नो जादु देखाउनेमा समर्थकहरु आशावादी छन्। सुदूरपश्चिम रोयल्सले पनि पहिलो संस्करणमा उनले देखाएको प्रदर्शनका कारण दोस्रो संस्करणमा पनि उनलाई टिममा भित्र्याएको हो। 

जितलाई निरन्तरता दिन चाहन्छ काठमाडौं 

मोन्टी देसाइको प्रशिक्षणमा रहेको काठमाडौं गोर्खाज जितको मोमेन्टम कायम राख्न चाहन्छ। पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको थियो। पहिलो जितसँगै काठमाडौंको आत्मविश्वास पनि बढेको छ। राष्ट्रिय टिमका खेलाडी करण केसीको नेतृत्वमा रहेको काठमाडौं नयाँ संस्करणमा नयाँ उत्साहका साथ खेलिरहेको करण केसीले बताएका थिए। 

पहिलो खेल जितपछि करणले भने,‘नयाँ संस्करणमा जितसहितको सुरुवात सुखद सुरुवात भयो।’ हरेक खेललाई उत्तिकै महत्वको साथ खेल्ने र जित्ने रणनीतिका साथ काठमाडौं गोर्खाज मैदानमा उत्रने उनले बताए।

प्लेअर टु वाच नेपाली 
आकाश त्रिपाठी 
काठमाडौंको लागि पहिलो खेलमा ओपनरको रूपमा आएका आकाश त्रिपाठीले राम्रो इनिङ खेले। उनले ४५ बलमा पाँच चौका सहित ३९ रन बनाउँदै टिमको लागि महत्वपूर्ण रन जोडेका थिए एक तर्फबाट विकेट गइरहँदा आकाशले केहीबेर काठमाडौंको क्रिज सम्हालेका थिए। दोस्रो खेलमा पनि आकाशले कस्तो प्रदर्शन गर्लान् भन्ने जिज्ञासाका साथ आकाश दोस्रो खेलमा प्लेयर टु वाच हुन सक्छन्।

सन्तोष यादव
पहिलो खेलमा सन्तोषले देखाएको सम्भावनाले दोस्रो खेलमा काठमाडौं गोर्खाजको लागि प्लेअर टु वाच हुन्। १९ वर्षीय सन्तोषले नेपाली राष्ट्रिय टिमको उमेर समूहको लागि खेलिसकेका छन्। उनी बलिङ मात्र तल्लोक्रमको ब्याटिङमा आएर आक्रमक स्वभावको ब्याटिङ पनि गर्न रुचाउँछन्।

प्लेअर टु वाच विदेशी 
मिलिन्द कुमार

अमेरिकाका अलराउन्डर मिलेन्द कुमारले पहिलो खेलमा काठमाडौं गोरखाजको लागि गरेको प्रदर्शनले उनी दोस्रो खेलमा पनि प्लेयर टु वाच हुन्। काठमाडौंको लागि जनकपुरसँगको खेलमा सुरुवाती ३ विकेट लिँदै मिलिन्द आफ्नो क्षमता प्रदर्शन गरेका थिए। ब्याटिङमा पनि उनले १९ रन बनाएका थिए। उनको अलराउन्डर प्रदर्शनपश्चात उनी पहिलो खेलमा प्लेअर अफ दी म्याच भएका थिए। 

वेन चार्लेसवर्थ 
काठमाडौंको लागि पहिलो खेलमा ओपनिङ ब्याटरको रूपमा आएका वेन चार्लेस वर्थले काठमाडौंको जितको लागि महत्त्वपूर्ण रन बनाएका थिए। उनले ओपनिङमा आएर २३ बलमा पाँच चौका र तीन छक्का सहित ४६ रनको पारी खेले। सुदूरपश्चिम जस्तो बलियो टिमसँग खेल्दै गर्दा आक्रामक स्वभावको ब्याटरको रुपमा उनी दोस्रो खेलमा प्लेअर टु वाच हुन्।

सुदुरपश्चिम रोयल्सको टिमः 
दिपेन्द्र सिंह ऐरी(कप्तान), आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, मिलन बोहरा, दिपक बोहरा, नरेन साउद, दिपेन्द्र थापा हिक्मत महरा, क्रिस लिन, हर्मित सिंह, जोस ब्राउन, ध्रुव परासर, स्कट केगुइलिन
प्रमुख प्रशिक्षकः जगत टमटा

काठमाडौं गोर्खाजको टिमः
करण केसी (कप्तान), साहब आलम, भिम सार्की, रासिद खान, दिपेश कँडेल, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम मगर, तुल बहादुर थापा, सोनु देवकोटा, रिकार्डो भास्कोनसेलोस, जेहरार्ड इरसमस, मिलिन्द कुमार, बेन चाल्र्सवर्थ, जोहन सिम्पसन, सन्नी पटेल
प्रमुख प्रशिक्षकः मोन्टी देशाई
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.