मानवीय संवेदनामा आफ्ना अनुभूति समेट्न सफल छन् लघुकथाहरू। कथाहरूले यथार्थको सत्यापन गर्छन्।
आजको जिन्दगी व्यस्त र यान्त्रिक लाग्छ। यस्तो व्यस्ततामा एक झमटको बसाइमा पढ्न सकिने लघु रचनाहरूको महत्त्व बढ्दै साहित्यमा लघुकथा लेखनीमा लोकप्रिय भएको छ। थोरै शब्दमा धेरै भन्न सकिने भएर पनि लघुकथाले वर्तमान समयमा आख्यानमा प्रभाव छोडेको हो।
२०४५ सालदेखि लघुकथा प्रकाशन गरी सृजना कर्ममा लागेका शालिन व्यक्तित्व सुमन सौरभ लघुकथामा मानक हुन्। उनी लघुकथाभित्र प्रयोगवादी धार भित्र्याउन सफल लघुकथाकार हुन्। कृति आधा दर्जन प्रकाशित भएर मात्र उनलाई मानक भनेको होइन। हरेक लघुकथा आफैंमा विशेष र विभिन्न लघुकथाका मानकहरूले बलिष्ठ देखिन्छन्। वैचारिक आलोकले भरिपूर्ण छन्। उनी एउटा विधाकेन्द्रित स्रष्टा देखिन्छन्। उनका लघुकथा गुणात्मकताले भरिएका र निक्कै वजनदार लाग्छन्।
लघुकथामा जहिल्यै विभिन्न प्रयोग गर्ने उनको रे पछिल्लो लघुकथा संग्रह हो। यसभित्र ५४ थान विषय विविधाका लघुकथाहरू समावेश गरिएको छ। विभिन्न बिम्ब, प्रतीक, मिथकहरूले पोतिएका लघुकथा सुन्दर देखिन्छन्। काव्यात्मक चेतको भरपूर प्रयोगले सुरम्य लाग्छन्। संरचनात्मक विशेषताले भरिएका, अभिलक्षणाका हिसाबले पोटिला र मानक छन् लघुकथाहरू। अरूका भन्दा पृथक् पहिचानका। सौन्दर्यचेतको सज्जाले भरिएका। नवीन प्रयोगले– स्वादिला। लघुकथाका विषयवस्तु र कथानक शैली–अलगथलग। थोरै पात्र, जीवन्त परिवेश सिर्जना गरी लघुकथाहरू बुनिएका छन्।
कतै कतै संवादहरू प्रयोग भएका, कतै वर्णनात्मक शैलीका लघुकथा पनि यहाँ छन्। यही मानव जीवन र जगतका अन्तस्करणमा प्रवेश गरी विषय पहिल्याएर कथा सिर्जना गर्ने सामाथ्र्यचेतका धनी कथाकार सुमनको सरलता उस्तै लोभलाग्दो पक्ष हो। लघुकथाहरूमा बौद्धिक र चिन्तनशीलता प्रस्तुत गर्ने कथाकारले समाजका यावत् घटनाहरूलाई पृष्ठभूमि बनाएर गम्भीर अर्थबोध गर्ने कथाकारिता गरेका छन्।
मानवीय चरित्र चित्रण गरिएका कथानक भएका लघुकथाहरूमा अस्तित्व संकट, अविश्वासजस्ता शीर्षकले प्रतिनिधित्व गरेका छन्। मान्छेका विकृत रूप र चरित्रलाई रुन्चे भायोलिन, अन्तिम जुवा आदिले संकेत गरेका छन्। वर्तमान मान्छेका भड्किला जिन्दगीहरूलाई व्यंग्य गरेको छ चिन्तान्तर जस्तो कथाले। मान्छेका जिन्दगीका विवशताहरू सजीव बनेर आएका कथा– आँसुशास्त्र, शंका, नियतिजस्ता छन्। विचार प्रक्षेपण गरिएका लघुकथा– चे हो।
प्राय : लघुकथामा उद्देश्यहरू सोझै भनिए पनि सांकेतिक रूपले उद्देश्यहरू आउनेगरी लघुकथाहरू प्रस्तुत भएका देखिन्छन्। आख्यानभित्रको नवीन प्रभेद हो भनिन्छ लघुकथा। यस्तो प्रभेदमा कथानक सुन्दर ढंगले छ। राजनीतिक विकृति उजागर गरिएका विद्रोह, कालयात्राजस्ता लघुकथा छन्।
मानवीय संवेदनामा आफ्ना अनुभूति समेट्न सफल छन् लघुकथाहरू। गहन विषयवस्तु टिपेर बनेका कथानक जहाँ हामी, हाम्रो समाज र हाम्रै विभिन्न सम्बन्धका आयामहरूबीच घुमेका लघुकथाहरू कौतुकमय पनि लाग्छन्। कथाहरू हलुका छैनन्, गहन अर्थबोध व्यक्त गर्न सक्षम छन्। कथाहरूले यथार्थको सत्यापन गर्छन्। विधागत विशिष्टतालाई बोकेका सुमनका लघुकथाहरूले ऐनाजस्तै छर्लंग्याउन सफल छन्। लघुकथाको आयामलाई मज्जैले पक्डेर लेख्ने खुवीका कथाकारिता छ यहाँ।
रे का सबै लघुकथाहरूमा कथानक, मानवीय र मानवेतर पात्र, परिवेश, संवाद, भाषाशैली, उद्देश्य र दृष्टिविन्दु आदि लघुकथाका मूलभूत तत्त्वबोध गरिएका लघुकथाहरू पढ्न सकिन्छ। त्यसैले सुमनका लघुकथाले लघुकथाकारितामा चिर प्रभाव छर्न सक्छन्। सामान्य घटनाबाट कथानक उठान गरी गम्भीर बनाएर सन्देश दिने खुबी कथाकारमा छ। लघुकथामा जसरी उठान र बैठान हुनुपर्ने हो त्यसैगरी कथ्यवस्तु आएको छ। लघुकथाका आयामहरूमा कथाकार सचेत छन्। यसैले त कृतिमा स्वरूप र संरचना मानक बनेर आएका छन्।
प्राय : लघुकथाको उद्देश्य भनेको समाजको अन्तरभित्र बलियो ढंगले लुकिबसेका विभिन्न यथार्थजन्य कुराहरूको सार्वजनिक गर्नु रहेको देखिन्छ। कथानक परिवेशहरू पनि प्रायजसो हामी र हामी बाँचिरहेको समाज र यसको वरपर देखिन्छ। हाम्रै परिवेशका कथ्यहरूको आख्यानीकरण भएको पाइन्छ। भन्न सकिन्छ नेपाली समाजको सम्पूर्णताको कथानक टिपी बुनिएका छन् लघुकथा। बौद्धिक, तार्किक र सूक्ष्म विषयको उठानमा गरिएको गाम्भीर्यताले रोचक लाग्छन् ती।
सुमन समकालीन लघुकथा लेखनीमा फरक शैलीका सिर्जना गर्छन्। विषयवस्तुमा समसामयिकता र गहनता, विचारचेत उच्च, व्यंग्यको प्रचुरता, कथा कौशलता, अभिव्यक्तिमा सघनता निपुण भएका लघुकथाहरूले रे भरिएको छ। उचित पात्र चयन र तिनका संवादले घनिभूत। व्यंग्यचेतले भरिएका कथानक। पाठकलाई रन्थन्याउने प्रभावकारी टुंयाई यस्तै लाग्छ– रे। यसरी हेर्न सकिन्छ सुमनको लघुकथाकारिता– बौद्धिक भएर नबुझिने छैनन्। पट्यारलाग्दा त बिल्कुल होइनन्।
कृतिभित्रका लघुकथाहरू स्वाभाविक प्रस्तुतिमा छन्। जसमा वर्णित परिवेशहरू स्थूल र व्यापक छैनन्। साना आयाममा मज्जैले अटेका छन्। सुन्दर शब्द आवृत्तिको प्रचुरताले भरिएका लघुकथाहरूले मानवीय मूल्य र मान्यतालाई पनि बोकेका छन्। माझिएको समृद्ध भाषाशैलीले कृतिमा संलग्न लघुकथा भरिएका छन्। नेपाली मानक भाषाको प्रयोग, सरल, सहज र बोधगम्य देखिएको छ।
अभिव्यञ्जनायुक्त लघुकथाहरू सरल शैलीमा छन्। समयचेतले ओतप्रोत कथानक पक्डनु कथाकारको विशेषता देखिन्छ। चोटिला लाग्छन् लघुकथाहरू। गुणस्तरीय र निक्खारिएका लाग्छन् त पढ्दा मज्जा आउँछ। तिखारिएका मष्तिष्कले सिर्जना गरिएका लघुकथाहरू उत्तिकै खँदिला र खारिएका छन्।
प्रतिक्रिया दिनुहोस !