बीपीको ऐनामा ‘कांग्रेसी दुर्गुण’

बीपीको ऐनामा ‘कांग्रेसी दुर्गुण’

राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ।

भनिरहन पर्दैन, राष्ट्र यतिबेला इतिहासकै सबैभन्दा संगीन मोडमा छ। यो मोडबाट देशले कसरी सहज निकास पाउला ? अहिलेसम्म कुनै मार्गचित्र स्पष्ट छैन। राजनीतिक दलहरू राज्य सञ्चालनको संयन्त्रमा छैनन्। निर्दलीय अन्तरिम सरकारका कामहरू चित्तबुझ्दो भइरहेका छैनन्। सयौंको रगत बगाएर, हजारौंले घाइते जीवन बाँचेर बनाइएको यो अन्तरिम सरकारप्रति अहिले आन्दोलनकारी नै ‘आन्दोलन’को तयारीमा छन्। यो एउटा निकै गन्जागोल र अलमलको समय हो भन्ने पुष्टि यिनै सन्दर्भले बताउँछ।

इतिहासमा कहिल्यै पनि नेपाली कांग्रेस यसरी यस्तो अलमलमा परेको थिएन। महाधिवेशनको बारेमा यति धेरै विवाद गर्नैपर्दैन थियो। यो विषयलाई यति धेरै जटिल बनाइएको छ कि अब त्यसबाट निस्किनै सकस हुनेवाला छ। 

इतिहासमा यस्ता धेरै राजनीतिक संकट, संक्रमण अनि घोर अन्योलबाट यिनै राजनीतिक दलहरूले नै राष्ट्रलाई निकास दिएका थिए। त्यो भनेको लोकतन्त्रको लडाइँ थियो। राजनीतिक अधिकारका लागि लडाइँ थियो। र, जनताको मौलिक हकका लागि लडिएका लडाइँहरू थिए। इतिहासमा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि लडेका यिनै राजनीतिक दलहरू आज यो हविगत भोग्न बाध्य छन्। यो सामान्य होइन। एउटा सार्वभौम, स्वतन्त्र अनि बहुदलीय संसदीय शासन व्यवस्था भएको राष्ट्रमा यो प्रकारका संक्रमणहरू बिरलै आउँछन्।

तथापि, अहिलेसम्म इतिहासकै सबैभन्दा भयानक संक्रमणबाट देश गुज्रिरहेको छ। भयानक यस हिसाबले कि अबको बाटोबारे अहिले कसैले पनि प्रस्ट भन्न नसक्ने अवस्था छ। कल्पनासमेत गर्न नसकिने अहिलेको जुन अवस्था देशले भोग्नु परिरहेको छ, त्यसको प्रमुख कारक भनेका यिनै राष्ट्रिय राजनीतिक दलहरू नै हुन्। जो वर्षौंदेखि सत्ता, शासन र शक्तिको वरिपरि घुमिरहे। यो निर्मम सत्यलाई राजनीतिक नेतृत्वले जति चाँडो बुझ्छन्, उति चाँडो देशले निकास पाउनेछ। नत्र यो घोर शून्यतामै दलीय अस्तित्वमाथि प्रश्नहरू अझ मडारिँदै जानेछन्।

एकातिर राष्ट्रिय राजनीतिमाथि संकटको भुमरी नाचिरहेको छ भने अर्कोतिर राष्ट्रिय राजनीतिक दलहरू पनि आफ्नै विवादका भारीले थिचिइरहेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले अनि नेपाल कम्युनिस्ट पार्टीजस्ता जिम्मेवार राजनीतिक दलहरू अहिले आन्तरिक लयमै अलमलिएका छन्। उनीहरूको आफ्नै दिशा तय हुन सकेको छैन।

अहिलेको संकटको निकास मानिएको फागुन २१ को चुनावलाई यी ठूला भनिएका दलहरूले अझै आत्मैदेखि स्वीकार्न सकिरहेका छैनन्। यही जेन–जी आन्दोलनका कारण सत्ताच्युत भएको नेकपा एमाले आफ्नै आन्तरिक पदीय प्रतिस्पर्धामा रुमलिइरहेको छ। जेन–जी आन्दोलनपछि अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनलाई समेत अस्वीकार गर्दै विद्रोहको भावनालाई समेत ठेस लाग्ने गरी नेकपा एमाले संसद् पुनस्र्थापनाको बाटोमा लागेको छ।

सैद्धान्तिक रूपमा उसले लिएको रणनीति एकातिर होला तर जुन प्रकारले उसको यस्तो निर्णयले अहिलेको परिस्थितिलाई थप भड्काउ र उत्तेजक बनाइरहेको छ। त्यसबाट सिंगो राजनीतिक दलहरूप्रतिको आक्रोश अझ घृणामा परिणत हुन थालेको छ। उसै पनि जेन–जी आन्दोलनपछि एक प्रकारले राजनीतिक दलहरू जनमानसबाट अस्वीकृतजस्तै भइसकेका छन्। यस्तो अवस्थामा जनतामा विश्वास जगाउनुको सट्टा प्रमुख भनिएका राजनीतिक दलहरूले जुन प्रकारको घृणाको राजनीति गरिरहेका छन्, यसको दुष्परिणाम फेरि एकपटक राजनीतिक दलहरूले भोग्नैपर्छ।

यस्तैमा, अर्को प्रमुख अनि जिम्मेवार मानिएको कांग्रेस झन् आफ्नै गन्जागोलको भुमरीमा छ। यो कुरा कांग्रेस नेतृत्वले बुझिरहेको छैन कि पार्टीको महाधिवेशन र राष्ट्रको संकट फरकफरक विषय हुन्। हो, राष्ट्रभन्दा माथि पार्टी हुन सक्दैन। कांग्रेसले आफ्ना आन्तरिक जीवनका जुन विवाद र बहस छन्, त्यसलाई सरलीकृत गरेर जसरी राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्ने थियो अहिले त्यो भइरहेको छैन।

नेपाली राजनीतिक इतिहासमा अहिलेसम्म सबैजसो संक्रमणकालको साक्षी कांग्रेस हो र निकासको निर्णायक पनि उही नै हो। तर, इतिहासका ती विरासतले मात्रै कांग्रेस अब फेरि उस्तै जिउँदो र जाग्दो हुन सक्दैन। इतिहास भनेको लेखिँदै जाने कुरा हो। इतिहास लेख्नु र इतिहासमा लेखिनुमा धेरै फरक छ। कांग्रेसले बुझ्नुपर्छ कि राष्ट्रिय राजनीतिक परिस्थितिले उसको कस्तो भूमिका अपेक्षा गरिरहेको छ। जब राष्ट्रिय जीवनको आवश्यकतालाई भुलेर पार्टीको आन्तरिक कुरालाई उँचो बनाइन्छ, त्यो भनेको आफ्नो अस्तित्व आफैंले मेटाउँदै जानु पनि हो। देशको संकटको घडीमा कांग्रेस भने यतिबेला आफ्नै आन्तरिक लडाइँमा छ, त्यो पनि हुनै नहुने विवादमा।

पार्टीको महाधिवेशन भनेको नियमित प्रक्रिया हो। पार्टी जीवनको आन्तरिक लोकतन्त्रको सवलीकरण र नेतृत्वको पुनर्भरण गर्नु भनेकै आफैंले लेखेको विधानले तोकेको समयमा महाधिवेशन सक्नु हो। जेन–जी विद्रोहको एउटा भाव यो पनि हो कि राजनीतिक दलका नेतृत्वमा नयाँ अनुहार। ताजा अनुहार अनि। दूरदर्शी र देशलाई निकास दिनेखालको नेतृत्व। तर कांग्रेस आफैं पनि अहिले एउटा घोर अन्योलमा रुमलिइरहेको छ।

इतिहासमा कहिल्यै पनि कांग्रेस यसरी यस्तो अलमलमा परेको थिएन। महाधिवेशनको बारेमा यति धेरै विवाद गर्नै पर्दैन थियो। यो विषयलाई यति धेरै जटिल बनाइएको छ कि अब त्यसबाट निस्किनै सकस हुनेवाला छ। सबैले समयमै आ–आफ्नो सांगठनिक र पदीय जिम्मेवारी पूरा गरेको भए अहिलेको परिस्थिति आउने नै थिएन। पार्टीभित्र सबैका आ–आफ्ना आन्तरिक जिम्मेवारी हुन्छन्। त्यसलाई तोकिएको समयमै पूरा गर्नू भनेर लाखौं पार्टी प्रतिनिधिले नेतृत्व चुनेका हुन्। कांग्रेस आफैंमा नागरिकको सामूहिक भावना पनि हो। त्यसकारण त्यसको नेतृत्वमा कुनै विरासत वा अहिलेको भाषामा भन्दा ‘नेपोटिज्म’को कुनै स्थान रहँदैन। यो कसैको पेवा पनि होइन। कसैको पुख्र्यौली अधिकार पनि छैन।

कांग्रेस इतिहासको यस्तै संकटका बेला जनताकै भावनामा जन्मिएको एउटा राजनीतिक पार्टी हो। जहाँ त्यो बेला सम्पूर्ण नेपाली जनताको राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको भावना गाँसिएको थियो। आज पार्टी सञ्चालनका निम्ति औपचारिक रूपमा केही लाख मानिस यसका सदस्य भएका होलान्, कांग्रेस भएका होलान् र कांग्रेसी भनेको त्यो आमभावना हो, जसले यो पार्टीलाई जन्माएका हुन्। २००७ सालदेखि २०१५, २०१७ र २०४६ हुँदै २०६२–६३ सम्मै कांग्रेसलाई जनताको त्यही भावनालाई जगाइराखेको हो। त्यसैले त्यो ऐतिहासिक जनभावलाई अस्विकार गर्ने वा अपमान गर्ने छुट नेपाली कांग्रेसलाई छैन।

अन्तमा, तत्कालीन अवस्थामा बीपी कोइरालाले नेपाली कांग्रेसका पार्टी कार्यकर्ताहरूलाई लेख्नुभएको निकै मार्मिक र भावनात्मक पत्रले कांग्रेसीजनको आँखा अलिकति भए पनि उघ्रिन्छन् कि ? बीपीले त्यो बेला कांग्रेसी नेता तथा कार्यकर्ताका सात मुख्य कमजोरी औंल्याउनु भएको थियो जो आजपर्यन्त उस्तै छन्, कहिल्यै नफेरिने कांग्रेसी प्रवृत्तिजस्तै–

१. सर्वप्रथम क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी एक किसिमको आत्मविश्वासको सिर्जना गर्‍यो। अनवरत कार्यद्वारा यसको पुस्ट्याइँ भएको भए सम्भव थियो, यसबाट त्यति नोक्सान हुने थिएन। तर अनेक कारणले त्यसो हुन सकेन। फलस्वरूप, आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुन गएको छ। यसलाई हामीले हटाउनु परेको छ।
२. हाम्रो दोस्रो अवगुण के हो भने हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौं। हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौं। तसर्थ, हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना वा रुचि वा अरूचिका छायाँ मात्र हुन जान्छन्। यसलाई हामीले हटाउनु परेको छ।

३. हाम्रो तेस्रो खराबी के हो भने हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्वबोध कम छ। यद्यपि, जिम्मेवारी उठाउने बारेको हाम्रो चाख भने कम छैन।
४. यी कारणले हामी जनतामा बढ्ता भिज्दैनौं। र, जनता र हाम्राबीचको सीमा दिन प्रतिदिन बढ्दै गएको छ। यो हाम्रो चौथो दुर्गुण हो।
५. हाम्रा साथीहरूको पाँचौं खराबी के छ भने हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्छौं। जनता र पार्टीकै कार्यकर्ताबीचको 
यस किसिमको अन्तर पनि आज देखिन थालेको छ।
६. हाम्रो छैटौं खराबी भनेको साथीहरूमा अध्ययनको ठूलो कमी हुनु हो। हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनु पर्दछ। हामी त्यसो गर्दैनौं। उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई देखेको छु। यसलाई पनि हामीले हटाउनु परेको छ।

७. अब म तपाईंहरूलाई मैले देखेको पार्टीको सातौं र अन्तिम खराबी लेख्छु। साथीहरूमा उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ। राजनीति र नैतिकता दुई भिन्न तŒव हुन् र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरि विचार तपाईंहरूले पनि अवश्य नै सुन्नुभएको होला। यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै–कसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता बाधक मात्र हुन्छ। एउटा अर्को थरिको भनाइ के छ भने नैतिकताबिनाको राजनीति सर्वथा पापाचार मात्र हो। एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पुँजी भनिएको छ। त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ।

राजनीति भनेको मोक्षको मार्ग होइन। पार्टी मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मूर्खता हो। मेरो भनाइको तात्पर्य के हो भने माथिका नैतिकताका बारेका दुवै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन्। राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ। म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ। र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलने छैन ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.