लुम्बिनीको जितले विराटनगरलाई लाग्यो धक्का, रोचक बन्दै टिमहरूको प्रतिस्पर्धा

लुम्बिनीको जितले विराटनगरलाई लाग्यो धक्का, रोचक बन्दै टिमहरूको प्रतिस्पर्धा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणका खेलहरू अन्तिम चरणमा आइपुगेका छन्। प्रतियोगिताको संघार आइपुग्दै गर्दा प्रतियोगिताबाट बाहिरिने र प्लेअफमा छनोट हुने टिमहरूको पनि प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ। 

लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको लुम्बिनी लायन्सले आफ्नो प्लेअफ सम्भावना बलियो बनाउँदै गर्दा विराटनगरको शीर्ष २ को दौडमा यसले ‘ब्रेक’ लगाएको छ। लिग चरणको अन्तिम खेलहरू बाँकी छन्। कसले शीर्ष ४ मा स्थान बनाउने र शीर्ष ४ मा रहेका मध्ये कसले शीर्ष २ मा स्थान बनाउने भन्ने होड रहनेछ। पछिल्ला केही खेलहरूमा कमजोर भनिएका टिमहरूले पुनरागमन गरिरहेका छन्। पोखरा एभेन्जर्स, लुम्बिनी लायन्सको जितले तालिकामा उतारचढाव आएको छ। 

चितवन राइनोजको लगातारको हारले उसलाई शीर्ष ४ मा अटाउन अब बाँकी २ खेल जित्नै पर्ने हुन्छ। कर्णाली याक्स प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टिम बन्यो। जनकपुर बोल्ट्स तालिकाको अन्तिम स्थानमा छ। जनकपुरको पनि सम्भावना सकिएको भन्न सकिन्छ।। बुधबारको खेल सकिँदासम्म जनकपुर बाहिरियो भन्ने अवस्था छैन। 

बुधबार विराटनगर किंग्स र लुम्बिनी लायन्सबीचको खेल सकिएपश्चात् अपराजित रहेको सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा छ। दोस्रो स्थानमा काठमान्डु गोर्खाज, तेस्रो स्थानमा विराटनगर किंग्स र चौथो स्थानमा लुम्बिनी लायन्स उक्लिएको छ। तालिकामा पाँचौँ स्थानमा पोखरा एभेन्जर्स छ भने छैटौँ स्थानमा चितवन राइनोज छ। 

तालिकामा टिमहरूको उतारचढावले एनपीएल सिजन २ को मैझारो तर्फ डोर्‍याइरहँदा टिमहरूको रोचक तथ्यहरू पनि बनिरहेका छन्। 

विराटनगरलाई लागेको धक्का 
प्रतियोगिता सुरु हुँदा बलियो देखिएका टिमहरू पछिल्लो २/३ खेलमा लगातार हार बेहोर्दा समीकरण फरक पर्न गइरहेको छ। यसको उदाहरणको रूपमा विराटनगर किंग्सलाई हेर्न सक्छौं। 

विराटनगरले सुरुवाती २ खेलमा लगातार २ जित दर्ता गर्‍यो। बलिया विदेशी खेलाडीको नामसँगै आएको विराटनगरले उत्कृष्ट प्रदर्शनसहित २ खेलमा जित हात पार्‍यो। त्यसपछि विराटनगरको उतारचढाव सुरु भयो। तेस्रो खेलमा चितवन राइनोजसँग हार बेहोर्‍यो। चितवन राइनोजसँग ४८ रनले हारेको विराटनगरले चौथो खेलमा कर्णाली याक्सविरुद्ध रोमाञ्चक जित दर्ता गर्‍यो। यो खेल विराटनगरका लागि अंक जोड्ने महत्त्वपूर्ण माध्यम बन्यो भने कर्णालीको हार सुरु भएको क्षण पनि बन्यो। यो जित विराटनगरका लागि भन्दा पनि यो हार कर्णालीले भने सिजनभर याद राख्नेछ। 

छैटौँ खेलमा लुम्बिनी लायन्सविरुद्ध मिडलअर्डरमा विराटनगरको ब्याटिङ चलेन। छैटौँ खेलमा दक्षिण अफ्रिकी खेलाडी फाफ डु पेल्सिस पनि आएका थिए। उनको आगमनले त्रिवि मैदान ‘हाउस फुल’ थियो। मैदान हाउस फुल मात्रै भएन। मैदानमा खेल सुरु हुनुअघि फाफको वार्मअफ सेसनमा उनलाई टेलिभिजनको पर्दामा हेरेर हुर्किएका नेपाली युवा खेलाडीको पुस्ता दंग थियो। उनलाई मैदानमा देख्नु नेपाली खेलाडीका लागि पनि नयाँ अनुभव रह्यो। मार्टिन गप्टिल, फाफ डु पेल्सिस जस्ता खेलाडीको टिम विराटनगर हारिरहेको छ, कारण ब्याटिङमा समस्या । 

विराटनगरका लागि बुधबारको हारको कारण मध्ये एक शीर्ष क्रमको ब्याटिङ नचल्नु हो। शीर्ष क्रममा बुधबारको खेलमा जर्ज मुन्से डकआउट भए। बुधबारको खेलबाट एनपीएलमा डेब्यु गरेका फाफमाथि नेपाली दर्शकको पनि ठूलो अपेक्षा रहेको थियो। उनी १२ रनमा स्टम्पिङ भए। तेस्रो क्रममा नेपाली ब्याटर लोकेश बम आएका थिए। लोकेशले सर्वाधिक रन बनाए। उनले ३५ रन बनाए। साम हेज्जेट २७ रनमा क्याच भए। यी शीर्ष ४ ब्याटरको ब्याटबाट ठूलो साझेदारी र रन बनेन। जसको फलस्वरुप विराटनगरले बोर्डमा ठूलो लक्ष्य राख्न सकेन। 

बलिङमा युवा स्पिनर सुवास भण्डारीले राम्रो सुरुवात गरेका हुन्। तर सुरुवात अनुसारको फिनिस भने भएन। उनले सिजनको पहिलो खेल खेलेका थिए। पहिलो बलमा पहिलो विकेट लिए। उनले ओपनर सुमित महर्जनलाई स्टम्पिङमार्फत पेभेलियनको बाटो देखाए। लुम्बिनी लायन्सका कप्तान रोहित पौडेललाई डक आउट बनाए। उनले ४.४ ओभरमा रोहितलाई फाफ डु पेल्सिसको हातमा क्याच गराए। त्यसपछि भने विराटनगरको बलिङले लय समाउन सकेन। सन्दीप लामिछानेले २ विकेट लिए। अर्धशतकीय पारी खेलेका डार्सी सर्टलाई उनले क्याच गराए। 

विराटनगरले अब लिगको अन्तिम खेल सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी छ। सुदूरपश्चिमलाई राम्रो अंकले हराउन सके विराटनगरको शीर्ष २ को होड अझै बाँकी छ। त्यसका लागि बिहीबार हुने पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजलाई हराउनुपर्छ। छैटौँ खेलमा लुम्बिनी लायन्ससँग हारेपछि विराटनगरका ब्याटर लोकेश बमले पत्रकारसँग भने, ‘हामीसँग शीर्ष २ मा जाने अझै सम्भावना छ। हामीले सुदूरपश्चिम रोयल्सलाई हराउन राम्रो खेल्नुपर्छ।’

लुम्बिनीको जितको लय
बुधबार लुम्बिनी लायनसले विराटनगर किंग्सलाई ५ विकेटले हरायो। यो लुम्बिनी लायन्सका लागि तेस्रो जित थियो। तेस्रो जितसहित लुम्बिनीले आफ्नो प्लेअफ सम्भावना बलियो बनाएको छ। बुधबारको खेलमा जितपश्चात् लुम्बिनी लायन्स अंक तालिकाको शीर्ष ४ मा परेको छ। पहिलो सिजनमा प्लेअफबाट बाहिरिने पहिलो टिम बनेको लुम्बिनीले दोस्रो संस्करणमा आफ्नो प्रतिस्पर्धा जोडतोडले दिइरहेको छ। 

पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै दोस्रो संस्करण सुरु गरेको लुम्बिनीले त्यसपछि लगातार तीन हार बेहोर्‍यो। पाँचौँ खेलमा पोखरा एभेन्जर्सलाई हराएर पुनः जितको लय समातेको लुम्बिनीले छैटौँ खेलमा विराटनगरलाई विकेटले हरायो। 

खेलमा लुम्बिनी केही परिष्कृत भएर मैदानमा उत्रिएको थियो। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका रोहितको टिमले बलिङ र फिल्डिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्‍यो। जसको फलस्वरुप विराटनगर किंग्स १४४ रनमा प्याक भयो। १४५ को विजयी लक्ष्य पछाएको लुम्बिनी लायन्सले १७.४ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। पहिलो खेलमा जितसहित सुरुवात गरेको लुम्बिनीले केही समय लय गुमायो। त्यसपछि पुनः लयमा फर्किँदै हाल लगातार दोस्रो जित पछि लुम्बिनीले आफ्नो प्लेअफ सम्भावना कायमै राखेको छ। लुम्बिनीले अन्तिम खेलमा जनकपुर बोल्ट्ससँग खेल्दैछ। 

पहिलो संस्करणको नतिजा बिर्साउन पनि लुम्बिनी यो पटक प्लेअफ खेल्न चाहन्छ। बुधबार विराटनगरलाई पराजित गरेपछि लुम्बिनीको मनोबल निकै बलियो रहेको छ। ‘अझै पनि हामीसँग प्लेअफमा छनोट हुने सम्भावना छ। अन्तिम खेलमा जनकपुर बोल्ड्सलाई हराउँदै हामी प्लेअफमा छनोट हुन्छौँ भने लागिरहेको छ,’ छैटौँ खेलमा विराटनगर किंग्सलाई पाँच विकेटले पराजित गरेपछि लुम्बिनी लायन्सका ब्याटर सन्दीप जोराले भने। 

पछिल्ला केही खेलहरूमा ब्याटिङ कोल्याप्स हुने समस्या लुम्बिनी लाइन्समा देखिएको थियो। विशेषतः शीर्षक्रमको ब्याटिङबाट राम्रो सुरुवात पाए पनि मध्यक्रममा आएर लुम्बिनीको ब्याटिङ कोल्याप्स हुन्थ्यो। निरोशन डिक्वेल्लाको आगमन भएसँगै टिमको मिडलअडर बलियो भएको जोराले बताए। उनले भने,‘हाम्रो पछिल्ला केही खेलहरूमा मिडलअर्डरमा समस्या आइरहेको थियो। तर निरोशन डिकवेल्ला आइसकेपछि त्यो समस्या समाधान भएको छ।’

विश्वस्तरीय खेलाडी फाफ डु पेल्सिससँगको प्रतिस्पर्धात्मक खेलको अनुभवबारे सन्दीप जोरा भन्छन्, ‘यस्तै–यस्तै विश्वस्तरीय खेलाडीहरूबाट हामी घरेलु खेलाडीहरूले सिक्ने मौका पाउँछौँ। उनीहरूको अनुभव खेल्ने तरिकाहरू हामीले सिक्नुपर्छ।’ यस्ता खाले खेलाडीहरू एनपीएलमा आउनाले नेपाली घरेलु क्रिकेटरहरूको विकास हुने उनले बताए। उनले थप भने,‘यस्ता यस्तै खेलाडीहरू आउँदै गरेमा हाम्रो नेपाली खेलाडीहरूको विकास हुनेछ।’ 

लुम्बिनी लायन्सले पछिल्ला तीन खेलहरू हार्‍यो जसको मुख्य कारण थियो फिल्डिङमा गल्ती। बुधबार विराटनगरसँगको खेलमा लुम्बिनी लायन्सको बलिङ र फिल्डिङ निकै बलियो देखियो। यसबारे सन्दीप जोरा भन्छ,‘पछिल्ला तीन खेलहरू हामीले हार्यौ जसमा हाम्रो फिल्डिङमा गल्ती भइरहेको थियो। त्यसमा हामीले मेहनत गर्‍यौ। ब्याटिङ र बलिङ हाम्रो कन्ट्रोलमा हुँदैन तर फिल्डिङ हाम्रो कन्ट्रोलमा हुन्छ।’ पोखरा एभेन्जरसँग तीन विकेटको जितपछि टिममा फिल्डिङ एफोर्ट लाउनुपर्छ भन्ने तिर ध्यान गएको उनले बताए। उनले भने,‘पोखरा एभेन्जरसँगको जितपछि हाम्रा टिमका खेलाडीहरूलाई उत्साह बढ्यो। जसले गर्दा फिल्डिङमा अझ राम्रो भएको जस्तो लाग्छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.