सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको विजयी लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिगको २४ औँ खेलमा चितवन राइनोजलाई सुदूरपश्चिम रोयल्सले १७० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको हो।
सुदूरपश्चिम रोयल्सका लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाएर रिटायर हर्ट भए। उनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
सुदूरपश्चिमले पहिलो विकेट विनोद भण्डारीको रूपमा गुमायो। उनले १७ बलमा २१ रन बनाए। उनले पहिलो विकेटका लागि क्रिस लिनसँग ४६ रनको साझेदारी बनाए।
इशान पाण्डे १ रनमा क्याच भए। पुनित महराले १३ रन बनाए। हर्मित सिंह १ रनमै पेभेलियन फर्किए। आरिफ शेख २४ र दिपेन्द्र सिंह ऐरी २४ रनमा अविजित रहे।
चितवन राइनोजका लागि सैफ जैबले २ विकेट लिए। रञ्जित कुमार र जर्ज स्क्रिमसले १–१ विकेट लिए।
सुदूरपश्चिम यसअघि नै प्लेअफमा छनोट भइसकेको छ। आजको खेल जितेमा सुदूरपश्चिम अंक तालिकाको शिर्षमा रहँदै क्वालिफाई १ खेल्नेछ। यसअघि सुदूरपश्चिमले ५ खेलमा ५ जिसहित प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।
पहिलो खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रन, चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेट र पाँचौं खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको थियो।
चितवन राइनोजले पाँच खेल खेलिसक्दा २ जित्दा तिन खेलमा हार बेहोरेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवनले दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको थियो। चौथो खेलमा काठमान्डु गोर्खाजसाग ५३ रनले पराजित हुँदा पाँचौं खेला जनकपुर बोल्ट्ससँग ६ विकेटको हार बेहोरेको थियो।
प्रतिक्रिया दिनुहोस !