सुदूरपश्चिमलाई विराटनगरले पराजित गर्दा स्पष्ट बन्यो प्लेअफ समीकरण, काठमान्डु र लुम्बिनीले एलिमिनेटर खेल्ने

सुदूरपश्चिमलाई विराटनगरले पराजित गर्दा स्पष्ट बन्यो प्लेअफ समीकरण, काठमान्डु र लुम्बिनीले एलिमिनेटर खेल्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएन)को लिग चरणको एक खेल मात्रै बाँकी छ। लिग चरणको खेलहरू सकिँदा प्लेअफको समीकरण स्पष्ट भएको छ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले खेल्नेछन्। ७ खेलमा ६ खेल जित्दै सुदूरपश्चिम रोयल १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएको हो। शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै विराटनगर किंग्सले पहिलो क्वालिफायरमा स्थान बनाएको हो। 

एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन्। सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सको खेलअघि दोस्रो स्थानमा रहेको काठमान्डु गोर्खाजलाई रनरेटमा पछि पार्दै विराटनगर किंग्सले पहिलो क्वालिफायरमा स्थान बनाएको हो। 

शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले दिएको लक्ष्य १३.४ ओभरभन्दा अगाडि भेटाउन सकेको अवस्थामा विराटनगर किङ्स काठमान्डु गोर्खाज भन्दा रन रेटमा अगाडि जान्थ्यो र सोही समीकरण बनाउन विराटनगरले आक्रामक सुरुवात गर्‍यो। पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे। आक्रामक सुरुवातसहित विराटनगर किंग्सले ११.५ ओभरमा चार विकेट गुमाउँदै १५० रनसहित रोयल्सले दिएको १४८ रनको लक्ष्य पूरा गर्‍यो। 

रनरेटमा पछि पार्दै काठमान्डु तेस्रो स्थानमा ओर्लियो। योसँगै एलिमिनेटरमा काठमान्डुले लुम्बिनीसँग खेल्ने छ।

पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले मंगलबार खेल्नेछन्। पहिलो क्वालिफायरको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। बुधबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरको खेल खेल्नेछन्।

बिहीबार दोस्रो क्वालिफायरको खेल हुनेछ। यसमा पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सको खेलमा हार व्यहोरेको टिमले एलिमिनेटरबाट जितेर आएको टिमसँग खेल्नेछ। दोस्रो क्वालिफायरमा विजेता हुने टोलीले पहिलो क्वालिफायरको विजेता टोलीसँग फाइनलमा भेट गर्नेछ। 

विराटनगरको बलियो ब्याटिङ 
हालसम्म अपराजित रहँदै लिग चरणको सातौँ खेल खेलेको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै विराटनगर किंग्सले आफ्नो पहिचान बनायो। सात खेलमा ५ जित र दुई हारसहित विराटनगर किंग्सले १० अंक जोड्यो। सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्स यही बलियो मानसिकतासँग पहिलो क्वालिफायरको खेल खेल्नेछ। 

सुदूरपश्चिम रोयल्सलाई पराजित गरिसकेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले पत्रकारसँगको कुराकानीमा भने,‘शीर्ष चारमा हामी अटाइसकेका थियौँ तर सुदूरपश्चिमसँगको खेल शीर्ष दुईमा अटाउनको लागि निकै जरुरी थियो।’ कप्तान सन्दीपका अनुसार टस जितेर बलिङ गर्नु पनि रणनीतिको एउटा पक्ष रहेको बताए। उनले भने, ‘बलिङमा १४८ रनको लक्ष्य पाउनु २० ओभरको लागि सामान्य कुरा हो तर हामीले १३.४ ओभरभन्दा अगाडि नै यो लक्ष्य पार गर्नु थियो। जुन लक्ष्य पछ्याउनका लागि फाफ डु पेल्सिस र साम हेजलेटले गरेको आक्रामक ब्याटिङ गरेको देख्दा खुसी लाग्यो।’

सन्दीपले विश्व चर्चित खेलाडीहरूसँग कप्तानको रूपमा खेलाइरहेका छन्। फाफ डु पेल्सिस, साम हेजलेट, मर्चेन्ट डे लाङ्गे, जर्ज मुन्से तथा मार्टिन गप्टेल जस्ता खेलाडीहरू उनको कप्तानीमा खेलिरहेका रहेका छन्। उनीहरूसँग कप्तानको रूपमा खेल्नु उनका लागि कतिको महत्त्वपूर्ण कुरा हो भन्ने पत्रकारको प्रश्नमा सन्दीप भन्छन्,‘उहाँहरू जस्तो ठुलो नाम कमाएका खेलाडीहरू टिममा हुनु टिमको लागि सौभाग्यको विषय हो। म यो विषयलाई निकै उत्साहका साथ सम्मान गर्छु।’ प्रतिभाशाली अनुभवी खेलाडीहरू टिममा हुँदा आफूलाई कप्तानी गर्न सहज भइरहेको सन्दीपले बताए। उनले थप भने, ‘उहाँहरू फिल्डमा हुँदा मलाई सहज हुन्छ। म भन्दा धेरै क्रिकेटको ज्ञान उहाँहरूसँग छ। मैले केही कुरा गलत गरिरहेको छु भने फिल्डमा उहाँहरू हुनुहुन्छ। त्यसले मलाई सहज बनाएको छ।’ 

विराटनगर किङ्सको टिम चिनिने बलियो ब्याटिङ लाइनअपका कारण हो। विराटनगरमा मार्टिन गोप्टेल, जर्ज मुन्से, फाफ डु पेल्सिस तथा साम हेजलेट जस्ता खेलाडीहरू छन्। विश्वमा आफ्नो ब्याटिङबाट बलियो छाप बनाएका खेलाडीहरू हुन्। शनिबारको खेलमा फाफ र सामले देखाएको ब्याटिङ प्रदर्शन उनीहरूको लेगेसी थियो। बलियो मानसिकताका साथ विराटनगर किङ्स उपाधि जित्न तयार रहेको कप्तान सन्दीप लामिछानेले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेपछि भनेका थिए। 

उनले भने,‘शीर्ष चारमा जति पनि टोलीहरू छन्, उपाधिकै दौडमा छन्। यति पर आइसकेपछि हामी पनि उपाधि जितेर प्रतियोगितालाई सुखद तरिकाले बिदाइ गर्न चाहन्छौँ।’ 

इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स ब्याङ्गलोर (आरसीबी)बाट आफ्नो नाम नेपाली समर्थक माझ चिनाएका खेलाडी फाफ डु पेल्सिसले शनिबार त्रिवि क्रिकेट मैदानमा उधुम मच्चाए। १९ बलमा अर्धशतक पूरा गर्दै फाफले उत्कृष्ट ब्याटिङ कौशल देखाए। उनको प्रदर्शनमा सुदूरपश्चिम रोयल्सका समर्थक पनि खुब झुमिए। नेपाली समर्थकहरूको अगाडि खेल्न पाउँदा फाफ पनि खुसी छन्। 

‘यी समर्थकहरू निकै क्रिकेट प्रेमी छन्। संगीतसँगै उनीहरू झुमिरहेका थिए। यो देख्दा मलाई निकै खुसी लाग्यो। धेरै आरसीबीका समर्थकहरू पनि रहेछन्। उनीहरूले आरसीबीको नाम लिएर मेरो लागि चियर (समर्थन) गरिरहेका थिए। यहाँ आएर यो ठाउँमा खेल्न पाउँदा खुसी छु,’ उनले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेपछि पत्रकारसँग आफ्नो धारणा साटेका थिए। 


विराटनगरसँगको हारले पहिलो क्वालिफायरलाई फरक पार्दैन : आरिफ शेख
अपराजित रहँदै तालिकाको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्ससँग ६ विकेटले पराजित भयो। शनिबारको खेलमा सुदूरपश्चिमको पावर प्लेमा गरेको बलिङ निकै फितलो देखियो। फिल्डिङमा पनि जुन हिसाबको सुदूरपश्चिम देखिन्थ्यो त्यो हिसाबको देखिएन। तर यो हारले पहिलो क्वालिफायरमा भने फरक नपार्ने टिमका मध्यक्रमका ब्याटर आरिफ शेखले बताए। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सको सामना गर्नेछ। यही सन्दर्भमा आरिफले भनेका थिए,‘पावरप्लेमा बलिङ अलि राम्रो हुन सक्थ्यो। तर यो नतिजाले पहिलो क्वालिफायरमा विराटनगरसँगको खेलमा फरक पार्दैन।’ आजको खेलमा सुदूरपश्चिम रोयल्सका लागि चार खेलाडी बेन्चमा थिए। क्रिस लिन, हेमन्त धामी, नरेन साउथ जस्ता खेलाडी बेन्चमा राख्दै आराम दिइएको थियो। आरिफ थप भन्छन्,‘हामीले केही खेलाडी परिवर्तन गरेका थियौँ। पहिलो क्वालिफायर अगाडि एक दिन अभ्यास खेल्छ त्यसमा राम्रोसँग अभ्यास गरेर हामी मैदानमा पुनरागमन गर्नेछौँ।’

काठमान्डु र लुम्बिनीले एलिमिनेटरमा खेल्ने
प्लेअफको समीकरण स्पष्ट भइरहँदा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरमा भेट गर्नेछन्। खेलबाट जित्ने टोली अगाडि बढ्नेछ भने हार्ने टोलीले चौथो स्थानमा रहँदै चित्त बुझाउनुपर्नेछ। बुधबार हुने एलिमिनेटरको खेलमा दुई भारतीय प्रशिक्षकको रणनीतिक परीक्षा हुनेछ। मोन्टी देसाईको नेतृत्वमा रहेको काठमान्डु गोर्खाजले टिनु योहानन्नको रणनीतिविरुद्ध खेल्ने छ। 

करण केसीको नेतृत्वमा रहेको काठमान्डु गोर्खाजले नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सविरुद्ध खेल्नेछ। अनुभवी कप्तानको विरुद्धमा युवा कप्तान उत्रनेछन्। 

लिग चरणको सात खेलमा ५ जित र दुई हारसहित १० अंक जोडेको काठमान्डु गोर्खाज विराटनगर किंग्सले रनरेटमा पछि पर्दै तेस्रो स्थानमा ओर्लियो। जसका कारण काठमान्डुले एलिमिनेटर खेल्ने भएको हो।

पछिल्लो संस्करणमा पनि रनरेटकै आधारमा काठमान्डु गोर्खाज (काठमाडौं गुर्खाज– तत्कालीन नाम) शीर्ष ४ मा अटाउन सकेको थिएन। यसपटक पनि काठमान्डु गोर्खाज रनरेटकै आधारमा शीर्ष दुई भित्र अटाउन सकेन। यो गज्जबको संयोग रह्यो। काठमाडौँ शीर्ष दुईभित्र हटाउन सकेको खण्डमा पहिलो हारपछि पनि सम्भावना बाँकी रहन्थ्यो। तर एलिमिनेटर खेल्ने भइसकेपछि एक हारले प्रतियोगिता सकिन्छ। 

पहिलो संस्करणको एनपीएलमा प्लेअफ समीकरणबाट सबैभन्दा पहिले बाहिरिने टिम लुम्बिनी लायन्स दोस्रो संस्करणमा प्लेअफमा स्थान बनाउन सफल भएको छ। कप्तान रोहितका लागि यो सुखद विषय हो। उनले जनकपुर बोल्ड्सलाई हराएर प्लेअफ पक्का भएपछि पत्रकारसँग भनेका थिए, ‘पछिल्लो संस्करणभन्दा यो संस्करण हामीले निकै राम्रो गर्‍यौ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.