दोस्रो संस्करणमा चुकेको साबिक विजेता जनकपुर पुछारमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणका सबै खेल सकिएका छन्। लिग चरणको सम्पूर्ण खेल सकिँदा अंक तालिकामा शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम रोयल्सले दोस्रो स्थानमा रहेको विराटनगर किंग्ससँग पहिलो क्वालिफायर खेल्नेछ भने काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरमा भेट गर्नेछन्।
पहिलो संस्करणको उपाधि विजेता टिम जनकपुर बोल्ट्स दोस्रो संस्करणको नतिजाबाट खुसी छैन। पहिलो संस्करणमा उपाधि जितेर जर्सीमा एउटा स्टार लगाएर खेलेको साबिक विजेता दोस्रो संस्करणको लिग सकिँदा अंक तालिकाको आठौँ स्थानमा रहँदै दोस्रो संस्करण सक्यो।
पहिलो संस्करणमा बनाएको छवि दोस्रो संस्करणमा पतन भयो। दोस्रो संस्करणमा जनकपुर पोट्र्सले एकमात्र खेल जित्यो। जनकपुरले पाँचौँ खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। त्यस बाहेक अन्य सम्पूर्ण टिमसँग जनकपुरले हार व्यहोर्यो। पहिलो खेलमा काठमान्डु गोर्खाजसँग पराजित भएर सुरु भएको जनकपुरमाथि उठ्नै सकेन।
दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ रनले पराजित भएको जनकपुर, तेस्रो खेलमा पोखरासँग २५ रन, चौथो खेलमा सुदूरपश्चिम रोयलसँग ६ विकेटले हार व्यहोर्यो। लगातारको चार हारपछि जनकपुर गोल्सको प्लेअफ सम्भावना निकै न्यून बनेको थियो। पाँचौँ खेलमा आएर जनकपुरले चितवन राइनोजलाई जित्यो। पाँचौँ खेलमा जित निकाले पनि छैटौँ र सातौं खेल पुनः जनकपुरले हार व्यहोर्यो।
साबिक विजेताको रूपमा स्टार भएको जर्सी लगाएर खेलेको जनकपुरले दोस्रो निराशाजनक प्रदर्शन गर्यो। सिजन सोचे अनुरूपको नहुँदा निको अन्तिम खेलमा कर्णाली याक्ससँग हार व्यहोरेपछि टिमका सहायक प्रशिक्षक रहेका मनोज कटुवाल भन्छन्,‘हाम्रा घरेलु खेलाडीहरूले पहिलो संस्करणमा जस्तो लय देखाउन सकेनन्।’
शीर्षक्रममा आसिफ शेख र अनिल शाह दुवैको ब्याट नचल्नु स्पिनमा ललित राजवंशीको पहिलो संस्करणमा चलेको जादु नचल्नु र किशोर महतोको बलिङ पनि प्रभावशाली नदेखिनु यो वर्ष जनकपुर बोल्ट्सका लागि निकै घातक रहेको कटुवालले बताए । उनले भने,‘पहिलो संस्करणमा हाम्रो लागि निकै महत्त्वपूर्ण बनेका लाहिरु मिलन्था, ललित राजवंशी, किशोर महतो यी तीनजना खेलाडी विशेषतः चल्न सकेनन्।’ पछिल्लो संस्करणमा चलेका खेलाडी दोस्रो संस्करणमा फर्ममा नभएको उनले कर्णाली याक्ससँगको खेलपछि पत्रकारसँग भने।
लिग सुरु हुनु अगाडि कागजमा सबैभन्दा बढी विदेशी खेलाडी भित्राएर बलियो देखिएको साबिक विजेताले उपाधि रक्षा गर्न सकेन। उपाधि त परैको कुरा भयो प्लेअफसम्ममा पनि स्थान बनाउन नसक्नु र तालिकाको पुछारमा रहेर दोस्रो संस्करण सक्नु साबिक विजेताको लागि सुखद अन्त्य होइन। सहायक प्रशिक्षक मनोज कटवाल भन्छन्,‘हाम्रो लागि यो सिजन सोचेजस्तो पटक्कै भएन।’
घरेलु खेलाडीको ब्याटिङ चलेन
जनकपुर बोल्ट्सका लागि घरेलु ब्याटरहरूको ब्याटबाट रन निस्किएन। ओपनरहरु यो संस्करण सम्झन चाहँदैनन्। आसिफ शेखले पहिलो खेलमा काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरे। त्यसपछिको खेल उनका लागि सम्झन लायक रहेन। पहिलो खेलमा ५४ रन प्रहार गरेका आसिफले दोस्रो खेलमा विराटनगरविरुद्ध १३ रन बनाए। पोखरा र सुदूरपश्चिमसँगको खेलमा डकआउट भए। चितवन राइनोजसँग १८ रन लुम्बिनी लायन्ससँग २० रन बनाएका आसिफ अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध पुनः डक भए।
जनकपुर बोल्ट्सका नियमित कप्तान रहेका अनिल शाहले पनि यो संस्करणमा सम्झना लायक प्रदर्शन गरेनन्। उनी पहिलो खेल र अन्तिम खेलमा डक भए। पहिलो खेलमा काठमान्डु गोर्खाजविरुद्ध डक भएका उनले दोस्रो खेलमा विराटनगर किंगसँग ४ रन पोखरासँग १ रन बनाए। पाँचौ खेलमा चितवन राइनोजसँगको खेलमा उनले ६१ रनको अर्धशतकीय पारी खेलेका थिए। त्यस बाहेक छैटौं खेलमा लुम्बिनी लायन्ससँग ७ रन बनाएका उनी लिगको अन्तिम खेलमा कर्णालीसँग डक भएका थिए।
मयन यादवले केही खेलमा ब्याट चलाउन खोजे। तर उनको पनि ब्याटबाट टिमका लागि जित दिलाउन सक्ने गरी रन निस्किएन। उनको ब्याटबाट दोहोरो अंक २ खेलमा बन्यो। पहिलो खेलमा काठमान्डु गोर्खाजविरुद्ध ३४ रनको अविजित पारी र लुम्बिनी लायन्सविरुद्ध २७ रनको पारी मयनको लागि र टिमको लािग यादगार हुनेछ।
नेपाली राष्ट्रिय टिममा खेलेका खेलाडीहरूबाट सोचेअनुरुपको प्रदर्शन ननिस्किनु जनकपुर बोल्ट्सका लागि हारको प्रमुख कारण बन्यो। मार्की खेलाडी र कप्तानबाट नै सोचे अनुरूपको प्रदर्शन ननिस्किँदा साबिक विजेताका लागि उपाधि रक्षामा धक्का लाग्नु लागेको थियो।
राष्ट्रिय टिममा पनि प्रमुख भूमिका निर्वाह गरिसकेका अनिल शाह र आसिफ शेख संस्था खेलाडीहरू नचल्नु जनकपुरको हारको एक कारण हो।
सिजनमा तीन कप्तान
दोस्रो संस्करणको एनपीएलमा सिजनको बीचमा तीनपटक कप्तान परिवर्तन गर्ने जनकपुर बोल्ट्स पहिलो टिम हो। नियमित कप्तानको जिम्मा अनिल शाहले पाएका थिए। लगातारको चार हारपछि अनिल शाहले पाँचौँ खेलमा आएर कप्तानी गरेनन्। लगातारको चार हारपछि टिम मिटिङमा बस्दा अनिलले आफूलाई कप्तानीको प्रेसर परेको भनेपछि टिम व्यवस्थापनले नै अनिलबाट कप्तानीको जिम्मेवारी हटाई खुल्ला तरिकाले खेल्न दिने निर्णय लियो। यो कुरा सहायक प्रशिक्षक मनोजले अन्तिम खेलमा कर्णालीसँगको हार पछि भने, ‘अनिलले प्रशिक्षकसँग बस्दा कप्तानी बोझ भएको बताउँदा उनी पछि टिमले पार्नेललाई जिम्मेवारी दिएको थियो। पार्नेल पनि घाइते हुँदा निकोललाई कप्तानी दिइएको हो।’
अनिलको इच्छा अनुरूप जनकपुरले उनलाई खुलेर खेल्ने मौका दिएको थियो। तर टिमले सोचे अनुरूपको प्रदर्शन उल्लेख कप्तानीको जिम्मेवारी पछि पनि दिन सकेनन्। पाँचौँ खेलमा जनकपुर बोल्ट्सले कप्तान परिवर्तन गर्दै दक्षिण अफ्रिकाका अनुभवी खेलाडी वायन पर्नेललाई कप्तानीको जिम्मेवारी दियो। पाँचौँ खेलमा कप्तानी गरेपछि वायनको हेमस्ट्रिङमा समस्या देखियो। उनले छैटौं र सातौं खेल खेल्न सकेनन्। जसका कारण पुन टिमले कप्तान परिवर्तन गर्न पर्ने भयो।
टिमले तेस्रो कप्तानका रूपमा नामीबियन खेलाडी जान निकोल लोफ्टी इटोनलाई कप्तानीको जिम्मेवारी दियो। निकोले जनकपुरका लागि बाँकी रहेको अन्तिम दुई खेलमा कप्तानी गरे। तीनजना कप्तान परिवर्तन गरेपनि जनकपुरले सोचे अनुरूपको नतिजा भने हात पार्न सकेन। तीन जना कप्तान परिवर्तन गरेपनि जनकपुरले सोचे अनुरूपको नतिजा भने हात पार्न सकेन।
प्रतिक्रिया दिनुहोस !