एमाले राष्ट्रिय महाधिवेशन

अध्यक्षमा ओलीको विकल्प छैन, सचिवको दाबेदार हुँ : माधव ढुंगेल

विद्यार्थी र युवा राजनीतिबाट उठेका माधव ढुंगेलको सचिवमा बलियो दाबी

अध्यक्षमा ओलीको विकल्प छैन, सचिवको दाबेदार हुँ : माधव ढुंगेल

एउटा छेउमा नरेन्द्र मोदी छन्, अर्को छेउमा सी जिङपिङ छन्। उहाँहरुसँग हाइट मिल्ने समकालीन नेता केपी शर्मा ओली नै हो। राजनीतिक अन्योलता झन् बढिरहेको बेला अध्यक्षमा ओलीको विकल्प छैन।

काठमाडौं : नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ। एमालेमा दोस्रो विधान महाधिवेशनले कमिटीको आकार घटाएर १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, ७ सचिवसहित १५ सदस्य पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी हुने तय भएकाले महाधिवेशनमा प्रतिस्पर्धा हुने देखिएको छ। महाधिवेशनमा नयाँ नेतृत्व निर्माणका लागि केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मका आकांक्षीहरू खुल्न थालेका छन्। 

महाधिवेशन नजिकिँदै जाँदा नेकपा एमाले केन्द्रीय सदस्य एवम् केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेलले आफू सचिवको दाबेदार रहेको बताएका छन्। युवा नेताको प्रतिनिधित्व गर्दै रामेछापका ढुंगेलले सचिव पदमा बलियो दाबी प्रस्तुत गर्न लागेका हुन्। विद्यार्थी राजनीति हुँदै ३ कार्यकाल केन्द्रीय कमिटीमा सदस्य बनेर संगठनात्मक जिम्मेवारी पूरा गरेका ढुंगेलले आफू सचिव पदका लागि योग्य र क्षमतावान् रहेकाले ११ औं राष्ट्रिय महाधिवेशनमा आफ्नो दाबी रहेको बताए। 

ढुंगेलका अनुसार विद्यार्थी आन्दोलनको सुरुदेखि नै सक्रिय रहँदै पार्टीले दिएको विभिन्न तहका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको अनुभव नै सचिवका लागि  प्रमुख आधार हो। ढुंगेल अनेरास्ववियुका पूर्वअध्यक्षसमेत हुन् भने राष्ट्रिय युवा परिषद्‍मा दुई कार्यकाल उपाध्यक्षसमेत बनिसकेका छन्। उनले विद्यार्थी फाँटको इन्चार्जसमेत सम्हालिसकेका छन् ।

ढुंगेलले भने,‘नेपालको राष्ट्रियतालाई हामी बलियो बनाउन चाहन्छौं र राष्ट्रवादी शक्ति सबै एक ठाउँमा राखेर देशको नेतृत्व गर्ने त्यो क्षमता र सपना छ, त्यो सपना पूरा गर्न सबल र सक्षम एमाले आवश्यकता छ र क. ओलीले गर्न सक्नुहुन्छ, गर्नुहुन्छ।’

पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा रहेका ढुंगेलको नाम युवा-विद्यार्थीमा लोकप्रिय छ। ‘२०४७ सालमा म रामेछापको प्रयागेश्वर माविबाट प्रारम्भिक कमिटीबाट राजनीतिक रूपमा विद्यार्थी आन्दोलनदेखि नै सक्रिय मान्छे हुँ। अनेरास्ववियु रामेछाप जिल्ला कमिटीमा सदस्य हुँदै उपाध्यक्ष, अध्यक्ष बने। नेपाल ल क्याम्पस कमिटी सचिव र अध्यक्ष दुवै पदमा निर्वाचित भएँ, बागमती अञ्चल कमिटी सदस्य हुँदै कोषाध्यक्ष, अध्यक्ष बनेर जिम्मेवारी पूरा गरे। २०६५ मा अनेरास्ववियु केन्द्रीय कमिटीको महासचिव निर्वाचित भएको म, २०६७ मा अनेरास्ववियुको अध्यक्ष बनेर विद्यार्थी आन्दोलनको बागडोर सम्हालेको थिएँ।’ अन्नपूर्णसँग ढुंगेलले भने,‘विद्यार्थी राजनीति होस्, या पार्टीको राजनीति युवा-विद्यार्थी र पार्टी नेतृत्वसँग निरन्तर समन्वयकारी भूमिकामा छु, आफूले जिम्मेवारी पाएको समयमा संगठनलाई पहिलो बनाएको छु। जिम्मेवारी पूरा गरेको छु, गर्छु।’

पार्टीभित्र युवा विद्यार्थीका समसामयिक मुद्दालाई निरन्तर उठाइरहेका ढुंगेल हाल पार्टीमा महत्वपूर्ण पद संगठन विभागमा छन्। ढुंगेलले भने,‘नेकपा (एमाले)को नवौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएँ। त्यसपश्चात नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको केन्द्रीय कमिटी र दशौं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएँ। पार्टीले २०८० साल साउनबाट मलाई संगठन विभागको सचिवको जिम्मेवारी दिएको छ। यो अवधिमा मलाई दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छु। तसर्थ संगठनात्मक जिम्मेवारीका हिसाबले आगामी महाधिवेशनमा सहमति भए पार्टी सचिवमा र सहमति नभइ निर्वाचन भएको खण्डमा पनि सचिवमा उम्मेदवारी दिन्छु।’

युवाको विषय निरन्तर उठाइरहेको छु, पार्टीले सम्बोधन पनि गरेको छ

विद्यार्थी र युवा आन्दोलन, पार्टी विस्तार, युवा तथा नयाँ पुस्तालाई राजनीतिमा समावेशी बनाउन उनी सक्रिय छन्। दुई वटा विषयमा स्नाकोत्तर गरिसकेका ढुंगेलले पार्टीका विधान, नीति र विधि निर्माणमा जोड दिनुपर्छ भन्ने कुरामा जोड दिँदै आएका छन्। नेता ढुंगेलले आफूले पार्टीको बैठकमा र नेतृत्वसँगको छलफलमा युवाको मुद्दा उठाएको र त्यसको सम्बोधन पनि हुने गरेको दाबी गरे। 

विद्यार्थी आन्दोलनको सुरुदेखि नै सक्रिय रहँदै पार्टीले दिएको विभिन्न तहका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको अनुभव नै सचिवका लागि प्रमुख आधार हो।

विद्यार्थी आन्दोलनमा होस् या पार्टीको राजनीतिमा आफूले निरन्तर बहस गरिरहेको उनले बताए। ‘राजनीतिक अस्थिरता, आर्थिक अभाव, बेरोजगारील रोजगारी र अध्ययनको सिलसिलामा नेपालबाट धेरै युवा विदेश जाने गरेका छन्। उनीहरुले विदेशमा रहँदा केही ज्ञान, सीप, अनुभव, पूँजी र प्रविधिको प्याकेजसहित एउटा लक्ष्य बोकेर स्वदेश फर्किएका हुन्छन् । तर, पार्टीहरुले रिटर्नीहरुको भावलाई बुझ्न सकेनन्, राष्ट्र र सरकारको प्राथमिकतामा रिटर्नीका मुद्दाहरु पर्न सकेनन्।’ अन्नपूर्णसँग उनले थपे,‘त्यहि भएर मैले नेपाल फर्कँदै गरेको जनशक्तिलाई उसको ज्ञान, सीप, पुँजी र प्रविधिको भरपुर उपयोग गर्नुपर्छ भनेर पार्टीको जनसंगठनको रुपमा विकास गर्न आवश्यक ठानेर एमालेमा ‘रिटर्नी फेडेरेसन नेपाल’ नामको संगठन निर्माण गर्न प्रस्ताव गरे। जुन विषय पार्टीमा लामो छलफल र बहसपश्चात सचिवालयको बैठकबाट एउटा जनसंगठनको रुपमा स्वीकार गरी नियमावली र जनसंगठन निर्देशिका बनाएर अरु जनसंगठनसरहको मान्यता प्राप्त गरिसकेको छ। विदेशमा रहेर फर्किएकालाई मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको लक्ष्यसहित पार्टीको जनसंगठनको रुपमा आबद्ध भएर संगठित र परिचालित हुन चाहेको विषयलाई सकारात्मक रुपमा ग्रहण गरी पार्टीले रिटर्नीको यो प्रस्ताव र मुद्दालाई बोक्ने सन्देश दिएको छ। यो मेरो लागि र रिटर्नीका लागि खुसीको विषय हो। हामीले बनाएपछि अरु पार्टीले पनि अगाडि सारे।’ 

एमाले केन्द्रीय कमिटीले यो भावलाई ग्रहण गरेपश्चात् ‘रिटर्नी फेडेरेसन नेपाल’ बनेको र अहिले उक्त जनसंगठनबाट महाधिवेशनमा पनि प्रतिनिधि छनोटसमेत भएको उनको भनाई छ।

युवा परिषद्‍मा दुई कार्यकाल उपाध्यक्षमा रहँदा आफू ७ लाख युवासँग कनेक्सन गरेको बताए। उनले भने, ‘युवा परिषद्‍ नयाँ संस्था थियो। जिरोबाट सुरु भएको हो, युवालाई मोटिभेट गरेको थिएँ, त्यहाँ आफूले बनाएका योजनाले देशमा काचुली फेर्न सक्छ, २९ वटा कार्यविधि बनाएँ। युवालाई राजनीतिमा आकर्षण गर्न नमुना संसद्, युथ पार्लियामेन्ट जस्ता कार्यक्रम सञ्चालन गरेको थिएँ। युवालाई उद्यमीतर्फ आकर्षण गर्ने र तालिम दिने, सहुलियतपूर्ण कर्जा, बिना धितो लोन ल्याउने कन्सेप्ट ल्याएको थिएँ। शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने, युवा भोलिन्टियर बनाएर समाजमा सुशासनको यात्रामा ल्याउने प्रयास भएको थियो।’

संगठन विभागका सचिव रहेका ढुंगेलले गत केन्द्रीय कमिटीको बैठकमा वडादेखि केन्द्रसम्म ४० प्रतिशत युवाहरूलाई सहभागिता गराउनुपर्ने प्रस्ताव राखेका थिए। हालको केन्द्रीय कमिटीबाट ६० प्रतिशत र बाँकी ४० प्रतिशत युवाहरूलाई समेट्नुपर्ने उनको भनाइ थियो। उनले भनेका थिए, ‘बहालवाला केन्द्रीय नेतृत्वबाट ६० प्रतिशत र नयाँ तथा युवाबाट ४० प्रतिशत आयात गर्ने अवधारणा सार्वजनिक गरिनु पर्छ। केन्द्रदेखि तल्लो तहसम्म यही प्रणाली अपनाउनुपर्छ।’

एमालेले २०८३ मंसिरसम्म कार्यकाल रहेपनि जेन–जी आन्दोलनको रापतापलाई मत्थर गर्न पनि महाधिवेशनको आयोजना गरेको हो। एमालेले महाधिवेशन प्रतिनिधि छनोट गर्दा नै युवा क्लटर छुट्याएको छ। जसले गर्दा आगामी महाधिवेशनबाट ४० वर्ष मुनिका युवा केन्द्रीय कमिटीमा आउने सुनिश्चित भएको छ।  ‘विद्यार्थी आन्दोलन र पार्टीमा काम गरेको हरेक हिसाबले म कन्फिडेन्सका साथ भन्न चाहन्छु। पार्टीका सबै कमरेडको साथमा छु। पदाधिकारीमा मेरो उम्मेदवारी रहन्छ र म डिजर्ब गर्छु। पार्टीले कसरी सोचेको छ, के जिम्मेवारी दिन्छ त्यो पूरा गर्ने मेरो दायित्व हो,’ उनले भने ।

पार्टीलाई युवा–सशक्त, विचारशील र विद्यमान संविधान तथा लोकतन्त्रको रक्षा गर्ने बनाउने योजना अघि बढाउने उनले बताए। विद्यार्थी, युवा, पार्टी संगठन र राष्ट्रिय राजनीतिक संरचनाका बिच पुल बन्ने ढुंगेलको प्रयास देखिन्छ। आफ्नो सक्रियता पार्टी संगठन, भूगोल तथा केन्द्रीय राजनीति, युवा नीति, प्रतिनिधि छनोट प्रक्रिया र युवा समावेशीकरण, नयाँ पुस्ता र पुराना नेताबिच समन्वयनकारी भूमिकामा निरन्तर रहेको उनले बताए। 

राष्ट्रका लागि एमाले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प छैन 

एमालेको विचार, दृष्टिकोण, नीति सिद्धान्त एवम् कार्यक्रमको बारेमा दोस्रो विधान महाधिवेशनमा छलफल भएर पारित भइसकेको छ। राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने हो। नेतृत्व चयनको विषयमा बाहिर चर्चा गरिएको सस्तो प्रचारबाजीमा लाग्नु नहुने उनको भनाई छ। 

लोकतन्त्र, संविधान र राष्ट्रियता संरक्षणमा एमालेको एकता आवश्यक भएको उनले बताए। उनले भने, ‘देश-विदेशी आक्रमण सामना गर्न एमाले एकताबद्ध हुन जरुरी छ। चुनाव एउटा प्रक्रिया हो, यसलाई हामीले प्रक्रियाकै रुपमा लिनुपर्छ, स्वस्थ प्रतिस्पर्धा लिनुपर्छ। जो उठ्छ त्यसलाई स्वीकार्नुपर्छ र हारेपनि ग्राउण्डमा बसेर पार्टीलाई सहयोग गर्नुपर्छ। उच्च लोकतान्त्रिक संस्कार पार्टी पङ्तिले लिनुपर्छ।’

एमालेको जस्तो संगठित र व्यवस्थित पार्टी अरुको नभएको ढुंगेलको दाबी छ। ‘संविधान निर्माण गर्दा होस्, भूकम्प जाँदा होस् छिया-छियाँ हुँदा होस्, कोरोना महामारी आउँदा होस् एमालेले सामना र नेतृत्वदायी भूमिका खेलेको छ। त्यसमा क. केपी शर्मा ओलीले नेतृत्व लिनु भएको हो। अहिले भदौ २३ र २४ गतेको जेनजीको नाममा भएको आन्दोलनले केही शंका उपशंका भएका छन्। जेनजीका मुद्दा र माग स्वभाविक थिए, सुशासन र पारदर्शिताका खोजेका थिए। त्यसलाई हामीले ‘जेन्युइन’ रुपमा लिएका छौं, राज्यले सम्बोधन गर्ने नै थियो, त्यसलाई सम्बोधन गर्नुपर्छ भन्ने हामी र हाम्रो पार्टी नेतृत्वले सकारात्मक रुपमा लिएको छ। तर आन्दोलनलाई अरु कसैले हाइज्याक गरेर देशको इतिहास मास्ने ठाउँमा पुर्‍यायो, यो घटनाले दुखी बनायो, त्यसले केही संशय बढाएको छ। यो सबै चिजका विरुद्ध लडाई लड्न बाँकी नै छ, यो घटनापछि फेरि नेपाल नयाँ एकताका साथ उठ्नुपर्छ भन्ने सन्देश दिनु छ।’ अन्नपूर्णसँग ढुंगेलले भने,‘नेपालको राष्ट्रियतालाई हामी बलियो बनाउन चाहन्छौं र राष्ट्रवादी शक्ति सबै एक ठाउँमा राखेर देशको नेतृत्व गर्ने त्यो क्षमता र सपना छ, त्यो सपना पूरा गर्न सबल र सक्षम एमाले आवश्यकता छ र क. ओलीले गर्न सक्नुहुन्छ, गर्नुहुन्छ।’null 

अहिलेको नेपालको राजनीतिक अवस्थामा महाधिवेशनमा नेतृत्वको परिवर्तन सम्भव नहुने उनको तर्क छ। ‘अन्य पदभन्दा फस्ट म्यान अर्थात अध्यक्षको सन्दर्भमा मेरो विचार अलि फरक छ। परिवर्तन खोजेर मात्र हुँदैन, एउटा छेउमा नरेन्द्र मोदी छन्, अर्को छेउमा सी जिङपीङ छन्। उहाँहरूसँग हाइट मिल्ने नेतृत्व हामीलाई चाहिँदैन ? फस्टम्यान बन्ने भनेको अरु जस्तो होइन है, राजनीतिक अन्योल झन् बढेको छ। त्यसकारण केपी ओलीको आवश्यकता छ, त्यो आवश्यकतालाई हामीले हृदयगंमन गर्नुपर्छ, एमालेमा अहिले अध्यक्षमा ओलीको विकल्प छैन, तसर्थ ओली सक्षम, सबल र अब्बल लिडर हो र उहाँको सक्रियता असीम छ। त्यो उच्च मनोबल, साहस र मनोबल भएको, सपना भएको, योजना भएको नेतृत्व सक्रिय छ। उहाँभित्र निष्ठा, आंकाक्षा कायमै छ भनेपछि त्यो क्षमता र सक्रियता कहाँ लगेर थन्क्याउनुहुन्छ ? त्यसकारण नेतृत्व गर्नुहुन्छ, अर्को बाटो छैन। राष्ट्र, राष्ट्रियता जोगाउन र संकट टार्न ओलीकै नेतृत्व आवश्यक छ भन्नेमा म दृढ छु।’ 

ढुंगेलले लोकतन्त्रको पक्षमा बलियो ऐक्यबद्धता जाहेर गर्न मंसिर २७ गते सल्लाघारीमा हुने एमाले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सबैलाई आह्वान गरे।

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.