फरार थुनुवा र बाल बिज्याइँकर्ता पक्राउ
विराटनगर : विराटनगरस्थित कोशी अस्पताल र बाल सुधारगृहबाट भागेका थुनुवा र बाल बिज्याइँकर्ता पक्राउ परेका छन्। अस्पतालको शौचालयबाट भागेका १ जना थुनुवा अढाई महिनापछि पक्राउ परेका छन्। मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालका अनुसार मोरङको कटहरी गाउँपालिका–१ घर भएका २० वर्षीय मोहमद राजुलाई शुक्रबार बिहानका राति पक्राउ गरिएको बताइन्। राजु चोरी मुद्दाका थुनुवा हुन्। जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई गत भदौ १७ गते जिल्ला कारागार मोरङ चलान गरिएको थियो।
कारागारमा बन्दी जीवन बिताइरहेका राजुलाई अचानक पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि असोज १२ गते साँझ कोशी अस्पताल भर्ना गरिएको थियो। उपचाररत अवस्थामै शौचालय लैजाने क्रममा उनी सुरक्षाका लागि खटिएका प्रहरीलाई छलेर शौचालयको भेन्टिलेसनबाट हामफालेर सोही दिन राति ८:२० बजेतिर फरार भएका थिए। लामो समयदेखि खोजी जारी राखिएका राजुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सई सुवास अधिकारी नेतृत्वको टोलीले शुक्रबार बिहानका राति ४:२५ बजेतिर पक्राउ गरेको हो।
उनी आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला परेको जानकारी डीएसपी चुँडालले बताइन्। उनका अनुसार राजुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको छ। त्यस्तै, विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहबाट भागेकामध्ये १ जना बाल बिज्याइँकर्ता पनि फेला परेका छन्। मोरङको उर्लाबारी नगरपालिका–६ का १० वर्षीय बाल बिज्याइँकर्तालाई शुक्रबार बिहानका राति पक्राउ गरिएको जानकारी चुँडालले दिइन्। कर्तव्य ज्यान मुद्दामा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका ती बाल बिज्याइँकर्ता गत कात्तिक २० गते दिउँसो ४:२० बजेतिर अन्य बाल बिज्याइँकर्तासँगै सुधारगृहबाट फरार भएका थिए।
उनलाई विराटनगर महानगरपालिका–४ कञ्चनबारी नजिकबाट बिहानका राति १:१५ बजेतिर पक्राउ गरेको डीएसपी चुँडालले बताइन्। उनका अनुसार फरार रहेका बाल बिज्याइँकर्तालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ। अहिले पक्राउ परेकासहित ७ जना बाल बिज्याइँकर्ता बाल सुधारगृहबाट कात्तिक २० गते फरार भएका थिए। बाल सुधारगृहको सुरक्षामा खटिएका प्रहरीलाई धक्कामुक्की गरेर भागेकामध्ये २ जना यसअघि नै पक्राउ परिसकेका छन्। हालसम्म पक्राउ पर्नेको संख्या ३ पुगेको छ। अब ४ जना भागिरहेको र उनीहरुको खोजी जारी राखिएको जानकारी डीएसपी चुँडालले दिइन्।
त्यतिबेला बाल बिज्याइँकर्ताको धक्कामुक्कीका कारण ३ जना प्रहरीसमेत सामान्य घाइते भएका थिए। फरार हुनेहरु १८ वर्षमाथिका छन्। सुधारगृहमा विभिन्न उमेर समूहका र क्षमताभन्दा बढी बिज्याइँकर्ता एकै ठाउँमा राखिएकाले बेलाबेलामा समस्या उत्पन्न हुने गरेको कर्मचारीहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !