साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा, सम्मान
जेष्ठ नागरिक हाम्रा संस्कार, संस्कृति, परम्परा, परिवार, समाज, समुदाय र देश नभएर विश्वकै संरक्षक, गहना र इतिहास हुन्। मातृदेवो भवः, पितृदेवो भवः यो मानवको मूलमन्त्र हो। यसको वर्णन यजुर्वेदको तैत्तिरीय उपनिषद्मा गरेको पाइन्छ। जसको अर्थ आमा र बुबा हाम्रा भगवान् हुन्, उनीहरूको सेवा र सम्मान सदैव गर्नुपर्छ कहिल्यै दुःखी बनाउनुहुँदैन भन्ने सन्देश यो श्लोकको हो।
सेवा गर्नु हाम्रो प्रथम कर्तव्य र प्रमुख दायित्व हो। तर, यही भगवान् मानिने ज्येष्ठ नागरिक बुबाआमा, गाउँ र समाजमा अहिले एक्लिएका छन्। संस्कार, संस्कृति, परम्पराको इतिहासका स्रोत र वेद र उपनिषद्मा भगवान् भनिएका ज्येष्ठ नागरिकहरू अहिले उपेक्षित भएका छन्। गाउँ शून्य हुनबाट जोगाउने अहिले ज्येष्ठ नागरिक भएका छन्। उनीहरूलाई घर, परिवार, समाज र समुदाय त के आफ्नै सन्ततिले समेत बेवास्ता गरेका छन्। उनीहरूलाई माया, ममता, सम्मान, श्रद्धा, सद्भावका साथै हेरचाह आवश्यक पर्ने अवस्थामा परिवारसँग एक्लिनु पर्दाको पीडा शब्दमा बयान गर्न सकिँदैन।
नेपालमा हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ। २०७८ ज्येष्ठ १० गते नेपाल सरकारले यो निर्णय गरेको हो। सामाजिक सुरक्षा भत्ता २०५१ पुस ११ गतेबाट ज्येष्ठ नागरिकलाई १०० दिएर सुरु गरिएको दिनलाई दिवसमा रूपान्तरण गरिएको हो। पाँचौं दिवसको नारा छ, ‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’। शिक्षाले संस्कार दिने हो तर हाम्रो शिक्षाले यसलाई समेट्न सकेको छैन। जति शिक्षित जमात र समाज हुँदै गयो संस्कार र संस्कृति धरासयी हुँदै गएको देखिन्छ। समुदायको बसाइ, संयुक्त परिवार हुँदै एकल परिवारको समाजमा ज्येष्ठ नागरिकहरू उपेक्षित र अपहेलित भएका छन्। परिवार, समाज, समुदाय, भेग, क्षेत्र र राष्ट्रलाई योगदान दिएको नागरिकलाई हरेक क्षेत्रबाट उपेक्षित गरिनु राम्रो होइन। सन्तान र परिवारका लागि सारा जीवन खर्चिएको बुढ्यौली शरीर माया र सद्भावको अभावमा एक्लिनुको पीडा समाजका हरेक क्षणमा प्रतिविम्बित हुन्छ।
पहिले मानिस घर परिवारसँगै हुन्थे। फाट्टफुट्ट कमाउन देशबाहिर जान्थे। त्यसैले घरमा हुनेहरू अधिक समय परिवारसँगै बस्थे। ज्येष्ठ नागरिक परिवार, समाज र समुदायका नेतृत्वमा हुन्थे। उनीहरूलाई सबैले मान्ने, श्रद्धा गर्ने, सम्मान गर्ने, उनीहरूले बोलेको कुरा समर्थन गर्ने हुन्थ्यो। बिस्तारै कृषि पेसा कम हुँदै गयो, आयस्रोतको माध्यम कृषिभन्दा व्यापार व्यवसाय र रोजगारी हुन थाल्यो। व्यापार, व्यवसाय र रोजगारी आफ्नै स्थानमा बसेर नहुने भएकाले परिवार विखण्डित भयो। फलस्वरूप, संयुक्त परिवार एकल परिवार हुँदै विशुद्ध श्रीमान्–श्रीमती र छोराछोरीमा मात्र सीमित भयो। सन्तान घर बस्न नसक्ने वा नमान्ने आमाबुबा घर छोड्न नमान्ने। भेटघाट र परिवार सामूहिक बसाइ बस्ने त कल्पना मात्र हुन थालेको छ। ज्येष्ठ नागरिक हाम्रा आदर्श हुन्, जीवित भगवान् नै हुन्। जसलाई पैसा र अन्य विषयको अभाव हैन, अभाव त माया, सद्भाव, श्रद्धा र सम्मानको मात्र हो।
वृद्धावस्था भनेको शरीरका अंग प्रत्यंगले काम गर्न नसक्ने अवस्था हो। यस समयमा हामीले उहाँहरूलाई केही समय दिने, सँगै बस्ने, उहाँका कुरा सुन्ने, झर्केर नबोल्ने, बाल स्वाभाव जस्तो भएका आमाबुबासँग दैनिक केही समय बिताउने, उहाँका पुराना कुरा सम्झाइदिने गर्नुपर्छ। कसरी खुसी हुन चाहनुहुन्छ, त्यो दिने वातावरण परिवार र समाजले सिर्जना गर्नुपर्छ।
वास्तवमा भन्ने हो भने नेपालीको परिवारसँगै बस्ने त कल्पना पनि हुन छोड्यो। पहिला पढाइ, त्यसपछि जीविकोपार्जनका लागि देशपरदेश अनि बुढ्यौली फेरि घर रुग्ने र एक्लै बस्ने। यस्तै परिक्रम चलिरहेको छ। तर युवा र प्रौढ अवस्थामा भन्दा वृद्धावस्थामा परिवारको माया, सहारा, सहयोग, सद्भाव र हेरचाहको अति आवश्यक छ, जुन हुन सकिरहेको छैन। सरकारले ज्येष्ठ नागरिकलाई मासिक ४००० का दरले सामाजिक सुरक्षा भत्ताको साथै वार्षिक १ लाखसम्मको स्वास्थ्य बिमा निःशुल्क गरेको छ, यातयातमा छुट गरेको छ। विभिन्न सार्वजनिक सेवा प्रवाह हुने स्थानमा पहिलो प्राथमिकतामा राखेको छ।
संघ, प्रदेश र स्थानीय सरकारले विभिन्न स्थानमा ज्येष्ठ नागरिकहरू भेला हुने र मनोरञ्जन गर्ने स्थल निर्माण गर्नुका साथै विभिन्न स्थानमा सरकारी तथा समाजसेवी व्यक्तिले वृद्धाश्रम सञ्चालन गरिरहेका छन्। स्थानीय सरकारले जाडोको कपडा, थर्मस, हर्लिक्स, चियाचिनी, लाइट, लौरो, वितरण गर्नुका साथै उनीहरूको सेवा गर्ने परिवारका सदस्यलाई सम्मान गर्ने गरेका छन्। अधिकांश ग्रामीण भेगका ज्येष्ठ नागरिकले त्यही सरकारले दिने सामाजिक सुरक्षा भत्ताले जीवन निर्वाह गरेका छन्। त्यसैले, सरकारले पनि ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाको नीतिमा अलि सुविधा थप गर्दै स्यहार–सुसार र स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने देखिन्छ।
ज्येष्ठ नागरिकहरू सरकारले गर्ने कुरामा भन्दा पनि सन्तान र परिवारका सदस्यहरूको परिवर्तित व्यवहारले निराश छन्। सन्तान र नातिनातिनाहरूलाई देख्न नपाउने, उनीहरूसँग खेल्न नपाउनु, परिवारसँग सुखदुःख साट्न नपाउनु, नजिकको मान्छेसँग दुःखसुख पोख्न नपाउनु, भएभरको सम्पत्ति बिक्री–वितरण गरेर कोठामा सीमित भएर बस्नु आदि समस्यामा छन्। समयमा औषधि उपचार नपाउनु, मन लागएको स्थानमा घुम्न जान नपाउनु, आदि कुराले उनीहरूलाई पिरोल्ने गरेको अनुभूत हुन्छ। सबै उमेर समूहमा पर्ने ज्येष्ठ नागरिक कमजोर र अशक्त हुन्छन् भनेर विभिन्न कार्यक्रममा समावेश नगराइनु, गर्नसक्नेहरूलाई कामबाट निकाल्नु आदि कारण छन्, जसले उनीहरूलाई दुखित तुल्याएको छ।
बुबाआमा हाम्रा साक्षात् भगवान् हुन्। उनीहरूको सेवा, सम्मान र श्रद्धा गर्न हाम्रो हरेक धर्म संस्कृतिले सिकाएको छ। उनीहरूलाई सम्पत्ति, धन, पैसा केही चाहिएको छैन, केवल हाम्रो थोरै समय चाहिएको छ। सकिन्छ, दैनिक ज्येष्ठ नागरिक भएका बुबाआमासँग दैनिक प्रत्यक्ष भेटघाट, सोधखोज गरौं। सकिन्न, १–२ घण्टा आफ्ना दुःख बिसाउन दिऔं, उहाँहरूका कुरा सुनिदिऔं, आफ्ना दुःखसुख साटौं। पैसा खर्च गरेर कही जानुहुन्न, बजारमा बस्न सक्नुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ भनेर एक्लै नछोडौं। रुखैमुनि भए पनि उहाँहरूसँग सँगै बसौं, उहाँहरूको आशीर्वाद लिऔं। सेवा गरौं, पुण्य कमाऔं।
सरकारले पनि हरेक वर्ष नारा मात्र नफेरोस्, जीवनस्तर पनि बदलोस्। वृद्धवृद्धाहरूको मुहारमा हाँसो र खुसी ल्याओस्। सक्नेलाई विभिन्न किसिमको आयआर्जन गर्ने कामममा लगाओस्। उनीहरूको कल्याणका लागि कल्याणकारी कोषको स्थापना गरोस्। बुबाआमाको हेरचाह नगर्नेहरूलाई केही सचेत गराओस्। उनीहरूको सीप र अनुभवको सेयर गर्ने चौतारी बनाओस्। उमेर एउटा संख्या हो। उमेर बढ्यो भन्दैमा हरेक कुरा घटेको नहुन सक्छ। यसलाई नकार्ने वातावरण नबनाऔं। यही मेलो र मेसोमा गयो भने अबका केही पुस्तापछिका हामीहरू सबैको बास वृद्धाश्रममा हुने कुरामा दुईमत छैन।
त्यसैले, ज्येष्ठ नागरिकहरू हाम्रा अभिभावक, स्रष्टा, शिक्षा, धर्म, संस्कृति, सम्पदा, इतिहास र सबै हुन्। त्यसैले उनीहरूको सम्मान र श्रद्धा सधैं गर्ने गरौं। उहाँहरूलाई रुवाएर महलमा बसेर भिडियो कल गरेर र उहाँहरूको मृत्युपछि फाउन्डेसन र ट्रस्ट खोलेर दान पुण्य गरेर केही हुनेवाला छैन। जे गर्नु छ, जीवितै छँदा गरौं।
प्रतिक्रिया दिनुहोस !