मिर्मिरेमा झरिगएको कवि

स्रष्टा स्मृति

मिर्मिरेमा झरिगएको कवि

विमल गुरुङका पुराना डायरीका पानाहरू पल्टाउँदा लाग्छ, उनले भर्खरै केही लेखेर गएका छन्। पुस्तकालयको प्रत्येक कुनामा पूर्णबहादुर गुरुङको मिहिनेतको छाप छ।

२०६४ कात्तिक ९ को एक मध्याह्न। पहिलोपटक धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा पुगें। त्यस क्षण ममाथिको आकाश कतैबाट गहिरो अनुभूतिले ढाकिएजस्तो लागिरहेको थियो। बुद्धचोकबाट भोटेपुल जाने सडकछेउ दाहिनेतिर एउटा पुरानो दुईतले घरमा रहेको पुस्तकालयभित्र पसें। त्यहाँभित्रको परिवेशलाई बाहिर सडकमा व्याप्त कोलाहलले छोएको थिएन।

शान्त र शून्यताले भरिएका कोठाहरू थिए। थुप्रै आलमारीभित्र किताब राखिएका थिए। टेबलहरूमाथि पत्रपत्रिका छरपस्टिएका थिए। यो कुनै भव्य भवन थिएन। तर भित्र पस्नेबित्तिकै मलाई लाग्यो, कुनै पवित्र ठाउँमा आइपुगेको छु ! त्यहाँ भेट भयो, कवि विमलका बाबा पूर्णबहादुर गुरुङ र आमा सरस्वती गुरुङसँग, जो लामो समयदेखि मनभरि छोरासँगको बिछोडको पीडालाई लुकाउँदै छोराकै यादहरूको त्यान्द्रोमा अल्झेर बाँचिरहेका थिए।

पुस्तकालयका कोठाकोठा डुलें। यो ठाउँ त एक्लो छोराप्रति बाआमाको माया ममता लुकेको नमुना रहेछ। एउटी बहिनीले दिवंगत दाजुको यादमा कसेको स्नेहको बन्धन रहेछ। त्यस पुस्तकालयमा बुवा पूर्णबहादुर आफ्नो छोराका नाममा समर्पित आँसुका थोपाहरू दुई आँखाका कुनामा लुकाएर जीवनरूपी गाडी गुडाउँदै प्रत्येक दिन ओहोरदोहोर गर्दा रहेछन्। आमा सरस्वती हृदयभरि ममताको विशाल सागरलाई सम्हाल्दै छोराका यादहरूलाई सजाउँदै यही पुस्तकालयको वरिपरि बाँचिरहकी रहिछन्।

आज पनि थुप्रै मित्र कवि विमलसित जोडिएका सम्झनालाई तरोताजा पार्न, कविलेखक अनि पाठक पनि आफ्नो ज्ञानको क्षुधा मेट्न यहाँ आइपुग्छन्। आज पनि पूर्णबहादुर आफ्ना आँखाहरूमा दुःख र थकान लुकाउँदै आगन्तुक पाठक–लेखकलाई स्नेहसहितको नमस्कार टक्र्याउँछन्। २०४८ वैशाख २४ को एक बस दुर्घटनामा उनले २० वर्षे पुत्र विमललाई गुमाएका थिए। जीवनको सबैभन्दा जिजीविषापूर्ण समय, सपनाको बाँसुरी बज्दै गरेको क्षण, एकाएक आएको नियतिको तुफानले उनलाई लिएर गयो। विमलको असामयिक निधनपछि जीवनका सबै उज्यालाहरू एकाएक हराएजस्तो लाग्यो बाबुआमालाई। तर त्यो अँध्यारोबाटै एक सम्भावनाको प्रकाश झुल्किएको थियो, विमल स्मृति पुस्तकालयका रूपमा। २०४८ सालकै अन्त्यतिर पूर्णबहादुर र सरस्वती गुरुङले छोराले पढेका र लेखेका सामग्री, किताबहरू, डायरीहरू, नोटहरू, रचनाहरू एकत्रित गर्न थाले। ती सबै विमलले फेर्ने श्वास थिए, जसलाई जीवित राख्न उनीहरूले त्यो पुस्तकालय खोल्ने निर्णय गरे। विमल गुरुङले विद्यार्थी जीवनमै कार्लमाक्र्स, लेनिन, चे ग्वेभारा र माओका क्रान्तिकारी विचार पढिसकेका थिए।

विमल राजनीति बुझ्थे, समाज बुझ्थे र मान्छेको पीडा बुझ्थे। उनी कलमका सिपाही थिए र आवाजविहीनहरूका निम्ति बोलिदिने अर्को आवाज थिए। उमेरले कलिलो भए पनि उनी लेखनशैलीका धनी थिए— आत्माभिव्यक्ति दिने परिपक्व कवि। बुद्धचोकको त्यो सानो पुस्तकालय कुनै साधारण ठाउँ होइन। यहाँ किताबमात्र होइन, विमलका जटिल स्मृतिहरू थन्किएका छन्। यहाँ विमलको अमर उपस्थितिको अनुभूति हुन्छ। किताबको खोल समात्दा उनका औंलाहरूको स्पर्श लागेजस्तो हुन्छ। विमलका पुराना डायरीका पानाहरू पल्टाउँदा लाग्छ, उनले भर्खरै केही लेखेर गएका छन्।

पुस्तकालयको प्रत्येक कुनामा पूर्णबहादुर गुरुङको मिहिनेतको छाप छ। आलमारीमा किताबहरू मिलाएर राख्दै गर्दा, यी किताबहरू माथि जमेको धुलो पुछ्दै गर्दा वा आगन्तुकहरूलाई विमलको परिचय दिँदै गर्दा, यस्तो लाग्छ विमल जताततै बाँचिरहेको छ। विमलका बाबुआमाका लागि पुस्तकालय केवल छोराको सम्झनामात्र होइन, एउटा सपना रहेछ। विमलको अधुरो यात्रालाई पूरा गर्ने सुन्दर सपना। अहिले पनि कतिपय पलहरूमा पूर्णबहादुर गुरुङ चिया बनाएर पाठकहरूसँग गफिन्छन्। उनी कवि, विद्यार्थी, शिक्षक र किताबप्रेमीहरूलाई विमलका कविता सुनाउँछन्। पूर्णबहादुर भन्छन्– ‘मेरो विमल पनि बाँचिरहेको भए, आज ठूलै नेता या लेखक हुने थियो होला।’

एकाएक आँखाभरि नमी आउँछ। त्यो नमी दुःखको मात्र होइन, गर्वको पनि हो। यही बेला चाउरी परेका गालामा आँसुले एउटा गोहो बनाउँछ। विमलको मृत्युले एउटा युवा कविको जीवनलाई अन्त्य गर्‍यो। तर एक समर्पणशील काव्यजगत्को आरम्भ गर्‍यो। उसका कविताहरू यत्रतत्र सुरक्षित छन्। केही कविताहरू विमलकै डायरीमा छन्। केही कविता विमलकै कृतिहरूमा छन्। केही कविताहरू कविताप्रेमीको दिलदिमागमा त कतै साहित्यिक मञ्चहरूमा। विमलका शब्दहरूले अझै श्वास फेरिरहेका छन्। ती कविताका प्रतीकहरू, विम्बहरू आज पनि क्रान्तिको गीत गाइरहेका छन्। आज पनि उनका कविता अन्यायविरुद्धको अस्त्र बनेर उभिएका छन्।

पूर्णबहादुर कहिलेकाही“ भन्छन्– ‘म त कविता बुझ्दिनँ बाबु, तर उसले लेखेको कविताहरू हेरिरहन्छु। कति शब्दहरू चिन्न पनि सक्दिनँ, तर बुझेजस्तो लाग्छ।’ उनका आँखामा आँसुको हल्का टिलपिल देखिन्छ। त्यो आँसुले शोकमात्रै बोकेको छैन, कैयौं आशाहरू बाँचिरहेका छन्। बुद्धचोकस्थित कवि विमल स्मृति पुस्तकालय आज काव्यप्रेमीहरूको मन्दिर बनेको छ। पुस्तकालय केवल किताबको संग्रहालयमात्रै होइन। त्यो विमलको अधुरा इच्छाहरूको अभिलेख पनि हो। यहाँ मानिसहरू केवल पढ्न होइन, बुझ्न आउँछन्। जीवन बुझ्न, पीडा बुझ्न।

आशा र समर्पण बुझ्न आउँछन्। विमल पुस्तकालयमा एउटा पुरानो आलमारी छ। जहाँ विमलले लेखेका लेखहरू, डायरीहरू र विमलले पढ्ने गरेका किताबहरू राखिएका छन्। थुप्रै हस्तलिखित पानाहरू पनि छन् त्यसभित्र। विमलसित जोडिएका अधुरा लेखरचनाहरू पनि छन्। यी सब विमलको अधुरो जीवनजस्तो लाग्छ। तर त्यस अधुरोपनाभित्र नै पूर्णता लुकेको छ। विमलको परिवारले उनको स्मृतिमा स्थापना गरेको पुस्तकालयलाई बेहिसाब माया दिएको छ। बहिनी शान्ति गुरुङ अहिले आफ्नो परिवारसित काठमाडौंमा बस्छिन्। आमा बितेपछि बाबा पूर्णबहादुर गुरुङ एक्लै यस पुस्तकालयको हेरचाहमा खटिरहेका छन्। उनलाई यस पुस्तकालयले गर्दा आफ्नो जीवनले सार्थकता पाएको महसुस गर्छन्।

दैनिकी जीवन पुस्तकालय वरिपरि बिताइरहेका पूर्णबहादुर भावुक हुँदै भन्छन्– ‘यहाँबाट टाढा कता जानु छ अब ? यही हो मेरो संसार।’ विमल एक व्यक्तिको आवाजमात्रै थिएन, त्यो आवाज विमलले बाँचेको र भोगेको सिंगो पुस्ताको, अझ भनौं युगकै थियो, जसले पञ्चायतकालको अन्याय देखेको थियो। जसले विभेद र विसंगतिहरूबीच पनि बाँच्न संघर्ष गरेको थियो। विमलका शब्दहरू ती सबैका आवाज बनेका छन्। विमलको अल्पायुमै मृत्यु भए पनि उनको चेतनाले धेरैलाई प्रभावित बनाएको छ। उनका बाबु, जसले जीवनमा पढ्नै पाएनन्, अहिले यही पुस्तकालयरूपी मन्दिरको पुजारी बनेका छन्।

पूर्णबहादुर पुस्तकालयमा आउने हरेकलाई भनिरहेका हुन्छन्– ‘यो किताबमात्र होइन, मेरो छोराको हृदय पनि हो। हेर त, उसले कस्तो लेखेको छ बाबु ?’ उनी आफ्नो उत्तरार्द्ध जीवन छोरा विमलको सम्झनामा समर्पण गरेर पुस्तकालयमै बिताइरहेका छन्। आगन्तुकहरूलाई चिया पिलाउँदै, किताब मिलाउँदै, छोराका फोटोहरू झुन्ड्याउँदै, स्मृतिका पत्रपत्र पल्टाउँदै। पुस्तकालयको एउटा कुनामा राखिएको छ, विमलको फ्रेम गरिएको ठूलो तस्बिर। जुन तस्बिर हेरिरहँदा यस्तो लाग्छ, उनी केही भन्न खोजिरहेका छन्। सायद विमल आफ्नो परिवारका सदस्यहरूलाई विनम्र भावमा भन्न चाहन्छन्–‘धन्यवाद।’

यो लेख कवि विमल गुरुङको भर्खरै प्रकाशित जीवनी ‘मिर्मिरेमा झरेको तारा’को एक अध्याय हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.