कृतिमा मानव जीवनका सांसारिक बन्धन आशक्ति, अहं र कर्म त्यस्तै मुक्तिका तीन मार्ग छन्।
भक्तपुर सूर्यविनायकमा रहेको सनातन सत्संग सभामा आयोजना हुने विभिन्न आध्यात्मिक प्रवचनमा निरन्तर सहभागी भइरहेको करिब आठ वर्ष भइसकेछ। सनातन सत्संग सभा कक्ष प्रवेश गर्दा एक प्रकारको आनन्दको अनुभूति हुने गर्छ। सम्पूर्ण रिस राग, क्लेश द्वेष, लोभ लालच, नकारात्मक सोच सबै बाहिरै छोडेर, ज्ञान प्राप्तिको अभिलाषा र भोकमात्र रहेको महसुस हुन्छ। अर्कोतिर कुनै विश्वविद्यालयको अध्ययन कक्षमा बसेको अनुभूति हुन्छ।
प्राध्यापक डा. भूचन्द्र वैद्य पेसा र ज्ञानको हिसाबले विद्वान् अर्थशास्त्री बनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेर प्राध्यापनको यात्रा त्रिभुवन विश्वविद्यालयबाट गर्नुभयो। क्याम्ब्रिज विश्वविद्यालयदेखि विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा समेत विशेषज्ञ, परामर्शदाताको हैसियतमा आबद्ध रहँदारहँदै उहाँमा रहेको अर्थशास्त्रको ज्ञान आध्यात्मिक चिन्तनमा रूपान्तरण भयो। कृष्णभक्तिमा अभ्यस्त हुनुभयो, हाल कृष्णभक्तिमै लीन भई आफूलाई समर्पित गर्नुभएको छ। अहिले उहाँ कणकणमा कृष्ण भेट्नु हुन्छ, कणकणमा कृष्ण देख्नु हुन्छ। भगवान् कृष्णको भक्तिरस र ज्ञान बाँड्ने कार्यमा समर्पित हुनु भएको छ। ऐनामा देखिने म होइन, आफूभित्रको म देख्न सक्ने बनाउनु भएको छ मलाई पनि।
मानिसमा हुने सात्विक, राजसिक र तामसिक गुणको बारेमा गहिरिएर बुझ्ने मौका मिल्यो उहाँसँगको संगत्ले। सात्विक गुणले शान्त स्वभाव, निस्वार्थ भाव, सद्गुण र शुद्धतालाई महत्त्व दिन्छ। राजसिक गुणले अनन्त आकांक्षा तथा सांसारिक मोहका लागि अतृप्त महत्त्वाकांक्षा दर्शाउँछ भने तामसिक गुणले अज्ञानता, भ्रम, आलस्य, दुव्र्यसन र अनुचित कार्य गर्न अभिप्रेरित गरिरहेको हुन्छ। ज्ञान, कर्म, कर्ता, बुद्धि विवेक, इच्छाशक्ति र सुखमा समेत यी तीन गुणको प्रभाव हुन्छ। भगवद् गीतामा भगवान् श्रीकृष्ण आफैंलाई बलिरहेको दियो हुँ भन्नुहुन्छ। हामीभित्र पनि एउटा दियो बलिरहेको हुन्छ। ज्ञान, बुद्धि, विवेकले बलेको आध्यात्मको दियो, आत्माको दियो। यसलाई अविच्छिन्न प्रज्ज्वलित पार्न सक्नुपर्छ।
द्वापरयुग श्रीकृष्णको युग। महाभारतको महायुद्ध यही युगमा भयो। कुरु क्षेत्रमा भएको कृष्ण अर्जुन संवादमा आधारित ज्ञानको महासागर भगवद् गीताको रचना भयो। भगवान् विष्णुको दस अवतारमध्ये आठौं अवतार श्रीकृष्ण युग पुरुष हुन्।
जति सक्यो उति लामो समय बाल्ने प्रयत्न रहन्छ हाम्रो। अर्को अर्थमा आफ्नो अस्तित्वको रक्षा आफैंले गर्नु हो। अस्तित्व रक्षाको मार्ग अविचलित हुनुपर्छ। यस मार्गलाई अविचलित राख्न कर्म, भक्ति र ज्ञान योगले महत्त्वपूर्ण भूमिका निभाइरहेको हुन्छ। गीता दर्शनले हामीलाई त्यही कुरा सिकाइरहेको अनुभूति हुन्छ। निभेको बत्ती खरानी भए जस्तै आत्मा नभएको मानिसको शरीर पनि खरानी हुन्छ एकदिन। जब बत्ती निभेजस्तै मानिसभित्रको दियो निभ्छ, मानिसको नश्वर शरीर पनि खरानी बन्छ। प्राणसहितको शरीर शिवशक्ति, आत्मारहित शरीर मृत शव। आध्यात्मिक ज्ञान र भक्ति योगले मानिसको कर्म शुद्ध पार्छ, पवित्र राख्छ। हाम्रो कर्म, क्रिया–प्रतिक्रिया, कीर्ति सबै आत्मामा प्रतिविम्बित भएर बस्छ। शरीर मर्छ, आत्मा कहिल्यै मर्दैन। आत्मा अमर हुन्छ।
द्वापरयुग श्रीकृष्णको युग। महाभारतको महायुद्ध यही युगमा भयो। कुरु क्षेत्रमा भएको कृष्ण अर्जुन संवादमा आधारित ज्ञानको महासागर भगवद् गीताको रचना भयो। भगवान् विष्णुको दस अवतारमध्ये आठौं अवतार श्रीकृष्ण युग पुरुष हुन्। एक युगमा एक जनामात्र जन्मन्छ, युग पुरुष। धर्म, न्याय र मानवताको रक्षा, मानव कल्याणमा समर्पित भए श्रीकृष्ण, तब त उत्कष्ट मानव भए। डा. भूचन्द्र वैद्यद्वारा लिखित ‘भगवद् गीता—सन्दर्भ, पाठ र सन्देश’ शीर्षकको अंग्रेजी पुस्तक पढ्ने अवसर मिल्यो। पुस्तक भगवद् गीताको सम्पूर्ण श्लोकलाई पद्यात्मक शैलीमा सरल अंग्रेजीमा लेख्नुभएको छ डा. भूचन्द्रले। पुस्तकलाई मुख्य तीन भागमा विभक्त गरी तयार गरिएको पुस्तकमा लेखकले सन्दर्भअन्तर्गत महाभारत युद्धको पृष्ठभूमि, हस्तिनापुर राज्यको अवस्थाको चित्रण गर्नुभएको छ।
यसैगरी, पाठअन्तर्गत भगवद् गीताको मूल दर्शनभित्रको १८ अध्याय सात सय श्लोकको विवेचना, आध्यात्मिक चिन्तनको विस्तृत तर सरल भाषामा व्याख्या गर्नुभएको छ। र, तेस्रो भागमा सन्देशअन्तर्गत लेखकले समयसापेक्ष ढंगबाट गीताको मूल मर्मलाई नयाँ पुस्तालाई सुहाउँदो तरिकाले प्रस्तुत गर्नुभएको छ। हिन्दु दर्शनमा मानव जीवनका चार लक्ष्य— धर्म, अर्थ, काम र मोक्ष, जसलाई मानव पुरुषार्थ पनि भनिन्छ। पुस्तकमा मानव जीवनका सांसारिक बन्धन— आशक्ति, अहम् र कर्म त्यस्तै मुक्तिका तीन मार्ग— कर्म, भक्ति र ज्ञानको सारगर्भित विवेचना गरिएको पनि पाइयो।
भगवद् गीतालाई जीवनको पुस्तक पनि भन्न सकिन्छ, जसले मानिसलाई असल कर्मले जीवनमा सफलता कसरी हासिल गर्न सकिन्छ भन्ने कुरा सिकाउँछ। यसमा उल्लेख भएका निम्न चार नैतिक मूल्य जसले मानिसको जीवनलाई अर्थपूर्ण बनाउँछः १. स्वधर्म— कर्तव्यपरायणता, २. निष्काम कर्म-कर्ममा निस्वार्थभाव, ३. समदर्शन— सबलाई बराबर देख्न सक्नु, र ४. लोकसंग्रह— सर्वजनको हित र कल्याण। पुस्तक पढेपछि जसले गीताको अध्ययन आस्था, निष्ठापूर्वक गर्छ उसको जीवन आनन्दमय र मृत्यु शान्तमय—सुखद हुन्छ भन्ने कुरा गहकिलो लाग्यो। पुस्तक गहन अध्ययन, चिन्तन– मननको सौगात भएको अनुभूति प्राप्त भयो।
लेखकले प्रत्येक अध्यायको अन्त्यमा विश्लेषणात्मक प्रतिविम्ब प्रस्तुत गर्नु भएको छ, आफ्ना धारणा विज्ञानसम्मत तर्कसहित प्रस्तुत गर्नुभएको छ। आजको आधुनिक विज्ञानको युगमा मिथ दन्त्यकथा, किंवदन्ती, पौराणिक कथाले मात्र नयाँ पुस्ताको मन जित्न सकिँदैन, वैदिक सनातन परम्परागत दर्शनको रक्षा गर्न, जगेर्ना गर्न यसलाई प्रामाणिक, तर्कसंगत र तथ्यगत बनाउनु पर्ने आवश्यकतालाई डा. वैद्यले राम्रो बुझ्नु भएको छ। सोहीअनुसार पुस्तक तयार गर्नु भएको छ, आफ्नो धारणा राख्नु भएको छ। पुस्तक गहन, पठनीय र मननीय छ। डा. वैद्यको प्रयास अनुकरणीय छ। लेखन उत्कृष्ट छ। आजको प्रतिस्पर्धी युगमा गीता अध्ययनको महत्त्व झन् बढेको छ।
शब्द चयनमा विशेष ध्यान पुगेको छ। संस्कृतका क्लिष्ट श्लोकलाई पनि सहज ढंगबाट अंग्रेजीमा अनुवाद गरिएको छ। डा. वैद्यको मेहनत, कठिन परिश्रम प्रस्टै झल्किएको छ। उहाँले दिनुभएका गीता प्रवचनका सार पुस्तकमा छन्। भागवद् गीताको भावार्थ अंग्रेजीमा प्रकाशित गरी गीता र कृष्ण भक्तिको पूर्णरूपमा धर्म निभाउनु भएको छ वैद्यले।
अंग्रेजीभाषी पाठकमाझ गीताको दर्शन र ज्ञानको प्रसारमा योगदान सराह्रनीय छ, बन्दनीय छ। हस्तिनापुर राज्यमा अभिमान, नेतृत्व, राजनीति र मानव सभ्यताको रक्षाका लागि भएको संघर्षको ज्वलन्त प्रमाण हो, भगवद् गीता। महाभारत युद्ध, धर्म युद्ध अनि न्यायको युद्ध। युद्धको प्रारम्भमै अर्जुनमा देखिएको नैराश्य, वैराग, संकोच र हतासको निवारणका लागि भगवान् कृष्णबाट अभिव्यक्त महान् विचार र वाणी नै भागवद् गीताको दर्शन बन्यो।
प्रतिक्रिया दिनुहोस !