एमालेले रामेछापमा माधव ढुंगेललाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने
काठमाडौं : नेकपा एमालेले रामेछापमा प्रतिनिधि सभा सदस्यको टिकट माधवप्रसाद ढु्ंगेललाई दिएको छ। प्रतिनिधि सभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा एमालेको सचिवालय बैठकलले केन्द्रीय सदस्य ढुंगेललाई सांसदको उम्मेदवार बनाउने निर्णय गरेको हो।
जिल्ला ईञ्चार्जसमेत रहेका ढुंगेलसहितको नाम एमाले जिल्ला कमिटी रामेछापले प्रदेश हुँदै केन्द्रमा सिफारिस गरेको थियो। पार्टीले जिल्लामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र विकास र समृद्धिको मुद्दालाई प्राथमिकतामा राख्दै उम्मेदवारी तय गरेको जनाएको छ।
जिल्लाका मतदाता र कार्यकर्ताले यस पटक एमालेले नयाँ उम्मेदवार बनाउनुपर्ने माग गर्दै आएका थिए। जनभावना अनुसार पार्टीले युवा नेता ढुंगेललाई उम्मेदवार बनाएको एमाले जिल्ला नेताहरूको प्रतिक्रिया छ।
‘मेरा दुख र संघर्षका कथा नजिकबाट बुझ्नेलाई थाहा छ। म आफ्नै कर्म, सक्रियता र निरन्तरताको बलमा धूलो मैलोबाट उठेको गाउँको मान्छे हुँ। मेरो उम्मेदवारीमा कोही दुखी हुनुपर्ने कारण छैन। म पटक पटकको उम्मेदवार होइन, मेरो उमेर पाकेको छैन, पुरानो अनुभवी र नयाँ युवाको सेतुको रुपमा भूमिका खेल्न सक्छु। अनुभवले खारिएको छु। मेरो पार्टी र मुलुकले पत्याउँदा जुनसुकै जिम्मेवारी बहन गर्न सक्छु।’ ढुंगेलले भने, ‘रामेछापेली जनताको बीचमा मेरो पार्टी नेकपा (एमाले) ले पहिलो पटक मलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीको समग्र नेतृत्वलाई धन्यवाद दिन चाहन्छु। अन्य सिफारिस भएका योग्य उम्मेदवार कमरेडहरू धैर्य गर्नुहोस् , अवसर अरुपनि आउँछन् मिलेर नै विन्यास गरौंला। यो अवसर मेरो लागि बनेको छ, सबैको गहिरो साथ चाहन्छु।’
विद्यार्थी राजनीति हुँदै ३ कार्यकाल केन्द्रीय कमिटीमा सदस्य बनेर संगठनात्मक जिम्मेवारी पूरा गरेका ढुंगेलले पौषमा भएको ११ औं महाधिवेशनमा सचिवको दाबी गर्दै आएपनि अन्तिममा सहमतिअनुसार केन्द्रीय सदस्यको उम्मेदवार बनेर पुन: विजयी भएका थिए। विद्यार्थी आन्दोलनको सुरुदेखि नै सक्रिय रहँदै पार्टीले दिएको विभिन्न तहका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका ढुंगेल अनेरास्ववियुका पूर्वअध्यक्षसमेत हुन् भने राष्ट्रिय युवा परिषद्मा दुई कार्यकाल उपाध्यक्षसमेत बनिसकेका छन्। उनले विद्यार्थी फाँटको इन्चार्जसमेत सम्हालिसकेका छन् ।
केन्द्रीय संगठन विभाग सचिवको जिम्मेवारी पूरा गरेका ढुंगेल युवा-विद्यार्थीमाझ लोकप्रिय छन्। अन्नपूर्णसँग ढुंगेलले भने, ‘जनताले रामेछापबाट प्रतिनिधि सभामा निर्वाचित गरे समग्र विकास निर्माण, नीति निर्माण, सुशासन, जनताको अधिकार र समृद्ध नेपाल, सुखी नेपालीको यात्राको पक्षमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
‘२०४७ सालमा म रामेछापको प्रयागेश्वर माविबाट प्रारम्भिक कमिटीबाट राजनीतिक रूपमा विद्यार्थी आन्दोलनदेखि नै सक्रिय मान्छे हुँ। अनेरास्ववियु रामेछाप जिल्ला कमिटीमा सदस्य हुँदै उपाध्यक्ष, अध्यक्ष बने। नेपाल ल क्याम्पस कमिटी सचिव र अध्यक्ष दुवै पदमा निर्वाचित भएँ, बागमती अञ्चल कमिटी सदस्य हुँदै कोषाध्यक्ष, अध्यक्ष बनेर जिम्मेवारी पूरा गरे। २०६५ मा अनेरास्ववियु केन्द्रीय कमिटीको महासचिव निर्वाचित भएको म, २०६७ मा अनेरास्ववियुको अध्यक्ष बनेर विद्यार्थी आन्दोलनको बागडोर सम्हालेको थिएँ।’ अन्नपूर्णसँग ढुंगेलले भने,‘विद्यार्थी राजनीति होस्, या पार्टीको राजनीति युवा-विद्यार्थी र पार्टी नेतृत्वसँग निरन्तर समन्वयकारी भूमिकामा छु, नवौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएँ। त्यसपश्चात नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको केन्द्रीय कमिटी र दशौं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएँ। पार्टीले २०८० साल साउनबाट मलाई संगठन विभागको सचिवको जिम्मेवारी दिएको थियो। आफूले जिम्मेवारी पाएको समयमा पार्टी संगठनलाई पहिलो बनाएको छु। जिम्मेवारी पूरा गरेको छु, गर्छु। पार्टीले सांसदको टिकट दिए र जनताले जिताए संसदीय मोर्चामा पनि अग्रणी भूमिका खेलेर कानुन, नीति निर्माण गर्नुका साथै पार्टी, जिल्ला र देशलाई समृद्धिको यात्रामा अगाडि बढाउँछु।’
उनले सबैसँग समन्वय गर्दै रामेछापलाई समृद्ध बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यार्थी र युवा आन्दोलन, पार्टी विस्तार, युवा तथा नयाँ पुस्तालाई राजनीतिमा समावेशी बनाउन उनी सक्रिय छन्। युवा परिषद्मा दुई कार्यकाल उपाध्यक्षमा रहँदा युवासँग कनेक्सन गरेको बताए। उनले युवा परिषद्मा रहँदा नै युवालाई राजनीतिमा आकर्षण गर्न नमुना संसद्, युथ पार्लियामेन्ट जस्ता कार्यक्रम सञ्चालन गरेको थिएँ।
यसैगरी विदेशबाट स्वदेश फर्किएका जनशक्तिको ज्ञान, सीप, पुँजी र प्रविधिको भरपुर उपयोग गर्न पार्टीको जनसंगठनको रुपमा रिटर्नी फेडेरेसन नेपाल’ अवधारणा सारेका थिए। विदेशमा रहेर फर्किएकालाई मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको लक्ष्यसहित पार्टीको जनसंगठनको रुपमा आबद्ध गराइ ‘रिटर्नी फेडेरेसन नेपाल’ बनाउन उनको महत्वपूर्ण योगदान छ। उनले आगामी दिनमा यसलाई संसदीय मोर्चामार्फत पनि अझ परिस्कृत गर्दै लैजाने बताए।
प्रतिक्रिया दिनुहोस !