स्वागत नेपाल राप्रपा प्रवेश,झापा-२ बाट चुनाव लड्ने
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीकाबारेमा असहमति हुँदाहुँदै पनि पार्टी सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताएका छन्।
सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा लिङ्देनले वर्तमान राज्य संरचना,निर्वाचन प्रणाली,नियुक्ति प्रणालीमा देखिएको समस्या समाधान नगरि हुन लागेको निर्वाचनले निकास नदिने कुरामा पार्टी अडिग रहेपनि मुलुक जबरजस्त चुनावतर्फ अघि बढिसकेकाले पार्टी पनि सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताए।
प्रजातान्त्रिक दल भएकाले आफूहरू निर्वाचनमा सहभागी हुने र चुनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने उनले बताए । उनले देशलाई दिर्घकालिन शान्ति तथा स्थायीत्व निर्माण गर्नका लागि पूर्वराजा,राजनीतिक दल र जेनजी पुस्ताबीच नविनतम समझदारी आवश्यक रहेको धारणा राखे।
अध्यक्ष लिङ्देनले अभिभावकीय संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको र दुई तहको संरचनासहितको व्यवस्था हुनुपर्ने दोहोर्याए। कार्यक्रममा अध्यक्ष लिङ्देनले अधिवक्ता स्वागत नेपाललाई पार्टी प्रवेश गराएका थिए। अधिवक्ता नेपाललाई राप्रपाले झापा–२ का लागि उम्मेदवारको रूपमा घोषणा समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस !