हुस्सुमा हराएको राजनीति, घाम खै ?

हुस्सुमा हराएको राजनीति, घाम खै ?

पुसको चिसो हुस्सु त फाटेर घाम लाग्ला एकदिन। तर नेपाली राजनीतिमा लागेको हुस्सु फाटेर जनताको बिहानी कहिले छाउला ?

गरिब भन्ने बित्तिकै नेताको दिमागमा कस्तो चित्र आउला ? एक कट्टा चामल, एक छाक मासु खान कुनै चाडपर्व आए झैं चुनावमा नेताको बाटो कुरी बसेका निमुखा जनता। साँझ–बिहान छाक टार्न मुस्किल भएका। जो सडक छेउमा झुपडी बनाएर बस्छन्। जसको एक धुर जग्गा जमिन छैन। दिनभरि ज्याला मजदुरी गरेर पेट पाल्छन्। झुत्रा कपडा टालेर लगाउँछन्। जो फाटेको चप्पल पट्काउँदै हिँड्छन्। र, चुनावमा हुनेखाने नेताको आदेश पालन गर्दै इमान्दार साथ भोट हाल्छन्।

यसरी ती गरिब, निमुखा, सोझा जनताको भोट गन्दै तिनकै चित्र घुमिरहेको छ होला पैसावाला नेताको दिमागमा। जो सधैंका ‘भोटर’ र दास पक्का छन्, ती नेताका लागि। ‘जसमाथि हुनेखानेले मात्र राजनीति गर्नुपर्छ, पैसा नहुनेहरू राजनीतिमा आउनु हुँदैन’ भन्ने सुकिलामुकिला नेताको धारणा बनेको छ। आखिर राजनीति के हो ? कस्का लागि ? किन ? यो रहर लहड वा झोकले गरिन्छ कि ? लामो संघर्ष, इमान्दारिता र त्यागले जनताको जीवनस्तर उकास्न गरिन्छ ? जसको कोही छैन, तिनका लागि कोही छ बोल्दिने ? समाजलाई सही दिशा निर्देशन गर्ने ? यसको निर्धारण पैसाले गर्न सक्छ र ?

पुस लागेदेखि तराईमा हुस्सुले घामको झुल्को देखिँदैन। तराईका गरिब निमुखा चिसोले प्रताडित छन्। चिसो छल्न परालको सहायतामा दिनरात बिताएका उनै निमुखा जनताले घाम पर्खिरहेको बेला यता नेपाली राजनीतिमा भने उदाएका नयाँ अनुहारको हुस्सु अभिव्यक्तिले गरिब र निमुखा जनताको मनमा मजैले बादल लागेको छ। अब ती जनताका निम्ति बिहानी झुल्किन्छ अथवा रात नै भइरहने हो ? गम्भीर प्रश्न छ। पुसको चिसो हुस्सु त फाटेर घाम लाग्ला एकदिन। तर नेपाली राजनीतिमा लागेको हुस्सु फाटेर जनताको बिहानी कहिले छाउँला ? अझै पिँधका जनताले बिहानी देख्न कति रातहरू बिताउनुपर्ने हो ? त्यसको कुनै टुंगो छैन। अब त अँध्यारोमा जीवन बिताएकाहरूको निम्ति सुनौलो बिहानी उदाउनुपर्ने होइन र ?

गरिबमाथि राजनीतिक ह्यारास: नयाँ र पुराना राजनीतिक दलहरूको समानुपातिक सूचीबारे चौतर्फी चर्को आलोचना भइरहेकै छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेत्री तथा पूर्वसांसद विनिता कठायतले अन्तर्वार्तामा दिएको अभिव्यक्तिले सामाजिक सञ्जाल तरंगित छ। उनी भन्छिन्, ‘च्याट च्याट चप्पल लगाएर, घरमा खान पनि नभएको व्यक्ति, पैसा छैन, केही छैन, अनि त्यो व्यक्तिलाई ल्याउने, राजनीतिमा राखिदिने अनि पैसा खायो पनि भन्ने ? त्यस्तो होइन पैसा नभएकालाई राजनीतिमा ल्याएपछि घुस खान्छन्, गुनासो गर्न आवश्यक छैन।’ यो कुनै दरबारको उर्दी होइन। यो लोकतान्त्रिक व्यवस्थामा उदाएका नयाँ युवाको अभिव्यक्ति हो। यही हो नेपाली राजनीतिको चुरो कुरो। उहाँले प्राप्त गरेको राजनीतिक ज्ञानको कुरा हो यो। जे बुझ्नु भयो। त्यही भन्नु भयो।

अचम्म मान्नुपर्ने केही छैन। यो आजको पुँजीवादी राजनीतिक बुझाए यसरी नै तरंगित हुँदैछ। पैसा हुनेले मात्र राजनीति गर्ने। नहुनेले तिनीलाई नेता पत्याई दिनुपर्ने। यो पुँजीवादी राजनीतिक दुर्लभ विचार हो। राजनीति मैदानमा उत्रिएका नयाँको संकीर्ण बुझाइको तीतो सत्य हो। फरक यतिमात्र हो। अरूले व्यवहारमा देखाए। माननीय विनिताले बोलेर। वास्तवमा नेपाली राजनीति गोजीको पैसाजस्तै बनिरहेको छ। यो लोकतान्त्रिक व्यवस्थामा जसको मुद्दा उसकै नेतृत्व हुनुपर्ने होइन र ? लोकतन्त्रले यही भनेको छ र धनीले राजनीति गर, गरिबले नगर ? खासगरी नेतृत्वले बोल्नुपर्ने पैसा नहुनेको नेतृत्व स्थापित गर्न, धनी गरिबबीचको असमानता हटाउन लागि होइन र ?

  • राजनीति दरबारको हुकुम होइन। यो हरेक नागरिकको आवाज हो। राजनीति कसले गर्ने, कसले नगर्ने त्यो राजनीतिक सवालको विषय होइन। जोसँग राजनीतिक विचार छ। सिद्घान्त छ यसैले गर्ने हो राजनीति। 
  • लोकतान्त्रिक व्यवस्थामा जसको मुद्दा उसकै नेतृत्व हुनुपर्ने होइन र ? लोकतन्त्रले यही भनेको छ र धनीले राजनीति गर, गरिबले नगर ? खासगरी नेतृत्वले बोल्नुपर्ने पैसा नहुनेको नेतृत्व स्थापित गर्न, धनी गरिबबीचको असमानता हटाउन लागि होइन र ?
  • नेताले देशका लागि कहिल्यै राम्रो नसोच्ने अनि असल नेतृत्व छान्न जनताले कहिल्यै नजान्ने ! अनि कसरी बन्छ देश ? देश पैसा भएकाले होइन, जनताको आवाज सुन्ने नेतृत्वले बनाउन सक्छ।

यदि पैसावालाले मात्र राजनीति गर्ने हो भने नेपालका सबैभन्दा धनी व्यक्ति विनोद चौधरीकै हातमा नेपालको राजनीति हुनुपर्ने होला नि ! मधेस, कर्णाली, सुदूरपश्चिम, विकट, दूरदराज, सुकुम्बासी, गरिब, निमुखा, सीमान्तकृत उत्पीडित वर्ग, समुदाय आदिवासी, जनजाति, महिला, दलित, मधेसी, मुस्लिम आदिको मुद्दाको नेतृत्व उहाँले नै गर्नुपर्ने हो। त्यतिमात्र होइन, देशको प्रधानमन्त्री विनोद चौधरी नै बन्नुपर्ने हो ? जसले विकट क्षेत्र, पछि पारिएका सीमान्तकृत उत्पीडित लोपोन्मुख जाति समुदायले राजनीति जान्नै पर्थेन। बुझ्नै पर्थेन। गर्नै पर्थेन। राजनीतिको मालिक एउटा धनी व्यक्ति भए पुग्थ्यो। जहाँ माननीय विनिता कठायतजस्तो मध्यम वर्गीय व्यक्ति कर्णालीबाट राजनीति गर्नै पर्थेन नि।

यति राजनीतिक ज्ञान सामाजिक परिवेश र जनताको अवस्थाले पढाइसकेको छ। यति सानो कुरा नबुझी वर्गीय विभेदको राजनीतिक अभिव्यक्ति दिनु राजनीतिक इतिहासको अपमान हो। राजनीति खुला आकाश हो। जसले इतिहासदेखि उड्न नपाएकालाई उड्ने स्थान बनाइदिएको छ। राजनीति दरबारको हुकुम होइन। यो हरेक नागरिकको आवाज हो। राजनीति कसले गर्ने, कसले नगर्ने त्यो राजनीतिक सवालको विषय होइन। जोसँग राजनीतिक विचार छ। सिद्धान्त छ यसैले गर्ने हो राजनीति। यो देश धनीमात्रको होइन। गरिब निमुखाको पनि हो भन्ने व्यवस्थामा छौं हामी। यो व्यवस्थाले पैसावालालाई भन्दा विचार, सिद्धान्त र मुद्दा भएकालाई चिन्छ। यति कुराको चेतना नयाँमा हुनुपर्छ।

विषादी राजनीति हुनेखानेको, पीडा गरिबको: नेपाली समाजमा राजनीति, सुन र कालिमाटीको विषादी तरकारीको मूल्य अकासिएको छ। पैसा हुनेले किन्छन्। नहुनेले हेरेर चित्त बुझाउँछन्। यही महँगिएको राजनीतिक राजनीतिमा केही बोल्छन्, पैसा हुनेले राजनीति गर्ने हो भनेर। जसरी व्यापारीको कालाबजारी मनपरी चलिरा’छ, जनताको ढाड सेक्ने गरी। जहाँ नेता व्यापारी साहुजस्ता र गरिब, निमुखा जनता ग्राहक जस्तो बन्नु परेको छ। त्यसरी चालिरा’छ, नेताको राजनीति पनि गरिबको अपमान गर्नेगरी। नेपालीमा एउटा उखान छ, ‘हुनेलाई मातैमात, नहुनेलाई कान्पुरामा हात।’ भने झैं जनताको पीडा र अवस्थाको सतहमा पुगेर बुझ्न जरुरी छ।

कोही किन धनी, कोही कोही किन गरिब। कोही किन शोषित। कोही किन शासक। कोही किन नेतामात्र। कोही किन भोटर। कसैलाई दिनभरि काम गरे पनि साँझ बिहान खान नपुग्ने, कसैलाई जीवनभर काम नगरेर खान पुग्ने। कोही किन सित्तैमा नेता बन्न पाइराछन्, कोही किन राजनीतिक संघर्षमा जति योगदान गरे पनि राजनीति मूलधारसम्म पुग्दैनन् ? यसको कुनै कारण छ होला नि ? यसको इतिहास युवा नेतृत्वले अध्ययन गर्नुपर्ने होइन र ? जबकि पब्लिकमा कहिएका, सामाजिक छवि भएका गरिब निमुखा दलित, सीमान्तकृत उत्पीडित र लोपोन्मुख समुदाय राजनीतिको मूल ढोकाबाट बाहिरिनु पर्छ।

प्रत्यक्ष निर्वाचन लड्ने हैसियत भएका समानुपातिक सूचीमा पनि अट्न सकिरहेका छैन। जसको ज्वलन्त उदाहरणमा हुनुहुन्छ, चमार समुदायका डा. रामजी राम। उहाँले समानुपातिक सूचीबाट आफ्नो नाम झिक्नु परेको छ। उसरी सामाजिक ज्ञान, भोगाइ, अनुभव, जीवन संघर्ष र राजनीतिक चेतनामा डा. रामजी राम नेपालका मै हँु भन्ने युवा नेताभन्दा कम हुनुहुन्न। धनीले गरेको शासनले गरिबको उत्थान हुने भए राजतन्त्रमा नै हुने थियो। देश नै राजा महाराजको निजीजस्तो थियो। अनि दुई, चार पैसा गोजीमा भएका भर्खर उदयका नेताले के को फुर्ती लगाउनु र कहीं ? पैसाले देश बन्ने भए, गरिब निमुखा जनताको भलो हुने भए, सामाजिक न्याय, अधिकार, स्वतन्त्रता, समानताका निम्ति योगमायालगायत ६८ जनाले किन जल समाधि गर्नुपथ्र्यो अरुण नदीमा ? इतिहास साक्षी छ।

प्रजातन्त्र ल्याउन गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र पुष्पलाल श्रेष्ठजस्ता वीर सपत सहिद हुनुप¥यो। दसवर्से माओवादी सशस्त्र संघर्ष दिलबहादुर रम्तेललगायतले जनताको व्यवस्था ल्याउन ज्यानको आहुति दिनुप¥यो। भ्रष्टाचाररहित देश निर्माण गर्न, स्थायी सरकार र सुशासनका निम्ति जेन–जी आन्दोलको विरासत आँखा अगाडि छ। यसलाई कुल्चेर असान्दर्भिक राजनीति अभिव्यक्ति दिनु धनीलाई राजनीतिक मालिक र गरिब निमुखालाई नेताको दास सोच्ने अपरिपक्व राजनीतिक विचार हो। यो व्यवस्थाका खातिर गरिब, निमुखा र सर्वहारा वर्गको अपमान गरेर होइन, तिनको सामाजिक न्याय, समानता, अधिकार, स्वतन्त्रता स्थापित गर्न आवाज बनेर, मुद्दा बोकेर, रगत बगाएर र ज्यानलाई मृत्युको बली चढाएर सहिद भएका महान् सपूतको बलिदानले गरिबको पक्षमा विरासत रचेको छ। त्यो आजका नेताले बिर्सन मिल्दैन।

राजनीति पैसा होइन, जनताको आवाज हो: राजनीति धनीको इतिहास होइन। गरिबले स्थापना गरेको विरासत हो। जहाँ सबैभन्दा धेरै अन्याय, अत्याचार, दमन, थिचोमिचो, विभेद र गरिबी हुन्छ। त्यहीबाट राजनीतिक विचारको उदय हुन्छ। वास्तविक राजनीतिक संघर्ष गर्नेहरूको जन्म आलिसान महलमा होइन, झुपडीमा हुन्छ। जसको ज्वलन्त प्रमाण हुन्, नेल्सन मण्डेला र अब्राहम लिंकन। जो गरिबी, अपेक्षा र संघर्षको भुइँबाट उठेका थिए। जसको संघर्षले पैसा, पहुँच र शक्तिको आडमा राजनीति गर्नेको अहंकारलाई निस्तेज गरिदिन्छ।

अब्राहम लिंकनको जन्म गरिब परिवारमा भएको थियो। उनीसँग न सम्पति थियो न राम्रो शिक्षा। बाल्यकालमा काठ काटेर जीवन धानेका उनले राजनीतिमा प्रवेश गर्दा साथमा पैसा होइन। जनताको पीडा बुझ्ने विचार बोकेका थिए। जसले सत्ता नभई जनताको भावनालाई राजनीतिक केन्द्र बनाए। अमेरिकाको एक झुपडीबाट ह्वाइट हाउससम्म पुगेका थिए। अर्का नेता नेल्सन मण्डेलाको जन्म पनि गरिब परिवारमा भएको थियो। उहाँको राजनीति उपनिवेशवाद, जातीय विभेद र राज्य दमनकै कारण सुरु भएको थियो। राजनीति गर्न पैसाभन्दा धेरै राजनीतिक विवेक, साहस र न्यायप्रतिको प्रतिबद्धता चाहिन्छ भन्ने कुरा उहाँको राजनीतिक इतिहासले पुष्टि गरेको छ।

त्यसैले गरिबले राजनीति गर्न सक्दैन भन्ने भ्रमलाई लिंकन र मण्डेलाको जीवनले सधैंका लागि गलत सावित गरिदिए। नेपाली राजनीतिमा पनि यस्तै व्यक्तिको इतिहास नभएको होइन। नेपाली राजनीतिको विरासतमा त्यस्ता महान् व्यक्तिहरूको इतिहास छ। जो समाजका गरिब, निमुखा र सर्वहारा जनताको पक्षमा लडेर जीवनको आहुति दिए। तिनीहरूको नजरले गरिब जनता माथिको अन्याय देख्यो। त्यसका निम्ति जीवनभर कठोर राजनीतिक संघर्ष गरे। गरिब जनतामा राजनीतिक जागरण ल्याए। जनतालाई तिनीहरूमाथि भइरहेको चरम दमनविरुद्ध डटेर लड्ने चेतनाको दियो बाले। पूर्वदेखि पश्चिम महाकालीसम्म जनताको आवाज बनेर बोलिरहे, लडिरहे, संघर्ष गरे। तर सत्ता र पदका लागि कहिल्यै सम्झौता गरेनन्। त्यो गौरवमय इतिहासमा भेटिन्छन्, योगमाया न्यौपाने, पुष्पलाल श्रेष्ठ, सहाना प्रधान, मदन भण्डारी, शैलजा आचार्य, गणेशमान सिंह, बीपी कोइरालालगायतका नेता। जसको राजनीति पैसाले भएको थिएन।

आफ्नै र सामाजिक भोगाइ, संघर्ष र अनुभवबाट भएको थियो उनीहरूको यो उपलब्धि। त्यही संघर्षबाट उहाँहरूमा राजनीतिक चेत, विचार र सिद्धान्तको उदय भएको थियो। त्यसरी नै उहाँहरूले जनताको मुद्दा शिरमा राखेर, समाज रूपान्तरणको जिम्मालाई काँधमा बोकेर र राष्ट्रको माया छातीमा राखेर राजनीति गरेका थिए। जसको संघर्ष र योगदानबाट आलिसान दरबारबाट चल्ने हुकुमलाई राजनीतिक विचारले प्रस्ट गरिदिएको थियो। गरिब र धनीबीचको विभेदको अन्त्य हुनुपर्छ भन्ने मुद्दा राजनीतिको मियो बन्यो। लिंकन र मण्डेलाजस्तै नेपालका अग्रज नेतृत्वको राजनीतिक संघर्ष अतुलनीय छ। व्यक्तिगत लाभभन्दा पनि जनताको भावनाको कदर गर्ने नेता बने। त्यसैले राजनीति कसैको गोजीको पैसाको मूल्य होइन, जनताको आवाज हो। 

इतिहास जीवित छ। यो परिवर्तन गरिबको संघर्षबाट आएको हो। धनीको पैसाले होइन। अन्ततः पाउलो फ्रेरीको एउटा चर्चित भनाइ छ, ‘जो प्रगतिशील हुँ भन्छ, उसले अनिवार्य रूपमा निमुखाहरूको पक्ष लिनैपर्छ।’ समाजमा मौका पाउने र मौका नपाउने दुई वर्गका मानिस छन्। यसमध्ये कसको पक्षमा काम गर्ने भन्ने कुरा सबभन्दा पहिले छनोट गर्नुपर्दछ भन्ने फ्रेरीको भनाइ छ। फलस्वरूप नेतृत्वले सधैं गरिब, निमुखा र पिँधका जनताको पक्षमा हुनुपर्छ। जो सदियौंदेखि राज्यको अवसरबाट उपेक्षामा परेका छन्। जसको आवाज सुनिँदैन। जसको नेतृत्व राज्यको संरचनामा पुगेको छैन। राजनीति तिनैका लागि हुनुपर्ने हो। नेतृत्वले बोल्नुपर्ने विषय पनि तिनै उपेक्षित जनताको आवाज हो। तर यहाँ त्यसो नभई नेताले चाहेको देश र समाजले खोजेको नेतृत्व उस्ताउस्तै छ। नेताले देशका लागि कहिल्यै राम्रो नसोच्ने प्रवृत्ति कायमै छ। असल नेतृत्व छान्न जनताले कहिल्यै नजान्ने पनि छँदैछ। अनि कसरी बन्छ देश ? कसरी पाउँछन् जनताले सही नेतृत्व ? देश र जनताका निम्ति व्यक्तिको पैसाभन्दा धेरै उसँग भएको जनताको मुद्दा, समाज निर्माणको भिजन, राजनीति र सामाजिक ज्ञान चाहिन्छ होला नि ?

हो, त्यो च्याट च्याट चप्पलको मूल्य राजनीतिक इतिहासमा त्यसको योगदान, संघर्ष, बलिदान र मूल्य कति थियो, छ र हुनेछ। त्यो सडकमा रक्ताम्य बनाइएको जेन–जी विद्रोहको जुत्ताको मूल्य सोधेर बोल्नुपर्ने होइन र नयाँ युवा नेतृत्वले ? त्यो जुत्ता धनीको थियो कि गरिबको ? अथवा महँगो थियो कि सस्तो ? हलुंगो थियो कि गरुंगो ? देश पैसा भएकाले होइन, जनताको आवाज सुन्ने नेतृत्वले बनाउन सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.