जहाँ प्रकृति बोल्छ, त्यहाँ मान्छेले सुन्छन्. . . !

सुदूरको सुस्केरा

जहाँ प्रकृति बोल्छ, त्यहाँ मान्छेले सुन्छन्. . . !

सुदूरपश्चिम नेपाल एउटा यस्तो कथा हो, जुन विश्वले अझै पूरा पढिसकेको छैन। भिडभाड भएका राजमार्ग र हतारिएका यात्राभन्दा टाढा लुकेको यो भूभागले मौन शक्ति बोकेको छ। जो न त आफैंलाई प्रदर्शन गर्छ, न त चिच्याएर ध्यान खिच्छ। तर यहाँ पुग्ने प्रत्येक यात्रुको मनमा गहिरो छाप छोड्छ। पहाडहरू शान्त रूपमा उभिएका छन्, नदीहरू अविरल बगिरहेका छन् र जीवन समयको दबाबमा होइन, प्रकृतिको लयमा चलिरहेको छ। अत्यधिक प्रचार र हतारिएको पर्यटनको यस युगमा सुदूरपश्चिम नेपालले ‘अछुतो सौन्दर्य’को साँचो अर्थ सम्झाइदिन्छ।

सुदूरपश्चिमतर्फको यात्रा केवल स्थान परिवर्तन होइन; यो सोच र अनुभूतिको परिवर्तन हो। जंगलभित्र घुम्ती लिँदै अगाडि बढ्ने बाटाहरू, पहाडबाट खुला उपत्यकातर्फ फैलिँदै जाने दृश्यहरू, आकाश–जमिनबीच संवाद गरिरहे झैं देखिने गाउँहरूले यात्रुलाई रोकिन, सुन्न र महसुस गर्न आग्रह गर्छन्। खप्तड, बडिमालिका, आपी–नाम्पा र सैपालजस्ता गन्तव्य ‘घुमेर सकिने’ ठाउँ होइनन्। यी अनुभूति हुन्, जसलाई समय दिएरमात्र बुझ्न सकिन्छ।

अनन्त घाँसे मैदान, नजिकै बग्ने बादल र आत्मालाई सान्त्वना दिने मौनताले यो भूभागलाई विशेष बनाएको छ। यहाँका नदीहरूले सुदूरपश्चिमको आत्मा बोकेका छन्। पश्चिमी सीमामा शालीनताका साथ बग्ने महाकाली नदीले आस्था, व्यापार र पुस्तौंदेखिका जीवनकथा बगाइरहेको छ। विशाल र स्वच्छन्द कर्णाली नदी स्वतन्त्रता र साहसको प्रतीक हो, यदि जिम्मेवार ढंगले विकास गर्न सकियो भने। जसले दक्षिण एसियाकै एक प्रमुख र्‍याफ्टिङ गन्तव्य बन्ने सम्भावना बोकेको छ। सेती नदीले शान्त रूपमा खेतबारी, परिवार र संस्कृतिलाई जीवन दिइरहेको छ। यी नदी किनारमा साँझ पर्दा प्रार्थना, आत्मचिन्तन र अपनत्वको अनुभूति जन्मन्छ, जसले यात्रुलाई गहिरो रूपमा छोइदिन्छ।

वन्यजन्तु र संरक्षण सम्पदा पनि उत्तिकै महत्त्वपूर्ण छ, यदि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई बर्दिया र चितवनजस्ता गन्तव्यसँग समन्वय गर्दै अघि बढाउन सकियो भने। सुदूरपश्चिम एक सम्पूर्ण ‘इको–टुरिज्म सर्किट’का रूपमा विकास हुन सक्छ, जहाँ घाँसे मैदान, वन्यजन्तु, नदी र संस्कृति एकआपसमा जोडिन्छन्। यसले पर्यटकको बसाइ लम्ब्याउने मात्र होइन, क्षेत्रीय सन्तुलित विकासमा समेत टेवा पुर्‍याउँछ। तर सुदूरपश्चिमलाई साँच्चै विशेष बनाउने तत्त्व यसको भूगोलमात्र होइन, यहाँका मानिस हुन्। यहाँको आतिथ्यता सिकाइएको होइन, यो पुस्तौंदेखि बगेर आएको संस्कार हो। पाहुनालाई घरमै स्वागत गरिन्छ, जहाँ प्रश्नभन्दा पहिला कथा साटिन्छ।

स्थानीय उत्पादनबाट बनेका सरल तर आत्मीय परिकार गर्वका साथ परोसिन्छन्। यहाँ देखावटी छैन, हतार छैन मात्र साँचो अपनत्व छ। यही भावनात्मक इमान्दारिताले यात्रुलाई सधैंका लागि बाँधेर राख्छ। लामो समयसम्म सुदूरपश्चिम नेपालको मुख्य पर्यटन कथाभन्दा बाहिर रह्यो। दूरी, पूर्वाधारको अभाव र सीमित प्रचारले यसलाई ओझेलमा राख्यो। तर यही एकान्तले यसको मौलिकता जोगायो। सामूहिक पर्यटनको चापबाट बचेकाले यहाँको संस्कृति, अध्यात्म र प्रकृति अझै जीवित छन्। आज, जब विश्वका यात्रु विलासिताभन्दा अर्थ र गहिराइ खोजिरहेका छन्, सुदूरपश्चिमले दुर्लभ सम्भावना बोकेको छ।null

साना लज, सामुदायिक होमस्टे र ग्रामीण रिसोर्टहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय चेन होटलहरू विस्तारै उदाउँदैछन्, जसले प्रकृतिलाई नछोइकन सुविधा दिन खोजिरहेका छन्। यसले मात्र आम्दानी होइन, आत्मविश्वास पनि सिर्जना गरेको छ। रोजगारीको खोजीमा बाहिरिन बाध्य भएका युवा आज आफ्नै भूमिमा गाइड, होस्ट, कथावाचक र सम्पदाका संरक्षक बन्दै छन्। जिम्मेवार पर्यटन यहाँ सशक्तीकरणको माध्यम बन्दै गएको छ। धार्मिक तथा आध्यात्मिक पर्यटनको सम्भावना अझै विशाल छ। खप्तड, बडिमालिका, डोटी घटाल, उग्रतारा, सैलेशोरी, बेतकोटधाम, गोदावरी, बहेडा बाबालगायतका पवित्रस्थललाई  तीर्थयात्रा मार्गमार्फत जोड्न सकियो भने पर्यटन केवल व्यवसायमा सीमित हुँदैन, यो आत्मिक यात्रामा रूपान्तरण हुन्छ।

यस परिवर्तनको आधार शिक्षा हो। सुदूरपश्चिमका होटल म्यानेजमेन्ट कलेजहरूले स्थानीय पर्यटन, संस्कृति र दिगोपनलाई पाठ्यक्रममा समावेश गर्ने रणनीति अपनाउनुपर्छ। विद्यार्थीलाई आफ्नै भूभागका गन्तव्यमा शैक्षिक भ्रमण र ‘फिल्ड स्टडी’मार्फत प्रत्यक्ष अनुभव दिलाइयो भने उनीहरूले केवल पुस्तकीय ज्ञान मात्रै नभई आफ्नै भूमिसँग गहिरो सम्बन्ध र जिम्मेवारी महसुस गर्ने अवसर पाउँछन्। यस्तो अनुभवले उनीहरूलाई स्थानीय संस्कृति, परम्परा र प्राकृतिक स्रोतको मूल्य बुझ्न प्रेरित गर्छ। आन्तरिक पर्यटनको विकासमा पनि सशक्त साझेदार बनाउँछ।

होटल र आतिथ्य व्यवसायले केवल कोठा र खाना बेचेर आफूलाई सीमित गर्न हुँदैन। उनीहरूले यस देवभूमि र तपोभूमिको कथा ऋषिहरूको ध्यानस्थल, मौनताले भरिएको प्राकृतिक परिवेश र यहाँका जनजीवनमा निहित आत्मबल पाहुनासम्म पुर्‍याउनुपर्छ। पाहुनाले नेपाल भूमि बुझ्न, यसको इतिहास र संस्कृति महसुस गर्न र यहाँको आत्मिक ऊर्जा अनुभव गर्न सक्नुपर्छ। विकास आवश्यक छ तर विवेकपूर्ण। सडक, स्वास्थ्य, शिक्षा, तालिम र सुरक्षाको आधार अपरिहार्य छन्। तर अव्यवस्थित निर्माण र लापरवाह पर्यटनले सुदूरपश्चिमको आत्मा नै मेटिन सक्छ। यो क्षेत्रले अरूको नक्कल गर्नुपर्दैन; आफैं बनेरै विश्वलाई आकर्षित गर्न सक्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.