सिंहदरबारलाई झकझक्याउने नेतृत्वको खोजी
पीताम्बर ढकाल । : सिंहदरबारले कर्णालीलाई कहिल्यै प्राथमिकता दिएन। जसले गर्दा कर्णालीको अपेक्षाअनुसार भौतिक तथा सामाजिक विकासले गति लिन सकेन। सिंहदरबारसँग पहुँच स्थापित गर्न र त्यहाँको स्रोतलाई कर्णालीमा ल्याउन अनुभवी र परिपक्व नेतृत्व चाहिन्छ। तर, अहिले कर्णालीमा उम्मेदवारको अनुहार हेर्दा ढुक्क हुनसक्ने अवस्था देखिँदैन। केन्द्रसँग पहुँच राख्न सक्ने नेताको कमीमा कर्णालीलाई घाटा हुने देखिन्छ। फेरि पनि विकास र अवसरका हिसाबले कर्णाली केन्द्रको छायाँमा पर्ने भयो। कमजोर नेतृत्व हुँदा कर्णालीमा विकासको गति पनि अगाडि बढ्न सक्ने देखिँदैन।
कर्णालीलाई प्रतिनिधित्व गरेर यहाँका आवाज र मुद्दालाई सिंहदरबारसम्म पु¥याउने नेताको खोजीमा यहाँका मतदाता छन्। तर, अहिलेका उम्मेदवारको अनुहार हेर्दा यसले गर्छ भन्ने विश्वास मतदातामा देखिँदैन। पार्टीसत्तामा हस्तक्षेप गर्ने उम्मेदवार पनि कमैमात्र छन्। यसले समग्रमा कर्णालीले दुःख पाउँछ। अनुभवी र निर्णय क्षमता भएका नेताहरू उम्मेदवार भएको भए राम्रो हुन्थ्यो। कमजोर र अनुभव नभएका नेतृत्वको अभावमा सिंहदरबारले कर्णालीलाई स्रोत र अवसरमा प्राथमिकता नदिनसक्छ।
अहिलेसम्म कर्णालीको नेतृत्व गरेका नेताहरूले आफ्ना क्षमतावान उत्तराधिकारी तयार नगर्दा यस्तो अवस्था आएको हो। पछिल्लो समय राजनीतिमा नयाँ पुस्ताको लहर देखिन्छ। तर, मतदाताले उनीहरूलाई विश्वास गरिहाल्ने अवस्था देखिँदैन। विश्वासिलो नेतृत्वको खोजीमा यहाँका मतदाता छन्। यद्यपि नयाँ अनुहारले पनि क्षमता विकास गर्दै केन्द्रलाई दबाब दिन सकेमा आस गर्ने ठाउँ भने बाँकी नै छ। कर्णालीको अवस्थालाई विश्लेषण गर्दै सिंहदरबारसँग माग गर्न सक्ने जुझारु र अडान लिन सक्ने नेतृत्व कर्णालीका लागि आवश्यक छ।
नयाँ अनुहारले पनि यही आकांक्षाअनुसार आफ्नो दलभित्र र सिंहदरबारसम्म आफूलाई बलियो प्रस्तुत गर्न सक्नुपर्छ। यसो भएमा कर्णालीले निराश हुनुपर्ने अवस्था नआउला। तर, अहिलेकै अवस्थामा कर्णालीका लागि केन्द्रसँग अडान लिनसक्ने, संसद्मा जुझारुपन र सिंहदरबारसँग निकटता बनाउन सक्ने नेतृत्व यहाँका मतदाताहरूले चाहिरहेका छन्।
यदि अबको नेतृत्वले पनि परिपक्वता देखाउन नसके सिंहदरबारले फेरि पनि कर्णालीलाई हेप्न सक्छ। दिनुपर्ने अधिकार र स्रोत कर्णालीले नपाउन पनि सक्छ। संसद्मा कर्णालीबाट प्रत्यक्षतर्फ जम्मा १२ जना को उपस्थिति हुनेछ। यो संख्याले संसद्मा कतिसम्म दबाब सिर्जना गर्न सक्ला ? यसकारण पनि कर्णालीको आवाजलाई बलियो ढंगले उठाउन पनि सबैलाई एकताबद्ध गर्न सक्ने नेतृत्व कर्णालीका लागि आवश्यक छ।
- ढकाल, मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतका पूर्वडिन हुन्।
प्रतिक्रिया दिनुहोस !