लाजको पर्खाल, क्यान्सर कहर

लाजको पर्खाल, क्यान्सर कहर
सुन्नुहोस्

प्रश्न स्पष्ट छ— हामी अझै कति महिलाको मौन मृत्यु कुरेर बस्ने ? यो मृत्युको जिम्मेवारी कसले लिने ?

एउटी आमाको स्वास्थ्य सिंगो परिवारको जग हो, तर जब जग नै ऐंजेरुले खान्छ, तब समृद्धिको सपना ढल्न बेर लाग्दैन । नेपालमा पाठेघरको मुखको क्यान्सर एउटा यस्तो ‘मौन हत्यारा’ बनेको छ, जसलाई आधुनिक चिकित्साले पूर्णतः रोक्न सकिने प्रमाणित गरिसक्दा पनि हाम्रो समाजमा यसले हजारौंको ज्यान लिइरहेको छ ।

दार्शनिक प्लेटोले भनेका थिए— ‘अज्ञानता नै सबै खराबीको जड हो ।’ र, नेपाली महिलाको स्वास्थ्यको हकमा यही अज्ञानता, गरिबी र लाजको पर्खाल नै मृत्युको मुख्य कारक बनिरहेको छभन्दा अत्युक्ति हुनेछैन । जहाँ उपचार सम्भव छ, त्यहाँ उपेक्षा किन ? यो प्रश्नले आज हरेक सचेत नागरिकको मन झक्झक्याइरहेको छ ।

उपेक्षित पीडा– एक मौन प्रश्न : नेपालमा क्यान्सरको चर्चा हुनेबित्तिकै धेरैको मानसपटलमा फोक्सो, पेट वा स्तन क्यान्सरको तस्बिर नाच्छ । तर, नेपाली महिलाहरूको शरीरभित्र एउटा अर्को क्यान्सरले चुपचाप जरा गाडिरहेको छ । त्यो हो— पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) । विश्व स्वास्थ्य संगठनले यसलाई ‘पूर्ण रूपमा रोकथाम र उपचार गर्न सकिने’ रोगको सूचीमा राखेको छ ।

विडम्बना, नेपालमा भने यही रोग महिलाको अकाल मृत्युको प्रमुख कारक बनेको छ । यो समस्या केवल चिकित्सा विज्ञानको मात्र होइन । यो हाम्रो सामाजिक संरचना, आर्थिक विषमता र सांस्कृतिक संकीर्णताको उपज पनि हो । प्रश्न रोगको मात्र होइन, हाम्रो व्यवस्था, चेतना र प्राथमिकताको पनि हो । कम उमेरमा विवाह, किशोर अवस्थामै गर्भधारण, लैंगिक असमानता र चरम गरिबीले नेपाली महिलालाई यो रोगको मुखमा धकेलिरहेको छ ।

प्रजनन क्यान्सरको बढ्दो बोझ : नेपालमा प्रजनन स्वास्थ्यसँग जोडिएका क्यान्सरहरूको बोझ दिनानुदिन बढ्दो छ । पाठेघरको मुखको (सर्भाइकल) क्यान्सर, पाठेघरको भित्री तह (इन्डोमेट्रियल) क्यान्सर, अण्डाशय (ओभरी) को क्यान्सर र स्तन क्यान्सर महिलाका प्रमुख शत्रु हुन् । तथ्यांकले भन्छ— पाठेघर क्यान्सरबाट हुने करिब ९० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका देशहरूमा हुन्छ । नेपालमा महिला प्रजनन अंगका क्यान्सरमध्ये ६० प्रतिशतभन्दाबढी हिस्सा पाठेघरकै छ ।

यस क्यान्सरको मूल जड ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) को संक्रमण हो । यो असुरक्षित यौन सम्पर्कबाट सर्छ । तर, संक्रमण हुनुको अर्थ क्यान्सर हुनु होइन । धेरै महिलामा यो भाइरस आफैं निको भएर जान्छ । तर, यसको दीर्घकालीन उपस्थितिले क्यान्सरलाई जन्म दिन्छ । गरिब देशमा संक्रमण बढी भएर मृत्यु बढेको होइन, बरु समयमै परीक्षण र उपचार नपाएर मृत्युदर बढेको हो ।

बालविवाह र कुपोषणको कुचक्र : नेपाली समाजमा किशोरावस्थामा विवाह हुनु अझै पनि सामान्य मानिन्छ । किशोरी अवस्थामा महिनावारी सुरु भए पनि पाठेघरको मुख पूर्ण रूपमा विकसित भइसकेको हुँदैन । यही अपरिपक्व अवस्थामा हुने यौन सम्पर्कले एचपीभी संक्रमणको जोखिमलाई कैयौं गुणा बढाइदिन्छ । त्यसपछि सुरु हुन्छ— कम उमेरको, बारम्बार सुत्केरी र पोषणको अभावको एउटा अनन्त चक्र ।

क्यान्सर कुनै एक झट्कामा लाग्ने रोग होइन । यसका लागि धेरै कारकले अनुकूल वातावरण तयार पारिदिन्छन् । रक्तअल्पता, कुपोषण, सरसफाइको अभाव र पटक–पटकको गर्भधारणले महिलाको प्रतिरोधी क्षमता कमजोर बनाउँछ । सबैभन्दा घातक पक्ष त समयमै परीक्षण, निदान र उपचारको अभाव हो । यही अभावले प्रजनन क्यान्सरलाई जटिल बनाउँदै मृत्युको संख्या बढाइरहेको छ ।

लाज र गरिबीको पर्खाल : पाठेघर क्यान्सरका सुरुवाती लक्षणहरू सुरुमा सामान्य लाग्न सक्छन् । यौन सम्पर्कपछि रगत बग्नु, असामान्य रूपमा सेतो पानी बग्नु, कम्मर वा तल्लो पेट दुख्नु यसका संकेत हुन् । तर, हाम्रो समाजमा गरिबी र लाजले यी लक्षणलाई ‘लुकाउनुपर्ने’ कुरा बनाइदिन्छ । महिलाहरू सोच्छन्— ‘सुत्केरी भएपछि यस्तै त हो नि !’ वा ‘उमेर ढल्किँदै छ, यस्तो त भइहाल्छ ।’ यसका पछाडि आर्थिक र सामाजिक अवरोधहरू पहाड बनेर उभिएका छन् । अस्पताल जान पैसा छैन, घरमा सोध्ने आँट छैन । हाम्रो पुरुषप्रधान समाजमा महिलाको स्वास्थ्य अझै पनि दोस्रो प्राथमिकतामा पर्छ । स्वास्थ्यसम्बन्धी निर्णयमा पुरुष सदस्यकै प्रभुत्व रहन्छ । अझ ‘स्त्रीरोग’ भन्नेबित्तिकै लाज मान्ने चलनले गर्दा महिलाहरू अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन् ।

कमजोर स्वास्थ्य प्रणाली र केन्द्रीकृत सेवा : नेपालमा प्रजनन क्यान्सर निदान र उपचारका चुनौतीहरू थुप्रै छन् । सरकारले राष्ट्रव्यापी स्क्रिनिङ (जाँच) कार्यक्रमहरूको घोषणा त गरेको छ, तर कार्यान्वयनमा नियमितता छैन । भएका सीमित सेवाहरू पनि प्रभावकारी छैनन् । कतिपय महिलाहरू ‘जाँच नगरे पनि हुन्थ्यो’ भन्ने भ्रममा छन् ।

विज्ञ सेवा र प्रविधिहरू (एमआरआई, कोल्पोस्कोपी, बायोप्सी) काठमाडौं र केही प्रमुख सहरमा मात्र सीमित छन् । रेडियोथेरापीजस्ता जटिल उपचारका लागि गाउँका महिलाहरू राजधानी धाउनुपर्ने बाध्यता छ । क्यान्सर विशेषज्ञहरूको अभाव एकातिर छ भने अर्कोतिर उपचार अत्यन्त महँगो छ । स्वास्थ्य बिमाको कभरेज सीमित हुँदा धेरै परिवार उपचारकै क्रममा सडकमा पुग्ने यथार्थ हाम्रासामु छ ।

पाठेघर र सामाजिक पहिचान : पाठेघरको क्यान्सर सुरुवाती चरणमा पत्ता लागे पूर्ण रूपमा निको हुन्छ । तर, ढिलो भएपछि उपचार जटिल, लामो र कष्टपूर्ण हुन्छ । नेपाली महिलाका लागि रोगभन्दा ठूलो चिन्ता ‘मेरो अनुपस्थितिमा घर कसले सम्हाल्छ ?’ भन्ने हुन्छ । ‘बच्चा कसले हेर्छ ? खेतीपाती कसले गर्छ ?’ भन्ने प्रश्नले गर्दा उनीहरू उपचारबीचमै छोड्न बाध्य हुन्छन् । यहाँ रोगले भन्दा बढी व्यवस्था रविवशताले मानिस हार्छन् ।

अर्को दुःखद् पक्ष, नेपाली समाजमा महिलाको मूल्य ‘सन्तान उत्पादन क्षमता’सँग जोडिन्छ । क्यान्सरका कारण पाठेघर गुमाउनु भनेको धेरैका लागि आफ्नो सामाजिक पहिचान नै गुमाउनु जस्तै हो । यसले महिलामा मानसिक तनाव, यौन समस्या र मूत्र प्रणालीमा जटिलतामात्र निम्त्याउँदैन, उनीहरूलाई सामाजिक रूपमा समेत एक्ल्याउँछ । त्यसैले, प्रजनन क्यान्सर केवल एउटा रोगमात्र होइन, यो एउटा गम्भीर मानसिक र सामाजिक मुद्दा पनि हो ।

रोकथामका बहु–आयामिक बाटाहरू : यस्तो जटिल समस्याको समाधान अस्पतालको कोठाबाट मात्र सम्भव छैन । यसका लागि बहु–आयामिक रणनीति आवश्यक छ :
प्राथमिक रोकथाम : किशोरीहरूका लागि एचपीभी खोप अनिवार्य गरिनुपर्छ । यसलाई स्कुल–आधारित कार्यक्रम बनाएर हरेक बस्तीसम्म पुर्‍याउनुपर्छ ।

सामाजिक परिवर्तन : बालविवाह रोक्ने, महिला शिक्षामा लगानी गर्ने र आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने नीति चाहिन्छ । लैंगिक समानताको वातावरणले मात्र महिलालाई आफ्नो स्वास्थ्यबारे निर्णय लिने शक्ति दिन्छ ।
सचेतना अभियान : स्थानीय भाषा र सञ्चार माध्यमबाट क्यान्सरका लक्षणबारे जानकारी दिनुपर्छ । लाजलाई चेतनाले विस्थापित गर्नुपर्छ ।
सामुदायिक स्क्रिनिङ : गाउँगाउँमा स्वास्थ्यकर्मीमार्फत ‘भीआईए’ जाँच विस्तार गर्नुपर्छ । स्थानीय तहमै नमुना संकलन गरी केन्द्रीय प्रयोगशालामा परीक्षण गर्ने डिजिटल प्रणाली विकास गर्नुपर्छ ।

उपचारको विकेन्द्रीकरण र राज्यको दायित्व : उपचार सेवालाई सहज र सुलभ बनाउनु राज्यको पहिलो दायित्व हो । कम्तीमा प्रादेशिक अस्पतालहरूमा आधारभूत क्यान्सर उपचार (किमोथेरेपी, शल्यक्रिया) उपलब्ध हुनुपर्छ । क्यान्सर जितेकाहरूका लागि मनोसामाजिक परामर्श र पुनस्र्थापनाका कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ ।

क्यान्सरको लडाइँ केवल चिकित्सकको मात्र होइन । यो हाम्रो सामाजिक–आर्थिक बन्धनविरुद्धको लडाइँ पनि हो । अस्पताल निर्माण र औषधि आयात गरेर मात्र पुग्दैन, हामीले महिलाको शिक्षा र स्वास्थ्यमा गरिने लगानीलाई ‘खर्च’ होइन, ‘भविष्य’ मान्नुपर्छ ।

निष्कर्ष– उपेक्षाको अन्त कहिले ? : नेपालमा प्रजनन क्यान्सर रोगभन्दा बढी उपेक्षाको परिणाम हो । जहाँ रोक्न सकिन्थ्यो, त्यहाँ पनि रोकिएको छैन । जहाँ समयमै पत्ता लाग्न सक्थ्यो, त्यहाँ त्यो काम गरिएको छैन वा ढिलो गरिँदैछ । एचपीभी खोप, नियमित स्क्रिनिङ र समयमै शल्यक्रिया गर्ने हो भने एउटै पनि महिलाले पाठेघरको क्यान्सरबाट सायदै मर्नु पर्नेछ । स्वास्थ्य सेवा उपलब्ध भएर पनि त्यसको उपयोग नहुनु नीतिगत असफलता हो । क्यान्सर परीक्षणलाई ‘अभियान’मात्र होइन, महिलाको जीवनको ‘सामान्य अभ्यास’ बनाउनुपर्छ । हामी अझै पनि क्यान्सरलाई अस्पतालको मात्र समस्या ठान्छौं, तर यो समुदायको जिम्मेवारी हो । अब प्रश्न स्पष्ट छ— हामी अझै कति महिलाको मौन मृत्यु कुरेर बस्ने ? यो मृत्युको जिम्मेवारी कसले लिने ?
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.