लाजको पर्खाल, क्यान्सर कहर
प्रश्न स्पष्ट छ— हामी अझै कति महिलाको मौन मृत्यु कुरेर बस्ने ? यो मृत्युको जिम्मेवारी कसले लिने ?
एउटी आमाको स्वास्थ्य सिंगो परिवारको जग हो, तर जब जग नै ऐंजेरुले खान्छ, तब समृद्धिको सपना ढल्न बेर लाग्दैन । नेपालमा पाठेघरको मुखको क्यान्सर एउटा यस्तो ‘मौन हत्यारा’ बनेको छ, जसलाई आधुनिक चिकित्साले पूर्णतः रोक्न सकिने प्रमाणित गरिसक्दा पनि हाम्रो समाजमा यसले हजारौंको ज्यान लिइरहेको छ ।
दार्शनिक प्लेटोले भनेका थिए— ‘अज्ञानता नै सबै खराबीको जड हो ।’ र, नेपाली महिलाको स्वास्थ्यको हकमा यही अज्ञानता, गरिबी र लाजको पर्खाल नै मृत्युको मुख्य कारक बनिरहेको छभन्दा अत्युक्ति हुनेछैन । जहाँ उपचार सम्भव छ, त्यहाँ उपेक्षा किन ? यो प्रश्नले आज हरेक सचेत नागरिकको मन झक्झक्याइरहेको छ ।
उपेक्षित पीडा– एक मौन प्रश्न : नेपालमा क्यान्सरको चर्चा हुनेबित्तिकै धेरैको मानसपटलमा फोक्सो, पेट वा स्तन क्यान्सरको तस्बिर नाच्छ । तर, नेपाली महिलाहरूको शरीरभित्र एउटा अर्को क्यान्सरले चुपचाप जरा गाडिरहेको छ । त्यो हो— पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) । विश्व स्वास्थ्य संगठनले यसलाई ‘पूर्ण रूपमा रोकथाम र उपचार गर्न सकिने’ रोगको सूचीमा राखेको छ ।
विडम्बना, नेपालमा भने यही रोग महिलाको अकाल मृत्युको प्रमुख कारक बनेको छ । यो समस्या केवल चिकित्सा विज्ञानको मात्र होइन । यो हाम्रो सामाजिक संरचना, आर्थिक विषमता र सांस्कृतिक संकीर्णताको उपज पनि हो । प्रश्न रोगको मात्र होइन, हाम्रो व्यवस्था, चेतना र प्राथमिकताको पनि हो । कम उमेरमा विवाह, किशोर अवस्थामै गर्भधारण, लैंगिक असमानता र चरम गरिबीले नेपाली महिलालाई यो रोगको मुखमा धकेलिरहेको छ ।
प्रजनन क्यान्सरको बढ्दो बोझ : नेपालमा प्रजनन स्वास्थ्यसँग जोडिएका क्यान्सरहरूको बोझ दिनानुदिन बढ्दो छ । पाठेघरको मुखको (सर्भाइकल) क्यान्सर, पाठेघरको भित्री तह (इन्डोमेट्रियल) क्यान्सर, अण्डाशय (ओभरी) को क्यान्सर र स्तन क्यान्सर महिलाका प्रमुख शत्रु हुन् । तथ्यांकले भन्छ— पाठेघर क्यान्सरबाट हुने करिब ९० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका देशहरूमा हुन्छ । नेपालमा महिला प्रजनन अंगका क्यान्सरमध्ये ६० प्रतिशतभन्दाबढी हिस्सा पाठेघरकै छ ।
यस क्यान्सरको मूल जड ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) को संक्रमण हो । यो असुरक्षित यौन सम्पर्कबाट सर्छ । तर, संक्रमण हुनुको अर्थ क्यान्सर हुनु होइन । धेरै महिलामा यो भाइरस आफैं निको भएर जान्छ । तर, यसको दीर्घकालीन उपस्थितिले क्यान्सरलाई जन्म दिन्छ । गरिब देशमा संक्रमण बढी भएर मृत्यु बढेको होइन, बरु समयमै परीक्षण र उपचार नपाएर मृत्युदर बढेको हो ।
बालविवाह र कुपोषणको कुचक्र : नेपाली समाजमा किशोरावस्थामा विवाह हुनु अझै पनि सामान्य मानिन्छ । किशोरी अवस्थामा महिनावारी सुरु भए पनि पाठेघरको मुख पूर्ण रूपमा विकसित भइसकेको हुँदैन । यही अपरिपक्व अवस्थामा हुने यौन सम्पर्कले एचपीभी संक्रमणको जोखिमलाई कैयौं गुणा बढाइदिन्छ । त्यसपछि सुरु हुन्छ— कम उमेरको, बारम्बार सुत्केरी र पोषणको अभावको एउटा अनन्त चक्र ।
क्यान्सर कुनै एक झट्कामा लाग्ने रोग होइन । यसका लागि धेरै कारकले अनुकूल वातावरण तयार पारिदिन्छन् । रक्तअल्पता, कुपोषण, सरसफाइको अभाव र पटक–पटकको गर्भधारणले महिलाको प्रतिरोधी क्षमता कमजोर बनाउँछ । सबैभन्दा घातक पक्ष त समयमै परीक्षण, निदान र उपचारको अभाव हो । यही अभावले प्रजनन क्यान्सरलाई जटिल बनाउँदै मृत्युको संख्या बढाइरहेको छ ।
लाज र गरिबीको पर्खाल : पाठेघर क्यान्सरका सुरुवाती लक्षणहरू सुरुमा सामान्य लाग्न सक्छन् । यौन सम्पर्कपछि रगत बग्नु, असामान्य रूपमा सेतो पानी बग्नु, कम्मर वा तल्लो पेट दुख्नु यसका संकेत हुन् । तर, हाम्रो समाजमा गरिबी र लाजले यी लक्षणलाई ‘लुकाउनुपर्ने’ कुरा बनाइदिन्छ । महिलाहरू सोच्छन्— ‘सुत्केरी भएपछि यस्तै त हो नि !’ वा ‘उमेर ढल्किँदै छ, यस्तो त भइहाल्छ ।’ यसका पछाडि आर्थिक र सामाजिक अवरोधहरू पहाड बनेर उभिएका छन् । अस्पताल जान पैसा छैन, घरमा सोध्ने आँट छैन । हाम्रो पुरुषप्रधान समाजमा महिलाको स्वास्थ्य अझै पनि दोस्रो प्राथमिकतामा पर्छ । स्वास्थ्यसम्बन्धी निर्णयमा पुरुष सदस्यकै प्रभुत्व रहन्छ । अझ ‘स्त्रीरोग’ भन्नेबित्तिकै लाज मान्ने चलनले गर्दा महिलाहरू अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन् ।
कमजोर स्वास्थ्य प्रणाली र केन्द्रीकृत सेवा : नेपालमा प्रजनन क्यान्सर निदान र उपचारका चुनौतीहरू थुप्रै छन् । सरकारले राष्ट्रव्यापी स्क्रिनिङ (जाँच) कार्यक्रमहरूको घोषणा त गरेको छ, तर कार्यान्वयनमा नियमितता छैन । भएका सीमित सेवाहरू पनि प्रभावकारी छैनन् । कतिपय महिलाहरू ‘जाँच नगरे पनि हुन्थ्यो’ भन्ने भ्रममा छन् ।
विज्ञ सेवा र प्रविधिहरू (एमआरआई, कोल्पोस्कोपी, बायोप्सी) काठमाडौं र केही प्रमुख सहरमा मात्र सीमित छन् । रेडियोथेरापीजस्ता जटिल उपचारका लागि गाउँका महिलाहरू राजधानी धाउनुपर्ने बाध्यता छ । क्यान्सर विशेषज्ञहरूको अभाव एकातिर छ भने अर्कोतिर उपचार अत्यन्त महँगो छ । स्वास्थ्य बिमाको कभरेज सीमित हुँदा धेरै परिवार उपचारकै क्रममा सडकमा पुग्ने यथार्थ हाम्रासामु छ ।
पाठेघर र सामाजिक पहिचान : पाठेघरको क्यान्सर सुरुवाती चरणमा पत्ता लागे पूर्ण रूपमा निको हुन्छ । तर, ढिलो भएपछि उपचार जटिल, लामो र कष्टपूर्ण हुन्छ । नेपाली महिलाका लागि रोगभन्दा ठूलो चिन्ता ‘मेरो अनुपस्थितिमा घर कसले सम्हाल्छ ?’ भन्ने हुन्छ । ‘बच्चा कसले हेर्छ ? खेतीपाती कसले गर्छ ?’ भन्ने प्रश्नले गर्दा उनीहरू उपचारबीचमै छोड्न बाध्य हुन्छन् । यहाँ रोगले भन्दा बढी व्यवस्था रविवशताले मानिस हार्छन् ।
अर्को दुःखद् पक्ष, नेपाली समाजमा महिलाको मूल्य ‘सन्तान उत्पादन क्षमता’सँग जोडिन्छ । क्यान्सरका कारण पाठेघर गुमाउनु भनेको धेरैका लागि आफ्नो सामाजिक पहिचान नै गुमाउनु जस्तै हो । यसले महिलामा मानसिक तनाव, यौन समस्या र मूत्र प्रणालीमा जटिलतामात्र निम्त्याउँदैन, उनीहरूलाई सामाजिक रूपमा समेत एक्ल्याउँछ । त्यसैले, प्रजनन क्यान्सर केवल एउटा रोगमात्र होइन, यो एउटा गम्भीर मानसिक र सामाजिक मुद्दा पनि हो ।
रोकथामका बहु–आयामिक बाटाहरू : यस्तो जटिल समस्याको समाधान अस्पतालको कोठाबाट मात्र सम्भव छैन । यसका लागि बहु–आयामिक रणनीति आवश्यक छ :
प्राथमिक रोकथाम : किशोरीहरूका लागि एचपीभी खोप अनिवार्य गरिनुपर्छ । यसलाई स्कुल–आधारित कार्यक्रम बनाएर हरेक बस्तीसम्म पुर्याउनुपर्छ ।
सामाजिक परिवर्तन : बालविवाह रोक्ने, महिला शिक्षामा लगानी गर्ने र आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने नीति चाहिन्छ । लैंगिक समानताको वातावरणले मात्र महिलालाई आफ्नो स्वास्थ्यबारे निर्णय लिने शक्ति दिन्छ ।
सचेतना अभियान : स्थानीय भाषा र सञ्चार माध्यमबाट क्यान्सरका लक्षणबारे जानकारी दिनुपर्छ । लाजलाई चेतनाले विस्थापित गर्नुपर्छ ।
सामुदायिक स्क्रिनिङ : गाउँगाउँमा स्वास्थ्यकर्मीमार्फत ‘भीआईए’ जाँच विस्तार गर्नुपर्छ । स्थानीय तहमै नमुना संकलन गरी केन्द्रीय प्रयोगशालामा परीक्षण गर्ने डिजिटल प्रणाली विकास गर्नुपर्छ ।
उपचारको विकेन्द्रीकरण र राज्यको दायित्व : उपचार सेवालाई सहज र सुलभ बनाउनु राज्यको पहिलो दायित्व हो । कम्तीमा प्रादेशिक अस्पतालहरूमा आधारभूत क्यान्सर उपचार (किमोथेरेपी, शल्यक्रिया) उपलब्ध हुनुपर्छ । क्यान्सर जितेकाहरूका लागि मनोसामाजिक परामर्श र पुनस्र्थापनाका कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ ।
क्यान्सरको लडाइँ केवल चिकित्सकको मात्र होइन । यो हाम्रो सामाजिक–आर्थिक बन्धनविरुद्धको लडाइँ पनि हो । अस्पताल निर्माण र औषधि आयात गरेर मात्र पुग्दैन, हामीले महिलाको शिक्षा र स्वास्थ्यमा गरिने लगानीलाई ‘खर्च’ होइन, ‘भविष्य’ मान्नुपर्छ ।
निष्कर्ष– उपेक्षाको अन्त कहिले ? : नेपालमा प्रजनन क्यान्सर रोगभन्दा बढी उपेक्षाको परिणाम हो । जहाँ रोक्न सकिन्थ्यो, त्यहाँ पनि रोकिएको छैन । जहाँ समयमै पत्ता लाग्न सक्थ्यो, त्यहाँ त्यो काम गरिएको छैन वा ढिलो गरिँदैछ । एचपीभी खोप, नियमित स्क्रिनिङ र समयमै शल्यक्रिया गर्ने हो भने एउटै पनि महिलाले पाठेघरको क्यान्सरबाट सायदै मर्नु पर्नेछ । स्वास्थ्य सेवा उपलब्ध भएर पनि त्यसको उपयोग नहुनु नीतिगत असफलता हो । क्यान्सर परीक्षणलाई ‘अभियान’मात्र होइन, महिलाको जीवनको ‘सामान्य अभ्यास’ बनाउनुपर्छ । हामी अझै पनि क्यान्सरलाई अस्पतालको मात्र समस्या ठान्छौं, तर यो समुदायको जिम्मेवारी हो । अब प्रश्न स्पष्ट छ— हामी अझै कति महिलाको मौन मृत्यु कुरेर बस्ने ? यो मृत्युको जिम्मेवारी कसले लिने ?
प्रतिक्रिया दिनुहोस !