झापा-५ : शक्ति संघर्षको बीचमा जनताको भविष्य

झापा-५ : शक्ति संघर्षको बीचमा जनताको भविष्य

झापा-५ आज एउटा निर्वाचन क्षेत्र मात्र होइन। यो नेपालको वर्तमान राजनीति कुन मोडमा उभिएको छ भन्ने कुराको मापन गर्ने थलो बनेको छ। यहाँ देखिएको चुनावी माहोल, राजनीतिक ध्रुवीकरण र जनस्तरमा पैदा भएको असन्तोषले स्पष्ट सन्देश दिइरहेको छ, देशको राजनीति अब पुरानै शैलीमा अघि बढ्न सक्दैन।

एमालेका प्रभावशाली नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीचको सम्भावित प्रतिस्पर्धाले झापा-५ लाई राष्ट्रिय राजनीतिको केन्द्रमा तानेको छ। आँउदो निर्वाचनको इपिसेन्टरको रूपमा झापा-५ लाई उभ्याएको छ। तर, यो प्रतिस्पर्धा केवल दुई व्यक्तिको मात्रै होइन, यो प्रतिस्पर्धा मुख्य रूपमा नयाँ सोच, जवाफदेहीता र सुधार चाहने दृष्टिकोणको पक्षमा उभिएका नयाँसँग सम्बन्धित देखिन्छ, जसले पुरानो शक्ति र व्यक्तिकेन्द्रित राजनीति विरुद्धको विकल्प प्रस्तुत गर्छ।

नेपालको राजनीति लामो समयदेखि व्यक्तिकेन्द्रित रहँदै आएको छ। नेतृत्व बदलिँदैन, शैली बदलिँदैन, परिणाम पनि बदलिँदैन। यही निरन्तरताले जनतामा गहिरो थकान र असन्तोष जन्माएको छ। झापा-५ मा देखिएको चुनावी तातोपन त्यसैको एक परिणाम हो। एकातिर सत्ता, अनुभव र संस्थागत पहुँचको प्रतिनिधित्व गर्ने पुरानो शक्ति छ। अर्कोतिर, नवीनता, पारदर्शिता र जनमुखी राजनीति चाहने नयाँको स्वर छ। मुख्य तय यी दुई ध्रुव ठोक्किने केन्द्र बिन्दु बनेको छ झापा-५। यसले यो क्षेत्रलाई सामान्य निर्वाचनभन्दा धेरै ठूलो राजनीतिक अर्थ दिएको छ।

निर्वाचन नजिकिँदै जाँदा झापा-५ को स्थानीय सामाजिक बनावटमा परिवर्तन देखिन थालेको छ। राजनीतिक बहस बढेको छ, तर, त्यो बहस सधैं स्वस्थ छैन। चिया पसलदेखि सामाजिक सञ्जालसम्म, विचारभन्दा भावना हाबी भएको देखिन्छ।

जनस्तरमा देखिएका केही प्रभावहरू गम्भीर छन्, परिवार र मित्रतामा विभाजन, कार्यकर्ताबीच कटुता, सामाजिक सञ्जालमा भ्रम र आरोप, युवामा अति अपेक्षा, वृद्ध पुस्तामा गहिरो डर। यी सबैले संकेत गर्छ, चुनाव जनताको उत्सव बन्नुको सट्टा मानसिक दबाबको कारण बन्दैछ। आर्थिक रूपमा पनि यसको असर देखिन्छ। साना व्यवसायी अनिश्चिततामा छन्। किसान आफ्नो मुद्दा चुनावी नारामा हराउने हो कि भन्ने चिन्तामा छन्। युवामा राजनीतिक चासो बढेको छ, तर भविष्यप्रतिको अन्योल घटेको छैन।

झापा-५ का जनताको अपेक्षा अब साधारण छैन। उनीहरू अब भाषण सुन्न चाहँदैनन्, परिणाम खोजिरहेका छन्। जनताको अपेक्षा स्पष्ट छ। किसानले उत्पादनको मूल्य पाउनुपर्छ, युवाले रोजगारी र भविष्यको भरोसा पाउनुपर्छ, व्यवसायीले स्थिर नीति र सुरक्षा चाहन्छन्, शिक्षा र स्वास्थ्य पहुँचयोग्य हुनुपर्छ र राजनीति सेवाको माध्यम बन्नुपर्छ, सत्ताको खेल होइन। यी अपेक्षा कुनै दलविरुद्ध होइनन्। यी राज्यप्रतिको आधारभूत माग हुन्।

शक्ति संघर्ष कि नीति संघर्ष
बढ्दै गरेको चुनावी माहोलले एउटा गम्भीर प्रश्न उठाएको छ, यो चुनाव पुरानो व्यक्तिवादी राजनीति र नयाँ नीति, जवाफदेहीता र सुधार चाहने दृष्टिकोणको संघर्ष हो। जनता विवेकपूर्वक नेतृत्वमा नयाँ नीति र जवाफदेहिता रोज्छन् भने, झापा-५ देशभरका लागि परिवर्तनको नमूना बन्न सक्छ। चुनाव व्यक्तिको प्रतिष्ठा जोगाउने वा ढाल्ने लडाइँमा सीमित भयो भने, त्यसको सबैभन्दा ठूलो क्षति जनताले व्यहोर्नुपर्छ।

झापा-५ को नतिजाले देशभर स्पष्ट सन्देश जानेछ। पुरानो नेतृत्व पुनः विजयी भयो भने, देशले निरन्तरता पाउनेछ। तर, नवीन र जनमुखी नेतृत्व विजयी भयो भने, देशले स्पष्ट परिवर्तनको संकेत पाउनेछ, राजनीतिक दलहरूलाई जवाफदेही र नीतिमुखी बन्न बाध्य पार्नेछ। दुवै अवस्थामा झापा-५ ले एउटा सन्देश दिनेछ अब राजनीति सजिलै चल्दैन। जनताले प्रश्न गर्छन्, हिसाब माग्छन्।

झापा-५ को चुनावले भविष्यका चुनावहरूमा पनि प्रभाव पार्नेछ। दलहरूले उम्मेदवार चयन गर्दा बढी सोच्नुपर्नेछ, केवल नाम र शक्ति पर्याप्त हुँदैन भन्ने सन्देश जानेछ, जनतासँग निरन्तर संवाद नगर्ने राजनीति टिक्न गाह्रो हुनेछ। झापा-५ का जनताले विवेकपूर्वक परिवर्तन चाहिने निर्णय गर्छन् भने, यो क्षेत्र केवल राजनीतिक समाचारको विषय होइन, लोकतान्त्रिक अभ्यासको नमूना बन्न सक्छ।

हालः झापा-५ आज शक्ति संघर्षको जोखिम र सम्भावना दुवै बोकेको क्षेत्र बनेको छ। यहाँको चुनाव व्यक्तिको जित-हारभन्दा धेरै ठूलो अर्थ राख्छ। जनता अब मोहरा होइनन्, निर्णायक शक्ति हुन्। शक्ति संघर्षको बीचमा जनताको भविष्य हराउन नदिने जिम्मेवारी अन्ततः जनताकै हातमा छ। झापा-५ ले दिने सन्देशले नै भोलिको नेपालको राजनीतिक दिशा तय गर्ने लगभग पक्का छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.