रित्तिँदै देश, भरिँदै विदेश !

रित्तिँदै देश, भरिँदै विदेश !

करिब दुई दशकअघिको कुरा हो। गाउँमा एक युवतीको बिहेको टुंगो लागेको खबर सुन्नेबित्तिकै सामान्य उत्सुकताका साथ सोधेको थिएँ, ‘केटो के गर्दै रहेछ नि ?’ प्रश्न भुइँमा खस्न नपाउँदै ती युवतीकी छिमेकीले निकै गर्वका साथ जवाफ दिइन्, ‘विदेश जान लागेको रे !’ त्यो उत्तर सुनेर अक्क न बक्क परें। मनमा अनेकौं तर्कना खेलिरहे— ‘के विदेश जान लाग्नु नै एउटा ठुलो योग्यता हो र ? के यो कुनै प्रतिष्ठित पदवी वा प्राज्ञिक डिग्री हो र ?’

त्यतिबेला आजको जस्तो विदेश जाने यस्तो उन्मादपूर्ण लहर थिएन तर त्यो एउटा जवाफले भविष्यको एउटा भयावह चित्रको संकेत गरिसकेको रहेछ। आज लाग्दैछ, त्यो ‘विदेश जान लागेको केटो’ त एउटा सामाजिक मानकको सुरुआत मात्र रहेछ, जसले बिस्तारै सिंगो देशलाई नै रित्याउने बाटो खनेको रहेछ। त्यो हिजो, यो आज, हेर्दाहेर्दै समय पूरै बदलिएको छ। भनौं समयले हामीलाई नै बदलिदिएको छ। आज त जो पनि विदेश जाने, जसरी पनि विदेश जाने। कसैलाई डिग्री चाहिएको छ, विदेश। कसैलाई करियर बनाउनु छ, विदेश। यहाँसम्म कि नक्कली बिहे गरेर भए पनि वा सक्कली बिहेलाई ‘व्यापार’ बनाएर भए पनि विदेशकै जहाज चढ्नुपर्ने मानसिकताले समाजलाई गाँजेको छ। सबैजना आफ्नै भविष्यका लागि भन्दै उडिरहेका छन्। भिसा नआएर तनावमा रहेकाहरूको समूह ठूलो देखिन्छ। यो दृश्य देख्दा लाग्छ, मानौं नेपाल अब बस्नका लागि अयोग्य हुँदै छ र यहाँ भविष्यको कुनै नामोनिसान बाँकी छैन। 

केही समयअघि बसमा यात्रा गर्दै थिएँ। चिनेकै छोरी साथीलाई भन्दै थिइन्, ‘बल्लबल्ल इन्जिनियरिङ सकियो, अब एउटा ‘विदेशी केटो’ पाए त बिहे गरेर उडिहाल्थें।’ नभन्दै केही समयपछि उनले त्यस्तै केटो पाइछिन् र अहिले उनी अस्ट्रेलियामा छन्। सामाजिक सञ्जालमा देखिने उनका चम्किला तस्बिरहरूले भन्छन्, उनको जीवन निकै आनन्दमय छ। तर, के ती डिजिटल तस्बिरहरूले सात समुद्रपारिको एक्लोपन, १२ घण्टाको कठोर श्रम र आफ्नै संस्कृतिबाट टाढिनुको पीडालाई व्यक्त गर्न सक्छन् र ?

आजका युवापुस्ताको एउटै स्वर छ, ‘यहाँ दुःख गरेर पढे पनि काम पाइँदैन। यहाँ कुनै पद्धति छैन। यहाँ त केवल भ्रष्टाचार र आन्दोलन मात्रै हुन्छ।’ उनीहरूको यो गुनासोमा सत्यता नभएको पनि होइन, तर यो सत्यले जन्माएको परिणाम निकै कहालीलाग्दो छ। युवा शक्ति पलायन हुँदा देश केवल ‘वृद्धाश्रम’ जस्तो बन्दै गएको छ। अस्ति ‘जेन–जी आन्दोलन’ताकाको कुरा हो, साथीले निकै गम्भीर भएर भन्नुभो, ‘पहिले त छोरालाई बेकार अमेरिका पठाइएछ जस्तो लागेको यियो, अहिले यहाँको अवस्था देख्दा त एकदमै राम्रो गरिएछ जस्तो लागेको छ। ’

यो कस्तो समय आएको हो, जहाँ आमाबाबुले सन्तानलाई काखमा भन्दा पराइको देशमा सुरक्षित महसुस गर्छन् ! सन्तानसँगै बसेर सुखदुःख बाँड्नुभन्दा उनीहरूलाई टाढा पठाएर त्यसैमा इज्जत र सन्तुष्टि पाउँछन् ! आजकल भोजभतेर, भेटघाट र जमघटमा सबैको मुखमा एउटै कुरा झुन्डिएको हुन्छ, ‘मेरो छोरो अमेरिकामा छ। मेरी छोरी क्यानडामा छिन्। मेरो छोरो जापानमा, मेरो त अस्ट्रेलियामा...। हाम्रो पनि भिसा आइसक्यो। 
हामी ता पोहार पाँच महिना बसेर आयौं। ’

होइन, के विदेशमा पनि मान्छेले सुन नै खाएर, चाँदी नै लाएर बस्छन् त ? त्यहाँ पनि त पसिना बगाउनै पर्छ, त्यहाँ पनि त संघर्षको कठोर रूप छ। प्रश्न उठ्छ, के धेरै पैसा कमाउँदैमा त्यसले पारिवारिक खुसी र सन्तुष्टि दिन सक्छ र ? दसैंमा सबै परिवार जम्मा भएर लगाइने टीका, तिहारमा खाइने सेलरोटी र विभिन्न अवसरमा साटिने हाँसोको मूल्य डलरसँग कसरी तुलना हुन सक्छ ? हरेक दिन घरमा एउटा सन्तानको सिट खाली देख्दा, उनीहरू सुत्ने कोठा र बस्ने कुर्सी देख्दा बाबुआमाको मनमा उब्जने रिक्तता र तिहारमा भाइको निधार खाली देख्दा दिदीको आँखामा आउने आँसुको क्षतिपूर्ति के पैसाले तिर्न सक्छ ? भौतिक सुविधा र विलासिताले क्षणिक सुख त देला, तर हृदयको त्यो कुनो सधैं खाली रहन्छ, जहाँ आफ्नाहरूको माया र सामीप्य हुनुपथ्र्यो। 

अहिले प्रायः परिवारमा एउटा वा दुईवटा मात्र सन्तान हुन्छन्। तिनै सन्तानलाई पनि सात समुद्र पार पठाएर आफू स्वदेशमा बुढाबुढी भएर, सहाराविहीन अवस्थामा बस्नुपर्ने बाध्यतालाई हामीले ‘समयको माग’ भन्दै स्वीकार गरिरहेका छौं। जीवनको उत्तरार्धमा जब शरीर गल्छ र रोग, बिमारले समात्छ, त्यतिबेला साथ र सहाराको खाँचो हुन्छ। अस्पतालको बेडमा छटपटाउँदा सिरानीमा बसेर सुम्सुम्याउने हातहरू चाहिन्छन्, न कि बैंक अकाउन्टमा पठाइएको रेमिट्यान्स। के ती विदेशिएका सन्तानले पठाएको पैसाले बुढेसकालको त्यो एक्लोपन र बिरामी पर्दाको पीडालाई निको पार्न सक्छ ? कदापि सक्दैन। तर हामी भने अझै पनि ‘तपाईंको छोरा अझै विदेश गएको छैन ?’ भन्ने प्रश्नको डरले आफ्ना कलिला सन्तानलाई जहाज चढाउन हतार गरिरहेका छौं। यो कस्तो सामाजिक प्रतिष्ठा हो, जसले आफ्नै आँगनलाई उजाड बनाउँदा खुसी मनाउँछ ?

हामी यस्तो समाज बन्दैछौं, जहाँ स्वदेशमा बसेर केही गर्न खोज्नेलाई ‘असफल’ देख्न थालिएको छ। यो मानसिक दासताले हाम्रा घरहरू रित्तिँदै छन्, गाउँहरू सुनसान हुँदै छन् र वृद्ध आँखाहरू हरदम टोलाइरहेका छन्। पैसाले सुविधा किन्ला तर शान्ति र आत्मीयता किन्न सक्दैन। विदेश पठाउनुलाई इज्जत ठान्ने हाम्रो यो समाज भोलि जब सहाराविहीन भएर टोलाउनेछ। त्यतिबेला सायद हामीसँग पछुताउन पनि कोही साथमा हुने छैन। यो रित्तिँदै गरेको देश र भरिँदै गरेका विदेशी भूमिले हामीलाई गिज्याइरहेका छन्– के साँच्चै खुसी केवल पैसामा मात्र छ त ? के हामीले उन्नति र सुखी जीवनको नाममा आफ्नो संस्कार, परिवार र आत्मीयता नै दाउमा त राखिरहेका छैनौं ?

आफ्नै देशको माटोमा पसिना बगाउनुभन्दा अर्काको देशको विकासमा इन्धन बन्नुलाई महान् ठान्ने यो सोचले कतै हामीलाई ‘भविष्यविहीन समाज’ त बनाइरहेको छैन ? यावत् प्रश्नको व्यावहारिक उत्तर खोज्ने बेला ढिलो भइसकेको छ, नत्र भोलि हाम्रा घरहरू केवल भौतिक पर्खाल मात्र हुनेछन्, जहाँ मान्छेको स्पर्श र मायाको सुगन्ध हुने छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.