ब्रह्माण्डमा रहेका दैवीशक्तिहरूको मूल केन्द्र हो– श्री पशुपतिनाथ तथा पाशुपत क्षेत्र। ब्रह्माण्डमा ज्ञानविज्ञानका सबैै विधा पाशुपत क्षेत्रमा छन्। विश्वसम्पदा क्षेत्रमा सूचीकृत यो क्षेत्रमा जहाँ जसरी उत्खनन गरे पनि शिवलिंग फेला पर्छन्।श्रुतिअनुसार यस क्षेत्रको वरिपरि पूरै उत्खनन गर्ने हो भने करिब ३ लाख शिवलिंग भेटिन्छन्।
विभिन्न अनुसन्धानले अहिले पनि पशुपतिनाथ प्रांगणलगायत वरिपरिको क्षेत्र उत्खनन गरेमा १००१ शिवलिंग जमिनमुनिबाट निस्कन्छन् भनेको छ। पशुपतिनाथको मूल मन्दिरको प्रांगण ब्रह्माण्डकै अलौकिक वास्तुकलाको नमुना हो। यो वास्तुकला संसारमा कहीँकतै छैन। हाम्रा जीवनका हरेक दैनिक क्रियाकलाप तन्त्रविधिबाट आरम्भ हुन्छन्। बिहान उठ्नेबित्तिकै घरगृहस्थीमा पनि राक्षसी शक्तिलाई कुनै पनि कुरा समर्पण गर्छौं। हामीले कुनै यज्ञ, पूजापाठ घरमा आयोजना गर्दा वा महायज्ञ आदि आयोजना गर्दा कुश, तिल, पानी, सस्र्युं, रायो आदि छर्केर ‘अपवित्रो पवित्रो वा सर्वावस्थान.’ मन्त्रले भूमिशोधन गर्छौं। अनि देवकार्य आरम्भ गर्छौं अर्थात् यज्ञविधान आरम्भ गर्छौं। रातभरि राक्षसी शक्ति जागरण हुँदा ती शक्तिलाई कुनै न कुनै रूपमा सन्तुष्ट गरेपछि मात्र देवकार्य वा सत्कार्य आरम्भ हुन्छ।
पशुपतिनाथ मन्दिरमा पनि हरेक बिहान तान्त्रिक विधिबाट होमहोमादी कार्य सम्पन्न गरेपछि मात्र मुख्य पूजाविधि र दर्शन प्रारम्भ गरिन्छ। तान्त्रिक विधिबाट गरिने पूजाविधि आगम हो। वैदिक विधिबाट गरिने पूजाविधि निगम हो।
श्रीस्वस्थानी व्रतकथामा जालन्धर यक्ष र वृन्दाको प्रसंग आउँछ। वृन्दाको सतीत्वको शक्तिका कारण जालन्धर यक्ष हरेक दैवीशक्तिलाई परास्त गर्न सक्ने शक्ति बोकेर बसेको हुन्छ। त्यो शक्ति स्वयं महादेवबाट पनि नष्ट पार्न सक्ने अवस्था नहुँदा विष्णुमार्फत वृन्दाको सतीत्व हरण गरेको प्रसंग आउँछ। यसै प्रसंगमा विष्णुले छल गरी वृन्दाको सतीत्व हरण गरेपछि मात्र महादेवबाट जालन्धर यक्षलाई मार्न सफल भएको अवस्था देखापर्छ।
जब वृन्दाले थाहा पाइन् तब विष्णुलाई श्राप दिइन्, झार हुनुपरोस्, रूख हुनुपरोस्, घाँस हुनुपरोस्, शिला हुनुपरोस्। यिनै चार श्रापलाई शिरोधार्य गरेर विष्णुले राक्षसी शक्तिलाई परास्त गर्ने विधान तयार गरेका छन्। यसरी, झारको रूपमा विष्णु तुलसी भए। घाँसको रूपमा कुश भए। रूखको रूपमा पीपल भए। शिलाको रूपमा शालिग्राम भए। ती सबै चिजमा दैवीशक्ति छ। र, संसारलाई अति पवित्र बनाउँदै राक्षसी शक्तिलाई परास्त गर्ने शक्ति छ। जसको कारणले तन्त्रविधिको पूजामा राक्षसी शक्तिलाई परास्त गर्न सक्ने शक्ति रहेका पीपल, तुलसी कुश, शालिग्राम, तिल आदि राखेर जौ, तिल, चामल र घिउको हवन गरी शान्त पारिन्छ, त्यसपछि वैदिक विधापूर्वक पूजा, यज्ञ वा सत्कर्म आरम्भ गरिन्छ। पशुपतिनाथ अगाडि रहेको आगमघरमा बिहान तान्त्रिक विधिबाट हवनादि कार्य सम्पन्न गरेपछि मात्र मूल भट्टलगायत अन्य भट्ट मूलमन्दिर प्रवेश गर्छन्।
बिहान ४ बजेदेखि पशुपतिनाथको दर्शन गर्न तयार हुन्छौं। तर, त्यसबेला तान्त्रिक विधिको पूजा सम्पन्न भएकै हुँदैन। करिब बिहान ८ बजे अगमघरको पूजा सम्पन्न भएपछि मात्र भट्टहरू मूलमन्दिर प्रवेश गर्छन्। गर्भगृहमा प्रवेश गरेपछि धूप बाली अक्षता आदि पन्छाएर भूतप्रेत आदिलाई केही दिएर मात्र मूल शिवलिंग छोएर पूजा प्रारम्भ र दर्शन प्रारम्भ हुन्छ। त्यसैले बिहानैदेखि पशुपतिनाथको दर्शन गर्नुभन्दा बिहान ८ ः३० बजेपछि गरिएको दर्शन बाधा व्यवधानरहित दर्शन हो भन्ने मानिन्छ।
पशुपतिनाथलाई ‘श्री’ पनि भनिन्छ। संसारकी सर्वशक्तिशाली देवी श्री हुन्। श्री नै महात्रिपुरासुन्दरी देवी हुन्। ब्रह्माण्डमा महात्रिपुरासुन्दरी देवीभन्दा माथि अर्को शक्ति छैन। श्रीयन्त्रको बीचमा रहने देवी स्वयं महात्रिपुरासुन्दरी देवी हुन्। संसारमा सबैभन्दा ठूलो अंक ९ हो। श्रीयन्त्रमा ९ वटा कोण हुन्छन्।
तल्लोभागका ४ कोण स्त्रीशक्ति माथिल्लो भागका ५ कोण पुरुष शक्ति हो। यसैलाई प्रकृति र पुरुष भनिन्छ। यही प्रकृति र पुरुषको बीचमा बीज बिन्दुको रूपमा स्वयं महात्रिपुरासुन्दरी देवी बसेकी हुन्छिन्। त्यसैले श्री पशुपतिनाथको मूल ज्योतिर्लिंगमा प्रत्येक दिन असली श्रीखण्ड चन्दनबाट श्रीयन्त्र बनाइन्छ र त्यसमाथिबाट पूजा प्रारम्भ गरिन्छ।
महात्रिपुरासुन्दरी देवीलाई स्वयं देवाधिदेव महादेवले समेत आफ्नो शिरमा धारण गर्नुहुन्छ। अघिल्लो दिनको श्रीयन्त्र निर्माण गरिएको असली श्रीखण्ड चन्दन निकालेपछि बल्ल त्यो दिन घोटिएको चन्दनमा मिसाइन्छ, त्यसपछि मात्र भक्तहरूलाई उक्त चन्दन प्रसादको रूपमा बाँडिन्छ। त्यसैले बिहान ८ः३० बजेपछि भने पशुपतिमा सोही दिनको महात्रिपुरासुन्दरी माईस्वरूप चन्दन प्राप्त हुन्छ। त्यसैले बिहानको समयमा देवताहरूसमेत राक्षसी शक्तिलाई सन्तुष्टि पारिसकेपछि मात्र देवताको वास्तविक शक्ति प्रादुर्भाव हुन्छ भन्ने मानिन्छ।
पशुपतिनाथ मन्दिर : प्रांगण र मन्दिर वास्तुकलाको विधान सम्पूर्ण रूपमा पालना गरी निर्माण गरिएको छ। यहाँको वास्तुकलामा कुनै प्रकारका त्रुटि छैनन्। वास्तुकलाको पूर्णता भएकै कारण पाशुपत क्षेत्रमा भौगोलिक हिसाबले कुनै प्रकारका दुर्भिक्ष्यहरू परेका छैनन्। यहाँबाटै महादेव स्वयंले आफ्नो महाज्योतिर्लिंगको मस्तकमा महात्रिपुरासुन्दरी देवी शक्तिधारण गरी सबै प्राणीमात्रको कल्याण गर्नुहुन्छ। पशुपतिनाथ स्वयंले शिरमा धारण गर्ने शक्तिकी देवी हुन् महात्रिपुरासुन्दरी देवी।
देवाधिदेव पशुपतिनाथ : सृष्टि स्थिति र प्रलयभन्दा माथि हुनुहुन्छ। त्यसैले प्रांगणको वास्तुकलामा पश्चिमदक्षिण दिशाको बीचमा भगवान् भन्दा ज्यादै तल नवग्रह २७ नक्षत्र रहेका छन्। पशुपतिनाथको दर्शन पूर्वमुख भएर गर्नुपर्नेछ। त्यसैले मूल प्रवेशद्वार पश्चिम दिशामा रहेको छ। ब्रह्मेश्वर आदि देवीदेवता एवं समग्र सृष्टिका ग्रह नक्षत्र आदि सबैको पूजा र दर्शन गरेपछि स्वयं देवताधिदेव श्री पशुपतिनाथको दर्शन गर्नुपर्छ।
पशुपतिनाथ प्रांगणको अलौकिक संरचना नै यहाँको दैवीशक्तिको मूल स्रोत हो। नौवटा भैरवले श्री पशुपतिनाथको दिव्यताको रक्षा गरेका छन्। नौवटा गणेशले यहाँको भूमिका र प्रकृतिको बिघ्न हटाएका छन्। नौवटा ईश्वरीहरूले यहाँ देवाधिदेवलाई नवधा शक्ति प्रदान गरेका छन्। यहाँको भूमिमा अनन्त शक्ति नै शक्ति मात्र छ। यहाँ भएको शक्तियुक्त माटोमा भूतप्रेत पिशाच सबै प्रकारका शक्तिको वास छ। यसै माटोमा रहेका सबै प्रकारका शक्तिलाई पूजाको आवश्यकता पर्ने भएकाले प्रत्येक दिन तान्त्रिक पूजा र होमहोमादि आवश्यक भएको हो।
तन्त्र पूजापछिको वैदिक संस्कारयुक्त पूजाबाट भगवान्मा जुन दिव्य शक्ति रहन्छ, त्यही दिव्य शक्तिलाई हरेक भक्तले ग्रहण गर्नुपर्दछ। यहाँको ज्ञान समस्त तन्त्रविधामा निहित छ। यसै ज्ञानबाट विज्ञानको जन्म भएको छ। मूल मन्दिर प्यागोडा शैलीमा किन ? मूल मन्दिरभित्रको गर्भगृहमा के
छ ? मूलमन्दिरको दक्षिण भागमा किन उन्मत्त भैरव ? उन्मत्त भैरवको पछाडि पूर्वी दक्षिण कुनामा किन कीर्तिमुख भैरव ? कीर्तिमुख भैरवको मूर्ति किन टाउको मात्र छ ? कीर्तिमुख भैरवसँगै किन शीतलादेवीको मूर्ति छ ? किन श्रीकृष्णको मूर्ति पूर्वी दक्षिण कोणमा ? किन मुक्ति मण्डपबाट १५ शिवालय हेर्नुपर्छ ? किन मुक्तिमण्डपमा सन्तानेश्वर
शिवलिंग छन् ?
यस्तै, किन पूर्वीगेटको अगाडि विष्णु बूढानीलकण्ठ राखिएको छ ? किन बागमती किनारमा ९ वटा घाट छन् ? किन पशुपति वरिपरि ९ वटा अखाडा छन् ? किन पशुपतिनाथ मन्दिर प्रांगणमा विभिन्न स्थानमा शिवलिंग र मन्दिरहरू छन् ? किन वासुकीनाथको मन्दिर उत्तरपूर्वी कुनामा छ ? किन महाभारत फलक उत्तरपूर्वी कुनाको वासुकी मन्दिरभन्दा पहिले छ ? किन वासुकीनाथ मन्दिर अगाडि लाटो नाग छ ? किन गंगामाईको तान्त्रिक विधिले पूजा हुन्छ ? किन बागमती किनारमा मन्दिर, शिवलिंग र मूर्तिहरू छन् ? यी सबै त्यत्तिकै त्यहाँ लहडमा स्थापित गरिएका छैनन्। यी सबै मूर्ति शिवलिंग र मन्दिरहरू बनाइनुका पछाडि वास्तुकलाको सकारात्मक ऊर्जा उत्पादन गरिने महत्वपूर्ण कारण त्यहाँ छन्।
यसैले पाशुपत क्षेत्रको वास्तुकला यसको प्रभाव अनि पशुपतिनाथ मन्दिरको तन्त्रपूजा तथा निगम पूजा बारेमा गहिरो अध्ययन हुनु जरुरी छ। पशुपतिनाथका २८ आम्नाय छन्। आम्नाय भनेको मुख हो। श्री पशुपतिनाथका आम्नाय २८ वटा किन ? यसको खोज गरी ती २८ आम्नायको प्रतीकात्मकता समेत के के हो ? भनी विश्लेषण भई सबै स्थानको वास्तु वर्तमान समयमा सबैका लागि जानकारी गराउनु जरुरी हुन्छ। पशुपतिनाथ ब्रह्माण्डमा नै अमूल्य मणिको रूपमा नेपाल भूमिले पाएको वरदान हो। यस स्थानको अति आध्यात्मिकता, धार्मिकता, सांस्कृतिकता एवं सामाजिकताका विषयलाई यसै क्षेत्रमार्फत नेपालको प्रचार प्रसार गरी आध्यात्मिक पर्यटन प्रबद्र्धन गर्नु आजको मूल आवश्यकता हो।
खतिवडा पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक हुन्।
प्रतिक्रिया दिनुहोस !