नीतिविहीन राजनीतिको रमिता
सतही लोकप्रियताबाट सत्ता त हातमा आउला, तर राज्य चल्दैन। आक्रोशबाट भिड त तात्ला, तर राष्ट्र बन्दैन।
भिन्न कालखण्डबाट पुष्टि भएको छ, समाज स्थिर छैन। हुनु हुँदैन पनि किनकि यो निरन्तर बदलिँदै जाने प्रक्रिया हो। समाजको विकास केवल आर्थिक वा राजनीतिक संरचनाले मात्र होइन, विचार, मूल्य, शक्ति सम्बन्ध र सांस्कृतिक अभ्यासहरूले तय गर्छ। यही दृष्टिबाट पेटर एल. बर्गर र थोमस लकम्यानले ‘द सोसल कन्स्ट्रक्सन अफ रिआलिटी’ (१९६६) मा समाजलाई मानिसको व्यवहार, भाषा, सम्बन्ध र साझा अनुभवबाट निरन्तर निर्माण हुने यथार्थ भनेका छन्।
जसमा ‘व्याख्यात्मक समाज’को कुरा गरिएको छ, जहाँ मानिसले सत्यलाई केवल घटना भएको रूपमा होइन, यसको अर्थ के हो ? भनेर प्रश्न गर्दै बुझ्छन्। यो वेबरको ‘भस्र्टेहेन’ अवधारणामा आधारित छ, जसले समाजलाई तथ्यले होइन, अर्थले चल्छ भन्ने कुरा स्पष्ट गर्छ। तर यी कसीहरूमा जाँच्दा नेपाली समाज कहाँ र कुन अवस्थामा छ ? अनि समाजको चेतना कमजोर हुँदा, कसरी विवेक र व्याख्याभन्दा आक्रोश र लोकप्रिय नाराले नेपाली राजनीति र समाजलाई कब्जा गरिरहेको छ भन्ने चर्चा यस लेखमा छ।
स्टन्ट र उत्तोजनाबाट चुनाव जितिएला, तर उत्पादन बढ्दैन, रोजगारी सिर्जना हुँदैन। सुशासन र न्यायको प्रत्याभूति हुँदैन।
आखिर, राष्ट्र निर्माणको काम नारा र ट्रेन्डबाट होइन, नीति, क्षमता र जिम्मेवारीबाट मात्र सम्भव हुन्छ। चुनावका बेला बुझ्नैपर्ने चुरो–कुरो यही हो
सतही बन्दै गएको राजनीतिक बहस : नेपालको आजको राजनीति र सार्वजनिक बहसलाई हेर्दा व्याख्यात्मक समाजको रूपभन्दा वस्तुगत समाजको प्रभाव नै हाबी भएको देखिन्छ। व्याख्यात्मक समाजकै अभावका कारण समाज सतही रूपमा अघि बढिरहेको छ। हामी के भयो भन्ने तहमा मात्र धेरै समय बिताइरहेका छौं, तर किन भयो, कसले कुन कथा बनायो र कसले कुन अर्थ बेच्यो, कसको हितमा त्यो व्याख्या गरियो र हल्ला मच्चाइयो ? भन्ने प्रश्नहरूलाई एकदमै कम प्राथमिकता दिइरहेका छौं। यही कमजोरीका कारण राजनीति नीति र विवेकबाट होइन, भावनात्मक प्रतिक्रिया र सामूहिक आवेगबाट चल्न थालेको छ। अनि लोकतन्त्र नागरिकको विवेक होइन, भिडको गति जस्तो बन्न थालेको छ। यो समस्या राजनीतिक दल र तिनका नेता–कार्यकर्ता र आम जनता सबैमा मौलाएको साझा समस्याको रूपमा विकास भएको छ।
पुरानाले गुमाएको अवसर र नयाँले दिन नसकेको आशा : व्याख्यात्मक समाजको दृष्टिले हेर्दा, राजनीतिक दलले समाजलाई जुनसुकै कुराको पनि सही अर्थ, भरोसा, दिशा र भविष्य दिनुपर्ने हो। तर नेपालका पुराना राजनीतिक दलहरूले जनताको विश्वास जित्ने ऐतिहासिक अवसर पाउँदा पनि त्यो अवसरलाई परिणाममुखी शासन र भरोसायोग्य विकासमार्फत पुष्टि गर्न सकेनन्। जनताले पटक–पटक मौका दिए, तर शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन, सुशासन, भ्रष्टाचार नियन्त्रण र न्यायमा अपेक्षित नतिजा र भरोसा दिन सकेनन्।
त्यसैले जनतामा विश्वास, विचार र विवेक होइन, आक्रोश बढ्यो र विश्वासको संकटबाट जन्मिएको खाली ठाउँमा नयाँ शक्तिहरूले अवसर देखे। तर गुणात्मक चेतना कमजोर भएको समाजमा नयाँ भनिएका शक्तिहरू पनि कताकता बहकिएको आभास हुन्छ। उनीहरूले पनि समाजलाइ बहस, छलफल, स्पष्ट नीति र योजनाको खाकामार्फत होइन, लोकप्रियतावादको आडमा उत्तेजनामार्फत आकर्षित गर्ने प्रयास थालेका छन्। जनताको असन्तुष्टिको सम्बोधनलाई नीति निर्माणमा रूपान्तरण गर्नुपर्ने ठाउँमा उनीहरू यसलाई पुरानाको असफलताको मात्र दोष दिएर भावनात्मक बजार बनाएर बेच्न व्यस्त छन्। सार्वजनिक बहस र बौद्धिक विश्लेषणको तहतिर जानुभन्दा गाली, आक्रोश, ट्रेन्ड, भाइरल क्लिप, सस्तो नारा र सस्तो लोकप्रियता धेरै बिक्ने भएको छ।
नीति र विधि होइन, गाली र स्टन्टमा चलेको राजनीतिक प्रतिस्पर्धा : आज दलहरूको वास्तविक प्रतिस्पर्धा नीति, विधि र विकासको खाकामा छैन। प्रतिस्पर्धा कसले बढी कडा बोल्यो, कसले बढी अपमान गर्यो, कसले बढी ताली पायो, कसको भिडियो बढी भाइरल भयो भन्ने सतही मैदानमा छ। चुनाव नजिकिँदै जाँदा बहस उत्पादन, रोजगारी, कृषिको आधुनिकीकरण, उद्योग, ऊर्जा, शिक्षा सुधार, स्वास्थ्य सेवा, संघीयताको कार्यान्वयन, सुशासन र न्यायिक सुधारमा होइन; अक्सर व्यक्ति, चरित्र हत्या, भावनात्मक राष्ट्रवाद, वर्गीय रिस र तुरुन्तै लोकप्रिय हुने सजिलो नारामा सीमित भएको छ। यसले समाजलाई स्वस्थ दिशातर्फ होइन, अर्थको भ्रमतर्फ धकेलिरहेको छ। जसले गर्दा जनताले पनि वास्तविक समाधान होइन, समाधानको अभिनयलाई समाधान ठान्न थालेका छन्।
यस अवस्थाले नेपालमा दुईवटा गम्भीर संकट जन्माइरहेको छ। पहिलो, नागरिकको राजनीतिक चेतना वैज्ञानिक, प्रगतिशील र अग्रगामी नभई नेतालाई देवत्वकरण र राक्षसीकरण गर्ने र आफूलाई दासको रूपमा मात्र स्थापित गर्ने रूपमा विकास भएको छ। दोस्रो राजनीतिक दलका नेताहरू समाजलाई सही दिशामा लैजान अभिप्रेरित गर्ने पथ प्रदर्शकभन्दा भिडलाई उत्तेजित गर्ने कलाकार झैं बन्न थालेका छन्। घोषणापत्र, नीति, कार्यक्रमबिना नै उम्मेदवारहरू चुनावी मैदानमा उभिएका छन्। भोट मागेका छन्। जवाफ माग्ने स्तरका जनता पनि छैनन्। नेताका कुरा छोड्दा पनि जनताका अभिव्यक्ति हेर्दा लाग्छ, आज सत्यभन्दा ट्रेन्ड, विवेकभन्दा आक्रोश, न्यायभन्दा हल्ला अनि प्रमाणभन्दा अफवाह शक्तिशाली भएको छ।
किन मौन छ बौद्धिक व्याख्यात्मक समाज ? : नेपालको आजको राजनीतिक र सामाजिक बहसमा सबैभन्दा चिन्ताजनक कुरा भनेको विचारको आवाज क्रमशः कमजोर हुँदै जानु हो। बौद्धिक व्याख्यात्मक समाज अर्थात् समाजलाई तथ्यभन्दा पनि त्यसको अर्थ र प्रभावको दृष्टिले बुझ्ने वर्ग आज सार्वजनिक बहसमा मौनजस्तै देखिएको छ। यसको कारण बौद्धिकहरूको कमी भएर होइन; यहाँको वातावरण नै यस्तो छ कि जहाँ विवेकभन्दा आवेग, विश्लेषणभन्दा आरोप र तर्कभन्दा ट्रेन्ड बढी बिक्छ। सामाजिक सञ्जालले बहसलाई छिटो र मीठो त बनाएको छ।
तर धेरै नै सतही र सस्तो पनि बनाइदिएको छ। गाली, आक्रोश र सस्तो नाराले सार्वजनिक मञ्च कब्जा गर्दा बौद्धिक आवाज कमजोरमात्र होइन, नियतवश अलोकप्रिय बनाइन्छ। अझ गम्भीर कुरा त के छ भने, पुराना हुन् या नयाँ सबै राजनीतिक दलहरू पनि बौद्धिक बहसबाट डराउने र प्रश्न उठाउनेलाई विरोधी ठान्ने संस्कारमा फसेका छन्। यस्तो परिवेशमा बौद्धिक व्याख्यात्मक समाजले बोल्दा सम्मान पाउने होइन, प्रायः चरित्र हत्या, ट्रोलिङ र बहिष्कारको जोखिम बढ्छ। परिणामतः देशको बहस होइन, सतह र उत्तेजनातर्फ धकेलिँदै गएको छ र समाजलाई दिशा दिने व्याख्यातिर कमजोर हुँदै, भिडलाई उकास्ने र चलाउन सक्ने हल्लाखल्ला बलियो बन्दै गएको छ।
अहिले नेपालमा सामाजिक सञ्जालका एल्गोरिदमले पनि सामूहिक आवेगलाई झन् बढाउने वातावरण बनाइरहेको छ। एल्गोरिदमले मानिसलाई आफ्नै विचारसँग मिल्ने सामग्रीमात्र देखाइरहँदा ‘इको च्याम्बर’ निर्माण हुन्छ, अफवाह र गलत सूचनालाई ठूलो बनाइन्छ। सांस्कृतिक तथा सामाजिक तनावसँग सम्बन्धित डर र चिन्ताहरू सामूहिक रूपमा फैलिन्छन्। कहिलेकाहीँ यो प्रवृत्ति ‘मास साइकोजेनिक इलनेस’सम्म बनिदिन्छ।
अनिश्चितता कि आशातर्फको संकेत ? : यदि यही प्रवृत्ति निरन्तर चलिरह्यो भने नेपाल राजनीतिक रूपमा अन्योल र अनिश्चितताको भुमरीतर्फ जाँदैछ भन्नु अतिशयोक्ति हुँदैन। सतही लोकप्रियताबाट सत्ता त हातमा आउला, तर राज्य चल्दैन। आक्रोशबाट भिड त तात्ला, तर राष्ट्र बन्दैन। स्टन्ट र उत्तेजनाबाट चुनाव जितिएला, तर उत्पादन बढ्दैन, रोजगारी सिर्जना हुँदैन। सुशासन र न्यायको प्रत्याभूति हुँदैन। आखिर राष्ट्र निर्माणको काम नारा र ट्रेन्डबाट होइन, नीति, क्षमता र जिम्मेवारीबाट मात्र सम्भव हुन्छ। त्यसैले आजको आवश्यकता भनेको व्याख्यात्मक समाजको मूल चेतनाअनुसार घटना होइन, अर्थ समातेर अघि बढ्नु हो। जब अर्थको निर्माण बुद्धि, विवेक र चेतनाले होइन, भड्काउ, हल्ला, लोकप्रियतावाद र आक्रोशले गर्छ, तब समाज अस्थिरता, निराशा र विघटनतर्फ धकेलिन्छ।
निष्कर्षमा : नेपाललाई आज चाहिएको कुरा नयाँ वा पुरानो भन्ने लेबल होइन; चिन्तनको स्तर हो, दृष्टिकोणको स्तर हो, तथ्यमा आधारित नीति हो र यथार्थलाई जिम्मेवारीका साथ व्याख्या गर्न सक्ने राजनीतिक नेतृत्व हो। दलहरूले आफ्ना सिद्धान्तलाई नयाँ यथार्थसँग जोडेर व्याख्या वा पुनःव्याख्या गर्नैपर्छ, र समाजले पनि घटनालाई ट्रेन्डको आधारमा सही र गलतमा सीमित आलोचनात्मक चेतबाट हेर्नु जरुरी छ। राजनीति भनेको देशको मूल नीति हो र यो सिद्धान्त, संस्कार, ज्ञान, विवेक र जिम्मेवारीको अभ्यास हो। तर जब समाजमा आलोचनात्मक चेत हराउँछ तव समाज अन्ध समर्थन वा अन्ध विरोधको भिड बन्छ।
राजनीति सिद्धान्त, विधि र पद्धतिको ट्र्याकबाट बाहिर जान्छ। आलोचनात्मक चेत भनेको प्रश्न गर्ने साहस हो। नागरिकले प्रश्न गर्न छोडे राजनीति भावनाको व्यापार बन्छ र नेताले गलत कुरालाई स्वीकारेर आत्मआलोचना गर्न छोडे नेतृत्व देवत्वकरण र अहंकारमा रूपान्तरित हुन्छ। त्यसैले जब नागरिकले व्यक्ति होइन विचार जाँच्छन्, लोकप्रियता होइन प्रभावकारितामा विश्वास गर्न सिक्छन्। नारा होइन नीतिको कसीमा निर्णय गर्छन् तवमात्र लोकतन्त्र बलियो हुन्छ। अहिले हामीलाई खाँचो पनि यसैको छ।
प्रतिक्रिया दिनुहोस !