उम्मेदवारको ‘विकासे’ गफ : मतदाता भन्छन्, ‘विकास होइन, सुशासन चाहियो’
सिन्धुपाल्चोक : फागुन २१ को चुनावका लागि यही ४ गतेदेखि चुनावी प्रचारप्रसारका लागि राजनीतिक कार्यक्रम गर्ने निर्वाचन आयोगले इजाजत दिएसँगै दलहरूले चुनावी अभियान सुरु गरेका छन् ।
यसअघि कार्यकर्ता भेटघाट गरिरहेका दलका उम्मेदवारले भने मतदाता भेटघाटमा तीव्रता दिएका छन् । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ मा विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेदवार बनेकाहरूले चुनाव केन्द्रित अभियानमा सक्रियता बढाएका छन् । क्षेत्रका वडाहरूमा घरदैलो, पार्टी प्रवेश तथा सम्पर्क कार्यालय स्थापना गरेर मतदातासँग संवाद गर्न थालेको देखिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार युवराज दुलालले ‘बाकसभरी भोट : बाकसभरी विकास’ मुख्य नारा अघि सार्दै मतदाता फकाईरहेका छन् । यसअघि बागमती प्रदेशका सामाजिक विकासमन्त्री र भौतिक पूर्वाधारमन्त्री हुँदा सञ्चालन गरेको विकासको बाकस परियोजनालाई पुनः लागु गर्ने आश्वासन मतदातालाई दिँदै आफूलाई भोट हाली जिताउन अनुरोध गर्दै आईरहेका छन् ।
तर मतदाताले भने उनको प्रतिबद्धतामा खासै चासो दिइरहेका छैनन् । ‘विकास त समयअनुसार हुन्छ नै, तर सुशासन हुनुप¥यो,’ मतदाता संगम कार्की भन्छन्, ‘विकास–विकास भन्ने तर स–साना योजनाहरुमा पनि आफ्ना कार्यकर्ता र आफन्त भर्ती गर्ने जुन प्रवृत्ति देखिएको छ त्यसलाई चिर्न यस पटक भोट परिवर्तन गर्नैपर्छ ।’
अर्का मतदाता मिलन तामाङ दुलालप्रति लक्षित गदै भन्छन्, ‘विकास र डोजर चलाउने काम सांसदको होइन । देशमा राम्रो नीति र नियम बनाउने काम हो । सडक, बनाउने, पुल बनाउने, मन्दिर बनाउने, पाटी बनाउने, चिहान बनाउने, भ्युटावर बनाउने, फुटबल मैदान बनाउने भाषण होइन कि राम्रो कानुन, राम्रो नीति, नियम, सुशासन, अनुशासन, राम्रो शिक्षा, रोजगार, ब्यबस्थापनको कुरा गर्नुस् । हावादारी भाषण दिएर जनतालाइ उल्लु नबनाउनुस्।’
त्यस्तै मतदाता युगिन लामा आफ्ना कार्यकर्तालाई मात्रै विकासको स्वाद दिलाएको भन्दै अहिलेसम्मका जितेका नेताले जनताका लागि केही नगरेको बताउँछन् । ‘विकास सबैका लागि हुनुपर्ने हो तर तपाईंका कार्यकर्ताले चाहिँ आफ्नै सम्पत्ति जस्तो गरेर घरआँगन पिच गरेका छन्, अरु चै धुलोमै हिँड्नुपर्ने बाध्यता छ । यसलाई विकास भनिँदैन ।’ सुशासन र रोजगारी अहिलेको मुख्य आवश्यकता भन्दै भ्रष्टाचारलाई टेवा दिने विकास बढी भईसकेको उनले सुनाए ।
‘उहाँको टोल र आफन्तको सबैलाई जागिर लगाई दिनु भएको देखिन्छ, तर सामान्य जनताको छोराछोरी डिग्री पास गरेर पनि खाडीमा जोतिन जानुपर्ने बाध्यता छ’, अर्का मतदाता राम चौलागाईं भन्छन्, ‘विकासको खोक्रो गफ गरेर मतदाता लोभ्याउने काम मात्रै भयो । तपाई दुई पटक मन्त्री हुँदासम्म युवालाई रोजगार बनाउने कुन काम गर्नु भयो ?’ झुटा आश्वासनलाई अब मतदाताले नपत्याउने उनले बताए ।
सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ मा १ लाख ३८ हजार १३ मतदाता छन् । चुवानी मैदानमा नेपाली कम्युनिष्ट पार्टीबाट दुलालसँगै नेपाली कांग्रेसबाट इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङ, नेकपा एमालेबाट पूर्व मन्त्री शेरबहादुर तामाङ चुनावी मैदानमा छन् । यी तीन उम्मेदवारबीच नै प्रतिनिधिसभा सदस्यको लागि कडा प्रतिष्पर्धा हुने विश्लेषकहरु बताउँछन् ।
यो क्षेत्रमा रास्वपाका उम्मेद्वार झलक श्रेष्ठ, राप्रपाका उम्मेद्वार गोपीकृष्ण चौलागाई, उज्यालो नेपाल पार्टीका उम्मेद्वार रामसिं तामाङ, नेकपा (माओवादी) का उम्मेद्वार सोनाम लामा, श्रम संस्कृति पार्टीका उम्मेद्वार भानु श्रेष्ठ लगागत १८ उम्मेदवार चुनावी मैदानमा छन् । सबै उम्मेदवारहरु आ–आफ्नो चुनावी नारा लिएर मददाता भेट गरिरहका छन् ।
प्रतिक्रिया दिनुहोस !