नेपाली टोलीको प्रदर्शन र सम्भावना

नेपाली टोलीको प्रदर्शन र सम्भावना
सुन्नुहोस्

जारी टीट्वेन्टी विश्वकप क्रिकेटको त्यो खेल, मुम्बईको वानखडे क्रिकेट मैदान । अघिल्लो टीट्वेन्टी क्रिकेट विश्वकप विजेता इङ्ल्यान्ड ।  त्यत्रो भीमकाय टोलीका विरुद्ध नेपाली टोलीले गरेको नाटकीय प्रदर्शन। नेपाली बलरहरूको बलिङ हेर्‍यो त्यस्तै घातक, ब्याटिङ हेर्‍यो उस्तै कडा। विश्व क्रिकेट जगत्मा कहलिएका ती इङ्लिस खेलाडीहरूले नेपाली टोलीविरुद्ध संघर्ष गरेको देख्दा गर्भले छाती ढक्क फुलेर आएको थियो। केटाहरूले खेललाई अन्तिम ओभरको अन्तिम बलसम्म पुर्‍याए। खैर, जित आत्मसात् भएन। तर, त्यो खेलपश्चात् इङ्ल्यान्डको भन्दा पनि कैयौं शिराबाट नेपालको चर्चा चुलियो। 

भारत र श्रीलंकाको संयुक्त आयोजनामा सञ्चालित समूह सीअन्तर्गत नेपालको दोस्रो खेलमा घटना उल्टो घट्यो। टीट्वेन्टी क्रिकेटको वरीयतामा आफूभन्दा नवौं स्थान तल रहेको इटालीसँग अप्रत्याशित १० विकेटको हार बेहोर्‍यो। समूहअन्तर्गतको तेस्रो खेलमा पनि नेपाली टोलीले लय समात्न सकेन। वनडे (दुईपटक) र टीट्वेन्टी (दुईपटक) क्रिकेटको पूर्वविश्वविजेता वेस्टइन्डिजसँग ९ विकेटको फराकिलो हार बेहोर्‍यो। फलस्वरूप, समूहको अंकगणितीय आधारमा नेपालको विश्वकपको यात्रामा पूर्णविराम लाग्यो। वेस्टइन्डिजसँगको उक्त खेलमा पनि भरोसा गरिएका बलरहरू पूर्ण रूपमा फ्लप रहे। 

नेपालले समूहको आफ्नो अन्तिम खेलमा पुनरागमन गर्दै स्कटल्यान्डविरुद्ध ७ विकेटको सान्त्वना जित निकाली यात्रालाई टुंग्यायो। यहाँ सान्त्वना जित भन्नुको अर्थ जितेर पनि नेपाल प्रतियोगिताको अर्को चरणमा जान सकेन भन्नेतर्फ इंगित गर्छ। वास्तवमा, यो सफलता टोलीका लागि केवल सामान्य सफलता थिएन। तेस्रो पटक विश्वकपमा यात्रा गरेको नेपालको १२ वर्षपछिको पहिलो सफलता थियो। अर्को महत्त्वपूर्ण तथ्य त यो थियो कि उक्त नतिजाले प्रतियोगिता भरी टोलीको खेलले निराश बनेका खेलाडी/शुभचिन्तकका माझ केही सकारात्मक सन्देश दिएको थियो।

तर अझै पनि खेलप्रेमीले प्रतियोगितामा टोलीले सुरुका तीन खेलको प्रदर्शनलाई पचाउनै सकेका छैनन्। खराब नतिजालाई लिएर खेल पारखीहरूबीचमा निराशा उस्तै देखिन्छ। तर, के यस पटकको विश्वकपमा टीकाटिप्पणी गरिए जसरी टोली काम नलाग्ने भएकै हो त ? पक्कै हैन। क्रिकेट एक सिलसिलाबद्ध खेल हो। अझ भनौं यो त पुस्तान्तरणको प्रक्रिया हो। जहाँ एउटा पुस्ताले लिएर हिँड्छ, त्यसपछि सोही अवस्थाबाट अर्को पुस्ताले त्यसलाई डोहोर्‍याउँछ। हामी बाँचुन्जेल पनि मरे पछि पनि कसैले यो प्रक्रियालाई उसैगरी चलाइरहन्छ। यो पुस्तान्तरणको सिलसिलामा कति–कति हार भोगिन्छन्। कति जित आत्मसात् हुन्छन्, साँधी छैन। 

तर, पक्का कुरा यो हो कि हार–जित अनुभवको संगालो हो, जसले भविष्यमा अझ मजबुती प्रदान गर्छ। अझ भनौं हार यस्तो अनुभव हो जसले पटकपटक आफूभित्रको कमी, कमजोरी उजागर गरिदिन्छ। आफूलाई सुधार्न जोडबल गरिरहन्छ। कमजोरीलाई सुधार्न अहोरात्र खटिए भविष्यमा जित आत्मसात् भइहाल्छ। त्यसैले नेपालको प्रदर्शनलाई लिएर निराश हुनुको साटो सकारात्मक चिन्तनमा लागेर टोलीलाई हौसला प्रदान गर्दै सुनौलो भविष्यको रेखा कोर्नुको विकल्प छैन। 

नयाँ आयामतर्फ प्रस्थान 
अध्यात्म दर्शनमा ऊर्जाको सर्वाधिक महत्त्व हुन्छ। सामान्य मानिसको शरीरमा सामान्य स्तरको ऊर्जा प्रवाहित हुन्छ। जीवन पनि सामान्य हुन्छ। घटनाहरू सामान्य प्रकारका घट्छन्। यदि मानिस साधनामा सक्रिय छ भने उसको शरीरमा अझ बढी ऊर्जापात हुन्छ। त्यो ऊर्जालाई उक्त साधकले सम्हाल्न नसकुन्जेल उसले जीवनमा अजीव अनुभव, नतिजाहरू प्राप्त गर्छ। जब उसले ऊर्जाको भेदलाई बुझेर आत्मसात् गर्न थाल्छ तब उसको उचाइ बढ्दै जान्छ। अझ भनौं ऊ चेतनाको अर्को आयाममा पुग्छ। 

हाल नेपाली क्रिकेटमा पनि यस्तै ऊर्जाको हलचल र अप्रत्याशित नतिजाको प्राकट्य भइरहेको देखिन्छ। यो समग्र नेपाली क्रिकेटको भविष्यका लागि शुभ संकेत हो। सन् २०२४ मा संयुक्त राज्य अमेरिका र वेस्टइन्डिजको संयुक्त आयोजनामा भएको टीट्वेन्टी विश्वकप यता नेपालको समग्र खेल शैलीलाई हेर्ने हो भने जित्ने र हार्ने सन्दर्भमा अचम्म पार्ने नतिजाहरू देखिएका छन्। 

गत विश्वकपमा आफ्नो समूहमा रहेको दक्षिण अफ्रिकाजस्तो मजबुत टोलीसँग मात्र १ रनले हार्नु। सोही प्रतियोगिताका दौरान अर्को सशक्त टोली बंगलादेशविरुद्ध कडा चुनौती पेस गर्नुलाई केबल संयोगमात्र मान्न सकिन्न। भलै बंगलादेशसँगको खेलमा नेपाल २१ रनले पराजित भयो, तर नेपाल जस्तो एसोसिएट्स टोलीका लागि ठूलो सफलताका रूपमा लिन सकिन्छ। गत वर्ष यूएईमा सम्पन्न द्विपक्षीय मैत्रीपूर्ण टीट्वेन्टी प्रतियोगितामा नेपालले दोस्रो पटक यस छोटो स्वरूपको क्रिकेट विश्वकप जितिसकेको वेस्टइन्डिजलाई हराएर सनसनी मच्चायो। र यस्तै खाले सफलतालाई दृष्टिगोचर गर्ने हो भने नेपालले टीट्वेन्टी क्रिकेटमा अर्को आयाममा उक्लन खोजिरहेको तथ्यलाई जाहेर गर्छ। 

टोली आज जुन हिसाबले लगातार दोस्रो पटक यस प्रारूपको विश्वकपमा सहभागी बनेको छ, यो चानचुने तथ्य हुन सक्दैन। सधैंजसो एसोसिएट राष्ट्रहरूसँग मात्र प्रतिस्पर्धा गर्दै आएको टोलीले टेस्ट खेल्ने राष्ट्रहरूसँग खासै अभ्यासको अवसर पाउने गरेको छैन। ती टोलीविरुद्ध एकाध मौका पाउँदा नेपालले प्राय: सकारात्मक छाप छोड्ने गरेको छ। दीपेन्द्रसिंह ऐरी जस्ता ब्याट्सम्यानले वेस्टइन्डिज तथा स्कटल्यान्डविरुद्ध अर्धशतक लगाउन सक्नु, टोलीका सबैजसो खेलाडीले इङ्ल्यान्डविरुद्ध ब्याटिङ, बलिङ दुवै विधाबाट कडा टक्कर दिन सक्नु, पक्कै पनि नेपाली टोलीले विश्वक्रिकेटमा आफ्नो दाबेदारीलाई मजबुत गरेको देखिन्छ। आगामी दिनमा खेलाडीहरूले आफूभित्रको असन्तुलित ऊर्जालाई सहज रूपमा धारण गर्न सकेमा पक्कै पनि उकालो चढ्नेमा दुई मत छैन।

गुरुको भूमिका
अब ऊर्जा र यसको धारण कलाको आयामलाई गुरु बनेर जिम्मेवारीपूर्वक निभाउन राज्य र क्रिकेट एसोसिएसन् नेपाल (क्यान) ले ढिला नगरून्। पछिल्ला वर्षमा यस खेलको विकासमा क्यानको भूमिका सकारात्मक देखिए पनि खेलाडी र खेलप्रेमीको भावना अनुरूप सुधार गर्न सकेको देखिन्न। 
सन् २०२४ को विश्वकप पछि पनि क्यान केबल एसोसिएट्स राष्ट्रहरूसँगको प्रतियोगितामा मात्र अड्की रह्यो। क्यानले वेस्ट इन्डिजसँगको त्रिकोणात्मक मैत्रीपूर्ण खेलबाहेक टेस्ट खेल्ने अन्य टोलीहरूसँग एउटा पनि अभ्यास खेलहरू खेलाउन सकेन। क्यानले अघिल्लो विश्वकपमा खड्किएको विश्व स्तरीय पेस बलर (कम्तीमा १४० किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी गतिमा बल गर्न सक्ने) भरपर्दो बलरको अभाव पूरा गर्न सकेको छैन। बायाँहाते ओपनिङ ब्याट्सम्यानको खेलमा रन बनाउने सन्दर्भमा ठूलो भूमिका रहन्छ। 

विपक्षी बलिङ युनिटका लागि बायाँहाते ब्याट्सम्यानलाई बल गर्दा झन्झटिलो हुने गरेको ठूला टोलीहरूका खेलमा देखिने तथ्यले प्रस्ट्याउँछ। त्यसैगरी, बायाँहाते पेस बलर र स्पिन बलरहरूलाई पनि क्यानले ‘हन्ट’ गर्न सकिरहेको छैन। अनुभवी टोलीहरू विरुद्ध सुखद नतिजा निकाल्न पावर प्ले र अन्तिम पाँच/छ ओभरजस्ता ‘डेथ ओभर’ मा गरिने प्रतिस्पर्धामा नेपाली टोली अझै भरपर्दो देखिँदैन। सरकारले आगामी बजेटमा राष्ट्रव्यापी रूपमा क्रिकेटको आवश्यक पूर्वाधार विकासका लागि अर्थपूर्ण रूपमा बजेटको निकासा गर्नैपर्ने देखिन्छ। 
(कोइराला, खेल समीक्षक हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.