राजनीतिक प्रश्नमा ‘स्पष्ट’ घोषणापत्र
फागुन २१ को आमनिर्वाचन नेपालका लागि एक सामान्य राजनीतिक शक्ति सन्तुलनको चुनाव मात्र होइन, देशको अस्मिता, लोकतान्त्रिक व्यवस्था र देशकै भविष्यको दिशाको निर्णायक मोड हो। यो चुनावमा मतदाताले केवल उम्मेदवारको अनुहार वा राजनीतिक दलको झन्डा होइन, विचारधारा, मूल्य मान्यता र राष्ट्रको चरित्र कस्तो बनाउने भन्नेबारे रोज्दै छन्।
यस परिप्रेक्ष्यमा आगामी चुनाव केही ठूला अन्तरद्वन्द्वको बीचमा उभिएको छ–देशभक्त कि देशद्रोही प्रवृत्ति, जीवन–स्वतन्त्रता–सम्पत्तिको संरक्षण कि अराजकता, निजी र सार्वजनिक सम्पत्तिको विध्वंस गर्ने प्रवृति कि राष्ट्रवादी शक्ति–राष्ट्रद्रोही शक्ति, देश बनाउने कि भत्काउने शक्ति र राज्यको दायित्व र कर्तव्यको स्पष्ट परिभाषा कि राज्यविहीनताको पक्षधरता गर्ने शक्ति ?
म एक कुनै पनि दलको सदस्य नभएको मतदाताका रूपमा देशको विकास गर्ने दल हेरिरहेको छैन, यो आमनिर्वाचनमा। अहिले यी माथिका विषयमा स्पष्ट धारणा भएको दल खोजी रहेको छु। अहिले विकासको कुरा गर्ने समय होइन। देशको अस्तित्व र स्वतन्त्रतामाथि नै खतरा पैदा भएको छ। पूर्वराजाको फागुन ७ गतेको सन्देशमा उल्लेख छ।
यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो घोषणापत्रमार्फत यी आयामहरूलाई स्पष्ट रूपमा परिभाषित गरेको छ। एमालेको मूल प्रतिबद्धता राज्यले नागरिकको जीवन, स्वतन्त्रता र सम्पत्तिको सुरक्षा गर्दै विकास, सुशासन र स्थायित्व दिनुपर्ने दायित्वको स्पष्ट घोषणापत्र हो। एमाले विगतमा दूधले धोएको दल भन्ने मेरो कुनै दाबी छैन। तर, यसले राज्यलाई नागरिकको जीवन, सम्पत्ति र स्वतन्त्रताको रक्षा र सम्मानको संरक्षकको रूपमा परिकल्पना गरेको छ। भदौ २३ र २४ गतेको घटनामा यसमा गम्भीर बिचलन आएको थियो।
र, नागरिक यसमा आश्वस्तता खोजिरहेका छन् र म पनि खोजिरहेको छु। एमालेको चुनावी घोषणापत्रले केही आधारभूत कुरा उठान गरेको छ जो एक स्वतन्त्र नागरिकको अपेक्षालाई पूरा गर्छ। एकः भदौ २३ गते विद्यालय पोसाकमा कलिला विद्यार्थीको मार्ने उद्देश्य संसद् भवनमाथि आक्रमण गर्न उक्साउने कार्य नेपालको बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनी दायित्व र संकल्पको ठाडो उल्लंघन थियो। नाबालिकलाई राजनीतिक प्रदर्शनमा ल्याएर आधारभूत मान्यताबाट चिप्लिएको घटना हो। देशले यस्तो आधारभूत कुराबाट चिप्लनु हुँदैन।
दोस्रोः संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत जलाउने घटना कुनै भवन जलाउने सामान्य हिंसा र आगजनी होइन। त्यो नेपालको सार्वभौमसत्ता, राज्यको मर्यादा र राष्ट्रिय अस्मितामाथिको प्रत्यक्ष आक्रमण हो। सिंहदरबारको भौतिक भवनको रूपमा महत्व ०.०१ प्रतिशत मात्र हो। यसको ९९.९९ प्रतिशत महत्व त्यो भवनबाट नेपालको सार्वभौमसत्ताको प्रयोग र कार्यान्वयन हुन्थ्यो। राज्यको यस्तो आत्माजस्तो संस्थाको भवनमाथि हमला हुनु भनेको देशको सार्वभौमसत्ता, स्वतन्त्रता र अस्मितामाथि हमला हुनु हो। यस्तो घटनाले स्पष्ट पार्छ– देश अहिले दुई धारमा विभाजित छन् एउटा धार जसले देशको सम्प्रभुता जोगाउन चाहन्छ, र अर्को जसले देशको अस्तित्व नै भत्काउन
प्रयत्न गर्छ।
तेस्रोः यसै सन्दर्भमा ‘बनाउने र भत्काउने’ को विमर्श अत्यन्त सान्दर्भिक हुन्छ। भएका संरचनामा आगो लगाउने करिब १०० अर्ब रुपैयाँको सार्वजनिक सम्पत्ति खरानी बनाउने र निजी सम्पत्ति लुटपाट गर्ने कार्य क्रान्तिका नाममा भएका थिए। अराजकता, हिंसा, आगजनी, निजी सम्पत्तिमा आक्रमण र राज्यका संस्थामाथि हमला गर्ने प्रवृत्तिहरू स्पष्ट रूपमा भत्काउने शक्तिहरू हुन्। एमालेले जनतालाई स्पष्ट रूपमा भनेको छ अब निर्णय गर्नुपर्छ– जनताहरूले बनाउने पक्षमा उभिन्छन् कि भत्काउने पक्षमा ?
चौथो, यो चुनाव जीवन, स्वतन्त्रता र सम्पत्तिको सुरक्षा बनाम अराजकता र विध्वंसका पक्षधरमध्ये कसलाई छान्ने भन्ने घटना हो। लोकतान्त्रिक राज्यको पहिलो दायित्व नागरिकको जीवन र सम्पत्ति र स्वतन्त्रताको सुरक्षा गर्नु हो। यदि राज्य कमजोर भयो भने स्वतन्त्रताको केही पनि अर्थ हुँदैन। एमालेले कानुनको सर्वोच्चता, र नागरिक सुरक्षालाई प्राथमिकता दिँदै राज्यलाई जिम्मेवार, उत्तरदायी र सक्षम बनाउने प्रतिबद्धता जनाएको छ।
यति मात्र होइन यो दल सुरुबाटै यसको पक्षमा उभिएको छ। यसको विपरीत, अराजकतावादी र विध्वंसकारी शक्तिहरूले राज्यको वैधता नै कमजोर पार्न खोजिरहेका छन्। देशमा विवेक, युक्ति र तर्कमा विश्वास गर्ने नागरिकहरू अहिले यस्तै खालको भरोसामन्द शक्तिको खोजीमा छन्।
पाँचौं, यो चुनाव राष्ट्रवाद र देशघाती प्रवृत्तिबीचको संघर्ष हो। राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान जोगाउनु प्रत्येक राजनीतिक शक्तिको पहिलो कर्तव्य हो। एमालेले ‘देश पहिले’ भन्ने नीतिलाई केन्द्रमा राख्दै राष्ट्रिय हितलाई सर्वोपरि मानेको छ। बाह्य प्रभाव, आन्तरिक विखण्डन र अस्थिरताको राजनीति गर्ने शक्तिहरू राष्ट्रको दीर्घकालीन हितका लागि खतरनाक छन्। एमालेले यसमा आफ्नो अडान स्पष्ट गरेको छ।
यो चुनाव राज्यको कर्तव्य के हो भन्ने मूल प्रश्नसँग जोडिएको छ। राज्यको आधारभूत दायित्वमा नागरिक सर्वोपरि हो। अराजकता र आगजनीको निप्टारा गर्ने दायित्व सरकारको हो। त्यो गर्ने भनेको सरकारमा रहेको राजनीतिक दलको हो। राज्य बलियो भएन भने देशमा अन्तहीन अराजकता बढ्छ। गत भदौ २३ र २४ को घटनालाई दोहोरिन नदिई अन्तिम बनाउने हो भने त्यसको विरुद्धमा उभिने दललाई रोज्नुपर्छ।
यसरी, फागुन २१ को चुनाव एक साधारण निर्वाचन प्रतिस्पर्धा मात्र होइन–यो नेपालको भविष्यको दिशा तय गर्ने जनमतसंग्रह नै हो। एकातिर राष्ट्रवाद, देशभक्ति, जनताको आधारभूत अधिकार, स्थायित्वको मार्ग छ। अर्कोतिर अराजकता, विध्वंस र अस्थिरताको खतरा छ। भदौ २३ र २४ गतेको घटनालाई ‘आन्दोलन’ र ‘क्रान्ति’ मान्नेहरू सबै देशद्रोही हुन्। देशघाती हुन्। अहिलेसम्म यसबारे सवैभन्दा स्पष्ट दृष्टिकोण नेकपा एमालेको घोषणापत्रमा आएको छ।
प्रतिक्रिया दिनुहोस !