आरक्षणको पिँजडा, अधिकारको आकाश

आरक्षणको पिँजडा, अधिकारको आकाश
सुन्नुहोस्

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो ।  निर्वाचनमा विभिन्न राजनीतिक दल, समूह, आदि विभिन्न उम्मेदवार लिएर प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।  निर्वाचनमा बहुमत प्राप्त गर्ने निर्वाचित हुने र आफूले प्रतिनिधित्व गरेको निकायबाट मतदाताहरूको आवाजलाई प्रतिनिधित्व गर्ने गर्दछ ।  हाम्रोमा निर्वाचनले संघीय, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित गर्ने गर्दछ ।  नेपाल प्राय : जसो शासन व्यवस्था परिवर्तन भइरहने देशमा दर्ज भएको छ ।  यहाँ कहिले कुन व्यवस्था कहिले कुन व्यवस्था भनेर समयसमयमा विभिन्न आन्दोलन र संविधानहरू निर्माण भइरहने गर्छ भने सत्ता र बागडोर भने प्राय :  जस्तो सीमित व्यक्ति, दल र समूहले सम्हालेका छन् । 

२०५२ सालदेखिको सशस्त्र युद्ध, २०६२/०६२ को जनआन्दोलनले स्थापना गरेको गणतन्त्रमा दुई वटा निर्वाचन भएर संघीय गणतन्त्रको शासन व्यवस्था अभ्यास भइरहँदा गत भदौ २३ र २४ गतेको जेन—जीको आन्दोलनले दुई दिनमै यो व्यवस्था पनि सबल भइनसकेको भान भएको छ ।  यही आन्दोलनले यही फागुन २१ मा देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन गइरहेको छ ।  निर्वाचनबाट सही र राम्रा उम्मेदवार छनोट गरी शासन व्यवस्थालाई दिगो बनाउनु मतदाताहरूको कर्तव्य हो ।  नेपालका हरेक आन्दोलन र लोकतान्त्रिक यात्रामा हरेक समुदायको उत्तिकै योगदान रहेको छ ।  यसमा महिला, दलित, जनजाति, अल्पसंख्यक, पिछाडिएको क्षेत्र सबैको योगदान महत्वपूर्ण छ ।  आधुनिक संविधानले नेपालमा समावेशिताको सिद्धान्तलाई अंगीकार गरेका छन् । 

अहिले समावेशिताको कुरा सुधारमा भन्दा पनि आफूलाई पनि हुनुपर्नेमा जोड दिँदै गएको देखिन्छ ।  अब समावेशीमा को छुट्यो भन्ने प्रश्नको उत्तर सायदै छैन ।  समावेशिता यहाँ सबैलाई लागू भएको छ ।  महिला र दलित सदियौंदेखि पछाडि पारिएको र परेका वर्ग हुन् ।  शैक्षिक, सामाजिक, राजनीतिक, आर्थिक अधिकारलगायतका विषयमा यी दुईवटा समुदाय हालसम्म पनि अलिपछि नै पारिएको र परेका छन् ।  राजनीतिक, शैक्षिक, सामाजिक, राजनीतिक रूपमा अन्य वर्गको ऐक्यबद्धता र उठान केही हदमा भएको देखिन्छ ।  तर महिला र दलित भने सधैं दल र नेतृत्वको पछि लाग्दा उल्लेखनीय प्रगति हुन सकेको छैन । 

जनसंख्याको आधाभन्दा बढी ५१ प्रतिशत महिला छन् भने ४२ लाख दलित १३ प्रतिशत छ ।  समावेशितालाई हेर्दा महिला र दलितलाई मात्रै छुट्ट्याइएको जस्तो गरेता पनि यिनीहरूको प्रतिनिधित्व भने राजनीतिक रूपमा शून्यप्राय :  छ ।  समावेशी शासन व्यवस्था अंगीकार गरेको संविधानले प्रदत्त कानुन पनि उपयोग गर्न नसक्नु महिला र दलितको कमजोरी हो ।  त्यही कमजोरीलाई निर्वाचनमा हुने मतदानबाट सबक सिकाउनु पर्नेमा त्यो हुन सकेको छैन ।  राज्यसँग हक र अधिकारको आवाज उठाउने महिला र दलित भने आफ्नै राजनितिक दल र नेतृत्वसँग भने त्यही कुरा उठान गर्न सकेका छैनन् भने दल र नेतृत्वले पनि अधिकार दिन खोजिरहेका छैनन् । 

महिला र दलितहरूको प्रतिनिधित्व  :  महिला र दलितको प्रतिनिधित्व राणा शासनदेखि हालसम्म पनि जनसंख्या, मतदाता आदिको आधारमा हुन सकेको छैन ।  राजनीतिक रूपमा मात्रै नभएर अन्य क्षेत्रमा समेत न्यून छ ।  सधैं भोट बैंकको रूपमा प्रयोग हुने महिला र दलितले आफ्नो वर्ग र समुदायका लागिभन्दा जहिले पनि दल र नेतृत्वको हो मा हो गर्दै आफ्नो वर्ग र समुदायलाई सधैं नेतृत्व र अधिकारविहीन बनाएको छ ।  भएर कमजोर हुनु स्वाभाविकै हो तर महिला र दलित निर्वाचन परिणामलाई बदल्ने मतसंख्या हुँदाहँुदै पनि माथि उठ्न सकेका छैनन् ।  त्यसको कारण दलदलको नेतृत्व र सामाजिक तथा आर्थिक परिवेश आदि हुन् । 

२०४८ सालको निर्वाचनमा महिला र दलित प्रतिनिधित्व एकदमै कम थियो ।  २०६२/०६३ को जनआन्दोलनले समावेशितालाई जोड दियो ।  २०७० को संविधानसभाले आरक्षणको आधार तयार पार्‍यो ।  २०७२ सालको संविधानले समावेशितालाई जोड दिँदै कार्यान्वयनमा लैजान खोज्यो तर व्यवहारमा भने लागू हुन सकेको छैन ।  संविधानप्रदत्त कानुनले संघ, प्रदेश र स्थानीय तहमा हरेक वर्गलाई निर्वाचित हुने आरक्षणको सिट किटान गरे पनि राजनीतिक दलले कानुनलाई बाईपास गरी आफूखुसी गर्ने गरेका छन् ।  स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्ष महिला हुनुपर्ने कानुनी व्यवस्था भए पनि गठबन्धन गरेर भए पनि अधिक पुरुष उम्मेदवार खडा गरेका छन् । 

त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख आदिमा पनि सोही व्यवहार दोहोर्‍याइरहेका छन् ।  स्थानीय तहमा महिला सदस्य र दलित महिलालाई अनिवार्य गरेको छ, अनिवार्य गरेको दलित महिलासमेत २०७९ को स्थानीय निर्वाचनमा १ सय २३ पद उम्मेदवार पदपूर्ति हुन सकेन ।  सकेसम्म महिला र दलितलाई प्रत्यक्षमा भन्दा समानुपातिकमा सीमित गर्ने राज्य र राजनीतिक दल लागेका छन् ।  

२०७४ सालको निर्वाचनमा भन्दा २०७९ सालको निर्वाचनमा दुवैमा उम्मेदवारी र निर्वाचितको संख्या घट्दो रह्यो भने २०८२ सालमा हुने निर्वाचनमा ३ हजार ८ सय ८४ उम्मेदवारमा महिला उम्मेदवारको संख्या ३ सय ९५ रहेको छ ।  दलितको संख्या ठूला दलहरूबाट जम्मा ६ जना उम्मेदवार मैदानमा उठेका छन् ।  निर्वाचित भने कति हुने हुन् ? त्यो हेर्न बाँकी नै छ ।  संविधान २०७२ को धारा ८४ ले समानुपातिक प्रणालीमा महिला, दलित, आदिवासी, मधेसी आदिका लागि ३३ प्रतिशत आरक्षण सुनिश्चित गरेको छ ।  निर्वाचन ऐन, २०७४ ले प्रत्यक्ष र समानुपातिक दुवैमा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गरेको छ ।  दलितका लागि १३ प्रतिशत आरक्षण छ तर यी व्यवस्था प्रत्यक्ष सिटमा प्रभावकारी छैनन् किनकि उम्मेदवार चयन दलको आन्तरिक प्रक्रियामा निर्भर रहन्छ ।  सर्वोच्च अदालतले २०७८ मा समावेशी प्रतिनिधित्व मुद्दामा दलहरूलाई निर्देशन दिएको थियो तर कार्यान्वयन भने हालसम्म पनि हुन सकेको छैन । 

आगामी फागुन २१ हुने निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाताको विवरण सार्वजनिक गरेको छ ।  जसमा करिब आधा संख्या ९६ हजार ६३ हजार ३ सय ५८ जना महिला मतदाताको संख्या छ ।  आधा मतदाता रहेको महिला उम्मेदवारको संख्या भने जम्मा ३ सय ९५ छ ।  त्यसमा पनि दलीय उम्मेदवार २ सय ३५ जना र स्वतन्त्र उम्मेदवारी दिने १ सय ६० जना छन् ।  १३.४ प्रतिशत जनसंख्या भएको दलित उम्मेदवार ६ जना छन् ।  परापूर्वकालदेखि पछाडि पारिएको वर्ग महिला र दलितको अवस्था अहिले पनि सोचेजस्तो छैन ।  नहुने कारण सरकार, राज्य, राजनीतिक दल र तिनका नेतृत्वभन्दा पनि आफैंमा पनि वर्गीय रूपमा एकजुट हुन नसक्ने समस्या हो ।  त्यो समस्या भनेको आफूले आफूलाई भन्दा दल र नेतृत्वको पछाडि लाग्नु हो । 

राजनीतिक दलले महिला र दलितहरूलाई सकेसम्म प्रत्यक्षमा उम्मेदवारी दिन खोज्दैनन् ।  दिए पनि त्यही आरक्षणको कोटा पुर्‍याउने, नाममात्रको उम्मेदवारी दिने गर्छन् भने यदि दिइहाले भने पनि न त महिलाले महिलालाई भोट हाल्छन्, न दलितले दलित उम्मेदवारलाई यही नै प्रमुख कमजोरी हो ।  दल र नेतृत्वभन्दा त वर्ग पहिला हो– हित र अधिकारका लागि ।  यदि एउटा महिला उम्मेदवारलाई महिलाहरूले मतदान गर्ने हो भने नजित्ने कुरै हुँदैन ।  निर्वाचित महिलाबाट महिला अधिकारका लागि जति आवाज उठ्छ, त्यो पुरुषबाट हँुदैन र भएको पनि छैन । 

दलितहरूले दलितलाई मात्र मत राख्ने हो भने जिताउन तथा जित्नेलाई हराउन सक्ने संख्या हुँदा हुँदै यो हुन सकेको छैन ।  जसले गर्दा राजनीतिक दल, राज्य र कानुनले समेत तोकिएको आरक्षणको सिद्धभन्दा कममा सीमित हुन परेको छ ।  वर्गीय रूपमा लाग्नु राम्रो होइन तर अन्य वर्गहरूले आफ्नो वर्गको उम्मेदवारलाई जिताउन जसरी लाग्छन् त्यो विषय महिला र दलितमा हालसम्म देखिएको छैन ।  महिला र दलित उम्मेदवारलाई भने उनैका दलका नेता र मतदाताहरूले मत दिन खोज्दैनन् ।  जुन विगतका निर्वाचनमा परिणामले देखाएको छ ।  अर्को कुरा महँगो निर्वाचन, भौगोलिक विकटता, सामाजिक सोच, शिक्षा, आर्थिक हैसियत आदि पनि कारण हुन् । 

हुन पनि महिला र दलित अन्य वर्गभन्दा यी कुरामा पनि पछि परेका छन् ।  सामाजिक परिवेश, आर्थिक अधिकार, पारिवारिक सहमति, आदिका कारणले अन्य वर्गभन्दा यिनीहरू पछाडि परेका छन् ।  महिला उम्मेदवार र निर्वाचित संख्यालाई पछिल्ला निर्वाचनहरूको तथ्यांक हेर्दा समावेशीलाई लज्याउने खालको छ ।  २०६४ मा उम्मेदवारी ७३ मा निर्वाचित २१, ८.७५ प्रतिशत थियो ।  २०७० मा ५५ मा १७, ७.०८ प्रतिशत, २०७४ मा २ सय २५ मा ११ , ६.६७ प्रतिशत, २०७९ मा निर्वाचित जम्मा ६ ५ प्रतिशत भन्दा कम थियो ।  २०८२ को निर्वाचनमा ३ सय ९५ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।  जसमा रास्वपाले १६, कांग्रेसले ११, नेकपा एमालेले १०, राप्रपाले ८ जना उम्मेदवार चुनावी मैदालनमा उठाएका छन् ।  

हेरौं, कतिलाई जनताले विजयी गराउनु हुने हो ? त्यो समयले बताउनेछ ।  त्यस्तै, दलित उम्मेदवार र निर्वाचितहरूको संख्या प्रत्यक्षमा नगण्य नै छ ।  हरेक निर्वाचनमा प्रत्यक्षमा कमभन्दा कम छ ।  आगामी निर्वाचनमा कांग्रेसले एकजना, नेकपा एमालेले दुईजना, रास्वपाले एकजना र नेपाली कम्युनिस्ट पार्टीले एकजना गरी ६ जना उम्मेदवार दलीय रूपमा प्रतिस्पर्धामा देखिन्छ ।  दलितको पनि संख्या अहिले नेपालमा बढी नै छ ।  त्यही मतलाई लक्षित गरेर चुनाव मोलमोलाइ गर्ने राजनितीक दललाई एकजुट भएर सबक सिकाउनुपर्ने देखिन्छ ।  नभए कि त महिला र दलित उम्मेदवारलाई निर्वाचित गराऔं ।  महिलालाई महिलाले चुनाव जिताएर पुरुष उम्मेदवारलाई पराजित गराउने हो भने महिलालाई पक्कै पनि अर्को पटक शक्तिको कदर गर्नेछन् ।  विश्वमै महिलाको नेतृत्वलाई राज्यको तीनवटै तहमा नेतृत्व प्रदान गर्न सफल भइसकेको हाम्रो देशले निर्वाचनमा पनि महिला र दलितलाई यसैगरी उम्मेदवार बनाउने र निर्वाचित गराउनमा विश्वमै पहिलो बनोस् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.