मतको मसी, वातावरणको कसी !

मतको मसी, वातावरणको कसी !
सुन्नुहोस्

नेपालले अब वातावरणलाई वैकल्पिक एजेन्डा होइन, राज्यको विश्वसनीयता र दीर्घकालीन स्थायित्वको आधारमा हेर्नुपर्छ ।

जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक उथलपुथलबीच नेपाल अहिले निर्वाचनमा होमिएको छ ।  यो आन्दोलन पुरानो राजनीतिक संस्कृतिप्रति असन्तोष, पारदर्शिता र जवाफदेहिताको माग, सामाजिक न्याय, समान अवसर र वातावरणीय न्यायजस्ता मुद्दाबाट प्रेरित थियो ।  यसले परिवर्तनको ढोका खोलेको छ ।  तर त्यो ढोका कति चौडा खुल्छ भन्ने कुरा युवाको निरन्तर सक्रियता, राजनीतिक नेतृत्वको इच्छाशक्ति, जवाफदेहिता र संस्थागत सुधारमा निर्भर गर्छ । 

निर्वाचन बहसमा बेवास्ता हुने संरचनागत कमजोरी  :  नेपालको निर्वाचन बहसमा वर्षौंदेखि दोहोरिँदै आएको एउटा संरचनागत कमजोरी छ ।  हामी विकासको आकांक्षा त राख्छौं, तर त्यो विकासलाई सम्भव बनाउने प्राकृतिक प्रणाली र पर्यावरणीय जोखिमलाई राजनीतिक प्राथमिकतामा राख्दैनौं ।  राजनीतिक दलहरूले आर्थिक वृद्धि, पूर्वाधार विस्तार, रोजगारी र सेवा प्रवाहका वाचा गर्छन् तर ती लक्ष्यहरूलाई दीर्घकालीन रूपमा सम्भव बनाउने वातावरणीय आधारबारे बहस सतही रहन्छ ।  वातावरणलाई अझै पनि ‘पूरक’ वा ‘क्षेत्रगत’ मुद्दाका रूपमा हेर्ने प्रवृत्तिले नीति–निर्माणलाई कमजोर बनाइरहेको छ ।  यो कमजोरी केवल वैचारिकमात्र होइन, यो समुदायको दैनिक जीवनमा प्रत्यक्ष देखिन्छ । 

जब विकास योजनाले स्थानीय यथार्थ बेवास्ता गर्छ  :  नेपालका धेरै समुदाय वातावरणीय जोखिम र विकास–नीतिबीच तालमेलको अभावका प्रत्यक्ष प्रभावित भएका उदाहरण छन् ।  नवलपरासीका थारू समुदायले सदियौंदेखि वन र जलस्रोतसँग सहअस्तित्वमा आधारित ज्ञान विकास गरेका छन् ।  तर आधुनिक विकास योजनाले यो ज्ञान बेवास्ता गर्दा उनीहरूको जीवन–आधार कमजोर बन्दै गएको अध्ययनहरूले देखाएका छन् ।  

रसुवालगायतका जिल्लाका कतिपय पहाडी बस्ती पटकपटक पहिरोले विस्थापित हुन्छन्, तर स्थानीय पूर्वाधार योजनामा पहिरो जोखिमलाई अझै गम्भीरतापूर्वक समेटिएको छैन ।  सप्तरी–सिरहाका मुसहर बस्तीहरू प्रत्येक वर्ष बाढीले डुबानमा पर्छन्, तर सुरक्षित बसोबास र जलवायु–अनुकूल पूर्वाधारजस्ता जोखिम न्यूनीकरणका उपाय स्थानीय योजनामा पर्याप्त रूपमा समावेश हुन सकेका छैनन् ।  यी उदाहरण केवल स्थानीय पीडा होइनन् ।  यी त वातावरणीय जोखिमलाई विकास, पूर्वाधार र शासनसँग एकीकृत गर्न नसकिएको संरचनागत असफलताका संकेत हुन् । 

उच्च जोखिम, कमजोर संस्थागत तयारी  : 
नेपाल जलवायु परिवर्तनबाट अत्यन्त जोखिममा रहेको देश हो भन्ने तथ्य स्थापित छ ।  ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स, २०२६ ले नेपाललाई बारम्बार उच्च जोखिम समूहको १० राष्ट्रभित्र राखेको छ ।  हिमनदी पग्लिनु, बाढी–पहिरोको तीव्रता बढ्नु, वर्षा प्रणालीको अनिश्चितता, कृषि उत्पादकत्वमा गिरावट र सहरी वायु प्रदूषण– यी सबैले विकास रणनीतिलाई चुनौती दिन्छन् ।  तर निर्वाचनका बेला यी विषय सामान्य वाचा र अस्पष्ट वाक्यांशमा सीमित हुन्छन् ।  मुख्य समस्या वातावरणीय जोखिमलाई राजनीतिक र आर्थिक निर्णय प्रक्रियामा संस्थागत रूपमा समावेश गर्न नसक्नु हो । 

नेपालमा पर्यावरण नीति छुट्टै दस्तावेज र परियोजनामा सीमित छ– आर्थिक योजना, पूर्वाधार, ऊर्जा नीति र बजेट प्रक्रियासँग यसको एकीकरण भने कमजोर छ ।  संघीयतापछि स्थानीय तहमा वातावरणीय जिम्मेवारी बढेको छ ।  तर स्रोत, सचेतना, प्राविधिक क्षमता र वित्तीय पहुँच अझै अपर्याप्त छन् ।  धेरै स्थानीय तहमा वातावरणीय प्रभाव मूल्यांकन गर्ने दक्ष जनशक्ति छैन, जलवायु अनुकूलन योजना बनाउने क्षमता सीमित छ र बजेटमा वातावरणीय मापदण्ड समावेश गर्ने संयन्त्र स्पष्ट छैन ।  जब पर्यावरणीय जोखिम निर्णय प्रक्रियामा समाहित हुँदैन, चुनावी प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन सक्दैन । 

विकास कि वातावरण ? एउटा झुटो द्वन्द्व  :  नेपाली राजनीतिक भाष्यमा विकास र वातावरणलाई आपसमा विरोधी अवधारणाका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति अझै बलियो छ ।  तर यो झुटो द्वन्द्व हो ।  वातावरणीय आधारबिना विकास टिक्दैन र समुदायको अधिकारबिना संरक्षण सफल हुँदैन ।  नेपालको सामुदायिक वन व्यवस्थापन यसको सशक्त उदाहरण हो– करिब २२ हजार सामुदायिक वन उपभोक्ता समूहमा २९ लाखभन्दा बढी घरधुरी संलग्न छन् र यी वनहरूको अवस्था सरकारी वनभन्दा राम्रो रहेको देखिन्छ ।  यसको आधार स्थानीय समुदायको निर्णय अधिकार र प्रत्यक्ष लाभ हो ।

तर आरईडीडी प्लस माइनसजस्ता कार्बन व्यापार योजनाले यो सन्तुलनलाई चुनौती दिइरहेका छन् ।  राष्ट्रिय तहमा कार्बन व्यापारको बहस चलिरहँदा स्थानीय समुदाय आफ्नो परम्परागत अधिकार सुरक्षित रहन्छ कि रहँदैन भन्ने चिन्तामा छन् ।  यो केवल वातावरणीय मुद्दा होइन, यो अर्थ–राजनीतिक प्रश्न पनि हो ।  निर्वाचन बहसमा यसको स्पष्ट छलफल आवश्यक छ । 

विश्वका उदाहरणले के भन्छन् ?  :  अन्तर्राष्ट्रिय अनुभवले देखाउँछ, वातावरणीय आयामलाई विकास रणनीतिबाट अलग राख्ने राज्यहरूले दीर्घकालीन आर्थिक स्थायित्व हासिल गर्न सकेका छैनन् ।  युरोपियन युनियनको ग्रिन डिलले वातावरणलाई आर्थिक नीतिको केन्द्रमा राख्दै हरित ऊर्जा, स्वच्छ पूर्वाधार र कार्बन उत्सर्जन कटौती दीर्घकालीन समृद्धिको आधार हुन सक्छन् भन्ने देखाएको छ ।  त्यस्तै, न्युजिल्यान्डको वेल बिइङ बजेटले बजेटको प्राथमिकता केवल जीडीपी होइन, वातावरणीय स्वास्थ्य, पानीको अवस्था, समता र समुदायको समग्र कल्याणमा आधारित हुनुपर्छ भन्ने मान्यता स्थापित गरेको छ ।  यी मोडेलहरूले वातावरणलाई शासनको मूल संरचनामा गाभेपछि मात्र विकास विश्वसनीय र समावेशी बन्न सक्छ भन्ने सन्देश दिन्छन् । 

वातावरणलाई नीति–फिल्टर बनाउने समय  :  आगामी निर्वाचनमा मुख्य प्रश्न ‘के गर्ने ?’ भन्दा पनि ‘वातावरणलाई शासन प्रणालीमा कसरी समाहित गर्ने ?’ भन्ने हुनुपर्छ ।  वातावरणलाई छुट्टै मन्त्रालयको विषयमा सीमित राख्ने होइन—हरेक विकास निर्णय, बजेट प्राथमिकता र पूर्वाधार योजनामा वातावरणीय प्रभाव र सामुदायिक अधिकारलाई अनिवार्य नीति–फिल्टर बनाउनु आवश्यक छ । 

ऊर्जा र अर्थतन्त्र  :  नेपालले वार्षिक दुई अर्ब अमेरिकी डलरभन्दा बढी पेट्रोलियम पदार्थ आयात गर्छ ।  यो रकम घरेलु नवीकरणीय ऊर्जामा लगानी गरिए रोजगारी, व्यापार सन्तुलन र वातावरण तीनै क्षेत्रमा लाभ पुग्न सक्छ ।  सौर्य ऊर्जा, जलविद्युत्, दिगो पर्यटन र प्रकृतिमा आधारित समाधान केवल वातावरणीय रणनीति होइनन्, यी आर्थिक स्वाधीनताको आधार पनि हुन् । 
पूर्वाधार र जोखिम व्यवस्थापन  : 

नेपालमा परियोजना डिजाइन प्राय :  राजनीतिक समयरेखा अनुसार हुन्छ, जलवायु जोखिमअनुसार होइन ।  मेलम्ची परियोजनामा जलवायु जोखिम र भूकम्पीय संवेदनशीलताको पर्याप्त मूल्यांकन भएको भए २०२१ को बाढीले पुर्‍याएको क्षति कम हुन सक्थ्यो ।  नेपालमा आर्थिक वर्षको अन्त्यतिर हतारहतार बजेट सक्ने गरी हुने ‘असारे विकास’ पर्यावरणीय विनासको कारण बन्ने गरेको छ ।  मनसुन अवधिमा संवेदनशील क्षेत्रमा निर्माण गतिविधिमा नियमन वा अस्थायी प्रतिबन्धको नीति अवलम्बन गर्न सके समस्या धेरै हदसम्म न्यूनीकरण हुन सक्छ ।  यी केवल प्राविधिक होइनन्, नीतिगत असफलता पनि हुन् । 

सार्वजनिक स्वास्थ्य  :  वायु प्रदूषण र दूषित पानी अब केवल वातावरणीय मुद्दा होइनन्, यी स्वास्थ्य प्रणालीमाथिको संरचनागत दबाब पनि हुन् ।  काठमाडौं उपत्यकाको वायु प्रदूषणले हजारौं मानिसलाई श्वासप्रश्वास र मुटुरोगतर्फ धकेल्छ, श्रम उत्पादकत्व घटाउँछ र स्वास्थ्य खर्च बढाउँछ ।  यातायात, उद्योग र सहरी योजनालाई स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने संयन्त्र आवश्यक छ । 

घोषणापत्र र जवाफदेहिता, वाचाभन्दा संरचना चाहिन्छ  :  निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले प्रकाशित गर्ने घोषणापत्र देशको नीतिगत दिशा बुझ्ने एउटा महत्वपूर्ण दस्तावेज हो ।  तर विगतका घोषणापत्र हेर्दा एउटा साझा कमजोरी स्पष्ट देखिन्छ, वातावरणीय मुद्दा उल्लेख त हुन्छन् तर तिनलाई शासन संरचना, वित्तीय प्राथमिकता र कार्यान्वयन संयन्त्रसँग जोडेर प्रस्तुत गरिँदैन ।  अधिकांश दलहरूले ‘हरित विकास’, ‘जलवायु अनुकूलन’, ‘सफा ऊर्जा’, ‘दिगो पूर्वाधार’ जस्ता आकर्षक शब्द प्रयोग गर्छन्, तर ती शब्दहरू प्राय :  नाराजस्तै सुनिन्छन् । 

घोषणापत्रमा उल्लेखित वातावरणीय प्रतिबद्धताहरूमा न त स्पष्ट लक्ष्य हुन्छ, न त समयसीमा, न त बजेट स्रोतको विवरण ।  यसले वातावरणीय मुद्दालाई गम्भीर नीति र एजेन्डा होइन, चुनावी सजावटको रूपमा प्रस्तुत गरिदिन्छ ।  घोषणापत्रमा वातावरणीय मुद्दा प्राय :  अन्त्यतिर छुट्टै अध्यायमा राखिन्छ ।  यसले वातावरणलाई विकासको केन्द्र होइन, साइड नोट बनाइदिन्छ ।  तर वातावरणीय जोखिम आर्थिक वृद्धि, पूर्वाधार, कृषि, ऊर्जा र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुँदा, यो विषयलाई मुख्यधारको नीति–ढाँचामा राखिनु आवश्यक छ ।  विगतका सरकारहरूको अनुभवले पनि प्रतिबद्धता र कार्यान्वयनबीचको दूरी स्पष्ट देखाउँछ ।  ईआईए प्रक्रिया राजनीतिक दबाबमा कमजोर पारिन्छ, सहरी वायु प्रदूषण नियन्त्रणका वाचा कागजमै सीमित रहन्छन् ।

 सामुदायिक वन अधिकार संरक्षणमा निरन्तरता हुँदैन र जलवायु वित्त स्थानीय तहसम्म पुग्दैन ।  यसले एउटा गम्भीर प्रश्न उठाउँछ, घोषणापत्रमा गरिएको वातावरणीय वाचा व्यवहारमा किन अनुवाद हुँदैन ? वातावरणीय जवाफदेहिता सुनिश्चित गर्न दलहरूले अब घोषणापत्रमा मापनयोग्य लक्ष्य, स्पष्ट बजेट स्रोत र अनुगमन संयन्त्र समावेश गर्न आवश्यक छ ।  संसद्मा वार्षिक जलवायु प्रगति प्रतिवेदन अनिवार्य गर्ने, स्थानीय तहलाई कानुनी रूपमा सुनिश्चित वातावरणीय अधिकार र बजेट दिने र ईआईए उल्लंघनमा राजनीतिक हस्तक्षेप रोक्ने जस्ता संरचनागत सुधार घोषणापत्रमै समावेश हुनुपर्छ । 

मतदाताले पनि घोषणापत्र हेर्दा केवल नारा होइन, संरचनागत प्रश्न सोध्नुपर्छ, के लक्ष्य मापनयोग्य छन् ? के बजेट स्रोत उल्लेख छ ? के स्थानीय तहको भूमिका स्पष्ट छ ? के सामुदायिक अधिकार सुरक्षित छ ? के अनुगमन संयन्त्र छ ? यी प्रश्नहरूले दलहरूलाई वातावरणीय मुद्दामा गम्भीर, दीर्घकालीन र संस्थागत प्रतिबद्धता गर्न बाध्य पार्छन् । 

निष्कर्ष– वातावरण र राज्यको विश्वसनीयता  :  वातावरणीय एजेन्डालाई परिधिमा राख्नु भनेको राज्यले दीर्घकालीन जोखिम व्यवस्थापन गर्न नसक्ने स्वीकार गर्नु हो ।  आगामी निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा होइन; यो राज्यको नीति–क्षमताको परीक्षा पनि हो ।  यदि वातावरणीय मुद्दा अझै परिधिमा रह्यो भने विकासको बहस विश्वसनीय हुँदैन ।  खुम्बुका गाउँलेहरूले हिमनदी पग्लिएको देखिरहेका छन्, रसुवा र अन्य पहाडी भागका बस्ती विस्थापित भइरहेका छन् ।  नवलपरासीका थारूहरूले वन र जलस्रोत घट्दै गएको अनुभव गरिरहेछन् ।  यी यथार्थलाई सम्बोधन नगर्ने विकासको कुनै पनि योजना अन्तत :  खोक्रो हुन्छ । 

नेपालले अब वातावरणलाई वैकल्पिक एजेन्डा होइन, राज्यको विश्वसनीयता र दीर्घकालीन स्थायित्वको आधारका रूपमा हेर्नुपर्ने समय आएको छ । 
बस्ताकोटी, वातावरण नीति विज्ञ हुन् ।

मतदाताले पनि घोषणापत्र हेर्दा केवल नारा होइन, संरचनागत प्रश्न सोध्नुपर्छ, के लक्ष्य मापनयोग्य छन् ? के बजेट स्रोत उल्लेख 
छ ? के स्थानीय तहको भूमिका स्पष्ट छ ? के सामुदायिक अधिकार सुरक्षित छ ? के अनुगमन संयन्त्र छ ?

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.