नतिजा दोहोर्‍याउने कसरतमा सापकोटा, हारको बदला लिने दाउमा नेपाल

नतिजा दोहोर्‍याउने कसरतमा सापकोटा, हारको बदला लिने दाउमा नेपाल

सिन्धुपाल्चोक : फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा चुनावी सरगर्मी बढ्दो छ । राजनीतिक पार्टी, नेता–कार्यकर्ता र उम्मेदवारहरू चुनाव केन्द्रित प्रचारप्रसारमा घरदैलो कार्यक्रममा व्यस्त छन् । कसरी हुन्छ आफ्नो पक्षमा जनमत बटुल्नेमा यतिबेला राजनीतिक पार्टीहरू प्रयासरत देखिन्छन् । 

उत्तरी चीनतर्फ सीमा जोडिएको सिन्धुपाल्चोकमा पनि चुनावी रौनक राम्रै लागेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको खास निर्वाचन क्षेत्र नम्बर–१ लाई तीन प्रमुख राजनीतिक पार्टीहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले निकै महत्वका साथ हेरिरहेका छन् । यसको खास कारण भने केन्द्रीय राजनीतिमा ‘हेभिवेट’ मानिएका नेता अग्निप्रसाद सापकोटा र जिल्लामा राम्रो प्रभाव जमाएका मोहन बस्नेत नै हुन् ।

यस पटक प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट ३ जना स्वतन्त्रसहित कुल १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेकपाले यसअघिकै उम्मेदवार माधव सापकोटालाई चुनावी मैदानमा उतारेको छ भने एमालेले पनि पुरानै उम्मेदवार सरेश नेपाललाई पुनः मौका दिएको छ । नेपाली कांग्रेसले जंगबहादुर लामालाई सिन्धुपाल्चोक– १ बाट उठाउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले भरतप्रसाद पराजुलीलाई टिकट दिएको छ । 

पराजुली स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का केन्द्रीय सदस्य एवं एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरका अध्यक्ष हुन् । स्थानीय व्यवसायीको उम्मेदवारीले ठूला तीन राजनीतिक दलका उम्मेदवारलाई राम्रै चुनौती हुने देखिएको छ । तथापि, स्थापित र अनुभवी राजनीतिक पार्टीका उम्मेदवारहरूसँग प्रतिष्पर्धा गर्नु पराजुलीका लागि उति सहज भने छैन । 

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हलो चुनाव चिह्न लिएर राममणि न्यौपाने उठेका छन् भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चादेखि मंगोल नेशनल अर्गनाइजेशनलगायत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका उम्मेदवार समेत प्रतिनिधिसभा निर्वाचन, २०८२ को चुनावी मैदानको प्रतिष्पर्धामा छन् । 

यसअघि प्रतिनिधिसभा निर्वाचन, २०७९ मा सिन्धुपाल्चोक–१ बाट तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट माधव सापकोटा निर्वाचित भएका थिए । सापकोटाले एमालेका उम्मेदवार सरेश नेपाललाई ३ हजार ३ सय ४२ मतान्तरले पराजित गरेका थिए । सापकोटाले ३० हजार ४ सय ८ मत ल्याउँदा नेपालले २७ हजार ६६ मत प्राप्त गरेका थिए । 

२०७९ सालमा पहिलो र दोस्रो भएका सापकोटा र नेपाल फेरि पनि चुनावी प्रतिष्पर्धामा आमनेसामने भएका छन् । अर्थात् नेकपाले सापकोटालाई नै फेरि सिन्धुपाल्चोक–१ बाट टिकट दिँदै गर्दा एमालेले पनि पहिलेकै प्रतिष्पर्धी नेपाललाई सापकोटाविरुद्ध उतारेको छ । केन्द्रीय राजनीति र जिल्लामा राम्रै प्रभाव रहेका काका अग्निप्रसाद सापकोटाका कारण पनि यसको सहजता सापकोटालाई छ । 

यद्यपि, नेकपाको युवा नेता सापकोटा पार्टीको खास सम्भावना भएको नेतामा गनिने मात्र होइन, जिल्लाको विकास र सरोकारका विषयमा राम्रैसँग दख्खल राख्ने व्यक्तिको रूपमा जिल्लावासीहरूले चिनेका छन् । खासगरी पछिल्लो पटक सापकोटाले संसदमा देखाएको उपस्थितिले उनलाई राम्रै चिनाएको छ । यसको सफलतालाई समेत राम्रैसँग ‘क्यास’ गर्दै पुनः विजय भएर संसद छिर्ने कसरतमा सापकोटा देखिन्छन् । तर, एमालेका उम्मेदवार सरेश नेपाल यस पटक जसरी पनि सापकोटाको विजय यात्रालाई ‘ब्रेक’ लगाउने तयारीमा छन् । 

यसअघि जम्मा ३ हजार ३ सय ४२ मतले मात्र पराजित हुन पुगेका नेपाल यस पटक प्रमुख पार्टीहरू छुट्टाछुट्टै चुनावी मैदानमा रहेकाले पनि आफ्नो जीत सुनिश्चित रहेको दावी गर्छन् । अघिल्लो पटकको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो ।

निर्वाचन क्षेत्र नम्बर २ कांग्रेसलाई दिएर १ रोजेको माओवादीले कांग्रेसको समर्थनमा एमालेका उम्मेदवारलाई हराएको थियो, जुन हारको बदला यसपटक सापकोटासँग लिने दाउमा नेपाल देखिन्छन् । एमालेका प्रभावशाली स्थानीय नेता नेपाल २०७४ सालको प्रदेशसभा सदस्यमा सिन्धुपाल्चोक १ (ख) बाट निर्वाचित भएका थिए । उनी २२ हजार ८ सय ३७ मतका साथ विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ १२ हजार १ सय ८७ मतसहित पराजित भएका थिए । 

नतिजा फर्काउने दाउमा कांग्रेस
सिन्धुपाल्चोक– १ बाट २०७० सालयता नेपाली कांग्रेसले सांसद पाएको छैन । २०६४ सालयता यस क्षेत्रबाट नेकपा माओवादीले प्रभाव जमाएकाले यसको असर कांग्रेस र एमालेलाई नै परेको छ । तर, दोस्रो संविधानसभा निर्वाचन २०७० मा भने एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाँदा यस क्षेत्रबाट कांग्रेसका पुरानै नेता मोहनबहादुर बस्नेतले बाजी मारेका थिए । 

२०५६ सालमा यसै क्षेत्रबाट जितेका बस्नेतले २०७० सालमा पनि निर्वाचन जितेका थिए । २०७९ सालमा माओवादीसँगको गठबन्धनमा यो क्षेत्र छोडेर क्षेत्र नम्बर २ मा गएका थिए बस्नेत । अहिले यस क्षेत्रबाट कांग्रेसले जंगबहादुर लामालाई उठाएको छ । नेपाली कांग्रेसको नेतृत्व फेरिएसँगै सिन्धुपाल्चोक– १ मा पार्टीले नयाँ अनुहारलाई उतारेको छ ।

प्रदेशसभा, राष्ट्रियसभामा अहिलेसम्म उम्मेदवार नबनेका उम्मेदवार लाई उठाएको कांग्रेसले यस क्षेत्रबाट २०७० सालयताको शून्यतालाई तोड्ने तयारी गरिरहेको छ । तर, यसमा पुराना अनुभवी र प्रभावशाली कम्युनिष्ट उम्मेदवारसँगै नयाँ शक्तिको रूपमा उदाएको रास्वपाको उम्मेदवारसँग राम्रै प्रतिष्पर्धा गर्नुपर्ने देखिन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.