ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको वार्षिक साधारण सभा सम्पन्न
न्युयोर्क : ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रदीप श्रेष्ठले युवा संस्थाका रूपमा चेम्बरले छोटो अवधिमा महत्त्वपूर्ण प्रगति गरेको उल्लेख गरे।
न्यूयोर्कमा नेपाली उद्यमीहरूका लागि बलियो आधार निर्माण गर्ने लक्ष्यसहित संस्था अघि बढिरहेको उनले बताए। पहिलो पुस्ताका नेपाली-अमेरिकी व्यवसायीहरूले जटिल कानुनी प्रक्रिया, भाषागत अवरोध, अनुमतिपत्रसम्बन्धी चुनौती तथा पूँजी पहुँचजस्ता समस्याहरू भोगिरहेको उल्लेख गर्दै उनले एकता, व्यवस्थित सञ्जाल विस्तार र सहकार्यात्मक लगानीको आवश्यकता औँल्याए।
अध्यक्ष श्रेष्ठले चेम्बर सम्पूर्ण नेपाली व्यवसायीहरूका लागि साझा मञ्च बन्न प्रयासरत रहेको बताए। व्यवसायीहरूबीच आपसी सञ्जाल विस्तार, अनुभव आदान-प्रदान तथा एकअर्काबाट सिक्ने वातावरण सिर्जना गर्न चेम्बरले विशेष पहल गरिरहेको उनले उल्लेख गरे।
विभिन्न जनचेतनामूलक तथा जानकारीमूलक कार्यक्रमहरू आयोजना गर्दै व्यवसाय समुदायलाई सशक्त बनाउने प्रयास भइरहेको उनको भनाइ छ। न्यूयोर्क सहरमा हालः विभिन्न क्षेत्रमा पाँच सयभन्दा बढी नेपाली स्वामित्वका व्यवसाय सञ्चालनमा रहेको उल्लेख गर्दै उनले यस समुदायलाई थप सुदृढ बनाउन विभिन्न निकाय, स्थानीय जनप्रतिनिधि तथा ठूला व्यावसायिक संस्थासँग सहकार्य विस्तार भइरहेको बताए।
सदस्य वित्तीय संस्थाहरू फ्लसिङ बैंक, रिजउड सेभिङ्स बैंक र एभरेस्ट फेडरल क्रेडिट युनियनसँगको सहकार्यले सदस्यहरूलाई बैंकिङ तथा वित्तीय सेवामा सहज पहुँच मिलिरहेको जानकारी दिइएको थियो।
सभामा अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष पशुपति श्रेष्ठको प्रतिवेदन प्रस्तुत गरिएको थियो। उपस्थित सदस्यहरूले दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेका थिए। सभाले सदस्यता विस्तार, मासिक शैक्षिक तथा सञ्जाल कार्यक्रम आयोजना तथा नेपाली-अमेरिकी व्यावसायिक समुदायको आर्थिक सशक्तीकरणलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएको छ।
प्रतिक्रिया दिनुहोस !