शैलुङको वैभव : कालिञ्चोकको उचाइ
शैलुङ र कालिञ्चोक केवल घुम्ने ठाउँ होइनन्, ती मनसँग संवाद गर्ने थलो हुन्। हरियाली मैदानमा बसेर टाढा हिमाल नियाल्दा जीवनका अनेक चिन्ता आफैं हराउँछन्।
दोलखाको हरियाली आँगनभित्र एउटा सुन्दर संसार लुकेको छ– शैलुङ। प्रकृतिको शन्त मुस्कान, हिमालको गौरवपूर्ण उचाइ र गाउँले जीवनको आत्मीयता बोकेको शैलुङ साँच्चिकै वैभवशाली छ। त्यही वैभवलाई अझ उज्यालो बनाउँदै उभिएको छ– कालिञ्चोक भगवती मन्दिर। जुन समुद्री सतहबाट करिब ३,८४२ मिटरको उचाइमा अवस्थित आस्थाको पवित्र थलो। शैलुङको वैभव र कालिञ्चोकको उचाइ केवल यात्रा शीर्षक होइन, यो प्रकृति र आस्थाको संगममा भेटिएको आत्मिक अनुभूतिको कथा हो।
हरियाली ओढेको शैलुङ
शैलुङ समुद्री सतहदेखि करिब ३,१४६ मिटरको उचाइमा फैलिएको हरियाली डाँडा हो। तामाङ भाषामा शैलुङ शब्दको अर्थ सयौं साना–साना डाँडाहरू भएको ठाउँ भन्ने बुझिन्छ। साँच्चै त्यहाँ पुग्दा टाकुरामाथि टाकुरा, घाँसे मैदानमाथि मैदान देखिन्छन्। बिहानको पहिलो घाम जब शैलुङका थुम्कामाथि पर्छ, हरियो घाँस सुनौलो झल्किन्छ। टाढा हिमालका शृंखलाहरू सेताम्य देखिन्छन्। आकाश नीलो, हावा शीतल र वातावरण स्वच्छ। त्यो क्षणमा लाग्छ, जीवन यस्तै सरल र सुन्दर हुनुपर्छ। शैलुङको मैदान खुला र फराकिलो छ। त्यहाँ उभिँदा चारैतिर फैलिएको दृश्यले मन लोभ्याउँछ। हिमालका पंक्तिबद्ध लहरहरू– गौरीशंकर, लाङटाङ, गणेश हिमाल मानौं हातैले छोइहालुँ जस्तो नजिक देखिन्छन्।
कालिञ्चोकको पवित्र उचाइ
शैलुङबाट केही दूरीमा रहेको कालिञ्चोक डाँडाले यात्रालाई अझ अर्थपूर्ण बनाउँछ। कालिञ्चोक भगवती मन्दिर धार्मिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। हिन्दु र बौद्ध दुवै धर्ममा आस्था राख्ने श्रद्धालुहरू यहाँ पुगेर पूजा गर्छन्। यात्रु र तीर्थालुहरूका लागि यो स्थान प्रकृतिसँगको पुनर्मिलनको थलो हो। कालिञ्चोक भगवती मन्दिर यस क्षेत्रको मुख्य आकर्षण हो। समुद्री सतहबाट करिब ३,८४२ मिटरको उचाइमा अवस्थित यो मन्दिर श्रद्धालुहरूको अटल विश्वासको केन्द्र बनेको छ।
शैलुङ र कालिञ्चोक पर्यटन ध्यान केन्द्र
शैलुङलाई ध्यान, साधनाको केन्द्र बनाउन सकिन्छ। कालिञ्चोक हिउँले ढाकिएको मौसममा त मन्दिर परिसर नै सेतो चादर ओढेर बसेजस्तो देखिन्छ। भक्तजनहरू बिहानैदेखि पूजा, आराधनामा तल्लीन देखिन्छन्। हरेक पाइला चढ्दा भक्ति र साहस दुवैको परीक्षा जस्तो लाग्छ। तर शिखरमा पुगेर देखिने दृश्यले सबै थकान बिर्साइदिन्छ। शैलुङ र कालिञ्चोक विशेषत प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण एक अनुपम धरोहर हो। बादलसँग आँखा जुधाउने डाँडा, सूर्योदयको आभासँगै ओढ्ने हिमाली शृंखलाहरू र श्रद्धा र विश्वासले भरिएका मन्दिरहरूको आँगन। यी सबैले कालिञ्चोकलाई केवल एक गन्तव्यमात्र होइन, अनुभूतिको उचाइ बनाएका छन्।
शैलुङ डाँडाको काखमा उभिँदा क्षितिज नै नजिक आएको भान हुन्छ। हरियालीले ढाकिएका उकालीहरू, चरनमा रमाइरहेका गाईबस्तु र शान्त वातावरणले मनलाई स्वाभाविक रूपमा स्थिर बनाउँछ। यहाँका हावाको स्पर्शले पनि फरक अनुभूति दिन्छ, स्वच्छ, चिसो र आत्मालाई छुने।
शैलुङ क्षेत्र ऐतिहासिक दृष्टिले महत्त्वपूर्र्ण मानिन्छ। यहाँका डाँडाहरूमा विभिन्न समयमा साधु, सन्तहरूले तपस्या गरेको विश्वास गरिन्छ। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यताको संगमले यस क्षेत्रलाई अझ विशेष बनाएको छ। कालिञ्चोक यात्रा केवल धार्मिकमात्र होइन, साहसिक पनि हो। उकालोबाटो, घुम्ती र मोडहरू र हिमपातका दिनहरूमा देखिने चुनौतीहरूले यात्रालाई रोमाञ्चक बनाउँछ। पछिल्ला वर्षहरूमा यहाँ केबलकार सञ्चालनमा आएपछि यात्रुहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। तर पैदलयात्रा गर्नेहरूको उत्साह भने अझै उत्तिकै देखिन्छन्। हिँडेर पुग्दाको जस्तो साँचो आनन्द नआउने यात्रुको अनुभव छ। हिउँद ऋतुमा कालिञ्चोक सेतो स्वगजस्तै देखिन्छ। यहाँ हिउँ खेल्न आउने युवायुवतीहरू, तस्बिर खिच्न वयस्क पर्यटकहरू र चिसो हावामा तातो चिया पिउँदै रमाइरहेका आगन्तुकहरू, सबैले यहाँको रमाइलोपनलाई झल्काउँछन्। गर्मीयाममा भने हरियालीले ढाकिएको भूभाग र टाढासम्म फैलिएका हिमाली दृश्यले मन लोभ्याउँछन्।
यहाँबाट देखिने हिमशृंखलाहरूले विशेष आकर्षण थप्छन्। सूर्योदयको किरणमा जब सूर्यको पहिलो किरण हिमालमा पर्छ, त्यो दृश्य अवर्णनीय हुन्छ। आकाश सुनौलो बन्छ, हिउँका टाकुराहरू चम्किन्छन् र मनमा अद्भुत शान्ति छाउँछ। स्थानीय संस्कृति पनि उत्तिकै समृद्ध छ। शैलुङ क्षेत्र तामाङ समुदायको बसोबास रहेको ठाउँ हो। उनीहरूको परम्परा, संस्कृति र आतिथ्यताले यात्रालाई अझ मिठास दिन्छ। यहाँका बासिन्दाहरूको जीवनशैली सरल आत्मीय छ। उनीहरूको आतिथ्यताले यात्रुहरूलाई घरको अनुभूति गराउँछ। स्थानीय परिकार जस्तै ढिँडो, गुन्द्रुक र आलुको अचार तातो सुपले चिसो मौसममा शरीर र मन दुवैलाई न्यानो बनाउँछ। शैलुङ क्षेत्रमा जैविक विविधता पनि उल्लेखनीय छ। विभिन्न प्रजातिका चराचुरुंगी, जंगली फूलहरू र वनस्पतिले यहाँको वातावरणलाई जीवन्त बनाएका छन्। वसन्त ऋतुमा फुल्ने लालीगुराँसले डाँडाहरू राताम्मे बनाउँछ। प्रकृतिप्रेमी र फोटोग्राफरहरूका लागि यो स्थान स्वर्ग समान छ।
कालिञ्चोक पुग्ने बाटो आफैंमा रमाइलो अनुभव हो। काठमाडौंदेखि दोलखा बजारहुँदै उकालो लाग्दा गाउँबस्तीहरू, खेतबारी र खोलानालाहरू देखिन्छन्। यात्राका क्रममा भेटिने स्थानीय बालबालिकाहरूको मुस्कान अभिवादनले मन छुन्छन्। सडक विस्तार र पूर्वाधार विकाससँगै यात्रा सहज बन्दै गएको छ, तर पहाडी भेगको प्राकृतिक स्वाद अझै यथावत् छ। धार्मिक पर्वहरूको समयमा कालिञ्चोक विशेष चहलपहलले भरिन्छन्। दसैं, तिहार, जनैपूर्णिमाजस्ता अवसरमा हजारौं भक्तजन यहाँ पुग्छन्।
मन्दिर परिसरमा घण्टीको ध्वनि, मन्त्र उच्चारण र भक्तजनहरूको भिडले वातावरण आध्यात्मिक बनाउँछ। आस्था र विश्वासको यो संयोगले यात्रालाई केवल भ्रमण होइन, तीर्थ यात्राको गुण दिन्छ। कालिञ्चोकको उचाइले केवल भौगोलिक मापन मात्र जनाउँदैन, यसले आत्मिक अनुभूति पनि गराउँछ। माथि पुग्दा तलको संसार सानो देखिन्छ, समस्या र चुनौती क्षणभरका लागि हराएजस्तो लाग्छ। प्रकृतिको विशालता अगाडि मानव जीवन कति सानो रहेछ भन्ने अनुभूति हुन्छ। पर्यटन विकाससँगै यहाँ होटल, लज र होमस्टे पनि बढेका छन्। स्थानीयले पर्यटनबाट रोजगारी र आम्दानीको अवसर पाएका छन्। मूलतः वातावरण संरक्षणको जिम्मेवारी सबैको साझा कर्तव्य हो। प्लास्टिकजन्य फोहोर नफाल्ने, उचित खानेपानी र शौचालयको अभाव देखिन्छ। जथाभावी वन फँडानीले हरियाली घट्ने खतरा छ। प्राकृतिक संरचनालाई क्षति नपुर्याउनेजस्ता सचेतनाले मात्र यस क्षेत्रको सौन्दर्य दीर्घकालीन रूपमा जोगाउन सकिन्छ।
यसरी शैलुङको वैभव र कालिञ्चोकको उचाइ केवल दृश्यावलोकनको विषय होइन, यो अनुभूति, आस्था र आत्मचिन्तनको यात्रा हो। एकपटक पुगेपछि मन फेरि त्यहाँ फर्कन चाहन्छ। बादलमाथि उभिएर संसारलाई हेर्ने चाहना, हामीलाई संवाद गर्ने रहर र मन्दिरको आँगनमा शान्ति खोज्ने मन, यी सबैले कालिञ्चोकलाई सदैव स्मरणीय बनाउँछ। भविष्यमा शैलुङ र कालिञ्चोकलाई पर्यटन ध्यान केन्दको रूपमा विकास गर्न सकिन्छ।
ऋतु फेरिँदा रूप फेरिने शैलुङ
शैलुङको सौन्दर्य प्रत्येका ऋतुमा फरकफरक देखिन्छन्। वसन्त ऋतुमा गुराँसका फूलहरूले डाँडालाई राताम्य बनाउँछन्। हरियो घाँसमाथि रातो फूलको रंगीन संयोजन प्रकृतिको सुन्दर चित्रजस्तै देखिन्छ। गर्मीमा हल्का चिसा हावा बहिरहन्छ। काठामाडौंको तातो मौसमबाट केही दिनको वि श्राम लिन चाहनेहरूका लागि शैलुङ आदर्श गन्तव्य बन्न सक्छ। वर्षामा हरियाली अझ गाढा हुन्छ। कुहिरोले डाँडा ढाक्दा रहस्यमय दृश्य देखिन्छ। जाडोमा हिउँले सेताम्य बनेको शैलुङ र कालिञ्चोकको दृश्य स्वर्गीय देखिन्छन्। यहाँ बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि हिउँमा रमाएको दृश्य मनमोहक हुन्छ। शैलुङको डाँडाहरूमा जतिसक्दो छिटो सुरक्षा बार लगाइनुपर्ने खाँचो छ। डाँडाडाँडामा बेसपिलर राखेर चक्रीय केबलकार वा पोडवे राखेर अर्को आकर्षण थप्न सकिन्छ। डाँडामै फोहोर डढाएको देख्दा व्यवस्थापन समितिको चेतना स्तरलाई देखाउँछ। भविष्यमा शैलुङ र कालिञ्चोकलाई पर्यटन ध्यान केन्द्रको रूपमा विकास गर्न सकिन्छ।
सूर्योदय र सूर्यास्तको जादु
शैलुङ र कालिञ्चोकबाट देखिने सूर्योदय अत्यन्त आकर्षक हुन्छ। बिहान घाम उदाउँदा पहाड सुनौलो देखिन्छ। हिमालका टाकुरामा परेको घाम चम्किलो देखिन्छ। साँझ पर्दा आकाश सुन्तलामय र गुलाबी रङले रंगिन्छ। विस्तारै अँध्यारो छाउँदा टाढाका गाउँमा बत्तीहरू टिमटिमाउन थाल्छन्। त्यो दृश्यले मनमा अनौठो शान्ति भर्छ। कालिञ्चोकको कुरी गाउँ उपत्यका रातको दृश्य अवर्णनीय लाग्छन्।
अन्तिम अनुभूति
यात्राको अन्त्यमा जब फर्कने बेला आउँछ, मनमा मिश्रित भावना जन्मिन्छ। सन्तुष्टि र पुनः आगमनको चाहना शैलुङ र कालिञ्चोकको दिइएको शान्ति, आनन्द र प्रेरणाले जीवनप्रति नयाँ दृष्टिकोण दिन्छ। यहाँको उचाइले आत्मबल, विश्वासलाई दृढ र प्रकृतिप्रतिको प्रेम गहिरो बनाउँछ। प्रकृतिको काखामा अवस्थित यो क्षेत्र हाम्रो राष्ट्रिय गौरव पनि हो। यसलाई जोगाउनु, प्रचारप्रसार गर्नु र जिम्मेवार यात्रु बन्नु हाम्रो दायित्व हो। शैलुङको वैभव र कालिञ्चोकको उचाइ सधैँ यसैगरी उज्यालो र गौरवमय रहिरहोस्। यात्रा केवल सम्झनामा मात्र होइन, हृदयको गहिराइमा डुब्नुपर्छ।
शैलुङ र कालिञ्चोक केवल घुम्ने ठाउँ होइनन्, ती मनसँग संवाद गर्ने थलो हुन्। हरियाली मैदानमा बसेर टाढा हिमाल नियाल्दा जीवनका अनेक चिन्ता आफैं हराउँछन्। बादलसँग खेल्दै, हावासँग कुरा गर्दै र खुला आकाशमुनि बस्दा आत्मा हलुका हुन्छ। प्रकृतिले सिकाउँछ, शान्त रहन, सरल रहन र वर्तमान क्षणलाई महसुस गर्न। शैलुङको हरियो काख र कालिञ्चोक उचाइले सधैं सम्झाइरहन्छ–उचाइ केवल डाँडाको मात्र हुँदैन, मनको पनि हुन्छ।
प्रतिक्रिया दिनुहोस !