आसन्न निर्वाचन र मतदाता शिक्षा

आसन्न निर्वाचन र मतदाता शिक्षा
सुन्नुहोस्

आसन्न निर्वाचनको सञ्चालन तथा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचन, २०८२ को प्रयोजनका लागि पुरुष ९६,६३,३५८ महिला– ९२,४०,१३१ र अन्य– दुई सय गरी जम्मा मतदाता- १,८९,०३,६८९ कायम गरिएका छ। यो संख्या अघिल्लो संख्याभन्दा ९,१५,११९ ले बढी हो। आसन्न निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मात्र १२ राजनीतिक दल ११ निवार्चन चिह्न, समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र ६ राजनीतिक दलले ६ चिह्न र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रढाली दुवैतर्फ ५७ राजनीतिक दल ५१ निर्वाचन चिह्नसहित ७५ राजनीतिक दल ६८ निर्वाचन चिह्न लिएर निर्वाचनमा भाग लिइरहेका छन्।

राजनीतिक दल र स्वतन्त्र गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणलीतर्फ जम्मा ३,४०४ र समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलहरूले पेस गरेको बन्द सूचीतर्फ जम्मा ३,१३५ जना उम्मेदवारको उम्मेदवारी योग्य ठहरिएका छन्। निर्वाचनमा मतदान प्रक्रिया र सुरक्षा व्यवस्थापनका लागि ५,५४,००० कर्मचारी परिचालन गर्ने आयोगको तयारी रहेको छ। मतदान प्रक्रियाको लागि १०,९६७ मतदानस्थलमा २३,११२ मतदान निर्धारण गरिएको छ। यस लेखमा निर्वाचन शिक्षा,मतदाता शिक्षा,मतदाता शिक्षा विशेष कार्यक्रम,मतदाता शिक्षा स्वयंसेवकको स्वीकृत कार्यहरू र चुनौतीहरू  समावेश गरिएको छ।

निर्वाचन शिक्षाः निर्वाचन शिक्षा नागरिक शिक्षाको अंश हो।नागरिक शिक्षाले नागरिकलाई आफू सरोकारित विषयमा छनोट गर्न सक्ने वैचारिक सोच र सुझबुझपूर्ण निर्णय गर्न सक्षम बनाउँदछ। मतदाता शिक्षा,निर्वाचन शिक्षा र नागरिक शिक्षाको शृंखलामा नागरिक शिक्षालाई उच्च स्थानमा राखिएको हुन्छ। निर्वाचन शिक्षा लोकतान्त्रिक मुलुकमा निरन्तर चलिरहने शैक्षिक कार्यक्रम हो। 

निर्वाचन शिक्षा आम मतदाता र सरोकारवालाई लोकतन्त्र,संविधान,निर्वाचन प्रणाली र प्रक्रिया,नागरिक अधिकार र कर्तव्य,सरोकारवालाको भूमिका,राजनीतिक दल,शासन प्रणाली र मुलुकले इतिहासमा अवलम्बन गरेका शासन प्रणाालीलगायतका विषयवस्तु समेटिएको हुन्छ। नेपालको सन्दर्भमा निर्वाचन आयोग,नेपाल र आयोगबाट स्वीकृति प्राप्त निकायबाट निर्वाचन शिक्षा प्रदान गरिदैं आएको देखिन्छ। निर्वाचन शिक्षाले सम्बद्ध विषयवस्तु समेटी नागरिकमा सचेतना फैंलाउन टेवा पु¥याउने विश्वासका साथ सञ्चालन गरिएको हुन्छ।

मतदाता शिक्षाः निर्वाचनका तीनवटा चरणमध्ये निर्वाचन अवधिको चरणमा मतदातालाई निर्वाचनका लागि तयारी अवस्थामा राख्न सञ्चालन गरिने मतदाता लक्षित शैक्षिक कार्यक्रम नै मतदाता शिक्षा हो। मूलतः मतदातालाई मतदानको महत्व,मतदान प्रक्रिया,मतदान गर्ने सही तरिका,मतपत्रको प्रयोग,मत सदर र मत बदर हुने अवस्थासँग सम्बन्धित विषयवस्तुहरू समावेश गरी प्रशिक्षित गरिन्छ। यो मतदाता सचेतना कार्यक्रम पनि हो।

निर्वाचन व्यवस्थापन निकाय र स्वीकृत विधि प्रक्रियाको मापदण्ड भित्र रहेर अनुमति प्राप्त निकाय वा संस्था मार्फत मतदाता शिक्षा सञ्चालन गरिन्छ। मतदाता शिक्षा कार्यक्रममा भावी मतदातालाई समेत लक्षित गरी  कार्यक्रम तय गरिएको हुन्छ।

मतदाता शिक्षाविशेष कार्यक्रमः निर्वाचन आयोगले ‘सक्षम मतदाता उन्नत संस्कार,स्वच्छ निर्वाचन लोकतन्त्रको आधार’भन्ने मूल मर्मका साथ अगाडि बढाइरहेको छ। मतदाता शिक्षा विशेष कार्यक्रमको मुख्य उद्देश्य आम मतदातालाई सही,तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको  विकास गर्नु हो। मतदान कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि गर्नु र बदरमतको न्यूनीकरण गर्नु हो।घरदैलो तथा विद्यालयस्तरमा मतदाता शिक्षा,आम सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत सञ्चालनले प्रविधिमैत्री र प्रविधिसँग साक्षात्कार नरहेका दुवै प्रकारका मतदातालाई समेटिएको छ।

मतदाता शिक्षाको मूलध्येय बदर मतको प्रतिशत  घटाउनु नै हो। आसन्न निर्वाचनमा निर्वाचन आयोगले ३ फागुनदेखि १७ गतेसम्म सञ्चालन हुने गरी स्थानीय तहका सबै (६७४३) वडामा विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। वडास्तरमा मतदाता शिक्षासम्बन्धी अन्तक्र्रिया सञ्चालन गर्न प्रत्येक वडामा मतदाता शिक्षा स्वयंसेवक खटाउने प्रबन्ध रहेको छ।

स्वयंसेवक कार्यहरू: निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचन,२०८२ मतदाता शिक्षा विशेष कार्यक्रममा व्यवस्था भएबमोजिम स्वयंसेवकहरूका मुख्य–मुख्य कार्यहरू यस प्रकार रहेका छन्। क)वडास्तरका सम्पूर्ण विद्यालयमा तथा प्रत्येक वस्तीमा भ्रमण गरी घरदैलो कार्यक्रम गर्ने,(ख)नमुना मतपत्र देखाएर मतदातालाई मतदान गर्ने सही तरिका जानकारी गराउने, (ग) आयोगले प्रयोगमा ल्याएका सामाजिक सञ्जालबारेमा जानकारी र आबद्धता गराई यसको प्रयोग गर्न सिकाउने,(घ निर्वाचन आचारसंहितामा भएका मतदाताले पालना गर्नुपर्ने मुख्यमुख्य व्यवस्थाहरूबारे मतदातालाई जानकारी गराउने,(ङ)सामाजिक सञ्जालको प्रयोग गर्दा निर्वाचनसम्बन्धी विषयमा फैलिने सक्ने गलत वा भ्रामक सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबारे जानकारी गराउने,(च) निर्वाचन र मतदान  सम्बन्धमा  मतदाताका प्रश्न जिज्ञासा र गुनासाहरूको सही र स्पष्ट जवाफ दिने आदि।

मतदाता शिक्षाका चुनौतीहरूः निर्वाचन आयोगले आसन्न निर्वाचनलाई मध्यनगर गर्दै बहुआयमिक रूपमा मतदाता शिक्षालाई विशेष कार्यक्रमालाई अगाडि बढाइरहेको छ। निर्धारित उद्देश्य प्राप्तिको लागि वैकल्पिक उपायसहित आम मतदाता समक्ष मतदाता शिक्षाको पहुँच लागि संयन्त्रगत प्रयासका बाबजुद मतदाता शिक्षा विशेष कार्यक्रमका केही चुनौतीको अनुभुत गरिएको छ।

क. शैक्षिक अवस्थाः नेपालको जनगणनाअनुसार पाँच वर्ष वा सोभन्दा माथिको जनसंख्यामा नेपालको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ। यसको अर्थ नेपालमा आजका मितिसम्म प्रतिसय जनामा २४ जना मानिसहरू निरक्षर छन् भन्ने बोध हो। साक्षरमध्ये पनि एसएलसी वा सो सरह उत्तीर्ण ९.५ प्रतिशत,प्रमाणपत्र वा सो सरह १२.७ प्रतिशत र स्नातक वा सो सरह ४.६ प्रतिशत र स्नातकोत्तर वा सो सरह वा सोभन्दा माथि २.२ प्रतिशतमात्र रहेको छ। तहगत शिक्षा प्राप्त गरेका नागरिकहरूलाई मतदाता शिक्षा प्रदान गर्दा प्रविधिको प्रयोग, सीमित स्रोतसाधन, सीमित समयको खर्चमा गुणस्तर कायम गर्दै मतदानमा मतदाताको अभिवृद्धि गर्न सहज हुन्छ भन्ने मत राख्न सकिन्छ। 

निरक्षर हुँदैमा सही ढंगले मतपत्रको प्रयोग गर्न नसक्ने भन्ने हुँदैन। नेपाली मतदाताहरूसँग सात दशकको लामो विस्तारित निर्वाचन अनुभव छ। अनुभवको निरन्तरता र बढ्दो शिक्षित मतदाताको उपस्थितिले नै विगतको निर्वाचनमा बदर मत औसत पाँच प्रतिशतमा स्थिर रहेको छ। शिक्षित मानिसको बीचमा तुलनात्मक रूपमा मतदाता शिक्षाजस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहज, सरल  हुन्छ। यसको दीर्घकालीन प्रभाव रहनेतर्फ मत जाहेर गर्न अवश्य सकिन्छ। निर्वाचन आयोगले हरेकजसो निर्वाचनमा नागरिकको सहभागिता अभिवृद्धि न्यून मत बदरको अपेक्षासहित मतदाता शिक्षालाई मतदाताको घरदैलोमा पुर्‍याइरहेको छ। साक्षरता दर भौगोलिक रूपमा समान छैन,सहरी क्षेत्रमा बसोबास गर्ने मानिस र ग्रामीण  तथा विकट क्षेत्र बसोबास गर्ने मानिस शैक्षिक अवस्थाको असमनतालाई समानता तरहले प्रशिक्षित गर्न चुनौती देखिन्छ।

ख. इन्टरनेटको उपलब्धता र प्रयोगः नेपालमा मोबाइल फोन इन्टरनेट प्रयोगकर्ता संख्या पनि दिनानुदिन बढ्दो क्रममा रहेको छ। सोह्रौं योजनाको परिमाणाात्मक लक्ष्यमा उल्लेख (आधार वर्ष २०७९/०८०) भएअनुसार ६९.२ प्रतिशत  जनसंख्यामा इन्टरनेट पहुँच पुगेको तथ्यांक छ। नेपाल दूरसञ्चार प्राधिकरणको हालसालै सार्वजनिक गरेको एमआईएस प्रतिवेदनअनुसार जनसंख्याको  अनुपातमा ११८ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन्। ३०–४० प्रतिशत जनताले मात्र सहजरूपमा  गुणस्तरीय र सुरक्षित इन्टरनेट सुविधा उपयोग गरिरहेको अनुमान छ। बहुतहको सुविधा र एक भन्दा बढी साधनको प्रयोगले यस प्रकारको तथ्यांक सार्वजनिक भएको अनुमान गर्न सकिन्छ। तर, तथ्यांकमा देखिएको जस्तो पहुँच समानता कायम भएको देखिँदैन। इन्टरनेटको सुविधाको लागि आज पनि लाखौं जनता प्रतीक्षामा रहेका छन्  डिजिटल डिभाइडको समस्या छ।

मतदाताहरूको इन्टरनेटमा समान तथा सहज पहुँच उपलब्ध छैन। इन्टरनेटको पहुँच सहज भएका स्थानमा समेत स्मार्टफोन,ल्यापटप,डेस्कटपलगायतका औजारमा पहुँच छैन। औजारको पहुँचको भए पनि प्रयोग गर्ने ज्ञान, सीप र अनुभवको कमी देखिन्छ । 

ग. सत्यतथ्यको पहिचानः क्रमविधिको (अल्गोरिदम) सहायतामा उत्पादन भएर सञ्जालीकृत भएका गलत वा भ्रामक सूचना,दुष्प्रचार र द्वेषपूर्र्ण अभिव्यक्तिको पहिचान गरी सत्य तथ्य पहिचान कठिन कार्य हो। मतदाता शिक्षा विशेष कार्यक्रम मार्फतगलत वा भ्रामक सूचना,दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको पहिचान गर्न सक्ने मतदाता तयार गर्न सूचना तथा प्रविधिको साक्षरता, स्रोतसाधनको सीमितता,प्रविधिको प्रयोगमा भौगोलिक जटिलता,इन्टरनेट समयको सीमितताजस्ता विषयले चुनौती सिर्जना गरेको देखिन्छ। 

जसले विश्वसनीय सूचना पाउनु कठिन र जटिल भनेको छ। विभिन्न स्रोतबाट उत्पादित गलत वा भ्रामक सूचना,दुष्प्रचार र द्वेषपूर्ण  अभिव्यक्तिले सिर्जना गरेको पहिचानको ज्ञानको अभावमा मतदाताहरू गलत सूचनाको मारमा पर्ने सम्भवाना देखिन्छ। दुष्प्रचार निहित स्वार्थ राखी अरूलाई हानिनोक्सानी पुर्‍याएर आफू वा आफ्नो पक्षलाई फाइदा पुर्‍याउने उद्देश्यले सम्प्रेषण गरिएको हुन्छ  द्वेषपूर्ण अभिव्यक्ति उत्तेजनाको परिणाम हो,यसमा आफ्नो विपक्षीप्रति कटाक्ष गरी बोल्ने र गाली गर्ने, बेइज्जत गर्नको लागि बोल्ने गरिन्छ।द्वेषपूर्ण अभिव्यक्तिमा सामाजिक र मानवीय संवेदनशीलता समेत हेक्का राखिएको देखिँदैन। यस प्रकारका प्रवृत्ति र विषाक्त सूचनाबाट मतदाता शिक्षालाई मुक्त राख्न चुनौती रहेको छ।

घ.भौगोलिक जटिलताः उच्च भौगोलिक क्षेत्रमा यातायातको सुविधा,हिउँद याम,जाडो मौसम,हिउँ पर्ने र पग्लने प्रक्रियाको निरन्तरता,पहाडमा एउटा बस्तीबाट अर्को बस्तीबीचको दूरीले गर्दा स्वयंसेवकलाई नागरिकको घरदैलोमा पुग्न असहज हुने विषय पनि चुनौतीको रूपमा हेरिएको छ।

ङ. मतदाताहरूको मौसमी बसाइँसराइः उच्च हिमाली क्षेत्रका बासिन्दाहरू जाडो छल्न राजधानीलगायतका सहर र तराईमा अस्थायी बसाइँसराइ सर्ने विगतदेखि अभ्यासले गर्दा स्थायी बासस्थानमा मतदाता नभेटिने र मतदाता शिक्षा कार्यक्रमको पहुँचभन्दा बाहिर रहने सम्भावना रहेको देखिन्छ।

यद्यपि,सूचना प्रविधिको पहुँचमा रहेका मतदाताका लागि निर्वाचन आयोगले आमसञ्चार माध्यम,आफ्नो वेवपेज,आयोगको आधिकारिक सामाजिक सञ्जालबाट निरन्तर मतदाता शिक्षा सामग्रीमार्फत मतदाता शिक्षालाई निरन्तरता दिइरहेको छ।

अन्त्यमा,उल्लिखित चुनौतीका बाबजुद निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिरहेको छ। आम मतदातालाई सही,तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्न निरन्तर अगाडि बढेको छ। 

स्वच्छ,स्वतन्त्र,निष्पक्ष,भयरहित र विश्वसनीय निर्वाचन लोकतन्त्रको मूल आधार हो। निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रक्रियामा पारदर्शिता र सहभागिताको प्रवद्र्धन गरी निर्वाचन सम्पन्न गर्नु निर्वाचनको संवैधानिक दायित्व रहेको छ। लोकतन्त्रको प्रवद्र्धन र संविधानको कार्यान्वयनको लागि यो आकस्मिक निर्वाचन महत्वपूर्ण सावित हुने निश्चित प्रायः छ। नेपाली जनताको स्वशासित हुने उत्कट चाहनाको निरन्तरताका लागि आफ्नो मताधिकारमार्फत आफैं निक्र्योल गर्न आसन्न निर्वाचन कोसेढुंगा सावित हुने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.