प्रतिनिधिसभा निर्वाचन

मोरङका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी र सुरक्षाकर्मी


विराटनगर : प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन मोरङका सबै मतदानस्थल र मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् ।निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक सामग्री जिम्मा लगाएर कर्मचारी र सुरक्षाकर्मीलाई मतदान केन्द्रमा खटाइएको हो । 

मतदान प्रक्रिया सञ्चालनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले बताए । उनका अनुसार मोरङमा कुल ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र तोकिएका छन् । 

सबै केन्द्रमा निर्वाचन सामग्री सुरक्षित रूपमा पुर्‍याइसकिएको जानकारी गुरुङले दिए । उनका अनुसार मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट वितरण गरिएको छ भने अन्य ५२ प्रकारका निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान अधिकृतलाई हस्तान्तरण गरिएको हो । मतपेटिका, सुरक्षण सिल, स्वस्तिक छाप, मतदाता नामावली, फाराम, अभिलेख सामग्री लगायत  सबै आवश्यक उपकरण सम्बन्धित केन्द्रमा पुगिसकेको उनले बताए । 

निर्वाचन सम्पन्न गर्नका लागि मोरङमा ८ सय ८८ जना मतदान अधिकृत र त्यत्तिकै संख्यामा सहायक मतदान अधिकृत खटाइएको छ । त्यसबाहेक ५ हजार ३ सय ४६ जना अन्य कर्मचारी परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा आवश्यक कर्मचारी व्यवस्थापन गरिएकाले मतदान प्रक्रिया सुचारु र व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास लिइएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा दुई–दुई जनाका दरले सहसचिव र उपसचिव स्तरका कर्मचारीको नेतृत्वमा घुम्ती टोली परिचालन गरिएको छ । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा गरी १२ सदस्यीय घुम्ती टोली सक्रिय रहनेछ । टोलीले मतदानको दिन कुनै समस्या उत्पन्न भएमा तत्काल अनुगमन, समन्वय र समाधानको काम गर्नेछ । सुरक्षाकर्मीहरू पनि मतदानस्थलमा तैनाथ भइसकेको र संवेदनशील क्षेत्रमा विशेष निगरानी बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।  

यसपटक मोरङमा प्रतिनिधिसभातर्फ १ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मैदानमा उत्रिएका उम्मेदवारको राजनीतिक भविष्य निर्धारण गर्न जिल्लाका ७ लाख ८३ हजार ५० जना मतदाता मतदान प्रक्रियामा सहभागी हुनेछन् । निर्वाचन आयोगले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेको छ ।

मतदान बिहीबार हुने छ । कर्मचारीहरू सम्बन्धित केन्द्रमा पुगेर मतदानस्थल व्यवस्थापन, मतदान कक्ष निर्माण, संकेतचिन्ह टाँस्ने, मतपेटिका जाँच गर्ने लगायतका पूर्वतयारीमा जुटिसकेका छन् । साथै, अन्तिम समन्वय बैठक र सुरक्षा परीक्षण सम्पन्न गरी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गरिने तयारी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । अब मतदाताको सहभागिता र शान्तिपूर्ण मतदान नै निर्वाचनको सफलताको मुख्य आधार हुने उनको भनाइ छ । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.