निर्वाचन अवरोध प्रयासमा संलग्न नेकपा (बहुमत)का दुई नेता मोरङबाट पक्राउ
विराटनगर : निर्वाचन बहिष्कारका नाममा चुनाव विरोधी गतिविधि गरिरहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई जना जिल्ला तहका नेता मोरङबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–५ का ३७ वर्षीय सुमन पौडेल रहेका छन्। चम्लागाईं मोरङ जिल्ला इन्चार्ज र पौडेल सचिव हुन्। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले बुधबार दिउँसो कानेपोखरी गाउँपालिका–६ स्थित बुद्धचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार उनीहरू निर्वाचन विरोधी पर्चा वितरण तथा गतिविधिमा संलग्न थिए। उनीहरू सुन्दरहरैँचा–१० स्थित पूर्व–पश्चिम राजमार्ग नजिक फेला परेको ‘होक्स बम’ प्रकरणमा समेत संलग्न रहेको आशंकामा अनुसन्धान अघि बढाएको चौधरीले बताए।
पक्राउ परेकाको साथबाट मोटरसाइकल, पाँच थान मोबाइल, पार्टीको झण्डा र १०७ थान पर्चा बरामद भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !