लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरूङलाई पराजित गर्दै रास्वपाका धर्मराज केसी विजयी
लमजुङ : लमजुङमा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्माराज केसी विजयी भएका छन्। शनिबार सम्पन्न मतगणनामा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारको भन्दा दोब्बर मत ल्याउँदै केसी विजयी भएका हुन्।
‘हेभिवेट’ उम्मेदवार नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतान्तरले पछि पार्दै रास्वपाका केसीले जित निकालेका हुन् । निर्वाचनमा खसेको कुल मत ७५ हजार ४६० मतमा ३३ हजार ८९८ मत प्राप्त गर्दै केसीले प्रतिनिधि सभाको यात्रा तय गरेका हुन्।
नेकपा (एमाले) का उम्मेदवार गुरुङले १६ हजार ८७६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरे। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिजंग तामाङले ३ हजार ३७१ मत पाए । देशभर रास्वपाको लहर चल्दा लमजुङमा बलियो संगठन रहेका एमाले र कांग्रेसका उम्मेदवारहरुको संसद यात्रामा ‘ब्रेक’ लाग्न पुगेको छ ।
२०७९ को निर्वाचनमा एमालेका पृथ्वीसुब्बा गुरुङले तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गरेका थिए।
पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याउँदा देवप्रसाद गुरुङ ३१ हजार ७ सय ८१ मतमा सीमित भएका थिए । मतान्तर ३ हजार १ सय ८८ थियो । अघिल्लो परिणामले परम्परागत दुई ठूला दलको प्रभाव बलियो देखाए पनि नयाँ शक्तिप्रति मतदाताको आकर्षण बढ्दा दुई उम्मेदवारको भन्दा दोब्बर मतान्तरले रास्वपाका केसीले बाजी मारे । उनले २०७९ को निर्वाचनमा ९ हजार २९ मत ल्याएका थिए।
मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका केविन्द्रजंग गुरुङले १ हजार, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले ५६५, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङले ३५१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रविन्द्र नखोलाले १४४, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले १३०, जनादेश पार्टी नेपालका मिलन बास्कोटाले ५३, नेश्नल रिपब्लिक पार्टीका भरत गुरुङले ४१ र नेपाल मजदुर किसान पार्टीकी गुजेश्वरी प्रजापति मगजुले १२ मत पाए।
प्रतिक्रिया दिनुहोस !