'माटो' ले रोक्यो रास्वपाको दुई तिहाइ, सूर्य छेकियो, रुखलाई धक्का

'माटो' ले रोक्यो रास्वपाको दुई तिहाइ, सूर्य छेकियो, रुखलाई धक्का

काठमाडौं : फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको मत परिणाम अनुसार हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम सँस्कृति पार्टीले राष्ट्रिय राजनीतिमा शानदार ‘इन्ट्री’ मारेको छ ।

पार्टी दर्ताको पाँच महिनामै माटो चुनाव चिन्हको श्रम सँस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्दै आफूलाई राष्ट्रिय दलको मान्यता दिलाउन सफल भएको छ । तीन सांसदलाई चुनाव जिताउँदै समानुपातिकतर्फ तीन लाख ८५ हजार ८५६ मत ल्याएको श्रम सँस्कृतिले आफूलाई राष्ट्रिय मान्यता प्राप्त दलका रुपमा दर्ज मात्र गरेन, पुराना दलको किल्ला र गढ भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुई तिहाइ पुर्‍याउन बाधक पनि बन्यो। 

श्रम सँस्कृति अब संसदको पाँचौं ठूलो दल बनिसकेको छ । माटोले समानुपातिकतर्फ चार सिट पक्का गरिसकेको पनि छ । यससँगै प्रतिनिधिसभामा श्रम संस्कृतिका सात सांसद हुने निश्चित भएको छ । छोटो समयमै पूर्वबाट ‘माटो’ को उदयले कांग्रेस–एमालेका दशकौंका गढ र किल्ला मात्र भत्किएनन्, दुई तिहाइको सरकार बनाउने रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन (बालेन्द्र) शाहको सपनामा समेत ‘तुषारापात’ ल्याई दिए । छोटो अवधिमै श्रम सँस्कृति नयाँ राष्ट्रिय दल बन्दै संसद प्रवेश गरेपछि यो पार्टी राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । 

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ । प्रत्यक्षतर्फ १२५ सिट जित्दै उक्त दल पहिलो बनेको हो । १८ सिटसहित कांग्रेस दोस्रो ठूलो दल बनेको छ । प्रत्यक्षमा ९ सिट जितेर एमाले तेस्रो र ८ सिट जितेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौंथो बनेका छन् । श्रम संस्कृति पार्टी पाँचौं राष्ट्रिय दलका रूपमा उभिँदा एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाउँदै छैटौं दल बनेको छ ।

श्रम संस्कृति पार्टी गत असोज महिनामा मात्रै खुलेको हो । अध्यक्ष हर्कराज राईले असोजको अन्तिम साता निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले कात्तिक १६ गते औपचारिक रूपमा दर्ता गर्दै प्रमाणपत्र प्रदान गरेको थियो । गत भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’ पछि धरानका तत्कालीन मेयर राई प्रधानमन्त्रीको आकांक्षासहित काठमाडौं आएका थिए । तर, प्रधानमन्त्री नबनेपछि आक्रोशित उनले आफ्नै नेतृत्वमा पार्टी खोले । 

बहुमत ल्याएर सरकार गठन गर्ने र आफू प्रधानमन्त्री बन्ने दावी गर्दै उनले चुनावमा भोट मागे । श्रम संस्कृति पार्टीले देशभर १०९ स्थानमा उम्मेदवारी दिएको थियो । तीमध्ये तीन जनाले प्रत्यक्षतर्फ विजय हासिल गरेका छन् । अध्यक्ष राई सुनसरी–१ बाट निर्वाचित भए । त्यस्तै पार्टीका महासचिव आरएन राई खोटाङबाट र नेता ध्रुव राई भोजपुरबाट निर्वाचित भए ।

प्रतिनिधिसभा निर्वाचनको परिणाम र माटोको उदयले कोशी प्रदेशको परम्परागत राजनीतिक समीकरण उल्टिएको छ  । कोशी प्रदेशका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र छन् । २०७९ सालको निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमालेले १३ सिट जितेको थियो । नेपाली कांग्रेस ९ क्षेत्रमा विजयी हुँदा नेकपाले ३ क्षेत्र जितेको थियो । जसपा नेपाल, राप्रपा र स्वतन्त्र उम्मेदवारले १–१ क्षेत्र जितेका थिए ।

यस पटक पटक १७ क्षेत्रमा रास्वपा उम्मेदवार विजयी भएका छन् । श्रम संस्कृति पार्टी तीन क्षेत्रमा विजयी हुँदा  नेकपा एमाले र नेपाली कांग्रेस ४–४ वटा क्षेत्र जितेका छन् । २०७९ सालमा तीन क्षेत्र जितेको नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) यो पटक कोशी प्रदेशको एउटा क्षेत्र बाहेक सबै क्षेत्रमा निकटतम प्रतिष्पर्धी समेत हुन सकेन ।

कहाँ को विजयी ?
कोशी प्रदेशमा भर्खरै मात्र उदाएको रास्वपाले झापा, मोरङ र उदयपुर जिल्लामा ‘क्लिन स्विप’ गर्‍यो । सुनसरीमा भने श्रम संस्कृति पार्टीले एक क्षेत्र आफ्नो बनायो । झापा–१ बाट रास्वपा उम्मेदवार निशा डाँगी विजेता बनिन् । २ बाट इन्दिरा राना विजयी हुँदा ४ मा शम्भुप्रसाद ढकालले जिते ।

झापा क्षेत्र नम्बर–५ बाट बालेन्द्र शाह (बालेन) विजयी भए । विजयी बालेनले ६८ हजार ३४८ मत ल्याउँदा मुख्य प्रतिष्पर्धी पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत पाए । यो क्षेत्रमा २०७९ सालमा नेकपा एमाले अध्यक्ष ओली विजयी भएका थिए ।

झापाकै क्षेत्र नम्बर–४ बाट विजयी रास्वपाका ढकालले ४३ हजार ६३१ मत पाए । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत पाए । यो क्षेत्रबाट २०७९ सालमा एमाले उम्मेदवार साँवा विजयी भएका थिए । पछिल्लो समय कोशी प्रदेशमा उदाएको रास्वपाले झापा, मोरङ र उदयपुर जिल्लामा ‘क्लिन स्विप’ गर्‍यो । सुनसरीमा भने श्रम संस्कृति पार्टी एक क्षेत्र जित्यो ।

क्षेत्र नम्बर ३ मा रास्वपाकै प्रकाश पाठक ३८ हजार ६७४ मतसहित विजयी भए । यो क्षेत्र २०७९ सालमा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जितेका थिए । क्षेत्र नम्बर २ मा बाट राना ६० हजार ११० मतसहित विजयी भइन् । २०७९ सालको निर्वाचनमा विजयी भएका एमाले नेता देवराज घिमिरेले यो पटक जम्मा ११ हजार ३६८ मत मात्र पाए ।

क्षेत्र नम्बर–१ मा  निशा डाँगी ४५ हजार ६८० मतसहित विजयी हुँदा कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत ल्याए । यो क्षेत्रबाट २०७९ सालमा कांग्रेसका विश्वप्रकाश शर्मा विजयी भएका थिए । मोरङमा पनि रास्वपाले ‘क्लिन स्विप’ ग¥यो । मोरङ–१ बाट यज्ञमणी न्यौपाने, २ बाट कृष्ण कार्की, ३ बाट गणेश कार्की, ४ बाट सन्तोष राजवंशी, ५ बाट आशा झा र क्षेत्र नम्बर ६ बाट रुविना आचार्य विजयी भइन्

मोरङ–६ बाट रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी हुँदा कांग्रेस नेता शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै पाए । २०७९ सालको निर्वाचनमा कोइराला नै यो क्षेत्रबाट विजयी भएका थिए । क्षेत्र नम्बर ५ मा आशा झा ३० हजार ४३४ मतसहित विजय भइन् ।

निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार फूलकुमार लालवानीले ९ हजार ४१५ मत पाए । २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए । मोरङ–४ मा पनि रास्वपा उम्मेदवार सन्तोष राजवंशी विजयी भए ।

उनले ४० हजार ८३३ मत ल्याउँदा कांग्रेस महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरे । यो क्षेत्रबाट २०७९ मा नेकपाका अमनलाल मोदीले बाजी मारेका थिए । क्षेत्र नम्बर–३ मा रास्वपाका गणेश कार्की ३६ हजार ९२४ मतसहित विजयी हुँदा निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार सुनिल शर्माले २४ हजार ३५४ मत पाए । २०७९ को निर्वाचनमा शर्मा यो क्षेत्रबाट विजयी भएका थिए ।

क्षेत्र नम्बर २ मा कृष्णकुमार कार्की विजयी भए । कार्कीले ४० हजार ९२४ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी एमाले उम्मेदवार दिलिपकुमार अग्रवाल १५ हजार ६२४ मतमा खुम्चिए । यो क्षेत्र २०७९ को निर्वाचन एमालेका ऋषिकेश पोखरेलले जितेका थिए । मोरङ–१ मा रास्वपाकै यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतसहित निर्वाचित भए ।

निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ती पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन् । २०७९ को निर्वाचनमा कांग्रेस नेता डिगबहादुर लिम्बु विजयी भएका थिए । सुनसरीको चार वटा क्षेत्रमध्ये तीन क्षेत्र रास्वपाले जितेको छ भने एउटामा श्रम संस्कृति पार्टी विजयी भएको छ ।

क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ३५ हजार ७४१ मतसहित विजयी हुँदा दोस्रो भएकी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार गोमा तामाङको २७ हजार २४९ मत पाइन् । यो क्षेत्रबाट २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राई विजयी भएका थिए ।

सुनसरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार लालविक्रम थापा निर्वाचित भए । थापाले ५७ हजार ३४८ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे । २०७९ को निर्वाचनमा यो क्षेत्र नेकपा एमालेका भीम आचार्यले जितेका थिए । 

क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै अशोककुमार चौधरी विजयी भए । यसअघि उनी समानुपातिक सांसद थिए । यो पटक ४७ हजार ४२१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत पाए । २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट एमाले उम्मेदवार भगवती चौधरी निर्वाचित भएकी थिइन् ।

२०७९ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट विजयी भएका कांग्रेस नेता ज्ञानेन्द्र कार्की राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार दीपककुमार साहसँग पराजित भए । ४२ हजार ७७१ मतसहित साह निर्वाचित हुँदा कार्कीले १६ हजार ५८७ मत पाए ।

दुई निर्वाचन क्षेत्र रहेको उदयपुर जिल्ला पनि रास्वपाले ‘क्लिन स्विप’ गर्‍यो । क्षेत्र नम्बर १ मा रास्वपाका पारसमणि गेलाल ३० हजार ५९० मतसहित निर्वाचित भए हुँदा निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६०६ मत पाए । यसअघि कांग्रेस नेता डा. नारायण खड्का निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर २ मा रास्वपाका सूर्यबहादुर तामाङ्ग विजयी भए । अघिल्लो निर्वाचनमा एमालेका अम्बरबहादुर रायमाझीले जितेका थिए । रास्वपाले ओखलढुंगामा पनि जित हात पार्‍यो । २०७९ को निर्वाचन कांग्रेसका नेता रामहरि खतिवाडाले जितेको ओखलढुंगामा यस पटक रास्वपाका विश्वराज पोखरेल विजयी भए । पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार कुमार लुईंटेलले १३ हजार ९४८ मत पाए ।

दुई निर्वाचन क्षेत्र रहेको इलाममा कांग्रेस र एमालेबाट युवा नेताले एक–एक सिट जिते । इलाम–१ मा कांग्रेसका निश्कल राई १४ हजार ५४३ मतसहित निर्वाचन भए । निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत पाए । २०७९ मा यो क्षेत्रबाट एमाले उम्मेदवार महेश बस्नेत विजयी भएका थिए । यो क्षेत्र तीन दकश भन्दा बढी समयदेखि कम्युनिष्टको दह«ो किल्लाका रुपमा चिनिएको थियो ।

क्षेत्र नम्बर–२ मा एमाले सुहाङ नेम्वाङ फेरि निर्वाचित भए । २०८१ को उपनिर्वाचन जितेका नेम्वाङले यो पटक २२ हजार ४२६ मत ल्याए। निकटतम बनेका नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत पाए । पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन् । केरुङले १७ हजार २३३ मतसहित विजयी हुँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्माले १४ हजार ७३४ मत पाए ।

धनकुटामा एमाले नेता राजेन्द्र राई दोहोरिए । २०७९ को निर्वाचनमा जितेका उनी यो पटक पनि १८ हजार १३२ मतसहित विजयी भए । दोस्रो कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाए । भोजपुरमा माटोका ध्रुवराज राई विजयी भए ।

१६ हजार ६६३ मतसहित राई विजयी हुँदा नेकपा एमाले उम्मेदवार शेरधन राईले १४ हजार ७५० मत पाए । यो क्षेत्रमा २०७९ सालमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार सुदन किराती विजयी भएका थिए । भोजपुर पनि कम्युनिष्टको पुरानो किल्ला हो ।

खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई १६ हजार ६१२ मतसहित विजयी भए । नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत ल्याए । २०७९ सालमा यो क्षेत्रबाट नेकपा उम्मेदवार रामकुमार राई विजयी भएका थिए । तेह्रथुममा कांग्रेस उम्मेदवार सन्तोष सुब्बा निर्वाचित भए ।

११ हजार ५६१ मतसहित सुब्बा निर्वाचित हुँदा नेकपा एमाले उम्मेदवार भानुभक्त ढकाल १० हजार ६८२ मतसहित दोस्रो भए । २०७९ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेतृ सीता गुरुङ विजयी भएकी थिइन् । सोलुखुम्बुमा कांग्रेस उम्मेदवार प्रकाशसिंह कार्की १३ हजार १६६ मतसहित विजयी हुँदा मुख्य प्रतिष्पर्धी नेकपाका असीम राईले ९ हजार ४१४ मत पाए ।

२०७९ को निर्वाचनमा यो क्षेत्रबाट एमालेका मानवीर राई निर्वाचित भएका थिए । ताप्लेजुङमा एमाले उम्मेदवार क्षितिज थेबे १३ हजार ९६२ मतका साथ विजयी भए । निकटतम प्रतिष्पर्धी कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ मत ल्याए । २०७९ सालमा यो क्षेत्रबाट एमाले नेता योगेश भट्टराई विजयी भएका थिए ।

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित भए । २०७९ सालमा कांग्रेसका दीपक खड्काले जितेको यो जिल्लामा कार्कीले १५ हजार ६३६ मत ल्याए । रास्वपा उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत पाए ।

समानुपातिकमा कसको मत कति ? 
कोशी प्रदेशमा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो बनेको छ । समानुपातिकतर्फ रास्वपाले ८ लाख ३६ हजार ७६८ मत प्राप्त गर्दा दोस्रो रहेको नेपाली काग्रेसले २ लाख ७८ हजार ७०७ मत प्राप्त गरेको छ । तेस्रो भएको नेकपा एमालेले २ लाख ७७ हजार ३०१ मत प्राप्त गरेको छ ।

श्रम संस्कृति पार्टी २ लाख ७४ हजार ७२४ मतसहित चौंथो हुँदा नेकपाले एक लाख मत कटाउन सकेन । नेकपाले कोशी प्रदेशमा ९३ हजार ३९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६१ हजार ९०० मत पाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.