बालेनले चुनावमा १४ लाख खर्च गर्दा रविको कति ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नौं लाख ८९ हजार खर्च गरेका छन् । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानले आइतबार चुनावी खर्च विवरण सार्वजनिक गरेका हुन् ।
लामिछानेले मनोनयनमा १० हजार, नमुनापत्र सामग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धनमा २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २००, वडास्तरीय प्रचारमा ४६ हजार, प्रचार सामग्री (झण्डालगायत)मा १ लाख १२ हजार खर्च भएको उल्लेख गरेका छन् ।
निर्वाचनमा भाग लिएका उम्मेदवारले आफ्नो चुनाव खर्चको विवरण सार्वजनिक तथा निर्वाचन आयोगमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ। लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा चुनावी खर्च विवरण बुझाएका हुन् । यसअघि रास्वपाकै वरिष्ठ नेता बालेन शाहले पनि निर्वाचन खर्च सार्वजनिक गरेका थिए । उनको निर्वाचन खर्च १४ लाख १७ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस !