सिन्धुपाल्चोकमा समानुपातिकतर्फ रास्वपा पहिलो, नेकपा दोस्रो
सिन्धुपाल्चोक : प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोकका दुबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ फरक–फरक दलले जित हात पारे पनि समानुपातिक मत परिणाममा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ ।
जिल्लाका दुई प्रतिनिधि सभा क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार भरतप्रसाद पराजुली निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल विजयी भएका थिए ।
तर,समानुपातिक मत परिणामलाई हेर्दा भने रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको छ । दुबै क्षेत्रमा गरी रास्वपाले ५३ हजार ३ सय ९५ मत प्राप्त गरी पहिलो बनेको निर्वाचन अधिकृत राजेशकुमार थापाले बताए ।
समानुपातिक तर्फ नेपाली नेपाली कम्युनिष्ट पार्टी दोस्रो बनेको छ । दुबै क्षेत्रमा गरी नेकपाले २५ हजार ९ सय ४९ मत ल्याएको छ । तेस्रो बनेको नेपाली कांग्रेसले २४ हजार १ सय १९ मत ल्याउँदा नेकपा एमालेले २३ हजार ४ सय ८२ मत ल्याई चौथो बन्न पुगेको छ । सिन्धुपाल्चोकको दुबै क्षेत्रमा ५७/५७ दल सहभागी थिए ।
निर्वाचन परिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाले २७ हजार ५ सय २५ मत पाएको छ,जुन प्रत्यक्षतर्फ पाएको मतभन्दा ३ हजार १ सय २८ बढी हो । यस क्षेत्रबाट विजयी रास्वपाका भरतप्रसाद पराजुलीले प्रत्यक्षतर्फ २४ हजार ४ सय १३ मत प्राप्त गरेका थिए ।
यसै क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधव सापकोटाले प्रत्यक्षतर्फ १७ हजार ३ सय २७ मत पाएका थिए । तर, समानुपातिकतर्फ भने नेकपाले १२ हजार ५ सय ४२ मत मात्रै प्राप्त गरेको छ । नेकपा एमालेका उम्मेदवार सरेश नेपालले प्रत्यक्षतर्फ ११ हजार ९ सय ७१ मत ल्याएका थिए भने समानुपातिकतर्फ एमालेले १० हजार २ सय २५ मत प्राप्त गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर तामाङले प्रत्यक्षतर्फ ११ हजार २ सय १३ मत प्राप्त गर्दा समानुपातिकतर्फ कांग्रेसले ९ हजार ६ सय २८ मत पाएको छ । यो क्षेत्रमा १ लाख ३६ हजार ९ सय ८५ मतदातामध्ये ७४ हजार ३ सय ३७ मतदाताले मात्रै मतदान गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिए । जसमध्ये ३ हजार ४ सय ६२ मत बदर भएको उनले जनाए ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल २१ हजार ६ सय ९९ मतसहित विजयी भएका थिए । तर समानुपातिक मत परिणाममा भने यस क्षेत्रमा पनि रास्वपा पहिलो बनेको छ । यस क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले २५ हजार ८ सय ७० मत प्राप्त गरेको छ । जबकी प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार भलक श्रेष्ठले १४ हजार १९ मत मात्रै पाएका थिए । जुन प्रत्यक्षतर्फ पाएको मतभन्दा ११ हजार ८ सय ५१ बढी हो ।
प्रत्यक्षतर्फ विजयी बनेको नेकपाले समानुपातिक तर्फ भने जम्मा १२ हजार ८ सय ९७ मत मात्रै प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले प्रत्यक्षतर्फ १९ हजार १ सय ४६ मत प्राप्त गरेका थिए भने समानुपातिकतर्फ कांग्रेसले ९ हजार ६ सय २८ मत मात्रै पाएको छ । नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले प्रत्यक्षतर्फ १५ हजार ९२ सय ६ मत ल्याएका थिए भने समानुपातिकतर्फ एमालेले १० हजार २ सय ५५ मत प्राप्त गरेको छ ।
क्षेत्र नम्बर २ मा कुल १ लाख ३९ हजार ५ सय ८ मतदाता रहेकामा ७८ हजार ९ सय ३७ मत खसेको थियो । तीमध्ये ३ हजार १ सय ३९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !