रास्वपाको दुईतिहाइमा दुई सिट कम !

रास्वपाको दुईतिहाइमा दुई सिट कम !

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ बहुमतनजिक पुगेको छ। दुईतिहाइका लागि रास्वपालाई दुई सिटको अभाव भएको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकतर्फ खसेको कुल १ करोड १२ लाख ८० हजार ८ सय ९८ मतमध्ये १ करोड ८ लाख ३५ हजार २७ मत सदर भएको छ। जसमा रास्वपाले सर्वाधिक ५१ लाख ८३ हजार ४ सय ९३ मत प्राप्त गरेको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्षतर्फ १ सय ६५ मध्ये १ सय २५ सिट जितेको छ भने समानुपातिकतर्फको १ सय १० सिटमध्ये ५७ सिट पाउने देखिएको छ। यसरी प्रत्यक्ष र समानुपातिक गरी रास्वपाको कुल १ सय ८२ सिट पुग्ने देखिएको छ, जुन दुईतिहाइ बहुमत (१ सय ८४ सिट) भन्दा मात्र दुई सिट कम हो।

समानुपातिक सिटको अन्तिम बाँडफाँट ‘सेन्ट लग’ विधिबाट हुने भएकाले एक–दुई सिट तलमाथि हुन सक्ने आयोगले जनाएको छ। आयोगले सिट संख्या यकिन गरेपछि दलहरूले आफ्नो बन्द सूचीबाट क्लस्टरका आधारमा नाम पठाउनुपर्नेछ। संघीय संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ।

समावेशी सिद्धान्तअनुसार दलित (१३.८ प्रतिशत), आदिवासी जनजाति (२८.७ प्रतिशत), खस आर्य (३१.२ प्रतिशत), मधेसी (१५.३ प्रतिशत), थारू (६.६ प्रतिशत) र मुस्लिम (४.४ प्रतिशत) प्रतिशतका आधारमा सदस्यहरू निर्वाचित हुनेछन्। सूचना अधिकारी घिमिरेका अनुसार चैत ५ गतेभित्र राष्ट्रपति समक्ष निर्वाचन प्रतिवेदन बुझाउने गरी तयारी भइरहेको छ।

कांग्रेस र एमालेको मतमा भारी गिरावट
समानुपातिकतर्फ नेपाली कांग्रेसले १७ लाख ५९ हजार १ सय ७२ मत पाएको छ, जसबाट उसले २० सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसको कुल ३८ सिट हुने देखिएको छ। अघिल्लो निर्वाचनमा ८९ सिट जितेको कांग्रेसले २०७९ सालमा २६ लाख ६६ हजार २ सय ६२ र २०७४ सालमा ३१ लाख २८ हजार ३ सय ८९ मत प्राप्त गरेको थियो।

यसपटक सबैभन्दा ठूलो क्षति नेकपा एमालेलाई भएको छ। २०७९ को निर्वाचनमा समानुपातिकतर्फ सर्वाधिक मत ल्याएको एमालेले यसपटक १४ लाख ५५ हजार ८ सय ८५ मत मात्र पाएको छ। एमालेले समानुपातिकमा १६ र प्रत्यक्षमा ९ गरी जम्मा २५ सिट मात्र जित्ने देखिएको छ। अघिल्लो निर्वाचनमा ७८ सिट जितेको एमालेले २०७९ मा २७ लाख ९१ हजार ७ सय ३४ र २०७४ मा ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको थियो।

माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ११ हजार ५ सय ७७ मत प्राप्त गरेको छ। उसले समानुपातिकमा ९ र प्रत्यक्षमा ८ गरी कुल १७ सिट पाउने सम्भावना छ। २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले ११ लाख ६२ हजार ९ सय ३१ र एकीकृत समाजवादीले २ लाख ९८ हजार ४ सय ११ मत पाएका थिए भने २०७४ मा माओवादी एक्लैले १३ लाख ३ हजार ७ सय २१ मत ल्याएको थियो।

नयाँ दलको उदय र राप्रपालाई झट्का
हर्क साम्पाङको नेतृत्वमा रहेको नयाँ दल ‘श्रम संस्कृति पार्टी’ यस पटक पाँचौं ठूलो शक्तिका रूपमा उदाउँदै राष्ट्रिय दल बनेको छ। यसले ३ लाख ८५ हजार ८ सय ५६ मत प्राप्त गरी समानुपातिकबाट ४ र प्रत्यक्षबाट ३ गरी कुल ७ सिट सुरक्षित गर्ने देखिएको छ। 

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भने यस निर्वाचनमा ठूलो धक्का लागेको छ। प्रत्यक्षमा मात्र एक सिट जितेको राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ६ सय ८४ मत ल्याएर ३ प्रतिशतको ‘थ्रेस होल्ड’ कटाउँदै राष्ट्रिय दलको मान्यता जोगाएको छ। राप्रपाले समान’पातिकबाट ४ सिट थप्दै क’ल ५ सिट पुर्‍याउने देखिएको छ।

अघिल्लो निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ ७ सहित कुल १४ सिट जितेको थियो। यस्तै, यसपटक म्याग्दीबाट मात्रै स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। उनलाई रास्वपाको समर्थन थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.