रास्वपाको भित्री बहस !
सुशासन र डेलिभरी नै मुख्य कसी हुन् । भ्रष्टाचारमुक्त समाज निर्माण नै पहिलो सर्त हो । रास्वपा यो अग्निपरीक्षामा पास हुनुपर्छ।
विश्वमा नयाँ विकल्पहरू देखा पर्दै आएका छन् । फागुन २१ को निर्वाचन पनि सम्पन्न भयो । देशभरि नै घण्टीको ठूलो आवाज गुञ्जियो । पुराना राजनीतिक दलहरू अहिले सत्ताबाट बाहिरिए । नयाँ रास्वपा पार्टी अहिले भित्र प्रवेश ग¥यो । यो २०८२ भदौको घटना चामत्कारिक जस्तै हो । मतदाताहरू रास्वपाको घण्टीमा निकै झुम्मिएका छन् । यसले पुराना दलका सबै गढ भत्काइदियो । लाल, वाम र कांग्रेसका किल्लाहरू उखेलिए । विरासतहरू अहिले संकटको हिरासतमा पुगेका छन् । ठूला हस्तीहरू अहिले ससाना भुराभुरीजस्ता भए । राजनीतिक ठेकेदारहरूको टेन्डर अब रद्द भयो । अति भएपछि खति हुन्छ भन्ने देखियो । मतदाताहरूले पुराना दलसँग कडा बदला लिए । ती दलहरूको स्वर्गको राज्य अब ढल्यो ।
यो चुनावी नतिजा कसैले चिताएका थिएनन् । मतदाताले एक ऐतिहासिक घटना दर्ता गरे । कार्यकर्ताबाहेक अरूको भोट पुरानालाई परेन । चुनावमा आवेग, आक्रोश र रिसमात्र देखियो । पुराना दललाई न्याय गर्ने पक्षमा कोही छैनन् । विचार र विमर्श यसपटक गौण देखियो । चिनजानबिना नै घण्टीमा भोट खन्याए । उम्मेदवार नभएको ठाउँमा पनि घण्टीमै भोट दिए । उम्मेदवारको गहिराइ कसैले पनि अध्ययन गरेनन् । योग्यता र क्षमताप्रति कसैले मतलव गरेनन् । यो चुनावमा बदलाको भावमात्रै देखियो । घोषणापत्रको अध्ययन कसैले पनि गरेका छैनन् । आश्वासन र प्रतिज्ञापत्रको कुनै सुनुवाइ भएन । नेतृत्व परिवर्तनको विषय पनि यहाँ ओझेलियो । नतिजाले पुराना दलप्रति अविश्वास पुष्टि गर्यो ।
रास्वपा केन्द्रित नतिजाले पुरानालाई बज्रपात पर्यो । नेतृत्वमाथि अहिले धेरै प्रश्न खडा भए । यसले आन्तरिक द्वन्द्वको मुस्लो पनि सल्कायो । स्थापित दलीय मूल्य र मान्यताहरू भत्किए । वाद र दर्शनप्रति ठूलो अवज्ञा देखियो । जातीय र क्षेत्रीय मान्यताहरू पनि लत्याइए । माक्र्स, लेनिन र माओवादको सम्झना भएन । प्रजातान्त्रिक र समाजवादी धाराहरू कतै देखिएनन् । रास्वपालाई जबरजस्ती मन पराइएको अवस्था मात्र हो । घण्टीको मतले मात्र राजनीति हुँदैन । पुराना दलमा सबै नराम्रा पक्कै छैनन् । यो नतिजा परिपक्व ज्ञानको परिणाम होइन । भाग्यले साथ दिँदैमा कर्म सफल हुँदैन । रास्वपाका लागि यो केवल एउटा परीक्षण हो । यो एक ढंगले दक्षिणपन्थी दिशा हो । रास्वपाको जित र हारको कसी बाँकी नै छ । यो पार्टी बन्न धेरै सर्त छन् ।
रास्वपा अहिले बालेन र रविको पर्यायवाची हो । मान्छेको थुप्रो लाग्दैमा राजनीतिक दल बन्दैन । अल्गोरिदम र डिजिटल माध्यमले पार्टी बन्दैन । फेसबुक र युट्युबका सामग्रीले पार्टी बन्दैन । लाइक र कमेन्टको संख्याले पार्टी बन्दैन । यो शैलीको पार्टी सधैं खोक्रो हुन्छ । भिडभाड हुनु र पार्टी बन्नु फरक हो । पार्टी त विचार र सिद्धान्तले बन्छ । बौद्धिक र वैचारिक रणनीतिले दल बन्छ । नेताहरूमा विश्लेषण गर्ने सही क्षमता चाहिन्छ । पार्टी बन्न ठूलो त्याग र संघर्ष चाहिन्छ । दर्शनप्रतिको निरन्तर लक्ष्य र लगानी चाहिन्छ । रास्वपाले यी सबै सर्त पूरा गर्नुपर्छ । जनता र भूगोलसँग अन्तरक्रिया हुनुपर्छ । अनुभव र सम्पर्क बिनाको संगठन दिगो हुँदैन । यो केवल एउटा उद्देश्यको संगठनमात्र हो । पुराना दलका असन्तुष्ट यहाँ जम्मा भए ।
साझा नीति र दर्शन नै पार्टीको सर्त हो । यो नभएको रास्वपा केवल चुनावी संगठन हो । पुरानो छोडौं भन्नु मात्र समाधान होइन । भूगोल र बस्तीमा गएर दुःख गर्नुपर्छ । राजनीतिक अभ्यास नगरेको दलमा प्रश्न हुन्छ । प्राकृतिक र अप्राकृतिक जन्ममा धेरै अन्तर हुन्छ । प्राकृतिक जन्ममा वंशाणु गुण र संस्कार हुन्छ । त्यहाँ धर्म, अनुशासन र सहिष्णुता हुन्छ । अप्राकृतिक जन्ममा यी केही पनि मिल्दैनन् । यसमा क्षणिक आवेग र अधैर्य मात्र हुन्छ । रास्वपामा अहिले यही प्रवृत्ति देखिएको छ । डिजिटल मिडियाको भरमा सुखको प्रक्रिया छ । दुःखले आर्जेको कुरा मात्र धेरै टिक्छ । हावाको भरमा आएका कुरा टिक्दैनन् । विवेक र बुद्धिको लगानी नै दीर्घकालीन हुन्छ ।
सिग्मण्ड फ्राइडका अनुसार यो अचेतन भिड हो । यसमा चेतन तहको निकै ठूलो अभाव छ । हचुवा अनुमानको भरमा समर्थन जुटेको छ । रास्वपामा गैर–राजनीतिज्ञहरूको ठूलो एकता देखिन्छ । सदस्य नभएकाहरूको पनि यो पार्टी हो । विभिन्न पेसाका मानिस यहाँ संगठित छन् । खारिएको राजनीतिक नेतृत्वको यहाँ अभाव छ । पुराना पार्टीहरू पनि विचारबाट पलायन भए । रास्वपाले यो प्रवृत्तिको मतलाई बुझ्नुपर्छ । अचेतन तहले उत्तेजनालाई बढी ग्रहण गर्छ । यो भिडले सधैं छिटो नतिजा खोज्छ । विलियम जेम्सको चेतनाको प्रवाह यहाँ देखिन्छ । यसले दिमागलाई कहिल्यै आराम दिँदैन । यो जमातलाई थामी राख्न निकै कठिन छ । माग पूरा नभए आफैंलाई घातक हुन्छ । मानसिक द्वन्द्व भौतिकभन्दा झन् खतरनाक हुन्छ ।
ह्वात्तै धनी हुनु शुभ संकेत होइन । ह्वात्तै उदाउनु पनि शुभ संकेत होइन । रास्वपाको विजयमा पनि त्यस्तै डर छ । मतदाताले पुराना दलप्रति आक्रोश पोखेका हुन् । घण्टीलाई जिताउनुभन्दा पुरानालाई हराउनु हो । रास्वपालाई सबै मतदाताले अझै चिनेका छैनन् । साँचो जित सत्ताको यात्रा पछि देखिनेछ । सरकारमा गएर काम गरेपछि थाहा लाग्छ । मुलुकको काँचुली फेरेमा मात्र जित हुन्छ । जनतालाई सहज सेवा दिएमा जित हुन्छ । सुशासनसहितको शासन चलाएमा जित हुन्छ । रास्वपाको सरकार हिजोको जस्तो नहोस् । यो जित केवल संख्याको मात्र नहोस् । रास्वपा पुराना दलको डस्टबिन नबनोस् । यो चुनाव थप द्वन्द्वको अनुमोदन नहोस् । लोकतन्त्र केवल कुलिनहरूको प्रतिस्पर्धा नहोस् ।
यसअघि सबै पार्टीले चुनाव जितेकै हुन् । जित्नुभन्दा पनि टिक्नु ठूलो कुरा हो । भोटको थुप्रोभन्दा सार्थकता महत्वपूर्ण हो । रास्वपामा धेरै कमजोरी र अभाव छन् । मतपेटिकामा केवल मतमात्र जम्मा हुँदैन । त्यहाँ आशा, भरोसा र निराशा हुन्छ । त्यहाँ डर, त्रास र घृणा हुन्छ । त्यहाँ चेतना र अचेतनाको मिश्रण हुन्छ । मतपेटिकाबाट बाहिर आएपछि खेल सुरु हुन्छ । विभिन्न टकराव र द्वन्द्व देखिन थाल्छन् । सबै घोषणापत्रमा राम्रा कुरामात्र हुन्छन् । कसैले पनि भ्रष्टाचार गर्छौं भनेका हुँदैनन् । अब रास्वपा यसको अपवाद बन्ला त ? अहिले सरकारमा यसको कडा परीक्षण छ । जनताले अब यसको परिणाम कुरिरहेका छन् ।
विगतका सबै दुईतिहाइ सरकार असफल भए । रास्वपाले हिजोका ती गल्तीहरू नदोहो¥याओस् । घण्टीको ध्वनि केवल चुनावी नारामात्र नबनोस् । यसले जनताको जीवनमा परिवर्तन ल्याउन सकोस् । पुराना दलका विरासत अहिले ढलेका छन् । नयाँ शक्तिले नयाँ संस्कार देखाउन जरुरी छ । भावना र आवेगले मात्र देश बन्दैन । देश बनाउन ठोस योजना र भिजन चाहिन्छ । रास्वपाले आफ्नो सांगठनिक स्वरूप बदल्नै पर्छ । डिजिटल माध्यमबाट बाहिर निस्कन जरुरी छ । गाउँ र बस्तीको माटो छुनुपर्छ । दुःख र संघर्षको बाटो रोज्नुपर्छ । अनिमात्र यो पार्टी वास्तविक पार्टी बन्छ । क्षणिक लोकप्रियता पानीको फोकाजस्तै हुन्छ । सार्थकता र अस्तित्वका लागि धेरै खट्नुपर्छ ।
रास्वपाप्रति अहिले निकै ठूलो जनअपेक्षा छ । यो अपेक्षा पूरा गर्नु फलामको चिउरा हो । अचेतन भिडको माग तुरुन्तै पूरा हुँदैन । यसले धैर्यभन्दा पनि उत्तेजना खोज्छ । उत्तेजनालाई विवेकले नियन्त्रण गर्नुपर्ने चुनौती छ । नेतृत्वले अब निकै गम्भीर भएर सोच्नुपर्छ । कार्यकर्ताहरूमा पनि वैचारिक स्पष्टता हुन आवश्यक छ । केवल नेताको पछि लागेर दल बन्दैन । सामूहिक जिम्मेवारी र विधिको शासन चाहिन्छ । रास्वपाले अब आफूलाई प्रमाणित गर्नैपर्छ । यो निर्वाचन केवल एक सुरुवातमात्र हो । अन्तिम नतिजा त कार्यकालपछि आउनेछ । सुशासन र डेलिभरी नै मुख्य कसी हुन् । भ्रष्टाचारमुक्त समाज निर्माण नै पहिलो सर्त हो । रास्वपा यो अग्निपरीक्षामा पास हुनुपर्छ ।
अन्त्यमा, यो निर्वाचनले ठूलो सन्देश दियो । पुराना शक्तिहरूलाई सच्चिन कडा चेतावनी दियो । नयाँ शक्तिलाई काम गर्न अवसर दियो । यो अवसरलाई रास्वपाले सदुपयोग गरोस् । जनताको विश्वासमाथि कुठाराघात कदापि नहोस् । लोकतन्त्रको सुन्दरता नै यही परिवर्तन हो । तर परिवर्तन केवल पात्रमा मात्र नहोस् । प्रवृत्ति र संस्कारमा पनि परिवर्तन आओस् । रास्वपाको भित्री बहस अब काममा देखियोस् । घण्टीको आवाजले न्याय र समानता बोलोस् । नेपाली माटोको सुगन्ध यसमा पाइयोस् । सबैको आशा र भरोसा जीवित रहोस् । देशले अब सही निकास र विकास पाओस् । रास्वपाको यात्रा सफल र सार्थक बनोस् । यही नै आजको मुख्य आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस !