रास्वपाको भित्री बहस !

रास्वपाको भित्री बहस !

सुशासन र डेलिभरी नै मुख्य कसी हुन् । भ्रष्टाचारमुक्त समाज निर्माण नै पहिलो सर्त हो । रास्वपा यो अग्निपरीक्षामा पास हुनुपर्छ।

विश्वमा नयाँ विकल्पहरू देखा पर्दै आएका छन् । फागुन २१ को निर्वाचन पनि सम्पन्न भयो । देशभरि नै घण्टीको ठूलो आवाज गुञ्जियो । पुराना राजनीतिक दलहरू अहिले सत्ताबाट बाहिरिए । नयाँ रास्वपा पार्टी अहिले भित्र प्रवेश ग¥यो । यो २०८२ भदौको घटना चामत्कारिक जस्तै हो । मतदाताहरू रास्वपाको घण्टीमा निकै झुम्मिएका छन् । यसले पुराना दलका सबै गढ भत्काइदियो । लाल, वाम र कांग्रेसका किल्लाहरू उखेलिए । विरासतहरू अहिले संकटको हिरासतमा पुगेका छन् । ठूला हस्तीहरू अहिले ससाना भुराभुरीजस्ता भए । राजनीतिक ठेकेदारहरूको टेन्डर अब रद्द भयो । अति भएपछि खति हुन्छ भन्ने देखियो । मतदाताहरूले पुराना दलसँग कडा बदला लिए । ती दलहरूको स्वर्गको राज्य अब ढल्यो ।

यो चुनावी नतिजा कसैले चिताएका थिएनन् । मतदाताले एक ऐतिहासिक घटना दर्ता गरे । कार्यकर्ताबाहेक अरूको भोट पुरानालाई परेन । चुनावमा आवेग, आक्रोश र रिसमात्र देखियो । पुराना दललाई न्याय गर्ने पक्षमा कोही छैनन् । विचार र विमर्श यसपटक गौण देखियो । चिनजानबिना नै घण्टीमा भोट खन्याए । उम्मेदवार नभएको ठाउँमा पनि घण्टीमै भोट दिए । उम्मेदवारको गहिराइ कसैले पनि अध्ययन गरेनन् । योग्यता र क्षमताप्रति कसैले मतलव गरेनन् । यो चुनावमा बदलाको भावमात्रै देखियो । घोषणापत्रको अध्ययन कसैले पनि गरेका छैनन् । आश्वासन र प्रतिज्ञापत्रको कुनै सुनुवाइ भएन । नेतृत्व परिवर्तनको विषय पनि यहाँ ओझेलियो । नतिजाले पुराना दलप्रति अविश्वास पुष्टि गर्‍यो ।

रास्वपा केन्द्रित नतिजाले पुरानालाई बज्रपात पर्‍यो । नेतृत्वमाथि अहिले धेरै प्रश्न खडा भए । यसले आन्तरिक द्वन्द्वको मुस्लो पनि सल्कायो । स्थापित दलीय मूल्य र मान्यताहरू भत्किए । वाद र दर्शनप्रति ठूलो अवज्ञा देखियो । जातीय र क्षेत्रीय मान्यताहरू पनि लत्याइए । माक्र्स, लेनिन र माओवादको सम्झना भएन । प्रजातान्त्रिक र समाजवादी धाराहरू कतै देखिएनन् । रास्वपालाई जबरजस्ती मन पराइएको अवस्था मात्र हो । घण्टीको मतले मात्र राजनीति हुँदैन । पुराना दलमा सबै नराम्रा पक्कै छैनन् । यो नतिजा परिपक्व ज्ञानको परिणाम होइन । भाग्यले साथ दिँदैमा कर्म सफल हुँदैन । रास्वपाका लागि यो केवल एउटा परीक्षण हो । यो एक ढंगले दक्षिणपन्थी दिशा हो । रास्वपाको जित र हारको कसी बाँकी नै छ । यो पार्टी बन्न धेरै सर्त छन् ।

रास्वपा अहिले बालेन र रविको पर्यायवाची हो । मान्छेको थुप्रो लाग्दैमा राजनीतिक दल बन्दैन । अल्गोरिदम र डिजिटल माध्यमले पार्टी बन्दैन । फेसबुक र युट्युबका सामग्रीले पार्टी बन्दैन । लाइक र कमेन्टको संख्याले पार्टी बन्दैन । यो शैलीको पार्टी सधैं खोक्रो हुन्छ । भिडभाड हुनु र पार्टी बन्नु फरक हो । पार्टी त विचार र सिद्धान्तले बन्छ । बौद्धिक र वैचारिक रणनीतिले दल बन्छ । नेताहरूमा विश्लेषण गर्ने सही क्षमता चाहिन्छ । पार्टी बन्न ठूलो त्याग र संघर्ष चाहिन्छ । दर्शनप्रतिको निरन्तर लक्ष्य र लगानी चाहिन्छ । रास्वपाले यी सबै सर्त पूरा गर्नुपर्छ । जनता र भूगोलसँग अन्तरक्रिया हुनुपर्छ । अनुभव र सम्पर्क बिनाको संगठन दिगो हुँदैन । यो केवल एउटा उद्देश्यको संगठनमात्र हो । पुराना दलका असन्तुष्ट यहाँ जम्मा भए ।

साझा नीति र दर्शन नै पार्टीको सर्त हो । यो नभएको रास्वपा केवल चुनावी संगठन हो । पुरानो छोडौं भन्नु मात्र समाधान होइन । भूगोल र बस्तीमा गएर दुःख गर्नुपर्छ । राजनीतिक अभ्यास नगरेको दलमा प्रश्न हुन्छ । प्राकृतिक र अप्राकृतिक जन्ममा धेरै अन्तर हुन्छ । प्राकृतिक जन्ममा वंशाणु गुण र संस्कार हुन्छ । त्यहाँ धर्म, अनुशासन र सहिष्णुता हुन्छ । अप्राकृतिक जन्ममा यी केही पनि मिल्दैनन् । यसमा क्षणिक आवेग र अधैर्य मात्र हुन्छ । रास्वपामा अहिले यही प्रवृत्ति देखिएको छ । डिजिटल मिडियाको भरमा सुखको प्रक्रिया छ । दुःखले आर्जेको कुरा मात्र धेरै टिक्छ । हावाको भरमा आएका कुरा टिक्दैनन् । विवेक र बुद्धिको लगानी नै दीर्घकालीन हुन्छ ।

सिग्मण्ड फ्राइडका अनुसार यो अचेतन भिड हो । यसमा चेतन तहको निकै ठूलो अभाव छ । हचुवा अनुमानको भरमा समर्थन जुटेको छ । रास्वपामा गैर–राजनीतिज्ञहरूको ठूलो एकता देखिन्छ । सदस्य नभएकाहरूको पनि यो पार्टी हो । विभिन्न पेसाका मानिस यहाँ संगठित छन् । खारिएको राजनीतिक नेतृत्वको यहाँ अभाव छ । पुराना पार्टीहरू पनि विचारबाट पलायन भए । रास्वपाले यो प्रवृत्तिको मतलाई बुझ्नुपर्छ । अचेतन तहले उत्तेजनालाई बढी ग्रहण गर्छ । यो भिडले सधैं छिटो नतिजा खोज्छ । विलियम जेम्सको चेतनाको प्रवाह यहाँ देखिन्छ । यसले दिमागलाई कहिल्यै आराम दिँदैन । यो जमातलाई थामी राख्न निकै कठिन छ । माग पूरा नभए आफैंलाई घातक हुन्छ । मानसिक द्वन्द्व भौतिकभन्दा झन् खतरनाक हुन्छ ।

ह्वात्तै धनी हुनु शुभ संकेत होइन । ह्वात्तै उदाउनु पनि शुभ संकेत होइन । रास्वपाको विजयमा पनि त्यस्तै डर छ । मतदाताले पुराना दलप्रति आक्रोश पोखेका हुन् । घण्टीलाई जिताउनुभन्दा पुरानालाई हराउनु हो । रास्वपालाई सबै मतदाताले अझै चिनेका छैनन् । साँचो जित सत्ताको यात्रा पछि देखिनेछ । सरकारमा गएर काम गरेपछि थाहा लाग्छ । मुलुकको काँचुली फेरेमा मात्र जित हुन्छ । जनतालाई सहज सेवा दिएमा जित हुन्छ । सुशासनसहितको शासन चलाएमा जित हुन्छ । रास्वपाको सरकार हिजोको जस्तो नहोस् । यो जित केवल संख्याको मात्र नहोस् । रास्वपा पुराना दलको डस्टबिन नबनोस् । यो चुनाव थप द्वन्द्वको अनुमोदन नहोस् । लोकतन्त्र केवल कुलिनहरूको प्रतिस्पर्धा नहोस् ।

यसअघि सबै पार्टीले चुनाव जितेकै हुन् । जित्नुभन्दा पनि टिक्नु ठूलो कुरा हो । भोटको थुप्रोभन्दा सार्थकता महत्वपूर्ण हो । रास्वपामा धेरै कमजोरी र अभाव छन् । मतपेटिकामा केवल मतमात्र जम्मा हुँदैन । त्यहाँ आशा, भरोसा र निराशा हुन्छ । त्यहाँ डर, त्रास र घृणा हुन्छ । त्यहाँ चेतना र अचेतनाको मिश्रण हुन्छ । मतपेटिकाबाट बाहिर आएपछि खेल सुरु हुन्छ । विभिन्न टकराव र द्वन्द्व देखिन थाल्छन् । सबै घोषणापत्रमा राम्रा कुरामात्र हुन्छन् । कसैले पनि भ्रष्टाचार गर्छौं भनेका हुँदैनन् । अब रास्वपा यसको अपवाद बन्ला त ? अहिले सरकारमा यसको कडा परीक्षण छ । जनताले अब यसको परिणाम कुरिरहेका छन् ।

विगतका सबै दुईतिहाइ सरकार असफल भए । रास्वपाले हिजोका ती गल्तीहरू नदोहो¥याओस् । घण्टीको ध्वनि केवल चुनावी नारामात्र नबनोस् । यसले जनताको जीवनमा परिवर्तन ल्याउन सकोस् । पुराना दलका विरासत अहिले ढलेका छन् । नयाँ शक्तिले नयाँ संस्कार देखाउन जरुरी छ । भावना र आवेगले मात्र देश बन्दैन । देश बनाउन ठोस योजना र भिजन चाहिन्छ । रास्वपाले आफ्नो सांगठनिक स्वरूप बदल्नै पर्छ । डिजिटल माध्यमबाट बाहिर निस्कन जरुरी छ । गाउँ र बस्तीको माटो छुनुपर्छ । दुःख र संघर्षको बाटो रोज्नुपर्छ । अनिमात्र यो पार्टी वास्तविक पार्टी बन्छ । क्षणिक लोकप्रियता पानीको फोकाजस्तै हुन्छ । सार्थकता र अस्तित्वका लागि धेरै खट्नुपर्छ ।

रास्वपाप्रति अहिले निकै ठूलो जनअपेक्षा छ । यो अपेक्षा पूरा गर्नु फलामको चिउरा हो । अचेतन भिडको माग तुरुन्तै पूरा हुँदैन । यसले धैर्यभन्दा पनि उत्तेजना खोज्छ । उत्तेजनालाई विवेकले नियन्त्रण गर्नुपर्ने चुनौती छ । नेतृत्वले अब निकै गम्भीर भएर सोच्नुपर्छ । कार्यकर्ताहरूमा पनि वैचारिक स्पष्टता हुन आवश्यक छ । केवल नेताको पछि लागेर दल बन्दैन । सामूहिक जिम्मेवारी र विधिको शासन चाहिन्छ । रास्वपाले अब आफूलाई प्रमाणित गर्नैपर्छ । यो निर्वाचन केवल एक सुरुवातमात्र हो । अन्तिम नतिजा त कार्यकालपछि आउनेछ । सुशासन र डेलिभरी नै मुख्य कसी हुन् । भ्रष्टाचारमुक्त समाज निर्माण नै पहिलो सर्त हो । रास्वपा यो अग्निपरीक्षामा पास हुनुपर्छ ।

अन्त्यमा, यो निर्वाचनले ठूलो सन्देश दियो । पुराना शक्तिहरूलाई सच्चिन कडा चेतावनी दियो । नयाँ शक्तिलाई काम गर्न अवसर दियो । यो अवसरलाई रास्वपाले सदुपयोग गरोस् । जनताको विश्वासमाथि कुठाराघात कदापि नहोस् । लोकतन्त्रको सुन्दरता नै यही परिवर्तन हो । तर परिवर्तन केवल पात्रमा मात्र नहोस् । प्रवृत्ति र संस्कारमा पनि परिवर्तन आओस् । रास्वपाको भित्री बहस अब काममा देखियोस् । घण्टीको आवाजले न्याय र समानता बोलोस् । नेपाली माटोको सुगन्ध यसमा पाइयोस् । सबैको आशा र भरोसा जीवित रहोस् । देशले अब सही निकास र विकास पाओस् । रास्वपाको यात्रा सफल र सार्थक बनोस् । यही नै आजको मुख्य आवश्यकता हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.