एक महिनामा १० दुर्घटना
नुवाकोटमा एक महिनामा १० दुर्घटना भएको छ। एक जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।
बितेको फागुन महिनामा नुवाकोटका विभिन्न सडकमार्गमा १० वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार १० दुर्घटनामा ११ वटा यातायातका साधन प्रभावित भएका थिए।
दुर्घटनामा एक जनाको ज्यान जानुका साथै दुई जना गम्भीर र १८ जना सामान्य घाइते भएको प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा प्रहरीले ११ जनाको उद्धार गरेको थियो।
यातायातको तीव्र गति, सडकको अवस्था र मादक पदार्थ सेवनका कारण यातायात दुर्घटनामा परेको प्रहरीले जनाएको छ। ट्राफिक नियमको पालना गरी यातायात चलाउन प्रहरीले आग्रह गरेको छ।
यसका साथै बितेको एक महिनाको अवधिमा सवारी चेकजाँचको क्रममा विभिन्न ३ सय ८ वटा यातायातका साधनहरू कारबाहीमा परेका छन्। उनीहरूबाट ३ लाख १७ हजार ५ सय रुपैयाँ जरिबाना गरी राजस्व संकलन भएको नुवाकोट प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !