तातोपानीमा विशाल पहिरो नियन्त्रण आयोजना सुरु

तातोपानीमा विशाल पहिरो नियन्त्रण आयोजना सुरु

सिन्धुपाल्चोक : नेपाल–चीन सीमा क्षेत्रमा रहेको तातोपानीको इको पहिरो नियन्त्रणका लागि ४७ करोडको विशाल पहिरो नियन्त्रण आयोजना सुरु गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इको पहिरोका कारण क्षतिग्रस्त सडक र जोखिममा परेका घरहरूलाई जोगाउन यो आयोजना सुरु गरिएको हो। 

अरनिको राजमार्ग अन्तर्गतको ११३ किलोमिटर क्षेत्रमा पर्ने यो पहिरो १० वर्ष अघिदेखि बग्न सुरु गरेको थियो। जसका कारण सडक पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै माथिल्लो भेगका २ सय ५० भन्दा बढी घरहरू उच्च जोखिममा परेका थिए।

पहिरो नियन्त्रणका लागि सडक डिभिजन कार्यालय चरिकोटले ४७ करोड रुपैयाँको लागतमा नेपालकै सबैभन्दा ठूलो स्लोप स्टेबिलाइजेसन परियोजना अघि बढाएको हो। ‘अरनिको राजमार्ग अन्तर्गत चीनसँगको सीमावर्ती क्षेत्र कोदारीमा विगत एक दशकदेखि इको पहिरोले आतङ्क मच्चाइरहेको थियो’, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख ई. नारायणदत्त भण्डारीले भने– ‘पहिरोका कारण सडक पटक पटक अवरुद्ध हुँदा दुई देश बीचको व्यापारमा परेको समस्या रोक्न र पहिरो माथीको बस्ती जोगाउन यो परियोजना अघि सारिएको हो।’

गएको वर्षायाममा पहिरोले उग्र रूप लिएपछि स्थानीय बासिन्दाले दीर्घकालीन समाधानको माग गर्दै राजमार्ग नै अवरुद्ध गरेका थिए। त्यसपछि सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको टोलीले स्थानीय र व्यवसायीहरुसँग सम्झौता गरी अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर यो महत्वाकांक्षी योजना अघि बढाएको हो।

गत वर्षायाममा आफू पहिरो क्षेत्रमा पुगेर समस्या अवलोकन गरेपछि जसरी पनि नियन्त्रणमा जुट्नुपर्छ भन्ने धेयले यो परियोजना ल्याईएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले बताउँछन्। ‘हामीले यस अघि पनि यो पहिरो नियन्त्रणको प्रयास गरेका थियौं। तर गएको बर्खामा म आफैं पहिरो क्षेत्रमा पुगें। समस्या जटिल भएकाले चाँडै पहिरो नियन्त्रण गर्नुपर्छ भन्ने उद्देश्यले फर्किएपछि अर्थ मन्त्रालयमा परियोजनाको बजेट सुनिश्चिताको लागि लागिपरें,’ उनले भने– ‘बजेट प्राप्त भएर पनि परियोजना सुरु भईसक्यो, अब यो पहिरोले चाँडै निकास पाउने छ।’ कृष्णभीर पहिरोलाई समेत समाधान गर्न सफल भएको बताउँदै उनले अब इको पहिरो पनि नियन्त्रणमा आउने बताए।

डिभिजन प्रमुख भण्डारीका अनुसार यो नेपालकै प्राविधिक रूपमा जटिल र ठूलो पहिरो नियन्त्रण परियोजना हो। पहिरोलाई थाम्नैका लागि जमिनमुनि ३० मिटर गहिरोसम्म सोइल र रक एंकर रड बिछ्याएर ग्राउटिङ गर्ने तयारी छ। भोटेकोशी नदीको कटानका कारण यो पहिरो विशाल बनेको प्राविधिकहरूको निष्कर्ष छ। यसलाई रोक्न नदी किनारमा चट्टान नभेटिएसम्म जग खनेर ३२ एमएमको रडसहित आरसीसी पर्खाल लगाइने कार्यालयका इन्जिनियर नेत्रविलास पौडेलले बताए। 

उनका अनुसार पहिरोभित्र जमेको पानीले भित्रभित्रै माटो बगाइरहेकाले त्यसलाई बाहिर निकाल्न होरिजन्टल ड्रिलिङ गरी पाइप राखिनेछ। साथै ४ मिटर व्यासका तीनवटा ठूला कुवा खनेर भित्री पानीलाई सुरक्षित रूपमा खोलामा पठाइनेछ। यो परियोजनाको डिजाइन नेपालका वरिष्ठ जिओटेक्निकल इन्जिनियर र विज्ञहरूको विशेष परामर्शमा तयार पारिएको हो। निर्माणको जिम्मा पाएको टीएसएन कन्स्ट्रक्सनले आवश्यक उपकरण र स्रोतसाधन कार्यस्थलमा पुर्‍याइसकेको जनाएको छ।

निर्माण कम्पनीका सञ्चालक ओमप्रकाश लम्सालले यसलाई सामान्य पहिरो नियन्त्रण तथा सडक निर्माणभन्दा भिन्न र चुनौतीपूर्ण इन्जिनियरिङ प्रोजेक्टका रूपमा लिएको बताए। ‘बगिरहने पहिरो भएका कारण अन्य पहिरो भन्दा यो अलि चुनौतिपूर्ण छ’, लम्सालले भने– ‘हामीले १५ भन्दा बढी हेभी इक्विपमेन्ट परिचालन गरी दिनरात काम गर्ने योजना बनाएका छौं।’ 

यद्यपि, सम्झौता भएको एक महिना बितिसक्दा पनि मन्त्रालय र विभागको केही प्रक्रियागत ढिलाइले कामले सोचेजस्तो गति लिन नसकेको उनको गुनासो छ। आगामी असार मसान्तसम्म मुख्य काम सकेर वर्षायाममा हुने थप क्षति रोक्ने लक्ष्यका साथ सबै संयन्त्र परिचालन गरिएको लम्साललले बताए।

प्रत्येक वर्ष वर्षायाममा पहिरो जाने गरेका कारण दुई देश बीच व्यापार गर्न समस्या पर्दै आएको छ। ‘वर्षा सुरु हुने वित्तिकै माथिबाट लेदो बगेर सडक नै बगाइदिने समस्याका करण व्यवसायीहरु मर्कामा छन्’, गत वर्षायाममा बाटो खुलाउन अथक प्रयासमा लागेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत भन्छन्– ‘अब यो परियोजना सम्पन्न भएपछि व्यवसायीले यस्तो समस्या झेल्नु पर्नेछैन भन्ने विश्वास छ।’ गएको वर्षायाममा दिउँसो सडक बनाउने तर राती आएको पानीले सडक नै बगाउने भइरहेकोले धेरै व्यवसायीले घाटा बेहोर्नु परेको उनले स्मरण गरे।

भूकम्प गएको सालदेखि इको पहिरो गएपनि सरकारले वास्ता नगर्दा आफूहरुको बस्तीनै उच्च जोखिममा परेको पहिरो माथि वस्तिमा घर रहेका स्थानीय राजेश थामीले बताए। ‘आयोजना चाँडै सम्पन्न गरेर अबको वर्षायाममा हाम्रो घरै बगाउजे हो कि भनेर सधैं जाग्राम बस्न नपरोस भन्ने अपेक्षा छ’, उनले भने– ‘यस अघि जब बर्खा लाग्छ, पहिरो जान्छ अनिमात्रै काम सुरु गर्ने परिपाटीले हामीले निक्कै सास्ती भोग्यौं। अब यस्तो नहा्स्।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.