श्रीराम नामको महिमा
भगवान् श्रीरामको नामको महिमा प्राचीन कालदेखि नै अपरम्पार छ। त्यसैले श्रीरामको नाम अलौकिक सावित भएको छ। यसको शास्त्रिय प्रमाण र व्यावहारिकतामा हेर्दा पनि राम नामको महिमाको पुष्टि हुन्छ। प्राचीनकाल अर्थात् सत्ययुगको प्रारम्भीक कालदेखि नै लिने हो भने महिर्षि वाल्मिकीको उदाहरण हाम्रो सामुन्ने आउँछ। रत्नाकर जस्ता डाँकुले राम नामको उल्टो ‘मरा, मरा’ जपेर महर्षि बने, वाल्मिकी बने। १५औं शताब्दीमा तुलसीदासले ‘राम चरित मानस’ लेखे। जसका हरेक शब्द मन्त्र हुन्। ती मन्त्रको जप, तप, साधनाको माध्यमबाट कैयौं साधुसन्तले सिद्ध गरेर मनग्य फाइदा लिए।
राम चरित मानसकै आधारमा अझै पनि लाखौं मानिस धर्म, अर्थ, काम र मोक्ष प्राप्तिका लागि प्रयासरत छन्। प्राचीनकालमा अरू पनि धेरै प्रमाण छन्, जसमा गिद्ध, अजामिल र शबरी जस्ता महान् भक्तहरू थिए। जसले राम नाम जपेकै आधारमा प्रभु रामको दर्शन प्राप्त गर्न सकेका थिए र मोक्ष प्राप्त गर्न सफल पनि भएका थिए। त्यस्तै सदन कसाईं, माझी, शरभंग, अंगद, जामवंत, विभिषण, हनुमान, भारद्वाज, वशिष्ठ, विश्वामित्र आदि ऋषि महार्षिहरूले राम नामको महिमालाई उजागर गरेका थिए। राम नामको सारतत्व र सत्यताको असंख्य प्रमाण मध्यकालीन युगमा पनि पाइन्छ। जसलाई आजका बुद्धिजीवि एवं वैज्ञानिकहरूले समेत नकार्न सक्दैनन्। किनभने यस समयमा सूरदास, तुलसीदास, कबीर, सन्त, तुकाराम, गुरु नानक आदि महामानवले त्यस समयमा भक्तिमय काव्य, महाकाव्य रचना गरेर त्यसमा राम नामकै महिमालाई प्रकाशित गरेर विश्वमा आलोकित गर्नु भएको थियो। उहाँहरूका काव्य, महाकाव्यका शब्द, स्वर सम्पूर्ण रसमय अमृत समान छन्, जसलाई पढेर सुनेर हृदय रोमाञ्चित हुन पुग्छ।
तुलसीदासको जीवन कालको एउटा घटना हो। जब तुलसीदास राम दर्शनका लागि ब्याकुल हुँदा उहाँको मनस्थिति पागल जस्तै भयो। उहाँले जसलाई देखे पनि सोध्न थाले, ‘के तपाई राम हुनुहुन्छ ?’ तब उहाँले आफ्नो राम चरित मानसमा लेख्नु भएको छ, ‘सीय राम मय सव जग जानी। करुहुँ प्राम जोरी जुग पानी।’ भगवान् राम प्राप्त गर्न भक्तलाई पागल बन्नुपर्छ, भक्तिबाट प्राप्त हुँदैन अर्थात् प्राप्त गर्न सकिँदैन। यसका लागि त परमभक्तिको आवश्यकता हुन्छ। यसै प्रकार कबीरदासको जीवनमा पनि अनौठो खालको प्रसंग छ। कबीर जुलाहा (कपडा बुन्ने काम गर्ने एक जाति) थिए। धागो बाटेर कपडा बुन्नु र बेचेर ग्राहकहरूलाई प्रसन्न पार्नु नै उनको काम थियो। उनले जुनसुकै ग्राहकलाई पनि कपडा दिँदा यसो भन्दै दिन्थे, ‘राम यो कपडा हजुरको लागि हो, हे राम, यो कपडा मैले हजुरकै लागि बनाएको हुँ।’
यस प्रकार भक्तिकालका यस्ता असंख्य प्रमाण भेटिन्छन् तर आजकलका अति बुद्धिवादी विद्वान् व्यक्तिहरूको बुद्धिले के सम्झिन्छन् र ? आधुनिककाल अर्थात् वर्तमान समयमा पनि राम भक्तिभावका धेरै प्रमाण भेटिन्छन्। एकातर्फ महात्मा गान्धी, सन्त विनोबा भाबे, सन्त ज्ञानेश्वर, एकनाथ, रामकृष्ण परमहंस, विवेकानन्द, ओशो आदि छन् भने अर्कोतर्फ आज पनि हाम्रो सामु अनेक सिद्धपुरुष छन्। जसले राम नामको दिव्य अलौकिक महिमाको महत्वलाई पूर्णता दिएका छन्। रामभन्दा ठूलो रामको नाम छ। यस विश्व ब्रम्हाण्डमा प्रत्येक १०० बर्षमा प्रत्येक कुलमा, वंशमा, सम्प्रदायमा एक महान् पुरुषको जन्म हुन्छ, जसले आफ्नो कुलको वंशमा आफ्नो धर्मको देवता बनेको हुन्छ। यो राम नाम कै समान हुनेछ। बजरंगबली हनुमानरूपी सीया राममय व्यक्तित्व प्रत्येक १०० बर्षको अन्तरालमा अवश्य नै अवतार लिनेछन् र आफ्नो धर्ममय कार्य गरेर यस नश्वर संसारबाट विदा लिन्छन्।
प्रतिक्रिया दिनुहोस !