प्रकृति नामको पुस्तक: नुम्बुर चीज सर्किट
ओझेलमा परेका गन्तव्यलाई चिनाउन जरुरी छ। नुम्बुर चीज सर्किट एउटा खुला पुस्तक हो। यहाँको प्राकृतिक सुन्दरताले सबै थकान मेटाइदिन्छ। यो स्वर्गजस्तो ठाउँमा पटक–पटक जाऊँ लाग्छ।
‘प्रकृति नै वास्तविक ज्ञानको भण्डार हो’, प्रसिद्ध दार्शनिक रुसोले भनेका थिए। त्यहाँ पुग्दा यही सम्झिएँ। हो, हामी तीनजनाको टोली बिहानै निस्कियो। सुरुमा पाइलाहरू केही गाह्रो जस्तो लागे। केही घण्टामै शरीरले आफ्नै लय समात्यो। बाटो कतै फराकिलो त कतै साँघुरो थियो। कतै भीरमै खोपेर बाटो बनाइएको देखिन्थ्यो। हरेक मोडमा नयाँ र रोचक दृश्य भेटिन्थे। सुनपाती र धुपीको सुगन्धले मन ताजगी बन्यो। जताततै फूलैफूलले सजिएको जस्तो अनुभूति हुन्थ्यो। खोलामा काठका साँघुहरू तरेर अघि बढ्यौं। स्थानीय सीप र परम्पराको झल्को त्यहाँ पाइन्थ्यो।
यात्राको सुरुवात र शरीरको लय : रामेछापको उमाकुण्ड–१ मा यो सुन्दर स्थल छ। नुम्बुर चीज सर्किट निकै मनमोहक गन्तव्य हो। डाँडाकाँडा र हरियो वनजंगलले मन लोभ्याउँछन्। उकाली र ओरालीमा पाइला सार्न रमाइलो हुन्छ। प्रकृतिको काखमा मनले असीम शान्ति पाउँछ। गोकुलगंगा–१ शिवालयबाट यो यात्रा सुरु भयो। सातदिने पदयात्रा निकै रोमाञ्चक सावित भयो। यो ओझेलमा परेको निकै सुन्दर सर्किट हो। नाम जति कमीठो, अनुभव त्यति नै गहिरो छ।
नुम्बुर हिमाल ६.९५८ मिटरको उचाइमा छ। यहाँ प्रकृति र संस्कृतिको दुर्लभ संगम भेटिन्छ। गेजोला पास ४,८८५ मिटर उचाइमा अवस्थित छ। यो चढ्दा मानौं हाम्रो सासै रोकियो। माथि पुगेपछि देखिने दृश्यले थकान मेटायो। हिमाल र खुला खर्कले भोक–प्यास भुलाए। नेपालको कठिन पासमध्ये गेजोला एक हो। यसलाई चुम्न पाउनु जीवनकै ठूलो उपलब्धि हो। कठिन यात्राले सधैं सुन्दर गन्तव्यमा पुर्याउँछ।
विगतको वैभवमा वर्तमान : २०६२ सालतिर आईएलओ नामक संस्थाले यो बाटो बनायो। यो सर्किट कुनै बेला निकै चलायमान थियो। पुराना संरचनाहरूले हिजोको कथा सुनाइरहेका छन्। आईएलओले यसमा ८० लाख रुपैयाँ खर्चेको थियो। ६ सय श्रमिकले चार महिना काम गरे। २०७२ को भूकम्पले पानीको मुहान सुकायो। पोटर सेल्टरहरू भत्किएर निकै नाजुक बनेका छन्। कोभिड–१९ ले यहाँको पर्यटनलाई थला पारिदियो। कतिपय ठाउँमा बाटो नै हराएको जस्तो लाग्यो।
साइनबोर्डको अभावले हामीलाई निकै अलमल गरायो। पुराना पाइलाका डोब पछ्याउँदै हामी अघि बढ्यौं। आङछिरिङ शेर्पा यी बाटोमा पहिले हिँडेका थिए। विकास थापा र मलाई यो नयाँ थियो। बाटोमा भेटिने चौरीका बथान निकै आकर्षक थिए। चौरी र याकले पहाडी जीवनशैली झल्काउँछन्। चीज, छुर्पी र घिउको स्वाद निकै मीठो थियो। पहिले यहाँ ३२ भन्दा बढी गोठ थिए। अहिले भने गोठको संख्या निकै घटेको छ।
पोखरीहरूको शृंखला, जैविक विविधता : जोन मुइरको एउटा प्रसिद्ध भनाइ छ– ‘प्रकृतिमा हिँड्नु भनेको हजारौं चमत्कार पाउनु हो।’ यहाँ पोखरीहरूको निकै सुन्दर शृंखला रहेको छ। दूधपोखरी, भूतपोखरी र पाँचपोखरी यहाँका आकर्षण हुन्। जटापोखरी र हाँसपोखरी पुग्दा मनै लोभियो। भालेपोखरीले प्रकृतिको सुन्दरतालाई थप उचाइ दियो। यी पोखरीहरू धार्मिक र सांस्कृतिक धरोहर हुन्। शेर्पा र तामाङ समुदायले यिनलाई पुज्छन्। यहाँको वातावरणमा आध्यात्मिकता छ।
उच्च भागमा रहेका पोखरीहरू देख्दा खुल्दुली लाग्छ। यहाँको हरियाली साँच्चै नै लोभलाग्दो देखिन्छ। ठिंगे सल्ला र खस्रुले वन ढाकिएको छ। गुराँस र सुनपातीले वन निकै सजीव देखिन्छ। यो जंगलमा मानवीय हस्तक्षेप निकै कम छ। हिउँ चितुवा र रेड पाण्डा यहाँ पाइन्छन्। भालु, कस्तुरी र घोरल पनि यहाँ भेटिन्छन्। डाँफे र मुनालले यात्रालाई रंगीन बनाउँछन्। वन्यजन्तुको
उपस्थितिले निकै धनी छ।
स्थानीय बस्तीमा विकासका पाइला : सेर्दिङ र क्यामा बस्तीका मानिसहरू निकै सरल रहेछन्। उनीहरू प्रकृतिको संरक्षणमा निकै सचेत देखिए। वन्यजन्तु मार्नु पाप हो भन्ने उनीहरू मान्छन्। विकासको अभावले उनीहरूमा केही निराशा छ। बाटो, सञ्चार र बिजुलीको निकै आवश्यकता छ। यी सुविधा भएमा पर्यटनले फड्को मार्नेछ। यहाँ जलविद्युत्को पनि अपार सम्भावना देखिन्छ। खोलानाला र पानीका स्रोतहरू यहाँ प्रशस्त छन्। नुप्चे लिखु ५७.५ मेगावाट निर्माणको क्रममा रहेछ। जसले सडक निर्माणमा ठूलो सहयोग पुर्याएको छ। पर्यटन र विद्युत्लाई सँगै लैजान आवश्यक छ। स्थानीय उत्पादनलाई प्रोत्साहन दिनु आजको आवश्यकता हो भन्ने महसुस हामीलाई भयो।
चुनौती र भावी मार्गचित्र : यात्राका क्रममा केही कमजोरी पनि देखिए। पिउने पानी र साइनबोर्डको निकै कमी छ। बस्ने र खाने व्यवस्था अझै सुधारौं। मोबाइल नेटवर्क नहुनु निकै ठूलो चुनौती हो। यी सुधार भएमा पदमार्ग जीवन्त बन्नेछ। गोठस्टे र साना टहराहरू निर्माण गरौं। प्रचारप्रसार गरेमा धेरै पर्यटक यहाँ आउने देखिन्छ।
यो यात्रा एउटा महत्वपूर्ण सन्देश पनि हो। ओझेलमा परेका गन्तव्यलाई चिनाउन जरुरी छ। सात दिनको यात्राले नयाँ सोच दियो। नुम्बुर चीज सर्किट एउटा खुला पुस्तक हो। यसलाई बुझ्न र चिनाउन धेरै प्रयास चाहिन्छ। विदेशीलाई यो १४ दिनको लामो यात्रा हो। यहाँको प्राकृतिक सुन्दरताले सबै थकान मेटाइदिन्छ। यो स्वर्गजस्तो ठाउँमा पटक–पटक जाऊँ लाग्छ।
प्रतिक्रिया दिनुहोस !