मिथकको कथामा कल्पनाको उडान

मिथकको कथामा कल्पनाको उडान

संस्कृति र सम्पदाको संरक्षण तथा संवर्द्धनमा यस्तो खालको मिथकीय साहित्यले महत्वपूर्ण टेवा पुर्‍याउँछ। जुन मिथकको हकदावीमा छ।

मिथकमा आधारित साहित्य सिर्जना गर्ने परम्परालाई पछ्याउँदै लेखक अनिल कार्कीले ‘मिथकको हकदाबी’ उपन्यास लेखेका छन्। नेपाल मण्डलका संस्कृतिमा धनी नेवार जातिका अनेक जात्रापर्वमध्येको एक रातो मच्छेन्द्रनाथको रथयात्राका क्रममा मनाइने भोटोजात्राको मिथकलाई नै पृष्ठभूमि बनाएर रोचक कथानक बुनिएको छ उपन्यास ‘मिथकको हकदाबी’मा। मिथकीय रोमाञ्चकता र ओजपूर्ण आस्थासहित मनाइने रातो मच्छेन्द्रनाथको जात्रा उपत्यकाका अरू सबै जात्राभन्दा लामो जात्रा मानिन्छ। जात्राको समापनको दिनमा राष्ट्रप्रमुखको उपस्थितिमा मणि माणिक्यजडित भोटो सार्वजनिक रूपमा प्रदर्शन गरिन्छ। यसरी भोटो प्रदर्शन गरिने हुँदा यो दिनको जात्रालाई भोटोजात्रा भन्ने गरिएको छ।

कथाअनुसार त्यो भोटो कुनै एक जना किसान वैद्यको थियो। किसान वैद्यले कर्कोटक नागराजकी रानीको आँखा दुख्दा औषधिमुलो गरी निको पारिदिएका कारण खुसी भएका नागराजले पुरस्कारस्वरूप त्यो भोटो उपहार दिएका थिए। एकदिन किसानले त्यो भोटो खेतको आलीमा राखेर काम गर्दै गर्दा चोरी भएको थियो। ‘जा ह्वला ख्यः’को जात्रामा एउटा राक्षसले त्यो हराएको भोटो लगाएको देखेर किसान वैद्य भोटो आफ्नो हो भनेर राक्षससँग झगडा गर्छ। राक्षसले पनि त्यो भोटो आफ्नै हो भन्छ। 

भोटोको छिनोफानो नभएपछि उनीहरू राजासमक्ष पुग्छन्। राजासामु पनि दुवैले भोटो आफ्नो हो भनेर दाबी गर्छन्। राजाले प्रमाण मागेपछि दुवैले प्रमाण दिन सक्दैनन्। त्यसपछि राजाले त्यो भोटो आइन्दा मच्छेन्द्रनाथको रथयात्रामा देखाइने र जसले प्रमाण पेस गर्छ यो उसैको हुनेछ भन्ने निसाफ गरिदिन्छन्। त्यसपछि हरेक वर्ष मच्छेन्द्रनाथको रथयात्राको समापनको दिनमा भोटोजात्रा गरी सर्वसाधारणलाई त्यो भोटो देखाउने गरिँदै आएको छ।

त्यही भोटोमाथि आफ्नो पैतृक हकको दाबी गर्दै किसान वैद्यको सन्ततिको नाताले ज्याक मोहन वैद्य नामक एक व्यक्ति त्यो जात्रा, पर्व र मिथकप्रति अगाध आस्था र श्रद्धा राख्दै भोटोजात्रा हेर्न नेपाल आएको र भोटो देखेपछि त्यो भोटो मेरो हो भन्दै दाबी गरेको कथा यो उपन्यासमा छ। उसलाई आफ्नो दाबी पुष्टि गर्न प्रमाण पेस गर्नका लागि १५ दिनको समयसीमा पनि दिइन्छ। प्रमाण खोज्ने क्रममा ज्याक विभिन्न ठाउँमा पुग्छ। 

विभिन्न मान्छेसँग भेट्छ। भैरव देवतासँग पनि भेट्छ, जो मच्छेन्द्रनाथको रथको रक्षक हो। भमरा अर्थात् राक्षससँग पनि भेट्छ। आफ्नो पुख्र्यौली थलो भक्तपुरमा भांैतारिन्छ। त्यहाँका किसान वैद्यहरूसँग वार्तालाप गर्छ। त्यहाँको माटोसँग कुरा गर्छ। फेरि टौदह पुगेर त्यहाँको नागराजसँग पनि कुरा गर्छ। कछुवासँग कुरा गर्छ। नागराज कर्कोटकले घुमाउरो पाराले भोटोप्रति ज्याकको हकदाबी लाग्ने संकेत गर्छन्। तर उसले कति प्रयास गर्दा पनि प्रमाण पेस गर्न नसक्दा उसको दाबी पुष्टि हुन सक्दैन।

मच्छेन्द्रनाथका पाँजुले ज्याक अमेरिकादेखि आएर भोटोप्रति हकदाबी गरेको र जात्राप्रति आस्था, श्रद्धा र समर्पण देखाएकाले जात्रालाई निरन्तरता दिन लागिपर्ने ऊजस्ता हरेक युवाको त्यो भोटोप्रति हकदाबी लाग्छ भनेर भावानात्मक तर्क दिन्छन्। तर उनको तर्कले मात्रै भोटो उसको हो भन्नेमा अरुको सहमति हुँदैन। अन्त्यमा भोटो र भोटोजात्राप्रति आफ्नो लगाव र आशक्ति व्यक्त गर्दै भोटोजात्रा हेर्न फेरि पनि आउने अठोटसहित त्यो पात्र अर्थात् ज्याक अमेरिका फर्केको कथा उपन्यासमा छ। मिथकमा बुनिएको कथानक र मिथकमाथिको स्वैरकल्पना गजपको छ। स्वैरकल्पनाले कथानकलाई अझ बढी रोचक र पठनीय बनाएको छ। मान्छे जहाँ जन्मे पनि आफ्नो पैतृक थलोप्रति उसलाई प्रेम हुन्छ र मोह हुन्छ भन्ने सन्देश यो उपन्यासले दिएको छ।

उपन्यास रैखिक ढाँचामा लेखिएको छ। उपन्यासमा सपाट वर्णनको बाहुल्य छ। कलात्मकता र बिम्बात्मकताको अभाव छ। विचार र भावनाको काम प्रयोग भए पनि गजपको कल्पना र स्वैरकल्पनाको प्रयोग गरिएको छ। परम्परादेखि सुन्दै आएको मिथकीय कथाप्रतिको भावुकता र सम्मोहन पनि गजपको छ। कुनै जाति वा समुदाय विशेषको आस्था र संस्कृतिमाथि काल्पनिक कथा लेख्न खोज्नु चुनौतीपूर्ण हुन्छ भन्ने जान्दाजान्दै पनि उपन्यासकार कार्कीले त्यो चुनौतीलाई स्वीकारेर यो उपन्यास लेखेका छन् र त्यो जाति वा समुदायमाथि अन्याय हुन दिएका छैनन्। बरु गुन लगाएका छन्।

अर्को समुदायको आस्था र संस्कृतिमाथि कथानक बुन्ने कार्कीको प्रयासले एक समुदायले अर्को समुदाय र त्यसको संस्कृति र जीवनशैलीलाई कसरी नियालिरहेको हुन्छ भन्ने देखाउन खोजेको आभास हुन्छ। साथै व्यक्ति र समुदायबीचको सम्बन्ध र साझा दायित्वलाई 
पनि यो उपन्यसाले इंगित गर्न खोजेको देखिन्छ।

उपन्यास सरल भाषाशैलीमा लेखिएको छ। स्वैरकल्पनाको प्रयोग गरिए पनि कथा र उपकथा जोडिएको छैन। मूलकथा एकोहोरो सलल बगेको छ। यसले गर्दा पठनमा सहजता महसुस हुन्छ। कुनै नोस्टाल्जिया अथवा पूर्वदीप्तिको प्रयोग पनि गरिएको छैन। यद्यपि पुख्र्यौली सम्बन्धसँग जोडिएको एउटा मिथकको कथालाई थप कथानक जोडेर लेखिएको उपन्यास पठनका दृष्टिले अत्यन्तै रोचक छ। 

मिथकहरूको संरक्षण गर्नुपर्छ, यसले पुख्र्यौली इतिहासलाई जीवित राख्छ भन्ने सन्देश पनि उपन्यासले दिन्छ। उपन्यासमा मच्छेन्द्रनाथको रथ बनाउने र रथ तान्ने क्रममा प्रयोग हुने सामग्री र जनशक्तिसम्बन्धी प्राविधिक जानकारी यथेष्ट मात्रामा दिइएको छ। उपन्यासको मूलपात्र ज्याकलाई बाल्यकालदेखि आफ्ना बाजे–बराजुबाट सुन्दै आएको भोटोजात्राको मिथकको श्रुतिश्रवणबाट  प्रभावित भई भोटो आफ्नो अथवा आफ्नो पुर्खाको हो भन्ने चेतले डोर्‍याएको एउटा चेतनशील, प्रतिबद्ध, इमानदार र दृढ इच्छाशक्ति भएको पात्रको रूपमा लिन सकिन्छ। 

भोटोप्रतिको उसको आसक्ति पैतृकताप्रतिको आसक्ति हो भन्न सकिन्छ। भोटोप्रतिको आफ्नो दाबी प्रमाणित गर्न सहयोगको याचना गर्दै भैरवको प्रार्थना गर्दा साक्षत भैरवसँग साक्षात्कार हुन पुगेको घटना गजपको स्वैरकल्पना हो। यसले कथानकलाई रोचक बनाएको र कथालाई अघि बढाउन सघाएको छ। भैरवले आफ्नो कामप्रति निष्ठावान् रही कर्म गर्दै जाऊ, आफ्नो मनोकामना पूरा हुन्छ र भोटोप्रतिको आसक्तिलाई व्यक्तिगतभन्दा जनकल्याणप्रति उन्मुख गर भन्दै आशीर्वाद दिएका छन्। प्रेम, भावना र संवेदनाभन्दा पैतृकतालाई केन्द्रबिन्दुमा राखेर लेखिएको उपन्यास हुँदा पठनमा फरक अनुभूति हुन्छ।

उपन्यासले आफ्नो संस्कृति र सम्पदालाई प्रेम गर्न र त्यसप्रति लगाव राख्न प्रेरणा दिन्छ। यो उपन्यास एउटा प्रख्यात मिथकको पृष्ठभूमिमा लेखकले गरेको कल्पनाको उडान हो। कथानकलाई रोचक बनाउन कल्पनाभित्र स्वैरकल्पनाको पनि प्रयोग गरिएको छ। मिथकमाथि कल्पनाको आधारमा कथानक बुन्दा मिथकमाथि न्याय वा अन्याय हुन सक्ने सम्भावना पनि हुन्छ। मिथकको मर्मविपरीत पनि कथानक बुनिन सक्छ। यसले वास्तविक मिथकलाई अन्याय हुन सक्छ। तर उपन्यासकार अनिल कार्कीले मच्छेन्द्रनाथको लामो जात्राको क्रममा हुने भोटोजात्राको मिकथलाई दुरुस्तै प्रस्तुत गरेका छन्। मिथकलाई तोडमोड गरेका छैनन् र अन्याय हुन दिएका छैनन्। 

प्रख्यात मिथकमाथि उपन्यास लेख्ने हिम्मत गरेर उपन्यासकारले त्यो मिथकीय कथालाई थप जीवन्त बनाउन सहयोग गरेका छन्। नेपाल मण्डलको नेवारी संस्कृतिको एउटा महत्वपूर्ण पाटोलाई संरक्षण र संवद्र्धन गर्नमा महत्वपूर्ण योगदान गरेका छन्। भाषाको भिन्नताले कतैकतै गलत पदावलीको पनि प्रयोग हुन पुगेको छ। खासमा पाँजु, ‘जा ह्वला ख्यः’ र ‘याकः मिसाया भुज्याः’ हुनुपर्नेमा अन्यथा भएको छ। शिखा बुक्सले प्रकाशन गरेको उपन्यास रोचक र पठनीय छ। संस्कृति र सम्पदाको संरक्षण र संवद्र्धनमा यस्तो खालको मिथकीय साहित्यले महत्वपूर्ण टेवा पुर्‍याउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.