यात्रा केवल भूगोलको फेरबदलमात्र होइन। यो त चेतनाको नयाँ आयाम हो। जसमा विस्मय र जिज्ञासाका अनेक रंग थिए। मानौं, रोमाञ्चकता र आत्मीयताको सुन्दर घोल मिसिएको थियो।
यात्रा केवल भूगोलको फेरबदलमात्र होइन। यो त चेतनाको नयाँ आयाम हो। चर्चित कवि टीएस इलियटले भनेका सम्झन्छु, ‘केही यात्राले मानिसलाई नयाँ अनुभूति दिन्छन्। यसले संसार हेर्ने पुरानो दृष्टिकोण बदल्छ। ती क्षण स्मृतिमा कहिल्यै नमेटिने गरी बस्छन्।’
क्षितिजको खोजी र मनको उडान : मेरो पछिल्लो यात्रा पनि इलियटले भनेजस्तै भयो। यसमा विस्मय र जिज्ञासाका अनेक रंग थिए। मानौं, रोमाञ्चकता र आत्मीयताको सुन्दर घोल मिसिएको थियो। जीवनका अनगिन्ती पाटाहरू यात्रामा स्पष्ट देखिए। त्यसरी, जसरी यात्रीले हरेक मोडमा नयाँ दर्शन पाउँछ। अनि हृदयको बन्द ढोका बिस्तारै खोलिदिन्छ।
सर्वोच्च शिखरको काख छोडेर उड्दै थिएँ। हजारौं माइल टाढाको अमेरिका यात्राको गन्तव्य थियो। मनमा जिज्ञासाका अनेकौं छालहरू निरन्तर उठ्दै बस्दैथिए हजारौं फिट माथिबाट तल देखिने समुद्रमा झैं। शक्तिशाली र विकसित भनिने त्यो देश कस्तो होला ? जर्मन दार्शनिक गोटेले भनेका थिए, ‘संसार हेर्न घर छोड्नैपर्छ।’ त्यहाँका मानिसको जीवनशैली पक्कै पनि फरक होला। फेसबुकका भित्तामा देखिने विकास अब सामुन्ने हुँदैथियो। चलचित्रका काल्पनिक दृश्य अब यथार्थ बन्दैथिए। ट्रम्प प्रशासनको नीतिले मनमा केही त्रास थियो। आप्रवासन प्रहरीको व्यवहार कस्तो होला ? चिन्ता थियो। रिलमा देखिने कडाइले मनमा संशय पैदा गथ्र्यो। यिनै उत्साह र भयबीच यात्रा अघि बढ्यो।
जहाजको झ्यालबाट बादलका सेता टापुहरू देखिए। आकाशको उचाइमा सपनाका नयाँ पखेटा पलाउँदै गए। मानिस जति माथि जान्छ, धर्ती उति तल देखिन्छ। हाम्रा अहंकारहरू ती बादलमा कतै हराए झैं लागे। विशाल फलामे पन्छीले नीलो आकाश छिचोल्दै थियो। समयको गति र मनको वेग उत्तिकै तीव्र थिए। म भने एउटा नयाँ सभ्यताको स्पर्श गर्न आतुर थिएँ। पहिलो विश्रामका लागि हामी दोहा पुग्यौं। कतारको तातो हावाले नयाँ भूगोलको स्वागत गर्यो।
हमाद विमानस्थल– मानवताको एउटा ओएसिस : विकासले सम्पन्न देश कतारको हमाद विमानस्थलमा पाइला टेक्दा बेग्लै संसार देखियो। लाग्यो, त्यसलाई विमानस्थलमात्र भन्नु सरासर अन्याय हुन्छ। त्यो त एउटा सानो र गतिशील विश्व हो। मरुभूमिमा फुलेको एउटा सुन्दर फूलजस्तो विमानस्थल। संसारका विभिन्न कुनाका यात्रीहरू त्यहाँ झुम्मिएका थिए। फरक भाषा र भेषभूषाको सुन्दर संगम। एउटै छानामुनि सारा भूगोल अटाएको भान हुन्थ्यो। धर्म र संस्कृतिका विविधताहरू त्यहाँ स्पष्ट झल्किन्थे। थकित अनुहारमा पनि गन्तव्यको एउटा मीठो आशा थियो। कैयौं आँखामा नौलो संसार देख्ने उमंग देखें त्यहाँ।
जहाँको वातावरण निकै आत्मीय र आध्यात्मिक थियो। रमदानको पवित्र महिनाले विमानस्थल झनै उज्यालो। आकर्षक बत्तीहरू, चारैतिर झिलिमिली। सांस्कृतिक झल्को दिने अनेक आकृतिले भित्ता सजिएका थिए। कतै परम्परागत ढाँचाका झ्याल र ढोकाका बुट्टा थिए। कतै चन्द्रमा र ताराका प्रतीकात्मक चित्रहरू थिए। ती दृश्यले यात्रीलाई अलौकिक शान्तिको आभास गराउँथे।
विमानस्थलमा सबैभन्दा मन छुने एउटा पक्ष भेटियो– यात्रीलाई नि:शुल्क भोजनको व्यवस्था। कतिपय मानिसका लागि त्यो ठूलो राहत थियो। सूर्यास्तपछि रोजा खोल्न विशेष काउन्टरहरू थिए। स्वयंसेवकहरूले विनम्र भावमा खजुर र पानी बाँड्थे। जुस, फलफूल र खानेकुराका प्याकेटहरू सबैलाई उपलब्ध गराइए। यसमा कुनै राष्ट्र वा जातिको भेदभाव देखिएन। सबै धर्मका यात्रीलाई समान आदर र सम्मान। त्यो केवल व्यवस्थापन नभएर मानवताको गीत थियो। उदारताको उक्त दृश्य साँचो अर्थमा महान् थियो। लाग्यो, विमानस्थल साझा चौतारी हो। विविधताका बीच एकताको एउटा जीवन्त उदाहरण।
- सर्वोच्च शिखरको काख छोडेर उड्दै थिएँ। हजारौं माइल टाढाको अमेरिका यात्राको गन्तव्य थियो। मनमा जिज्ञासाका अनेकौं छालहरू निरन्तर उठ्दै बस्दैथिए हजारौं फिट माथिबाट तल देखिने समुद्रमा झैं। शक्तिशाली र विकसित भनिने त्यो देश
- कस्तो होला ?
- पुस्तकालयको ढोकाभित्र विशाल ज्ञानको महासागर रहेछ– ‘लाइब्रेरी अफ कंग्रेस !’ ज्ञानको पवित्र मन्दिर। जहाँ करिब १७ करोडभन्दा बढी सामग्री छन्। विश्वका ४७० भाषा यहाँका पानामा जीवन्त छन्। तीन हजार कर्मचारी ज्ञानको दीप बालिरहेका छन्।
- यात्रा भूगोल बदल्ने प्रक्रियामात्र होइन। यो कठोर यथार्थसँग साक्षात्कार गर्ने चुनौती पनि हो। बाहिर आकाश शान्त भए पनि मनभित्र बादल नराम्ररी मडारिन थाल्यो। युद्घका कारण विस्थापित जनताका अनुहार आँखामा नाचे। प्रश्नले चिथोर्यो, आखिर संसारमा यी निरर्थक युद्घहरू किन रोकिँदैनन् ?
मानवताको सुगन्ध, लोभलाग्दो सेवाभाव : मानवताको सुगन्धले यात्रा अझ अर्थपूर्ण बन्दै गयो। अपरिचित मानिस पनि एकअर्कालाई हेरेर मुस्कुराउँथे। ती मुस्कानमा संसारको कुनै सीमा बाँकी थिएन झैं महसुस भयो। प्रेम र सद्भावको भाषा त्यहाँ सर्वव्यापी देखिन्थ्यो। हरेक यात्रीको मनमा साझा अनुभूति थियो। सेवा र समर्पणको त्यो भाव निकै अनुपम थियो। विमानस्थलले एउटा सुन्दर भविष्यको संकेत गरिरहेको थियो। विश्वबन्धुत्वको भावना त्यहाँको हावामा मिसिएको थियो। खजुरको मिठासमा संसारकै प्रेम घोलिएको जस्तो थियो। पानीको हरेक थोपामा आत्मीयताको शीतल रस थियो।
अचम्म, सानो खजुरले पनि मानिसलाई जोड्न सक्दोरहेछ। त्यो दृश्यले मानव मनमा प्रेमको बिउ रोप्दै थियो। संसारलाई एउटै परिवार मान्ने संस्कार त्यहाँ थियो। आँखाका भावहरूले नै एकअर्काको हृदय स्पर्श गर्थे। मानौं, मानवताको धागोले सबैलाई एउटै मालामा उनिरहेको थियो। दोहाको यो अनुभव मेरो अमूल्य सम्पत्ति बन्यो। यसले मानिस र समाज बुझ्न सघायो। सभ्यताको यो उचाइ देख्दा मन हर्षित भयो। विमानस्थलको हरेक पलले नयाँ आशा जगाइरह्यो। यो साँच्चै एक अविस्मरणीय र पवित्र अनुभव थियो।
आकाशको त्रास र बारुदको गन्ध : केही घण्टापछि अर्को जहाजमा चढ्यौं। अमेरिकातर्फको लामो यात्रा बल्ल सुरु भए झैं लाग्यो। जहाज उड्दै गर्दा दोहा सहर ओझेल पर्यो। तलका सहरहरू स–साना ताराजस्तै टिलपिल देखिए। जहाजभित्रको वाईफाई प्रयोग गरी समाचारहरू हेर्न थालें। तर अचानक निकै नराम्रो खबर देखें। हाम्रो जहाज उडेपछि कतारमा मिसाइल प्रहार भएछ। इजरायलले कतारतर्फ घातक मिसाइलहरू छोडेको खबर थियो त्यो। त्यसपछि दोहाका सबै उडान तत्काल रद्द गरिएछन्। लाग्यो, हामी निकै कम समयको अन्तरले सुरक्षित भएछौं। अचानक मनमा करेन्टको झट्का लाग्यो। यस्तो लाग्यो, विश्व राजनीतिको तनाव यही जहाजभित्रै छ। जहाँ द्वन्द्वले निर्दोष मानिसलाई कसरी भयभीत बनाउँछ भन्ने दृश्य देखें।
यात्रा भूगोल बदल्ने प्रक्रियामात्र होइन। यो कठोर यथार्थसँग साक्षात्कार गर्ने चुनौती पनि हो। बाहिर आकाश शान्त भए पनि मनभित्र बादल नराम्ररी मडारिन थाल्यो। युद्धका कारण विस्थापित जनताका अनुहार आँखामा नाचे। प्रश्नले चिथोर्यो, आखिर संसारमा यी निरर्थक युद्धहरू किन रोकिँदैनन् ? शान्तिपूर्वक बाँच्न पाउने अधिकारलाई कसले बुझ्ने होला ? वैश्विक नेताहरूले मानवताको मूल्य कहिले पहिचान गर्लान् ? इजरायल र इरानबीचको यो शत्रुता निकै पुरानो हो। सयौं विमानले विनाशकारी बमबारी गरेछ इजरायलले। जवाफमा इरानले हजारौं मिसाइल प्रहार गरेछ।
युद्धको आगोमा निर्दोष जनता : विश्वको यो अशान्तिले मानवतालाई ठूलो चोट पुर्याउँदै छ। युद्धको आगोमा निर्दोष जनता पोलिन बाध्य छन्। शान्तिको प्रतीक्षामा रहेका जनता चिन्तित छन्। युद्धले तिनमा अनिश्चितताको पर्खाल ठड्याइरहे थियो। प्रत्येक आक्रमणले मानिसको छातीमा त्रासको बिउ रोप्छ। मानसिक दबाबमा बाँच्नुपर्ने नियति शारीरिकभन्दा निकै कष्टकर छ। जो खुला आकाशमुनि ढुक्कसँग निदाउन मात्र चाहन्छन् तर अब त्यो सपना बन्दैछ। गम्भीर सोचाइका बीच जहाज अमेरिका पुग्दैथियो। ककपिटबाट पाइलटले गन्तव्य नजिकै आएको उद्घोष गरे। मनमा जिज्ञासा र डरको नयाँ ज्वारभाटा पैदा भयो।
अब अमेरिकाको माटो छुन केही मिनेट बाँकी थियो। आकाशबाट हेर्दा तलको भूगोल निकै विशाल देखिन्थ्यो। अमेरिकाका अग्ला भवनले स्वागत गर्न खोज्दैथिए। अमेरिकाको विशालतालाई आकाशबाटै स्पर्श गर्न मन हतारियो। डरका बीचमा पनि एउटा अनौठो साहस पलायो। युद्धले धर्ती पोल्छ तर आकाश सधैं शान्त नै लाग्छ। हाम्रो विमान अमेरिकी रनवेमा ओर्लन तयार भयो। चिसो हावाले जहाजका पखेटालाई बिस्तारै स्पर्श गर्यो। मनभित्रका अनेकौं आशंकाहरू बिस्तारै शान्त हुँदै गए। नयाँ माटो र हावासँग नयाँ साइनो गाँसियो। मेरो जीवनको यात्रा अब नयाँ मोडमा पुग्यो। शान्तिको खोजीमा रहेका आँखाहरूले अब विकास देख्नेछन्। अमेरिकाको यो पहिलो पाइला सधैं स्मृतिमा रहनेछ।
स्वर्ण किरण र सपनाको अवतरण : लामो उडानपछि जहाज बिस्तारै तल झर्दै थियो। क्षितिजमा सूर्यको हल्का सुनौलो किरण देखियो। यो दृश्यले थकित मन प्रफुल्लित बनायो। सूर्यका किरणले सहरलाई बेहुली झैं सजाएको थियो। नदी र भवनहरू ऐना झैं टल्किएका देखिए। माथिबाट हेर्दा वासिङ्टन डीसी निकै शान्त थियो। सहरको बनावट त्यस्तै निकै व्यवस्थित र सुन्दर लाग्यो। विमान रनवेमा गुड्दा मनमा कम्पन पैदा भयो। किनकि विश्वकै शक्तिशाली राजधानीमा मेरो पहिलो पाइला पर्दैथियो। जब विमानस्थलको ढोकाबाट बाहिर निस्किएँ। अमेरिकी हावाले अनुहारलाई स्पर्श गर्दै स्वागत गर्यो। बाल्यकालदेखि सुन्दै आएको त्यही ‘सपनाको देश’ जब टेक्दैथिएँ। विज्ञानको विद्यार्थी हुनाले आकर्षण झन् बढी थियो। कैयौं महान् आविष्कारको साक्षी यो भूमि नै हो।
जहाँ गौरवसाथ उभिएको थिएँ। मार्क ट्वेनले यात्रालाई ‘पूर्वाग्रहको शत्रु’ भनेका थिए। उनले यात्राबाट मानिसको सोच फराकिलो हुने बताए। त्यसैले पर क्षितिजसम्म आँखा पुर्याएर नियालें। तर पनि मनभित्र आफ्नै देशको झझल्को आइरह्यो। ‘मेरो देश नेपाल कहिले यति समृद्ध होला ?’, मनले प्रश्न सोध्थ्यो।
शक्तिकेन्द्रको आँगनमा उभिएर : वासिङ्टन डीसी पुग्ने भनेपछि विशेष इच्छा पलाएको थियो। अमेरिकी राष्ट्रपतिको कार्यालयलाई नजिकबाट स्पर्श गर्ने। सहरका चिल्ला र फराकिला सडकहरू निकै लोभलाग्दा थिए। होटेलबाट पैदल यात्रा गर्दै अगाडि बढ्यौं। करिब १५ मिनेटको हिँडाइपछि त्यही ‘ह्वाइट हाउस’ आइपुग्यो। अहिले यो भवनको ठूलो मर्मत कार्य चल्दै रहेछ। भवनको वरिपरि ठूला र बलिया बारहरू लगाइएकाले भित्र त्यति स्पष्ट देखिन्नथ्यो।
दक्षिणपट्टिको सडक किनारमा पुग्दा साँझ परिसकेको थियो। अस्ताउँदो सूर्यको प्रकाशले भवन झन् सेतो देखियो। टेलिभिजनमा देखिने भवन अब आँखै अगाडि थियो। जहाँबाट विश्वको राजनीतिलाई दिशा दिने निर्णय हुन्छन्। जुन भवन केवल सरकारी कार्यालयमात्र होइन, बरु आधुनिक विश्वको एउटा महाशक्तिकेन्द्र हो। सायद राष्ट्रपति डोनाल्ड ट्रम्प कतै बाहिर निस्कँदै थिए। गेटमा विदेशी पत्रकारहरूको ठूलो भिड थियो। उनीहरू क्यामेरा र माइक लिएर धैर्यपूर्वक कुरिरहेका थिए। हामीले त्यहाँ फोटो खिच्दा आधा घण्टा बितेछ। तर ती पत्रकार अझै अडिग भएर बसेका देखिन्थे। उनीहरूको व्यावसायिक धर्म देखेर निकै प्रभावित भएँ।
इतिहासका नायकहरूसँग साक्षात्कार : अमेरिकी विदेश मन्त्रालयको विशेष कार्यक्रम थियो। १५ जना पत्रकार एसियाबाट त्यहाँ पुगेका थियौं। हरेक दिनको तालिका निकै व्यस्त तर पनि रोचक थियो। आइतबारको बिदामा ऐतिहासिक सम्पदाहरू घुम्यौं। ती स्मारकहरूले इतिहासका जीवन्त कथाहरू सुनाइरहेका थिए। अब्राहम लिंकनको मेमोरियल भित्र पस्दा निकै गौरव अनुभूति भयो। लिंकनको जीवनीले मलाई बाल्यकालदेखि नै तानेको थियो। उनले अमेरिकाबाट दासप्रथा उन्मूलन गर्ने आँट गरेको पढेकी थिएँ। सन् १८६३ को ‘मुक्ति घोषणा’ साँच्चै महान् कदम थियो।
लिंकनले फुटेको अमेरिकालाई एउटै मालामा उनेका थिए। उनको ‘गेटिसबर्ग सम्बोधन’ इतिहासकै शक्तिशाली भाषण हो। उनले लोकतन्त्रलाई जनताको शासनका रूपमा चिनाए। उनको ‘जनताका लागि जनताद्वारा गरिने शासन’ निकै प्रख्यात छ। जुन परिभाषाले आज पनि विश्वलाई मार्गनिर्देश गरिरहेछ। त्यहाँ उभिँदा लोकतन्त्रको वास्तविक मर्म महसुस भयो। लिंकनको सालिकले अझै पनि न्यायको सन्देश दिन्छ। उनी अन्यायविरुद्ध लड्ने महान् प्रतीक हुन्। उनको उपस्थितिले मलाई मानवताको पाठ फेरि पनि पढायो। इतिहासका ती महान् पात्र अब केवल स्मृतिमा थिए।
भूगोल र आत्मविश्वासको संगम : टाइडलबेसिनमा जापानी ‘चेरी’का फूलहरू फुल्ने सुरसारमा थिए। जहाँ किनारमा थोमस जेफरसन मेमोरियलमा उनको विशाल स्मारक रहेछ। जेफरसनले अमेरिकाको भूगोललाई झन्डै दोब्बर बनाइदिए। उनले सन् १८०३ मा लुइजियाना क्षेत्र खरिद गरे। फ्रान्ससँगको त्यो सम्झौताले अमेरिकाको भाग्य नै बदल्यो। उनले केवल १५ लाख डलरमा विशाल भूमि थपे। जेफरसन स्वतन्त्रताको घोषणापत्र लेख्ने प्रमुख व्यक्ति पनि हुन्। उनको भिजनले अमेरिकालाई एउटा नयाँ उचाइ दियो। भूगोल र राजनीतिलाई उनले निकै चतुर्याइँपूर्वक जोडेका थिए।
हामीले फ्र्यांकलिन रुजभेल्टको स्मारक पनि नजिकबाट हेर्यौं। जो पोलियोका कारण ह्विलचेयरको सहारामा बाँचेका थिए। तर उनले शारीरिक कमजोरी कहिल्यै देखाएनन्। उनले उच्च आत्मबलका साथ देशको सफल नेतृत्व गरे। अमेरिकी इतिहासमा उनी चार पटक राष्ट्रपति छानिए। ठूलो आर्थिक मन्दीबाट उनले अमेरिकालाई बाहिर निकाले। दोस्रो विश्वयुद्धको कठिन समयमा पनि उनी डगमगाएनन्। उनको कार्यक्षमता देखेर विश्वका नेताहरू अझै छक्क पर्छन्। रुजभेल्टको जीवनीले अपांगता होइन, इच्छाशक्ति ठूलो भन्ने प्रमाणित गरेको छ। उनको साहसले हरेक यात्रीलाई नयाँ ऊर्जा प्रदान गर्छ।
बाटो छेउमा थचक्क बसेका आइन्सटाइन : नेसनल एकेडेमी अफ साइन्सेस परिसर पुग्यौं। त्यहाँ अल्बर्ट आइन्सटाइनको निकै ठूलो मूर्ति देख्यौं। उनी त एउटा ढुंगामा थचक्क बसेको जस्तो पो देखिए। आइन्सटाइनले ब्रह्माण्ड बुझ्ने हाम्रो पुरानो चस्मा फेरिदिए। उनले हातमा समातेको कापीमा ‘ई इजकल्टु एमसी स्क्वायर’ कुँदिएको रहेछ। त्यो समीकरणले विज्ञानको क्षेत्रमा क्रान्ति नै ल्याएको थियो। पर्यटकहरूलाई उनको काँधमा चढेर फोटो खिच्न छुट छ। त्यो देख्दा लाग्यो, ज्ञान सधैं सर्वसाधारणको पहुँचमा हुनुपर्छ। आइन्सटाइनको सादगीले मलाई निकै गहिरो प्रभाव पार्यो।
वासिङ्टनको आकाशमा एउटा अग्लो स्तम्भ ठडिएको छ। त्यो जर्ज वासिङ्टनको स्मृतिमा बनेको ‘वासिङ्टन मनुमेन्ट’ हो। जुन स्तम्भ १६९ मिटर अर्थात् ५५५ फिट अग्लो छ। डीसी सहरमा भवनहरूको उचाइमा एउटा विशेष नियम छ। जहाँका भवनहरू १२ तलाभन्दा अग्ला बनाउन पाइँदैन। त्यसैले यहाँ न्युयोर्कजस्ता गगनचुम्बी भवनहरू देखिएनन्। सहरलाई खुला र व्यवस्थित राख्न यो नियम बनाइएको पायौं। त्यसले सहरको ऐतिहासिक स्वरूपलाई सधैं सुरक्षित राखेको छ। व्यवस्थित सहरीकरणको त्यो उत्कृष्ट र विश्वकै नमुना हुनुपर्छ।
ज्ञानको अनन्त खानी कंग्रेस पुस्तकालय : पुस्तकालयको ढोकाभित्र विशाल ज्ञानको महासागर रहेछ– ‘लाइब्रेरी अफ कंग्रेस !’ ज्ञानको पवित्र मन्दिर। जहाँ प्रतिलिपि अधिकारको पनि उचित व्यवस्थापन गरिन्छ। सन् १८०० मा यसको जग हालिएको थियो। अमेरिकाको सबैभन्दा पुरानो सांस्कृतिक संस्था। जहाँ करिब १७ करोडभन्दा बढी सामग्री छन्। विश्वका ४७० भाषा यहाँका पानामा जीवन्त छन्। तीन हजार कर्मचारी ज्ञानको दीप बालिरहेका छन्। कुनै पनि सीमाले यी पानालाई बाँध्न सक्दैन।
यहाँ संसारको हरेक कुनाको बौद्धिक सुगन्ध छ। ‘अज्ञानतालाई ज्ञानले जित्नुपर्छ’ भन्ने मुख्य मर्म रहेछ। अहिले पुस्तकालयमा दैनिक १५ देखि २२ हजार सामग्री संग्रह हुन्छन्। पुस्तकालयले उत्कृष्ट १० हजार सामग्री मात्र राख्छ। बाँकी सामग्रीहरू उदार भावले दान गर्ने गरिन्छ। वासिङ्टन डीसी आधुनिक सहरी योजनाको एउटा नमुना हो। क्यापिटल हिल र ह्वाइट हाउस वैभवका प्रतीक हुन्। लिंकन मेमोरियलले मानव विकासको पराकाष्ठा बोकेको छ। स्मिथसोनियन र एयर एन्ड स्पेस म्युजियम बौद्धिक विकासका दर्पण हुन्। जहाँ प्रविधि र प्रज्ञाको सुन्दर संगम भेटिन्छ। सहर आफैंमा ठूलो खुला संग्रहालय हो। जहाँको हावामा इतिहास र सभ्यताको सुगन्ध पाइन्छ।
पेन्साकोला, जहाँ प्रकृति डल्फिनसँग बोल्छ : डीसीको व्यस्तता छोडेर फ्लोरिडाको पेन्साकोला बीच पुग्यौं। त्यहाँ पुग्दा लाग्यो, कुनै अर्को संसारमा छु। एकातिर शक्तिकेन्द्र छ भने अर्कोतिर शान्त प्रकृति। जहाँको बालुवा चिनीजस्तै सेतो र नरम छ। अनि समुद्रको पानी पन्नाजस्तै हरियो र पारदर्शी। लाग्यो– प्रकृतिले मानिसलाई दिएको एउटा दिव्य उपहार हो। बगरमा बसें– छालको आवाजले मनका सबै तनाव मेटाइदियो। समुद्रमा ‘डल्फिन क्रुज’को रोमाञ्चक यात्रा गर्यौं।
अचानक पानीमाथि उफ्रँदै केही डल्फिन झलक्क देखा परे। ती सुन्दर जीवहरू जहाजकै नजिक आएर खेलिरहेका थिए। उनीहरूको उफ्राई देख्दा प्रकृति कति जीवन्त छ भन्ने लाग्यो। जहाज हल्का हल्लिँदा मन छुट्टै रोमाञ्चक हुन्थ्यो। आँखा चिम्लेर समुद्रको चिसो हावा महसुस गरें। जेल्ली फिसहरू पानीको सतहमा ऐना झैं तैरिरहेका देखिन्थे। प्राकृतिक सौन्दर्यले कृतज्ञता भाव जगायो। पेन्साकोलामा लेस्ली र जेरी दम्पतीको न्यानो माया पायौं। उनीहरूको आतिथ्यताले विदेशी भूमिमा पनि आफ्नै घरको झझल्को दियो।
भविष्यको आशा र समृद्धिको नयाँ संकल्प : हामीले अमेरिकी मिडियामा एआई प्रविधिको प्रयोगबारे पनि सिक्यौं। प्रविधिले पत्रकारिताको भविष्य कसरी बदल्दै छ भन्ने देखियो। नेटवर्किङ कार्यक्रमले धेरै नयाँ साथीसँग साइनो गाँस्न सहयोग गर्यो। पेसागत र व्यक्तिगत अनुभवको साटासाटले हाम्रो सम्बन्ध प्रगाढ भयो। अमेरिकाको त्यो अनुभव लिएर नेपाल फर्किएको छु। अहिले मेरो देशको पनि राजनीतिक परिदृश्य पूरै बदलिएको छ। युवा नेता बालेन शाह रास्वपाको दुईतिहाइ नजिकको सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका छन्। यो इतिहासमा विरलै पाइने अवसर हो। सारा नेपालीको आँखामा अहिले एउटा नयाँ आशा छ।
बालेन सरकारले सुशासन र पारदर्शिताको नयाँ बाटो रोजेको छ। दिनको संकेत बिहानले गर्छ भने झैं भएको छ केही सातामै। भ्रष्टाचारको अन्त्य भए देश पक्कै समृद्ध बन्नेछ। विदेश पलायन भएका युवा घर फर्किने छन्। जब हरेक नेपालीले विदेशी भूमिमा नेपालको नाम लिएर शिर ठाडो पार्नेछन्, तबमात्र मेरो यो यात्रा पूर्ण सफल हुनेछ। समृद्ध नेपालको सपना अब विपनामा परिणत हुनै पर्छ। हामी सबै मिलेर यो देशलाई स्वर्ग बनाउन सक्छौं। म समृद्धिको कथा लेख्न आतुर छ। यात्रा सकिए पनि एउटा नयाँ अध्याय सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस !