झ्याइँकुटी

कथा

झ्याइँकुटी

नाउडाँडा–कार्कीनेटा–शंकरपोखरी र फलेबास हुँदै काली तरेर उकालो लागेपछि स्याङ्जाको यस गाउँमा आइपुग्दा १२ घण्टा लाग्थ्यो, त्यो पनि बलियो घोडाका जस्ता गोडा छन् भने मात्र। जितबहादुर आजभोलि सोच्ने गर्छन्, ‘जुग त कहाँबाट कहाँ पुग्यो बा!’भूत, कहिले त स्मृतिमा वर्तमानभन्दा पनि ज्युँदो भएर आइपुग्छ र मान्छेलाई बलात् आफूतिरै घिसार्छ, भन्छ पनि– ‘बस् केही बेर यता।’ ती दिनहरूमा आमालाई आफ्नो नानीको जिउमा घाममा राखेर तेल मस्काउँदै गर्दा नै अड्कल थियो होला– यी गोडाहरूमा आफ्नो सबै मातृशक्ति निचोरेर घोडाको बल हाल्नुपर्छ।

छोराको थालको खानामा सायद उहाँ प्रत्येक पटक आफ्नो आयु छोरालाई थपिदिने मन्त्र पढ्नुहुन्थ्यो– मातृरूपेण संस्थिता– शक्तिरूपण संस्थिता। आमा कमजोर हुँदै जानुहुन्थ्यो, त्यही अनुपातमा जितबहादुर बलियो हुँदै जान्थे। कचौराभरिको दूध उनलाई ख्वाएर आमा अघाउनु हुन्थ्यो।‘हो, आफ्नो आयु मलाई सारिदिएर आमा उहिल्यै खस्नुभयो। त्यही मातृशक्ति निचोरेर मेरा गोडा तुर्की घोडाका जस्ता बलिया हुँदै गए। अनि पो दर्जनौंपटक भोकै पनि दौडे यो बाटो मेरा गोडाहरूले’, जितबहादुर अहिले आफ्नी बूढीसँग पनि भन्ने गर्छन्, ‘आमाले सायद कल्पना नै गर्नु भएन– कुनै दिन यहाँ चिल्लो सडक बन्नेछ र उहाँको छोरालाई येमानको गाडीले यस घरको आँगनमै ल्याई पुर्‍याउनेछ।

नाउडाँडाबाट चिलाउनेभाटी हुँदै कार्कीनेटा उक्लेको सम्झिँदा दुरुस्त एसएलसी दिँदा पढेको ‘घनघस्याको उकालो’ याद आउँछ। धरधरी पसिना काढेर भारी ओसार्ने भरियाहरू र खच्चडहरू देखेपछि उनलाई लाग्थ्यो– ‘आहा ! म त सानो झोलामात्र बोकेर हिँड्ने भाग्यमानी पो रहेछु।’संसारका सबै दुःखहरू झन् गाह्रो दुःखसँग तुलना गरेपछि सुखको श्रेणीमा उक्लन्छन्। सुखदुःख भन्नु ठिक्क नाप्न सकिने केही रहेनछ।

यो ‘काभ्रो’ जातको नमिठो डाले घाँसको अग्लो रूखको सबै घाँस उनैले खसाल्थे। यो यति अग्लो थियो कि गिद्धहरू विश्रामका निम्ति यसलाई रोज्थे र यसको फुर्कोमा बसेर कुनै तानाशाहले रैतीलाई हेरे झैं तलतिर हेर्थे। गाईबस्तुले सबभन्दा मन नपराउने र गिद्धले सबभन्दा मन पराउने यो सापेक्ष रूख। यहाँ विकास आइहाल्दा वा जनश्रमदान जुटाउँदा गोरेटा, ससाना पानीका कुलेसा र कुनै पञ्चको ठूलै निगाह भयो भने एक दुइवटा घोडेटा खनिन्थे। सडकको कल्पना थिएन।

‘जितबहादुर भन्ने प्राणी यस धर्तीमा नजन्मिन पनि सक्थ्यो’, जितबहादुरले ग्यासचुल्हो बालेर कफी बनाउँदै गरेकी आफ्नी बूढीसँग भने, ‘सञ्जोगै सञ्जोगले संसार बन्छ र कथा कोरिन्छन्। दुःखसुख भएको फगत् कथा हो जिन्दगी भन्नु पनि। मेरा बाबुले ७५ वर्षको उमेरमा तेस्रो बिहे नगरेका भए म जन्मिन्थें त ? म नजन्मेको भए तँ यहाँ आउँदिनथिस्। तर जन्मेपछि छुट्टाछुट्टै मान्छेका छुट्टाछुट्टै कथाहरू। हैन भावीले पनि कतिमात्र कथा लेखिभ्याउनु ?’

‘तिमी लाहुर बस्नु र मलाई जुनीभरि एक्लै रुनु परोस् भन्ने कथा लेख्नुपर्ने रहेछ र तिमी जन्म्यौ’, स्वास्न् िचाहिँले भनिन् र कफीका निम्ति कपहरू पखालिन्।‘यस्तैयस्तै मात्र कुरा गर्छेस्’, जितबहादुरले भने, ‘टुनीबोटे जेठो २० वर्ष हरायो लाहुरमा र रोग बोकेर फक्र्यो। ठूलाघरे १२ वर्ष बस्यो। लास्टमा उतै म¥यो। सत्–गत् पनि गतिलो भएन। भोगटेको छोरो १० वर्ष बसेर फक्र्यो। फर्केको दुई महिनामा फेरि हिँड्यो। म १५ वर्षमा फर्कें तर सग्लै फर्कें। केही जग्गा जोड्न पाइस्, अहिले चिसा दाउरा बोकेर फुफु गर्नु परेको छैन। ग्यास बालेकी छस्। टीभी हेरेकी छस्। फोन हातमा छ। जगत् हेरेर चित्त बुझाउने त हो नि। छोरो सँगै थियो। छोराले पढ्न पायो र अहिले जापान छ। जीवन यस्तै त हुन्छ। सबैका स्वास्नी रोएकै छन् त ? लाहुर्नी भनेर गाउँमा इज्जत पनि त भयो नि।’

लाहुर्नी केही बोलिनन्, लोग्नेका कुराले सन्तोष जस्तो पनि मानिन् र अलिकति हाँसेर ओठमात्र लेप्य्राएकी भइन्। २०४६ साल आयो– विकासको चेतना बोकेर आयो भने मान्छेले। अध्यक्षले भने, ‘बाटो खन्नुपर्छ।’ चन्दा मागेर हैरान छ भनेर स्वास्नी चाहिँले नेपालबाट खबर गरिन्, ‘लाहुर्नीले यति दिएर कहाँ हुन्छ भन्छन्।’साहेबले गोर्खा चौकीदारका निम्ति छिँडीमा दिएको सुरुङजस्तो कोठामा मच्छड मार्न आफ्नै पाखुरा पिटेर स्वास्नी चाहिँको खत पढ्दै जितबहादुरले लामो सुस्केरा झिकेथे, ‘हैन, कहिल्यै त राज्यले गरिबलाई पनि त दिनु नि ?’

तर अर्को चिठीमा लाहुर्नीले भनिन्, ‘लाहुरेलाई कसले गरिब भन्छ यहाँ ?’ ‘चन्दा पनि गोली ताकेर माग्छन्। कति चिठीमा त तैंले यस्तो पनि लेखेकी थिइस्’, जितबहादुरले भने र कफी सुक्र्याए।‘हो त, उपद्रो उपद्रो बेहोरियो, लाहुर्नीले भनिन्, ‘बिन्ती गर्ने जुँगा समाएर।’ अहिले हर्कमान आएर पुरानो अँगेनाछेउको खाटमा बसेका थिए। ‘पुरिदेऊ भाउजू यो अँगेनो, ग्यासमा खाना पकाउँछौ किन चाहियो यो अँगेनो ?’ उनले भने।

‘बूढा ससुराले खनेको अँगेनो हो’, लाहुर्नीले हर्कमानलाई पनि कफी दिएर भनिन्। ‘अब त्यसो भनेर भयो त, यो नचाहिने जिनिस ?’ उनले भने।‘रहोस्’, जितबहादुरले भने, ‘नाकाबन्दी साँकाबन्दीमा ग्यास नपाइँदा काम लाग्ला, यो अरूको देशको कुराको कतिबेला के हुने हो के भर ! हाम्रो आफ्नो त आखिर त्यही दाउरा हो। के के फाल्नु हर्कमान भाइ, पुरानो त कत्ति कुरा पो छ त, हामी आफैं पनि त्यही अँगेनो जस्तो भइसकेको छ।’

‘म त एउटा कुरा गर्न आएको दाइ’, घाँटी सफा गरेर हर्कमानले केही रोकिएर भने, ‘मौका छोपौं।’‘के कुरा ?” ‘अब तिम्रो र मेरो सॉध जोडिएको जग्गा छ, सप्पै किन्न माग्या छ, पेट्रोलपम्प राख्ने रे, खै के जाति रिसोर्ट खोल्ने रे, दिनुपर्छ मूल्य आएको बेला भन्ने लाग्यो मलाई त।’‘ए हर्क भाइ, बेलाबेलामा तिम्रो के उरन्ठेउलो बुद्धि आएको यस्तो ?’ जितबहादुरले भने, ‘हाम्रा बाबुबाजे तेह्र पुस्ता यही गाउँमा बसे, त्यही काली किनारमा सेलाइए। न बाटाको सुख, न खानेपानीको सुख, न स्कुल, न स्वास्थ्य चौकी, न टभिी, न टेलिफोन, हुलाकसम्म यहाँ थिएन। 

त्यति हुँदा पनि पुर्खाले कुरेर राखेको गाउँ यो। अब त सप्पै आयो त, खरले छाएको घर कुनै छैन– जस्ता हालेको छ, घरघरमा मोटर आएको छ, सबैका घरका भित्ताहरू प्लस्तर गरेको छ, दैलोमा धारा छ, बाथरुम छ– ट्वाइलेटका लागि खोल्सा खोज्दै हिँड्नु पर्दैन। जे जे कुराले दुख थियो अब सबै छ त, बस्छु भनेरै सारा जिन्दगीको कमाइ हालेर दुइवटा सुर्का खेत पनि किनेको हो, के छैन र किन हिँड्ने पुर्खाको थलो बेचेर ? के छैन ?’

‘मान्छे छैन जितबहादुर दाइ’, हर्कमानले भने, ‘तिम्रो एउटै छोरो, त्यो पनि छैन, मेरा दुइवटा बच्चा, दुइवटै छैनन्, पीपलबोटे, लामोआँठे, भैरवे, देउकुने बूढा, ठुल्कान्छा, स्यान्कान्छा कसैको बच्चा छैन, सबै तिमी हामीजस्ता काल पर्खिने बूढाबूढी बाँकी छन्, जग्गा बाँझो छन्, विदेशबाट आएको पैसाले किनेरै खान त गाउँमा किन बस्ने, तिमी हामी त झन् उहिल्यै सहर देखेको मान्छे, हस्पताल देखेको मान्छे। यतिखेर चाहिँ नाइँ नभन्नू दाइ।’

लाहुर्नीलाई हर्कमानको कुरा नराम्रो लागेन र उनी पनि खाटको छेउमा आधा ज्यान अड्याएर उभिइन्– कस्तो कस्तो नौलो रमाइलो पनि लाग्यो– नयाँ कुरा नयाँ ठाउँको। ‘विदेश जाने भनेको त एकदिन फर्केर आफ्नो थातथलोमा फर्केर आउने पनि हो नि हर्क भाइ, आउँलान् नि भुराहरू’, जितबहादुरले अलि गलेको स्वरमा भने र चुरोट निकाले।‘दस जना गयो भने दुई जना फर्केको छ’, लाहुर्नीले भनिन्।

‘त्यो तपाईंले गरेको हाम्रो युगको कुरा भयो दाइ, अब को आउँछ ? युग फेरियो, कुरो फेरियो, सत्य फेरियो, यथार्थ फेरियो, फेरिनुस् तपाईं पनि। मैले हिजो राति सुतेरै गिन्ती गरें’, हर्कमानले जितबहादरको बचेखुचेको शक्तिलाई छिनाइहाल्ने गरी भने– ‘हाम्रो गाउँका ७५ घरधुरीमध्ये ५१ ओटा घरमा तालै लागेको छ, सिमेन्ट पोतेका राम्रै घर छन्, धारा, पानी बिजुली, टेलिफोन, मोटरबाटो सप्पै सुविधा भएका घर छन् तर एकसेएक बन्द छन्।’

‘तिमीले नै यस्ता कुरा गर्छौं बा ! तिमी त यो गाउँमा मेरो आडभरोसा हौ, मेरो बालदौंतरी पनि हौ, आफ्नो गाउँलाई बलियो बनाउनुको सट्टा आफैं हिँड्ने कुरा गर्छौं’, जितबहादुरले चुरोट निभाउँदै भने, ‘यसरी हारेर हिँड्नु ?’के गाउँ थाम्ने अब दुईजनाले भन्नुभा हो ? हुटिट्याउँले आकाश थाम्छ र जितबहादुर दाइ ? ल म उठें, हतार पनि छ। दाइभाउजू राम्रो सल्लाह गर्नू, भोलि निधो दिनुपर्छ’, हर्कमान जुरुक्कै उठे।

‘अब के निधो दिने हो र हर्क बाबु, तपाईं पनि नभएको गाउँमा हामी मात्र बस्तैनौं’, लाहुर्नीले भनिन् र कफी खाएका कपहरू उठाइन्। जितबहादुरलाई आफ्ना पिँडौला अलि गलेको अनुभव भयो। घोत्लिएका जितबहादुरलाई धाप दिएर हर्कमानले जाँदाजाँदै भने, ‘विकास त आएको हो नि दाइ, तर मान्छे सबै उठेर हिँडेपछि आयो, के गर्ने त।’

जितबहादुरले चाहेका त होइनन् तर उनलाई के कति कुराले यहाँबाट हिँडाउन खोजेका हुन् ? राति जितबहादुरले सपना देखे– लाहुर्नी र हर्कबहादुरले झ्याइँकुटी पारेर उनलाई सहरतिर जाने गाडीमा लोड गर्दै थिए। आश्चर्य, त्यति नै बेला अर्थात् जितबहादुर झ्याइँकुटीमा झुन्डिएकै बेला विदेशबाट आएका गोरागोरा मान्छेहरू त्यही पहाडतिर उक्लिँदै थिए।

तीमध्ये एउटा अगुवाले जितबहादुरको कानैमा आएर भन्यो, ‘धर्तीको स्वर्ग यही हो जितबहादुर, हामीले विकासको थालनी गरेपछि तिम्रै खेतमा हाम्रो मजदुर हुन तिमी फेरि यतै फर्किआऊ है !’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.