विराटनगरको ऐतिहासिक विराट गोल्डकप: ८ टोलीको प्रतिस्पर्धा

विराटनगरको ऐतिहासिक विराट गोल्डकप: ८ टोलीको प्रतिस्पर्धा
सुन्नुहोस्

विराटनगर  : कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने भएको छ। 

सहिद रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट गोल्डकप ट्रष्टका महासचिव बिनेश बस्नेतले बताए। उनका अनुसार रंगशालामा पूर्वाधार सुधार, सुरक्षा प्रबन्ध, खेल तालिका निर्माण तथा दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउने काम तीव्र रूपमा भइरहेको छ। स्थायी संरचनासहितको फ्लड लाइट प्रयोग हुने भएकाले रात्रिकालीन प्रतिस्पर्धा थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा नेपालका विभागीसहित अन्य र भारतका गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपाली टोलीतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, झापा–११, मच्छिन्द्र क्लब, चर्च ब्वाईज युनाइटेड र सम्राट स्पोर्टिङ क्लब छन् भने भारतबाट अल झारखण्ड बिर्सा मुन्डा एसए क्लब सहभागी हुनेछ। चैत २८ गतेको उद्घाटन खेलमा आर्मी र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ। 

२०७१ सालमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि जितेको स्मरण अझै ताजा रहेकाले उद्घाटन खेललाई विशेष रूपमा हेरिएको छ। विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाले प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको बताए। ‘हामीले पूर्वाधार, सुरक्षा र व्यवस्थापनका सबै पक्षलाई व्यवस्थित बनाएका छौं,’ उनले भने, ‘यसपटकको प्रतियोगिता अझ व्यवस्थित र आकर्षक बनाउने लक्ष्य राखेका छौं।’

लामाले विराट गोल्डकपको ऐतिहासिक महत्व उल्लेख गर्दै सबैलाई सहयोगका लागि आह्वान गरे। ‘विराट गोल्डकप विराटनगरको पहिचानसँग जोडिएको प्रतियोगिता हो,’ लामाले भने, ‘यसलाई सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, प्रायोजक र सबै सरोकारवालाको साथ आवश्यक छ।’

गत वर्षको संस्करणमा चर्च ब्वाईज युनाइटेडलाई २–० ले हराउँदै थ्रीस्टार क्लबले उपाधि जितेको थियो। तर, साविक विजेता यस वर्ष प्रतियोगितामा सहभागी नहुने भएको छ। ट्रष्टका महासचिव बस्नेतका अनुसार यस वर्ष विजेता टिमले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा अन्य विधागततर्फ  जनही २१ हजार  र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ प्रदान गरिने बस्नेतले बताए। 

२०१८ सालदेखि ‘महेन्द्र गोल्डकप’को नामबाट सुरु भएको यस प्रतियोगिताले समय एवं मुलुकको राजनीतिक उथलपुथल सँगै नाम र स्वरूप परिवर्तन गरेको हो। यसलाई २०६७ सालपछि ‘विराट गोल्डकप’का रूपमा पुनःब्रान्डिङ गरेर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो। महेन्द्र गोल्डकपदेखि आगामी विराट गोल्डकप हुँदा प्रतियोगिताको ३८ औं संस्करण सम्पन्न हुनेछ।
यस प्रतियोगिताले नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको आयोजकको भनाइ छ। आयोजकका अनुसार यसपटक पनि रात्रिकालीन प्रतिस्पर्धाले दर्शकलाई आनन्द प्रदान गर्नेछ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.