विराटनगरमा मिटरब्याजीको आतंक: फरार छोरीको बहानामा परिवारमाथि करोडौँको दबाब
विराटनगर : विराटनगरमा मिटरब्याज कारोबारसँग जोडिएको गम्भीर घटना सार्वजनिक भएको छ। उक्त घटनाले मिटरब्याज आतंकको संगठित जालोका बारेमा प्रष्ट पार्छ। यातायात व्यवसाय गर्दै आएका ६१ वर्षीय राजन क्षेत्री कँडेलले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की दिएर करोडौँ रुपैयाँ असुल्न खोजिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन्।
विराटनगर महानगरपालिका–१२ निवासी कँडेलले शुक्रबार पाँच जनाविरुद्ध औपचारिक जाहेरी दर्ता गराएका हुन्। उजुरीमा विराटनगर–९ का भोलेनाथ गुप्ता, एजाज अहमद, विष्णुकुमार साह, आशिष निरौला र विराटनगर–७ का प्रवीन जैनको नाम उल्लेख गरिएको छ। उनीहरू लामो समयदेखि मिटरब्याजको धन्दामा संलग्न रहेको प्रहरी स्रोतको दाबी छ।
यही समूहले विराटनगरमा संगठित रूपमा मिटरब्याजको धन्दा चलाइरहेको प्रहरीको बुझाइ छ। कँडेलका अनुसार चैत १५ गते बिहानै एक समूहले घरमै पुगेर आतंक सिर्जना गरेको थियो। शेखर पोखरेल, शिव भवानीलगायत अन्य व्यक्तिहरूले घर घेराउ गर्दै परिवारलाई ज्यान मार्नेसम्मको धम्की दिएर मानसिक रूपमा त्रसित बनाइएको उनको भनाइ छ। ‘पैसा नदिए जे पनि हुन सक्छ। परिवारका सदस्यलाई नै गायब पारिदिन्छौं’ भनेर धम्की आएको कँडेल बताउँछन्।
घटनामा नाम जोडिएका व्यक्तिहरूले भने आआफ्नो बचाउ गरेका छन्। भोलेनाथ गुप्ताले आफू मिटरब्याजको कारोबारमा संलग्न नभएको दाबी गर्दै आशिष निरौलासँग मात्र १० लाख रुपैयाँको व्यक्तिगत लेनदेन रहेको बताएका छन्। ‘म जागिर खाने मान्छे हुँ। एउटा उद्योगमा लेखापालको रूपमा काम गर्छु। अरूसँग मेरो कुनै सम्बन्ध छैन। भदौमा आशिषलाई १० लाख रूपैयाँ दिएको हुँ। त्यो पैसा आशिषकले कता लगेर के गरे भन्ने मलाई थाहा छैन,’ गुप्ताले भने। उनले आफू सप्तरीको बासिन्दा रहेको र विराटनगर–१० मा बस्दै आएको बताएका छन्।
त्यस्तै, आशिष निरौलाले यो विषय मिटरब्याज नभई व्यक्तिगत लेनदेन भएको दाबी गरे। ‘मैले राजन कँडेलकी छोरी रोजीलाई पैसा दिएको हो। त्यो कसरी मिटरब्याज हुन्छ ? अहिले त हाम्रो व्यवहार पनि मिलिसकेको छ,’ उनले भने। विष्णुकुमार साहले समेत उजुरीपछि सबै कुरा मिलाइसकिएको दाबी गर्दै विवाद सामान्य रहेको बताएका छन्।
तर, एजाज अहमद र प्रवीन जैन सम्पर्कमा आएनन्। उनीहरुले फोन नउठाएका हुन्। प्रहरी स्रोतका अनुसार विष्णुकुमार, एजाज र प्रवीन विराटनगरमा सक्रिय र चिनिएका मिटरब्याजीमध्ये पर्छन्। यस घटनामा कँडेललाई सबैभन्दा बढी दबाब दिने व्यक्तिहरू पनि उनीहरू नै रहेको बताइन्छ।
स्थानीयका अनुसार यो घटना एउटा प्रतिनिधि उदाहरण मात्र हो, जहाँ सामान्य व्यवसाय गरेर जीविकोपार्जन गर्ने व्यक्तिलाई संगठित गिरोहले नक्कली ऋणको जालमा पारेर सडकमा ल्याउने प्रयास गरेको छ। ‘कँडेल परिवार अत्यन्तै पीडित अवस्थामा छ। प्रहरीले तत्काल गिरोहलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ,’ एक स्थानीयले भने।
घटनाको पृष्ठभूमि अझ जटिल छ। कँडेलकी छोरी रोजी कँडेल विराटनगरस्थित सिटीजन्स बैंकको कञ्चनबारी शाखामा कार्यरत थिइन्। उनीमाथि नक्कली ऋणी खडा गरी ४ करोड ९१ लाख रुपैयाँ ठगी गरेको आरोप छ। बैंकको जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएसँगै रोजी फरार भएकी छिन्।
यही प्रकरणलाई आधार बनाएर मिटरब्याजी समूहले कँडेल परिवारमाथि दबाब सिर्जना गरेको देखिने प्रहरीको भनाइ छ। रोजीसँग कारोबार रहेको भन्दै उक्त समूहले कँडेलसँग ५ करोड ६० लाख रुपैयाँ नगद माग गरेको छ। कँडेलका अनुसार मिटरब्याजको धन्दा चलाउने समूहसँग उनकी श्रीमती, छोरा र बुहारीका ६–७ वटा चेकहरू समेत छन्। जुन चेक आफूहरूले नदिएको दाबी उनले गरे। ‘हामीले कहिल्यै चेक दिएका छैनौं। हस्ताक्षर पनि हाम्रो होइन। नक्कली चेक देखाएर आतंक मच्चाइएको छ,’ कँडेलले गुनासो गरे।
उनका अनुसार छोरी बैंकमा कार्यरत रहेका बेला ती चेकहरू दुरुपयोग गरिएको हुनसक्ने आशंका छ। छोरी फरार भएपछि ‘बुझाउनु पर्ने रकम’ भन्दै आफूहरूमाथि मिटरब्याजको गिरोहले दबाब बढाइएको उनले बताए।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको दुवै पक्षबाट अनुसन्धान भइरहेको जानकारी दिएका छन्। ‘बैंक ठगी प्रकरणमा फरार महिला पक्राउ परेपछि थप तथ्य खुल्नेछ। मिटरब्याजसम्बन्धी उजुरीलाई पनि गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको छ,’ उनले भने। विराटनगरमा मिटरब्याजको गिरोह सक्रिय रहेको स्वीकार गर्दै कटवालले त्यस्ता समूहलाई नियन्त्रणमा लिन प्रहरी सक्रियता बढाइएको बताए।
यो घटनाले विराटनगरमा संगठित रूपमा फैलिएको मिटरब्याजको सञ्जाल, त्यसको प्रभाव र सामान्य नागरिकमाथि पर्ने मानसिक तथा आर्थिक दबाबलाई सतहमा ल्याएको छ। एउटा फरार अभियुक्तको नाममा परिवारलाई नै निशाना बनाउँदै करोडौँ असुल्ने प्रयास गरिएको प्रहरी स्रोतको भनाइ छ। ‘मिटरब्याजको संगठित गिरोहले एउटा सामान्य नागरिकमाथि आतंक सिर्जना गरेको छ। कानुनी राज्यलाई चुनौती दिइरहेको छ। यो विषय निक्कै गम्भीर हो,’ प्रहरी स्रोतले भन्यो।
प्रतिक्रिया दिनुहोस !