२००७ सालको क्रान्ति होस् वा २०१७ सालको ‘कु’ पछिको प्रतिरोध, नेपाली राजनीतिमा नेपाली कांग्रेस सधैं केन्द्रबिन्दुमा रह्यो। पञ्चायतकालमा राजा महेन्द्र र वीरेन्द्रले चाल्ने हरेक कदम कांग्रेसको सम्भावित प्रतिक्रियाको त्रास र आशंकाबाट प्रेरित हुन्थे। बीपी कोइरालाले अघि सारेको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’ एउटा यस्तो चतुर कदम थियो, जसले दरबार र वामपन्थी दुवैलाई रक्षात्मक बनाइदिएको थियो।
त्यतिबेला कांग्रेस विचारको कारखाना थियो र यसको प्रभाव यति कडा थियो कि प्रशासन र सत्ता कांग्रेसको ‘एक्सन’ कुरेर बस्दथ्यो। राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गर्दा बीपीले अस्वीकार गर्लान् कि भन्ने संशयका बीच आफ्ना दूत पठाएर उनको राय बुझेपछि मात्र घोषणा गर्ने हिम्मत गरेका थिए। यस्ता प्रशस्त उदाहरण छन्, जसले तत्कालीन राजनीतिमा कांग्रेसको क्रियामुखी भूमिका र यसको धारणाबिना राजनीतिक निर्णय लिन कति कठिन हुन्थ्यो भन्ने पुष्टि गर्छन्।
‘रियाक्सन’को राजनीति
समकालीन विश्लेषकहरूको एउटै मत छ— कांग्रेस आज ‘एक्सन’ गर्नेभन्दा पनि अरूको ‘रियाक्सन’ मा चल्ने पार्टी बनेको छ। नेकपा एमाले वा माओवादीले अघि सारेका एजेन्डामा टिप्पणी गर्नु वा अन्य दलको गठबन्धनको जोड घटाउमा रुमल्लिनु नै कांग्रेसको दैनिकी बनेको छ। चुनावअघि गरिने गठबन्धनले कांग्रेसको मौलिक पहिचान र अस्तित्वलाई कमजोर बनाएको छ।
गठबन्धनको राजनीतिले नेतृत्वलाई सत्ताको लाभ त होला, तर यसले शुभेच्छुकहरूको लगाव टुट्दै गएको छ। निर्वाचन चिह्नप्रतिको प्रेम र मनोवैज्ञानिक आकर्षण घट्दै जाँदा नयाँ पुस्ताले पहिलो मतदान नै अन्य चिह्नमा गर्नुपर्ने अवस्था आयो, जसले गर्दा रुख चिह्नप्रतिको आकर्षण स्खलित हुँदै गएको छ।
नेतृत्व र मतदाताबीचको खाडल
नेतृत्वमा नयाँ अनुहारको प्रवेश भए पनि विचारमा नवीनता आउन सकेको छैन। उमेरसमूहको परिवर्तनमात्र पर्याप्त छैन; नवीन दृष्टिकोण निर्माण गर्ने र आफ्नो मौलिक सिद्धान्तलाई निरन्तरता दिन सक्ने संयोजनकारी नेतृत्वको आज खाँचो छ। कांग्रेसका मतदाता स्थिरता चाहन्छन् र उग्रतालाई अस्वीकार गर्छन्, तर पार्टीले उनीहरूको मन राख्न र सहरी मध्यम वर्गको ध्यान आकर्षित गर्न सकेको छैन। पछिल्ला निर्वाचनमा बीपीको तस्बिर अंकित पर्चा र सैद्धान्तिक अठोटको प्रचार सामग्रीमा समेत कांग्रेस चुकेको देखियो, जसले गर्दा यसको परम्परागत ‘भोट बैंक’ मा क्षयीकरण हुँदै गएको छ।
आन्तरिक चुनौतीः गुट र जनसम्पर्क
कांग्रेस कमजोर हुनुमा बाह्य शक्तिभन्दा आन्तरिक पक्ष बढी जिम्मेवार छन्। ‘एक्सन’भन्दा पनि ‘फ्याक्सन’ मा रमाउने प्रवृत्तिले पार्टीलाई जीवन्त संस्थाभन्दा पनि क्लबहरूको महासंंघ जस्तो बनाएको छ। पछिल्ला १५ वर्षमा कार्यकर्ताहरूको अधिकांश समय आफ्नै नेता र सहकर्मीको आलोचनामा बित्ने गरेको छ। कुनै समय कांग्रेसका कार्यकर्ता गाउँका समस्या सुल्झाउने ‘सामाजिक इन्जिनियर’ हुन्थे, तर आज उनीहरू केवल ‘सत्ताका ठेकेदार’जस्ता देखिन थालेका छन्। हिजो कांग्रेसको सक्रियतामा अस्पताल र विद्यालय बन्थे, तर आज समाजसँग जोडिने यस्ता रचनात्मक कार्यमा पार्टीको प्रभावशाली उपस्थिति शून्य प्रायः छ।
अबको मार्गचित्र
नेपाली कांग्रेसले अब पनि पुरानै विरासतको ब्याजमात्र खाएर बस्ने हो भने इतिहासको पानामा सीमित हुने खतरा छ। अब कांग्रेसले ‘समाजवाद’ को जगमा उभिएर प्रविधि, जलवायु परिवर्तन र बदलिँदो वैश्विक अर्थतन्त्रलाई सम्बोधन गर्ने गरी बीपीको विचारलाई पुनव्र्याख्या गर्नुपर्छ। ‘निजी क्षेत्रलाई सम्मान र विपन्नलाई सुरक्षा’ दिने स्पष्ट आर्थिक नीति र सशक्त स्कुलिङ आजको आवश्यकता हो। भ्रातृ संस्थाहरूलाई केवल चुनावमा मान्छे ओसार्ने माध्यममात्र नबनाई वैचारिक बहस र सामाजिक सेवाको केन्द्र बनाउनुपर्छ। डिजिटल युगका युवालाई आकर्षित गर्न ‘हाइ–टेक’ र ‘ग्रासरुट’ संगठनको संयोजन अपरिहार्य छ।
कांग्रेसले अब अरूका एजेन्डामा प्रतिक्रिया दिने होइन, आफ्नै एजेन्डा तय गर्नुपर्छ। गठबन्धनको बैसाखीले आफ्नै खुट्टा कमजोर बनाइसकेकाले आगामी निर्वाचनहरूमा एक्लै प्रतिस्पर्धा गर्ने आँट कांग्रेसले गर्नैपर्छ। इतिहासको गौरव र वर्तमानको अलमलका बीच उभिएको कांग्रेसका लागि यो समय आत्ममन्थनको हो। जबसम्म कांग्रेसले ‘म को हुँ र मेरो लक्ष्य के हो?’ भन्ने प्रश्नको उत्तर खोज्दैन, तबसम्म यसले राजनीतिमा फेरि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दैन। बीपीले भनेझैं नैतिकता र साहसको राजनीतिले मात्र परिणाम दिन सक्छ। अबको कांग्रेस प्रतिक्रिया दिने शक्तिमात्र होइन, एजेन्डा तय गर्ने क्रान्तिकारी शक्तिमा रूपान्तरित हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस !